विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

आज पुस २३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ७, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात

म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर संकलन तथ्यांकले देखाएको छ ।

स्रोतका अनुसार डिसेम्बरमा १ लाख १ हजार १५६ टन चामल र ९४ हजार ६७२ टन टुक्रा चामल निकासी भएको थियो । म्यान्माले इन्डोनेसिया, फिलिपिन्स, चीन, पोल्याण्ड, मलेसिया, बेल्जियम, नेदरल्यान्ड्स र भियतनामलगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा चामल निर्यात गर्ने गर्दछ ।

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना, १० जना घाइते

अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेको अस्ट्रेलियाली पत्रिकाले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इन्जिनमा प्राविधिक समस्या भएको संकेतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्कने प्रयास गरेको अस्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका प्रमुख आयुक्त एङ्गस मिचेलले बताए।

विमानमा सवारहरूलाई गम्भीर चोटपटक लागेको रिपोर्टहरू मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समाचार वेबसाइट न्युज डट कमकाअनुसार क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ) ले घाइते सबैलाई केअन्र्स अस्पतालमा लगिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङ्ले दुर्घटनामा घाइते भएकामध्ये एक जनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताए।

युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् ।

युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ ।

पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय प्रशासनले टेलिग्राममा जनाएको छ । प्रारम्भिक विवरणअनुसार रूसले युक्रेनमा ११ टीयू-९५ बमवर्षक विमान र चार मिग–३१ लडाकू विमानमार्फत् आक्रमण गरेको थियो ।

युक्रेनका सैन्य अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले स्थानीय समयअनुसार बिहान छ बजेदेखि युक्रेनको सम्पूर्ण भागमा हवाई आक्रमणको खतरा रहेको चेतावनी जारी गरिएको जनाएका छन् ।

अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्थानीय समय अनुसार बिहान २ः१८ बजे एस्ट्रोबोटिकको पेरेग्रिन लुनार ल्याण्डरलाई लिएर आफ्नो पहिलो यात्राको लागि उडेको हो ।

करिब ४८ मिनेटपछि बिना कुनै समस्या रकेटबाट ल्यान्डर अलग भएपछि मिसन कन्ट्रोलका कर्मचारीले ताली बजाएर खुसियाली मनाएका थिए । यूएलएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टोनी ब्रुनोले नासाको प्रत्यक्ष प्रसारणमा प्रक्षेपणको प्रशंसा गरे ।

यूएलएका रणनीतिक योजना निर्देशक एरिक मोन्डाले प्रक्षेपणलाई ‘एकदम सही’ प्रक्षेपणको रूपमा वर्णन गरे । यदि सबै कुरा योजनाअनुसार भयो भने पेरेग्रिनले फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्र ‘साइनस भिस्कोसिटाटिस’ अर्थात् ‘बे अफ स्टिकिनेस’ मा अवतरण हुनेछ ।

अहिलेसम्म, पृथ्वीको सबैभन्दा नजिकको खगोलीय छिमेकमा सफल अवतरण केवल केही राष्ट्रका अन्तरिक्षसम्बन्धी निकायहरूले मात्र पूरा गरेका छन् । यस अभियानलाई पूर्व सोभियत सङ्घले पहिलो पटक सन् १९६६ मा सम्पन्न गरेको थियो भने त्यसपछि लगत्तै संयुक्त राज्य अमेरिका चन्द्रमामा मानिसहरूलाई अवतरण गराउने मुलुक बनेको थियो ।

पछिल्लो एक दशकमा चीनले तीन पटक सफलतापूर्वक अवतरण गरेको छ भने भारतले गत वर्ष आफ्नो दोस्रो प्रयासमा यो उपलब्धि हासिल गरेको थियो ।

अब, ‘व्यावसायिक पेलोड सर्भिस’ (सीएलपीएस) कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिका व्यावसायिक चन्द्र अर्थव्यवस्थालाई प्रोत्साहित गर्न र लागतको एक अंशमा आफ्नै हार्डवेयरले बनेको यानसहित व्यावसायिक क्षेत्रमा फर्किरहेको छ । एस्ट्रोबोटिकका प्रमुख कार्यकारी अधिकृत जोन थोर्नटनले अपोलोपछि पहिलो पटक अमेरिकालाई चन्द्रमाको सतहमा फर्काउनु महत्वपूर्ण सम्मानको कुरा भएको बताए ।

नासाले यस कार्यका लागि एस्ट्रोबोटिकलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी भुक्तानी गरेको छ भने अर्को सम्झौता गरिएको कम्पनी ह्युस्टनस्थित ‘इन्ट्युटिभ मेशिन्स’ले फेब्रुअरीमा प्रक्षेपण गर्ने र चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने योजना बनाएको छ ।

आर्टेमिस नासाको नेतृत्वमा यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्षयात्रीहरूलाई फर्काउने कार्यक्रम हो ।

बंगलादेशमा हसिना पाँचौँ पटक प्रधानमन्त्री बन्ने आधार निश्चित

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भने, ‘अवामी लीगले आइतबार सम्पन्न निर्वाचन जितेको छ । प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ । निर्वाचनमा ६१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।’

बिजयी भएका सांसद्मध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति भएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो विजयपछि हसिना पाँचौ पटकका लागि पुनः देशको कार्यकारी बन्न पाउने निश्चित भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशंका गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिष्कार गरेका थिए ।

मुख्य विपक्षी दल बीएनपीसहितका हसिनाको नेतृत्वप्रति असन्तुष्ट केही दलले निर्वाचन बहिष्कार गरेको र निर्वाचनमा रहेका अन्य विपक्षी दलको प्रभाव निकै कम रहेकोले हसिनाको पार्टी र साझेदारहरूले थप सीट पनि जित्ने अनुमान गरिएको छ ।

बीएनपीले निर्वाचनलाई ‘स्वाङ’ को संज्ञा दिएको छ । बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतबार सम्पन्न निर्वाचनको परिणाम आएको छ ।

बंगलादेशको निर्वाचन आयोगले निर्वाचनमा झन्डै ४० प्रतिशत मत खसेको बताएको छ । यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो ।

निर्वाचनको सम्पूर्ण परिणाम आइनसकेकोले निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी नै छ । शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौथो पटक निर्वाचित भएका थिए ।

ब्राजिलको प्रशिक्षक बने डोरिभल जुनियर

ब्राजिलले पूर्व खेलाडी एवं हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ ।

ब्राजिलियन फुटबल फेडेरेसनले शुक्रबार मात्र अन्तरिम प्रशिक्षक फेर्नानडो डिनिजलाई बर्खास्त गरेको थियो ।

६१ वर्षीय डोरिभल गत अप्रिल देखि साओ पाओलोको प्रशिक्षक रहेका छन् । उनलाई २०२६ को विश्वकप सम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । सन् २००२ देखि प्रशिक्षकको भूमिकामा रहेका डोरिभल ब्राजिलमा अनुभवी प्रशिक्षक मानिन्छन् ।

ब्राजिलले यस अघि हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका इटालीका कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयास गरेपनि उनले रियल म्याड्रिडमै आफ्नो सम्झौता लम्बाएपछि सो प्रयास असफल भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ०१ बजे

अन्योलकै भुमरीमा बुढीगण्डकी आयोजना, कहिले टुङ्गिएला लगानी मोडालिटी ?

काठमाडौं– प्रस्तावित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण पुनः

पानी परेको बेला एसी चलाउन कत्तिको सुरक्षित  ? 

काठमाडौं– गर्मीमा एसीको चिसो हावाबाट सबैले ठूलो राहत पाउँछन् । गर्मीको

तीस दिनभित्र दोहोरो पद छोड्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी

नयाँ गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ

धनुषा : प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट एकजनालाई पेस्तोलसहित