ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत | Khabarhub Khabarhub

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

रावललाई बोलाएर ओलीले भने : सुदूरपश्चिममा हतार गर्नु जरुरी छैन



काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख ६ गते नियुक्त दीर्घ सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिन आनाकानी गरिरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हलो अड्काइदिँदा सोडारीलाई विश्वासको मत अनिश्चित भएको हो ।

सोडारीले वैशाख २१ गते शुक्रबार नै विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाएका थिए । तर, एमालेले सल्लाह नै नगरी विश्वासको मत लिन लागेको बताएपछि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

त्यसको भोलिपल्ट शनिबार साँझ ५ बजेका लागि बैठक सारिएको बैठकमा पनि एमाले विश्वासको मत दिन तयार भएन । बैठक बस्ने दिन एमाले संसदीय दलका नेता राजेन्द्र रावल काठमाडौं हिँडिदिए ।

एमालेले वैशाख १५ गते बझाङ १ मा भएको उपनिर्वाचनमा विजयी दमनबहादुर भण्डारीले प्रदेश सभा सदस्यको शपथ नलिएसम्म विश्वासको मत नदिने अडान लिएको छ । यता सोडारीलाई विश्वासको मत लिन हतार परेको छ । हतारमा रहेको सोडारीलाई एमाले अल्झाइदिएको छ ।

एमालेले विश्वासको मतमा ढिलाइको कारण दमन भण्डारी बुवाको काजकिरियामा रहेको देखाए पनि मुख्य समस्या केन्द्रको गठबन्धन हो । केन्द्रमा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल प्रधानमन्त्रीका लागि नेपाली कांग्रेससँगको संवाद र अरु विकल्पको खोजीमा रहेको थाहा पाएसँगै एमाले अध्यक्ष ओली बिच्किएका छन् । नेपाल–ओली सम्बन्धमा समस्या देखिँदा त्यसको असर सुदूरपश्चिम सरकारमा पनि परेको हो ।

बझाङमा विजयी दमनले वैशाख २५ गते मात्रै बाबुको काजकिरिया सकेर बाहिर निस्किने तयारीमा छन् । उनी वैशाख २६ गते धनगढी झरेर २७ गते मात्रै प्रदेश सभामा उपस्थित हुने तयारीमा छन् ।
‘दमन धनगढीमा उपस्थित भए पनि केन्द्रबाट आदेश नआएमा कार्यक्रम फेरबदल पनि हुन सक्छ’, एमालेका एक नेताले भने ।

यस्तो अवस्थामा सोडारीले वैशाख २७ अगाडि विश्वासको मत लिने सम्भावना कम छ । एमाले दलका नेता रावल दमन भण्डारीले शपथ लिएपछि मात्रै सोडारीलाई विश्वासको मत दिन सकिने बताउँछन् ।

‘भण्डारीजी बुवाको काम सकेर धनगढी झरेपछि मात्र सम्भव छ, मुख्य कुरा भण्डारीजीले शपथ लिनु हो । त्यो सकिएपछि सोडारीले विश्वासको मत पाइहाल्नु हुन्छ’, रावलले भने ।

एमालेले एक सिट बढाएको बताउँदै त्यसले सोडारीलाई नै फाइदा गर्ने बताए ।‘हामीले विश्वासको मत दिने साथी बढाएका छौं । यो कुरा त उहाँहरूले पनि बुझ्नप¥यो नि’, रावलले भने ।

मुख्यमन्त्री सोडारी आफूले हतार गरेको कुरा स्वीकार्छन् । ‘हामी अहिले छलफलमा छौं । छिट्टै विश्वासको मत लिन्छौँ । एमालेका साथीहरूले असहयोग गर्नुभएको छैन’, उनले भने ।

उता दमनलाई तत्काल शपथ नगराउन एमाले अध्यक्ष ओलीले शनिबार नेता रावललाई बालकोटमा बोलाएर निर्देशन दिएको एमाले स्रोतको दाबी छ ।

स्रोतका अनुसार तत्कालीन नेकपा र एमालेमा विभाजनमा जाँदा माधव नेपाल समूहमा रहेका सोडारीलाई एमाले अध्यक्ष ओली र अन्य नेताहरूले रुचाएका छैनन् । ‘सुदूरपश्चिममा मुख्यमन्त्री बनाउँदा पात्र पनि गतिलो छानिएन’, ओली र उनीनिकट नेताहरूको निष्कर्ष छ ।

आन्तरिक छलफलमा रावल र सोडारी
एमाले संसदीय दलका नेता रावल शनिबार काठमाडौं आएर ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

स्रोतका अनुसार रावलाई ओलीले तत्काल विश्वासको मत नदिनू भनेका छन् । यसबारे रावलले कुनै प्रतिक्रिया दिएनन् । उनले भने, ‘समय आएपछि बोलौँला । अध्यक्षसँग मेरो निजी वार्ता हो ।’

रावलले यसो भने पनि एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई झुलाउन चाहेको छ । ती नेताले भने, ‘सत्तामा रहेर सत्ताकै सहयात्रीलाई नमानेपछि समस्या अवश्य आउँछ ।’

केन्द्रमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग मिलेर माधव नेपाल नयाँ सत्ता समीकरणमा लागेको सुइँको पाएसँगै ओली आक्रोशित छन् । ओलीले रसुवा पुगेर प्रधानमन्त्री नपाएर केही मान्छे हर्‍याक हर्‍याक गरिरहेको भन्दै माधव नेपालतिर कटाक्ष गरे । त्यसलगत्तै नेपाललाई प्रधानमन्त्री बनाउन बल दिने जसपाका १२ मध्ये ७ सांसदले नयाँ दल खोलेका छन् ।

रावल शनिबार काठमाडौं आएर बालकोट पुगे । उता मुख्यमन्त्री सोडारी पनि आइतबार काठमाडौं आएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटिसकेका छन् । नेपालले पनि २६ गतेसम्म पर्खिने बताएका छन् ।

‘केही समस्या केही छैन । अदालतको फैसला पनि आउँछ । हाम्रा साथी पनि बुवाको काम सकेर निस्किनु हुन्छ । अनि विश्वास लिन सहज हुन्छ’, उनले भने ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर, सर्वोच्च अदालतले वैशाख १० गते सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । यसबारे सर्वोच्चको अन्तिम आदेश पनि पर्खिनुपर्ने एमालेको मत छ । रावलले खबरहबसँग भने, ‘सर्वोच्चको फैसला पनि त पर्खनु पर्‍यो नि !’

ओली–नेपाल मनमुटावले समस्या
सत्ता साझेदार नेकपा एमाले र समाजवादीबीच फुट अघिबाटै चलेको झगडा अझै मिल्न सकेको छैन । गत फागुन ३० देखि सत्ता सहयात्री बनेका दुई दलका शीर्ष नेताबीच आरोप–प्रत्यारोप उस्तै छ ।

फागुन २१ मा नेपाल फकाउन कोटेश्वर पुगेका ओली फेरि आक्रोशित छन् । उता नेपाल पनि दम्भ नघटेको भन्दै ओलीसँग रुष्ट छन् ।

ओलीले शनिवार एमाले रसुवाको अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘अहिले पनि तपाईँहरूले देखिरहनु भएको छ, एकजना मान्छे कराउँदै हिँडेका छन् । प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हर्‍याकहर्‍याक गर्दैछन् ।’ उनको यो कटाक्ष समाजवादी अध्यक्ष नेपाललक्षित थियो ।

शनिबार ओलीले यसो भनेपछि बझाङको उपनिर्वाचन र एमालेको हिरक जयन्ती समारोहमा नगएका नेपालसँगको उनको आक्रोश बुझ्न कठिन पर्दैन ।

एकीकृत समाजवादीका नेताहरूका अनुसार नेपाल पनि ओलीसँग झुकेर बस्ने मुडमा छैनन् । असारसम्म आफैं सरकारको नेतृत्वमा पुग्ने या गठबन्धन छाड्ने तयारीमा उनी छन् । तर आइतबार जनता समाजवादी पार्टीमा आएको आकस्मिक विभाजनले नेपाललाई धक्का लागेको छ । नयाँ गठबन्धनका लागि उनी कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवसँग पनि छलफललमा थिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे संसद् विघटन गर्दा पनि जोगाएको एकीकृत समाजवादीलाई अघि बढाउन विभिन्न कोणबाट संवाद भइरहेको बताउँछन् । ‘प्रतिनिधि सभा विघटन गर्दा त बचाएर हिँडेको पार्टी हो । नयाँ सम्भावनाबारे विभिन्न कोणबाट छलफल भइरहेको छ । हामी नजिकबाट अवस्था नियालिरहेका छौँ । हाम्रो हक खोसिए सरकारमा बस्नुको अर्थ छैन । सम्भावनाका ढोकाहरू खुल्ला छन्’ पाण्डेले भने ।

पाण्डेकै भनाइ अनुसार एमालेले सत्ता गठबन्धनको सर्तभन्दा दायाँबायाँ गरेमा जतिबेला पनि सरकारबाट बाहिरिने योजनामा समाजवादी छ । यता जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको पनि विभिन्न कोणबाट छलफल भइरहेको छ ।

जसपा अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव एक साता लामो अमेरिका यात्रा सकेर मंगलबार बिहान फर्किएका छन् । यस्तोमा उनी र माधव नेपालले नयाँ समीकरणबारे योजना बनाएको आरोप लागेको छ ।

जसपा प्रवक्ता मनिष सुमन २०८४ सम्म यही सरकार टिकाएर लाने पक्षमा आफूहरू रहेको बताउँछन् । ‘हामी ०८४ सम्म यही सरकार टिकाएर लैजाने पक्षमा छौं । विकल्पको तत्काल कुनै सम्भावना छैन’, उनले केही दिनअघि निष्कर्ष सुनाएका थिए । तर आइतबारदेखि जसपा दुई पार्टीमा परिणत भएर नयाँ राजनीतिक घटनाक्रम अघि बढिसकेको छ । जसले माधव नेपाल र उपेन्द्र यादव दुवैलाई राजनीतिक धक्का दिएको छ ।

सुमनले २०८४ सम्म यही सरकार लैजाने बताएपछि अध्यक्ष यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट थिएनन् । उनी ओली र प्रधानमन्त्री प्रचण्ड दुवैसँग रिसाएका थिए । खासगरी मधेस प्रदेशमा प्रदेश प्रमुख एमालेका मान्छे नियुक्त गरिएदेखि यादव रुष्ट थिए । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई पूरै कार्यकाल सरकारको नेतृत्व गर्न दिनुपर्ने जसपाको माग छ ।

तर जसपाले मागेका यी कुराको ग्यारेन्टी छैन । त्यहीकारण जसपा अध्यक्ष यादव ओली र प्रचण्ड दुवैसँग सशंकित थिए ।

सोमबार जसपाका ७ जना सांसदको निवेदनका आधारमा नयाँ दल दर्ता भइसकेको छ । नयाँ पार्टी खोलेका जसपाका ७ सांसद भने एमालेको पक्षमा उभिने योजनामा छन् । आफूहरू सरकार टिकाउने पक्षमा रहेका नयाँ जसपा अध्यक्ष अशोक राई बताउँछन् ।

यता एकीकृत समाजवादी, कांग्रेस, जसपा, राप्रपा र लोसपा लगायत दलहरू मिलेर नयाँ सत्ता सहकार्यको रणनीति पनि बन्दै थियो । तर, जसपाको अचानक विभाजनले वैकल्पिक गठबन्धन पनि तत्काललाई तुहिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : ५० बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा