विराटनगर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’ को आज विराटनगरमा उद्घाटन गर्दै उनले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको चर्चा गर्दै उनले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिए।
नेपालले ऋणको भार बढ्न नदिन बीआरआई सम्झौताबाट विभिन्न परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएकोमा उल्लेख गर्दै उनले भने, ‘एमाले र कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ, कांग्रेसले कुनै पनि अप्ठ्यारो हुने काम गर्ने छैन ।’
नेपाली ग्रामीण क्षेत्रमा पार्टीलाई बलियो बनाएमा मात्र कांग्रेस बलियो हुने बताउँदै सभापति देउवाले ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र कांग्रेसले विजय प्राप्त गर्न सक्छ भने। उनले सम्मेलनमा पार्टीले महत्त्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन हुने जानकारी दिए। उनले भर्खरै सम्पन्न भएको उपनिर्वाचनको परिणामअनुसार पार्टीका निम्ति सकारात्मक एवं उत्साह जनक भएको उल्लेख गर्दै संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै लिने बताए।
पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न एमाले र कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरूबिच छलफल भइरहेको जानकारी दिए।
कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै पार्टीमा एकता हुनु आवश्यक छ भने। उनले पार्टीलाई सुसङ्गठित एवं प्रभावकारी बनाउन नेतादेखि कार्यकतासम्म एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै संविधान र व्यवस्थालाई रक्षा गर्न यो राजनीतिक समीकरण भएको स्पष्ट पारे।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषयमा व्यापक छलफल हुनुपर्ने जिकिर गरे। कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्गठन सुदृढीकरणका लागि सम्मेलन फलदायी बत्रे विश्वास व्यक्त गरे।
प्रतिक्रिया