प्रथम नायिका भुवन चन्द : डेढसय तलबले परिवारको गुजारा | Khabarhub Khabarhub

प्रथम नायिका भुवन चन्द : डेढसय तलबले परिवारको गुजारा

चलचित्र भनेको प्रवित्र क्षेत्र हो : चन्द


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अभिनेतृ भुवन चन्दलाई सबैले नेपालकी प्रथम नायिका भनेर चिन्छन् । यो उनले ऐतिहासिक कामले पाएको पदवी हो ।

तर, हामीले भुवनलाई प्रथम नायिकाका रुपमा चिनेर मात्रै पुग्दैन, उनलाई चिन्नुपर्ने अन्य धेरै परिचय छन् । उनलाई अरुको परवाह नगरी सत्कर्ममा अडिग रहने नारीका रुपमा पनि चिन्नुपर्छ ।

आजभन्दा ७० वर्षअघि छोरीप्रति विभेद गर्ने नेपाली समाजको रंगमञ्चमा उभिने सहासिक किशोरीका रुपमा पनि हामीले भुवनलाई चिन्नुपर्छ ।

बुबाले दोस्री आमा भित्र्याउँदा आफ्नी आमाको खुसीका लागि किशोरी अवस्थामै घर खर्चको जिम्मेवारी बोक्ने छोरीका रुपमा पनि भुवनलाई हामीले चित्रण गर्नुपर्छ ।

कल्पना गर्न नसकिने युगमा सामाजिक आलोचनाको परवाह नगरी प्रेम विवाह गर्न आँट गर्ने युवतीका रुपमा पनि हामीले भुवनलाई चिन्नुपर्छ ।
बुहारीप्रति अनुदार युगमा घरजम गरेर कलाकारितामा छाउन सक्ने अभिनेतृका रुपमा पनि उनलाई सम्मान गर्नुपर्छ ।

भुवनलाई चिन्नुपर्ने अझ धेरै कारण छन् । तर, देशका गहनाको नाम लिँदा उनको नाम छुट्नुहुँदैन । नारी दिवसको सन्दर्भमा जानौं नेपालकी प्रथम नायिका भुवन चन्दको प्रेरणदायी संघर्षको कथा :

चार वर्षको हुँदा नाटक

बाल्यकालदेखि नै नृत्यमा लगाव राख्ने भुवनको अभिनयको यात्रा बालकृष्ण समको नाटक ‘बन्धवेग’ बाट सुरु भएको हो । बाल कलाकारका रुपमा नाटकमा जोडिदाँ उनी चार वर्षकी थिइन् ।

बुबा भैरवबहादुर थापा रंगकर्ममै भएकाले त्यो संयोग जुरेको उनी स्मरण गर्छिन् । उनी भन्छिन्, ‘बालकृष्ण समज्यूले बुबालाई नाटकका लागि बच्चा चाहियो भन्नुभएछ, उहाँले मेरी छोरी छ भनेर मलाई लैजानुभयो ।’

आज भन्दा ७० वर्षअघि, छोरीचेलीलाई विभेदपूर्ण नजरले हेर्ने घटना समाजमा पर्याप्त भए पनि उक्त संकुचित मानसिकताको शिकार भएको उनलाई अनुभव छैन ।

कलाकारितामा लाग्नेलाई समाजले खराब नजरले हेरे पनि आफू पारिवारिक समर्थनबाट बञ्चित नभएको उनी सुनाउँछिन् । भुवन भन्छिन्, ‘कलामा लागेको मान्छेलाई बडो हेयको दृष्टिले हेर्ने । नाच्नेलाई त सबैभन्दा सानो जात, नचौटी भन्थे । तर, मेरा बुबा आफैँ कलाकार भएकाले मलाई सहज भयो ।’

‘नाचगान लागूपदार्थ जस्तो भयो’

भुवनको बाल्यकाल यो समय बितेको हो, जुनबेला छोरीहरु चरम विभेद, पढ्नबाट वञ्चित, अज्ञानताले संकुचित मानसिकताको शिकार हुनुपर्थ्यो ।

आजको दिनमा समेत कतिपय रुढीवादी मानिसहरुले कलाकारितालाई हेय नजरबाट चित्रण गर्छन् भने त्योबेला रंगकर्मका एक छोरी आवद्ध हुँदाको सामाजिक दबाव अहिलेको पुस्ताले अनुमानसम्म गर्न सक्दैनन् ।

त्यसबेला छोरीलाई पढ्नसमेत नदिने चलन थियो । तर, बुबा कालकार भएकाले भुवनले पढ्न-लेख्नबाट वञ्चित हुनुपरेन । उनले त्यसबेलाको एकमात्र बोर्डिङबाट स्कुल ‘डेमोस्टेसन’बाट दीक्षित हुने अवसर पाइन् ।

रंगकर्मका लागि बुबाबाट सधैँ हौसला पाएको सुनाउँदै उनी थप्छिन्, ‘नाटक र नृत्य मेरा लागि लागूपदार्थ जस्तो भयो । लत छोड्नै चाहिनँ । सकिनँ पनि । नाचगान भन्नेबित्तिकै जहाँ पनि पुग्थेँ । समाजले के भन्थे भन्ने ध्यान नै भएन । म राम्रो क्षेत्रमा छु भन्ने नै थियो । लागिरहेँ ।’

यसरी जागेको कलाकारिताको मोह स्थापनाकालदेखि नै कला केन्द्रमा आवद्ध भएपछि प्रतिभा थप निखार्न पाएको भुवन सुनाउँछिन् । उनी भन्छिन्, ‘१२–१३ सालमा कला केन्द्र राजनाट्य परिषद् खुल्यो । गोपालप्रसाद रिमाल र विष्णुप्रसाद पाण्डेले खोल्नुभएको कला केन्द्रमा म आवद्ध भएँ । त्यहीँबाट नृत्य–नाटक गर्न मैले नेपाल भ्रमणको अवसर पनि पाएँ ।’

पहिलो पारिश्रमिक एक सय

कलिलो उमेरमै राष्ट्रिय नाचघरमा जागिर खाने अवसर जुर्नुको जस भने भुवन राजा महेन्द्रको कला प्रेमलाई दिन्छिन् । ०१७ सालमा राजा मेहन्द्रले श्यामदास श्रेष्ठको ‘प्रकृतिको प्रेरणा’ गीती नाटक हेर्ने इच्छा देखाउँदा कलाकारको अभावले नाचघरमा काम गर्ने ढोका खुलेको उनी बताउँछिन् ।

‘श्यामदास श्रेष्ठले मलाई भुवन तिमी राष्ट्रिय नाचघरमा गएर नाटक गर्छौं ? भनेर सोध्नुभयो र मैले गर्छु भनेँ । नाचघरमा गएर काम गरियो,’ उनी सम्झन्छिन् ।

त्यहीबेला सूचना विभागका डाइरेक्टर रमेशजंग थापाले नाटकवापत् एक सय रुपैयाँ पारिश्रमिक दिएर राष्ट्रिय नाचघरमा जागिरको अफर गरेको उनी बताउँछिन् । भुवन भन्छिन्, ‘मेरो पहिलो कमाइ नै त्यही हो । जागिर खाँदा चाहिँ डेढ सय रुपैयाँ मासिक तलब थियो ।’

नाचघरमा काम गर्ने क्रममै उनले राजकीय भ्रमणमा आएका अथिति एवं राजपरिवारका लागि प्रस्तुति दिन थालिन् । साथै विदेश भ्रमणको पनि अवसर पाइन् ।

उनी भन्छिन्, ‘म ०१७ सालमा नाचघरमा जोडिएर ०६२ सालमा रिटायर्ड भएँ । डेढ सयबाट सुरु भएको तलब १० हजार पुगेको थियो ।’

१५ वर्षको उमेरमा नायिका

भुवनको परिचय ‘आमा’ फिल्मले बनाएको भन्दा फरक पर्दैन । उनी सूचना विभागले निर्माण गरेको नेपालको पहिलो चलचित्र ‘आमा’ फिल्मकी नायिका हुन् । सोही कारण उनलाई नेपालको पहिलो नायिका भनिन्छ ।

०२२ सालमा प्रदर्शनमा आएको सो फिल्ममा आबद्ध हुँखा उनी  १५ वर्षकी थिइन् । तर, धेरै जनाको अडिसनबाट आफू चुनिएको उनी बताउँछिन् ।

‘त्यसबेला राष्ट्रिय नाचघरमा सीमित मात्रै महिला कलाकार थियौँ तर भाग्यको कुरा, धेरै केटी कलाकारका बीचमा मलाई छनोट गर्नुभयो,’ उनी भन्छिन्, ‘अहिलेको विश्वज्योति हलको छेउमा सेतो दरबार थियो, त्यहाँको सानो होटेलमा हामीले अडिसन दिएका थियौँ ।’

फिल्म प्रदर्शनपछि उनले अभिनयको प्रशंसा राजा महेन्द्रको मुखबाट सुन्न पाइनन् तर नृत्यको कार्यक्रम सकेर चीनबाट फर्किएपछि उनलाई राजाका एक फोटोग्राफरले भनेका थिए रे, ‘हाम्रो भुवनले भारतीय कलाकारभन्दा कम त गरेको रहेनछ भनेर राजाले तारिफ गर्नुभयो तिम्रो, फिल्म हेरेपछि ।’

यसरी फिल्ममा प्रवेश गरेकी भुवन दुई फिल्ममा मुख्य कलाकार रुपमा प्रस्तुत भएकी थिइन् । अहिलेसम्म उनले तीन दर्जन फिल्ममा काम गरेकी छिन् ।

डेढ सय तलबले परिवारको खर्च

बुबाले दोस्रो बिहे गरेपछि भुवन आफ्नी आमासहित छुट्टै बस्न थालिन् । त्यसबेला डेढ सय रुपैयाँको मासिक तलबले घर खर्च धानेको भुवन सुनाउँछिन् । तर, बुबासँग सम्बन्ध बिगारेर उनी छुट्टिएकी भने होइनन् ।

उनी भन्छिन्, ‘त्योबेला धेरै श्रीमती ल्याउने प्रवृत्ति नै थियो, बुबाले पनि ल्याउनुभयो । मलाई मन परेन र छुट्टै बसेँ । मैले तीन कोठाको भाडा र चारजनाको खर्च पुर्‍याउनुपर्थ्यो ।’

डेढ सय रुपैयाँ तलबले मिठो-मसिनो खाँदा र राम्रै लगाउँदा पनि मासिक २५–२६ रुपैयाँ उब्रिने ती दिनलाई उनी ‘सत्ययुग’ मान्छिन् ।

‘संघर्षको दिन मेरो त्यही नै हो । तर, तलबले सबै कुराको राम्रो व्यवस्थापन थियो । मलाई घरखर्च हेर्नु परेकामा कुनै दुःख थिएन ।’  भुवनले खबरहबसँग भनिन्,‘मेरो स्वाभाव नै अचम्मको । बुबासँग छुट्टिएर बसे पनि रिस थिएन । बुबाको मुख हेर्ने दिनमा म खानेकुरा बोकेर भेट्न जान्थेँ । बुबा पनि छोरी आउँछे भनेर कुरेर बस्नुहुन्थ्यो ।’

त्यो युगमा प्रेम विवाह

राष्ट्रिय नाचघरमा जागिर गर्ने क्रममा माइकल चन्दसँग प्रेममा परेपछि भुवनले विवाह गरिन् । चार वर्षभन्दा बढीको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरे । प्रेममा रहँदाको क्षणलाई स्मरण गर्दै उनी भन्छिन्, ‘त्यसबेला फिल्ममा त लभ परेको देखाउनुपर्‍यो भने फूल जोड्याउँथ्यौं । तर हाम्रो चिया खाने र बोल्ने चाहिँ हुन्थ्यो । न्यूरोडतिर घुम्न पनि जान्थ्यौं । तर, हिड्नचाहिँ अलि टाढा-टाढा ।’

विवाहपछि श्रीमानसँग जर्मनी गएका कारण फिल्मबाट टाढिएको उनी बताउँछिन् । उनले भनिन्, ‘अफिस बिदा लिएर दुई वर्ष जर्मनी बसेँ । हिरोइन बन्ने समय हुने रहेछ, फर्कँदा मेरो समय गएछ । अनि क्यारेक्टर आर्टिस्टको भूमिका पाउन लागेँ ।’

विवाहपछि पनि श्रीमानबाट फिल्मका खेल्नका लागि समर्थन पाएकामा उनी आफूलाई भाग्यमानी ठान्छिन् । ‘विवाहपछि मेरो जीवन सहज भयो । श्रीमान आफू बच्चा हेरेर मलाई फिल्म खेल्न पठाउनुहुन्थ्यो । उहाँ जति सपोर्ट गर्ने श्रीमान् पाउने नारी विरलै होलान्,’ उनी थप्छिन्, ‘अस्ति एउटा फिल्ममा काठमाडौं बाहिर जानुपर्ने भएकाले अस्वीकार गरेँ । उहाँ जाउ, गर भन्दै हुनुहुन्थ्यो । सपोर्ट गर्ने बानी अझै हटेको छैन ।’

इतिहास रच्ने मौका

समाजमा चलचित्र क्षेत्रप्रति जस्तो धारणा बनाए पनि भुवन यस क्षेत्रलाई प्रवित्र मान्छिन् । ‘चलचित्र भनेको प्रवित्र क्षेत्र हो’ भन्ने बुझाइले नै त्यो संकुचित समाजको नकारात्मक दृष्टिमा पनि आफू यस क्षेत्रमा होमिएको उनी बताउँछिन् ।

नेपालकी पहिलो नायिका बन्ने अवसर पाएकामा भुवन कृतज्ञ छिन् । सम्हाल्नै मुस्किल पर्ने गरी अवार्डले उनी सम्मानित भएकी छिन् ।

उनी भन्छिन्, ‘मैले पाएको पदवी अर्बौं रुपैयाँले पनि किन्न सकिँदैन । जहाँ जाँदा पनि सम्मान पाएकी छु । एउटा कोठामा अर्वाडहरु नअटाएर दराजमा कोच्नुपरेको छ । खादा र दोसल्लाको त कुरै छोडौं ।’

बाल्यकालदेखि चाहेको पेसा कलाकारितामा आफ्नो सम्पूर्ण जीवन खर्चन पाउँदा भूवन सन्तुष्ट छिन् । कलाकारिता यात्राकै कारण अहिले कार्यक्रममा उपस्थित हुँदा पाउने सम्मानलाई उनी जीवनको अमूल्य कमाइका रुपमा उनी लिन्छिन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  २ : ५३ बजे

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तारुढ दलको

बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व संकलन

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १०

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको

कलुवापुर–बेलौरी राजमार्ग अझै भएन कालोपत्र 

कञ्चनपुर– कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको

खराब मौसमका कारण श्रीलंकामा दश हजारभन्दा बढी प्रभावित

कोलम्बो– तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलंकामा दश हजारभन्दा