'सत्ताधारीलाई हाम्रो तर्फबाट न सहयोग हुन्छ, न समर्थन' | Khabarhub Khabarhub

‘सत्ताधारीलाई हाम्रो तर्फबाट न सहयोग हुन्छ, न समर्थन’



आफूलाई राजावादी शक्ति भन्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी विडम्बनापूर्ण निर्णयका कारण विवादमा फस्ने गर्छ । संघीयता नमान्ने अडान राख्ने पार्टी प्रदेशको सभामुख खाने निर्णयमा पुग्छ । अहिले न सशक्त प्रतिपक्ष बन्न सकेको छ, न सत्ताका लागि हरियो बत्ती बालिएको परिस्थिति छ । संघ र प्रदेशको राजनीतिमा  राप्रपाको भावी यात्रा कसरी  अघि बढ्ला ? गएको पुस ३ गते केन्द्रीय समिति बैठकबाट सत्तामा सहयात्रा नगर्ने निधो गरेको राप्रपा एकाएक सत्ताको मोलतोलमा उत्रियो । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको बटमलाइनमा उभिएको बताउने राप्रपा यतिखेर सुशासन आवाज उठाएर सडक आन्दोलनमा छ । यो अन्तरआत्माको आवाज हो कि सार्वजनिक खपतका लागि उचालिएको नारा ? कमल थापाले नेतृत्व गरेको राप्रपा र लिङदेन नेतृत्वको राप्रपाबीच तात्विक अन्तर के हो ? यिनै विषयका सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर राणासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

राप्रपाले अहिले बोकेको वास्तविक चित्र र चरित्र स्पष्ट पारिदिनुहुन्छ कि ? 
हामी सत्ताधारीसँग प्रदेशमा पनि मिलेका छैनौँ । अहिले विपक्षहरूको सरकार बन्न सक्ने स्थिति प्रदेशमा रहेको अवस्थामा बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ । सत्तामा जाने कुनै योजना छैन । यो व्यवस्था, अवस्था नै दर्दनाक र कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । यसलाई सामान्य रूपले परिवर्तन गर्न सकिँदैन । त्यसकारण राप्रपा समान विचार धारा, एजेण्डा मिल्ने र यो व्यवस्था खारेज गरी राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने उद्देश्य बोकी आन्दोलन घोषणा गरेर हामी अघि बढेका छौं । 

प्रदेश खारेजीको कुरा गरिरहँदा प्रदेशमा अस्थिरता जति लम्बिन्छ, त्यति राप्रपाको नारा बलियो होला नि ? 
देशलाई अस्थिर बनाउने योजना हाम्रो हैन । यो मूलत परिस्थिति बद्ल्ने योजना हो । देश अस्थिर होस् र गन्जागोल होस् भन्ने हाम्रो अभिप्राय होइन ।

राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा बहस गरिरहँदा को सँग गर्ने त सहकार्य ? 
यो देशमा गणतन्त्र संघीयता विरोधी र राजतन्त्र ल्याउनुपर्ने विचारधारा बोकेका पार्टी व्यक्ति संस्था, समूह सबैसँग हामी सहकार्य गर्छौ । त्यसमा सामूहिक नेतृत्व हुन्छ । सबैलाई मान मर्यादा दिए एकजुट भएर हामी अगाडि बढ्छौँ । यसमा समान लक्ष्य बोकेका सबैले सबैको अस्तित्व स्वीकारेर सहकार्य गर्ने हाम्रो योजना छ ।

तपाईँहरूको एजेण्डामा कमल थापादेखि केशरबहादुर विष्टसम्म सबै आउने हो ? 
सबै आउँछन् । यो विचार धारा लक्ष्य बोकेका सबै व्यक्ति समूह पार्टी अभियन्ता सबैलाई एक ठाउँमा राखेर अगाडि बढ्ने प्रयासमा हामी छौँ ।

जनमतको आकारका हिसाबमा हामी ठूलो शक्ति हौँ, हाम्रो मातहतमा सबै आउनु पर्छ भन्ने दम्भ राप्रपाभित्र रहेको हो ?
हामी सबै मिलेर अगाडि बढ्नु पर्छ भन्ने नै छ । एकताबद्ध भएर व्यवस्था परिवर्तनका विरुद्धमा लाग्छौं । अहिलेको अवस्था सानो, ठूलोको नभएर परिस्थितिको हो । 

यो आन्दोलनका लागि भारतबाट आर्थिक सहयोग आएको हल्ला छ नि ? 
हैन, हामी विदेशीसँग एक पैसा लिएर गर्दैनौँ ।  नेपालीकै साथ सहयोग लिएर अघि बढ्ने हो । हामी राजा सहितको प्रजातन्त्र खोज्ने मान्छे हौँ । हामीलाई राजाको साथ र सहयोग छ ।  त्यसमा कोही नजिक र कोही टाढा छैनन् । यो अवस्था र व्यवस्था बदल्न सबै लाग्नुको विकल्प छैन । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : २४ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त