देश/प्रदेश

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

By ज्ञानु घिमिरे

May 08, 2024

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पार्टी अध्यक्ष पदका लागि पार्टीको १०औं महाधिवेशनमा भिडन्त हुने देखिएको छ ।

सत्तारुढ समाजवादीको महाधिवेशन आउँदो जेठ ३ देखि ७ सम्म काठमाडौंमा हुँदैछ । यसअघि २०८० फागुन ४, ५ र ६ गते हुने भनिएको महाधिवेशन राष्ट्रियसभा निर्वाचन र तयारी नपुगेको भन्दै सारिएको थियो ।

यो पटक समयमै महाधिवेशन र नेतृत्व चयन निम्ति निर्वाचन हुने पार्टी उपाध्यक्ष जयन्ती राईले बताइन्‌ । समाजवादीले केन्द्रीय परिषद् बैठक राखेर सम्पूर्ण नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट जाने घोषणा गरिसकेको छ ।

महाधिवेशनमा पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै भएको हो । खनालले पनि आफू अध्यक्ष लड्ने तयारीमा रहेको खबरहबसँगको कुराकानीमा बताएका छन् ।

उनले भने, ‘यो त देशको आवश्यकता हो । म देश र जनता र पार्टीको रक्षा गर्नका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु ।’ खनाल निकट नेताका अनुसार उनले यसका लागि यतिखेर माहोल बनाइरहेका छन् ।

अध्यक्ष नेपाल भने आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पदमा सम्मानित नेता खनालले उम्मेदवारी दिनेबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । नेपालले खबरहबलाई भने, ‘पार्टीले प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरिसकेको छ । को अध्यक्ष हुने भन्दा पनि निर्वाचन हुने भएपछि त्यसले नै नेतृत्व निर्धारण गर्छ ।’

पछिल्लो समय एकीकृत समाजवादीभित्र शीर्ष नेताद्वय नेपाल र झलनाथबीच सम्बन्ध उत्ति राम्रो छैन । खनाल वाम एकताको पक्षमा वकालत गर्दै आएका छन् भने नेपाल कांग्रेस र माओवादीसहितको गठबन्धन बनाउने पक्षमा देखिएका छन् ।

वर्तमान गठबन्धन विस्थापित गर्नेगरी कांग्रेससँग मिलेर नयाँ सत्तासमीकरण बनाउन खोजेपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का शीर्ष नेताहरूले हालै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा फुटाइदिएका छन्‌ ।

कांग्रेससँग गठबन्धन बनाइ प्रधानमन्त्रीको कार्यकाल भागभण्डा गर्ने भित्री खेलमा एकीकृत समाजवादी अध्यक्ष नेपाल पनि संलग्न भएको आशंका सत्तारुढ प्रमुख दुई दलका शीर्ष नेताहरूले गरिरहेका छन्‌ । त्यसैले अब नेपालले पनि पार्टी विभाजनको झड्का ब्यहोर्नुपर्ने विश्लेषण भइरहेको छ ।

तर, सोमबार बसेको एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । नेपाल आफ्नो पार्टीमा बाहिर आएका हल्लाहरू जस्तो नभएको तर्क गर्छन्‌ । सरकारबाट बिदा हुने सन्दर्भलाई नेता खनाल पनि हल्लाको संज्ञा दिन्छन् ।

सत्ता गठबन्धनभित्र हलचल बढिरहँदा महाधिवेशन अघि नै एकीकृत समाजवादी विभाजन हुने सम्भावना भने तत्कालका लागि टरेको छ । एकीकृत समाजवादीका एक नेताले भने, ‘महाधिवेशन अगाडि पार्टीमा कुनै विभाजनमा देखा पर्दैन । त्यसपछि विकसित घटनाक्रमले कस्तो स्थित निम्त्याउँछ, हेर्दै जाऔँ ।’

खनालले आफू अध्यक्ष हुनकै लागि पार्टी विधानबाट ७० वर्षे हदम्याद हटाएको स्पष्ट भएको नेताहरू अनौपचारिक कुराकानीमा बताउँछन्‌ । यसो हुँदा समाजवादीको आगामी महाधिवेशन रोचन हुने अनुमान छ ।

के हो माधव र झालनाथ बीचको विवाद ?

माधवकुमार नेपाल तत्काल पूर्वपार्टी नेकपा (एमाले)सँग मिलिहाल्ने पक्षमा देखिएका छैनन् । तर, झलनाथ खनाल भने वाम गठबन्धनको बाटोबाट पार्टी एकता हुनुपर्ने पक्षमा छन् ।

नेपाल र खनालबीच पार्टीको राजनीतिक कार्यदिशा के बनाउने भन्ने मामिलामै मतभेद छ । कार्यदिशा सन्दर्भमा विवादको मुख्य जड ‘जनताको बहुदलीय जनवाद (जबज)’ मान्ने कि समाजवादी यात्रामा हिँड्ने भन्नेमा दुई नेता विभाजित देखिन्छन्‌ ।

नेपाल जबजलाई मान्दै अघि बढ्नुपर्ने पक्षमा छन् । उनी स्वर्गीय मदन भण्डारीले देखाएको कार्यदिशा अङ्गाल्न चाहन्छन् । खनाल भने समाजवादी कार्यदिशामा गइसकेकाले जबजको भिजन बोक्ने, तर काम अर्कोतिर गर्ने दिशामा जानु नहुने अडानमा छन् ।

आ-आफ्नै तर्क !

समाजवादी कार्यक्रम र लक्ष्य लिएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै अहिले पार्टीको भिजन र कार्यदिशा स्पष्ट गर्न पनि आफू नेतृत्वमा आउन चाहेको खनाल बताउँछन् ।

उनी भन्छन्, ‘सिद्धान्त र दिशा क्लियर भएन । महाधिवेशन पछि आउने नेतृत्वले यसलाई क्लियरकट गर्छ । स्पष्ट लक्ष्य र सङ्घर्ष पनि निर्धारण गरिनेछ ।’

अध्यक्ष नेपाल चाहिँ जनताको बहुदलीय जनवादको आधारमा टेकेर नेपाली विशेषताको समाजवादी बाटोमा जाने बताउँछन् । उनी भन्छन्, ‘जबजको विचार र नेपाली विशेषता सहितको समाजवादको बाटो आजको प्रमुख मान्यता हो । व्यवस्था बचाएर आफ्नो सिद्धान्तलाई टेकेर अगाडि बढ्नुपर्छ ।’

यसरी हेर्दा झलनाथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको भन्दा माधव नेपाल र ओलीको सिद्धान्त मिलेको देखिन्छ । अध्यक्ष ओली र नेपाल जबजको सिद्धान्तमा निकट देखिएका हुन्‌ ।

तर, समाजवादी मोचाको संयोजकको भूमिका निभाइसकेका नेपाल यही मोर्चाको निरन्तरताको पक्षमा छन् । पछिल्लो समय नेपाल र ओलीको सम्बन्ध पनि हल्का सुधार भएको अनुमान गर्न सकिन्छ ।

पहिले कार्यक्रमहरूमा भेट हुँदा दुबै नेताहरूले एक-अर्कोप्रति वास्ता नगर्ने गर्थे । अहिले भित्री रूपमा सम्बन्धमा तातोपन नआए पनि भेट हुँदा फाट्टफुट्ट बोलचाल सुरु भएको छ । तर, सार्वजनिक मञ्‍चमा छेडछाड गर्न भने छाडेका छैनन्‌ ।

वृहत् वाम एकताका लागि आफूले नेतृत्व गर्ने र आफैँ अध्यक्ष बन्नुपर्ने लाइनमा देखिएका खनालले महाधिवेशन पछि एमालेसँगको एकतालाई बाटो खुला गर्ने उनी निकट नेताहरू बताउँछन्‌ । तर, पार्टीका नेता प्रकाश ज्वाला भने अहिले त्यस्तो पार्टीमा कुरा नै नचलेको दाबी गर्छन्‌ । विद्रोह गरेर आएको पार्टी भएकाले यात्रा पूरा नभएसम्म पार्टी संगठन बलियो बनाएर जाने उनको दाबी छ ।

यता खनाल निकट रहेका पार्टी सचिवालयका एक नेताले खबरहबलाई भने, ‘वाम शक्तिलाई एक ठाउँमा ल्याउनेगरी संवाद गर्न र पार्टीको नीति/सिद्धान्त/लक्ष्य/कार्यदिशा स्पष्ट गर्न अहिले जेएन (झलनाथ) कमरेडको विकल्प छैन ।’

ती नेताका अनुसार यो पटक प्रत्यक्ष निर्वाचन गरेरै भए पनि खनाल अध्यक्ष बन्ने होडमा छन् । उनले थपे, ‘एकपटक जेएन अध्यक्ष हुने हो । माधव कमरेडलाई प्रधानमन्त्री बनाएर जेएन कमरेड अध्यक्ष बन्नुहुन्छ । हामी सकेसम्म सर्वसम्मतिका लागि नै प्रयास गर्नेछौँ ।’

यसो हुँदा माधव नेपाललाई पुसपछि प्रधानमन्त्री बनाउने सर्त गरेर खनालले पार्टीको बागडोर सम्हाल्ने नेताहरूको भनाइ छ । तर, नेपाल निकट नेता भन्छन्, ‘जो पार्टी अध्यक्ष हो-उही प्रधानमन्त्री हुन्छ । जेएन अहिले नेतृत्वमा आउनुहुन्न होला । उहाँ त पार्टीको अभिभावक भएर मिलाएर जानुहुन्छ नि !’

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा आफूहरूलाई पार्टी नेतृत्वमा उम्मेदवारीबारे नेताद्वयले औपचारिक जानकारी नदिएको बताउँछन् । उनले भने, ‘महाधिवेशन आयो, तर नेताहरूले दुवै जना उठ्ने भनी औपचारिक जानकारी गराउनु भएको छैन ।’

अध्यक्ष छोड्न तयार छैनन् नेपाल, कुरा नमिले प्रतिष्पर्धा

खनाल पक्ष नेपाललाई प्रधानमन्त्रीको दाबेदार बनाउने सहमति गरेर झलनाथलाई अध्यक्ष बनाउने मनसायमा छैन । नेपाल पक्षका नेता मानिने अनेरास्ववियुका पूर्वअध्यक्ष (हाल पार्टीको केन्द्रीय सदस्य) सुदेश पराजुलीले खबरहबलाई भने, ‘अहिले पार्टी देश र जनताको लागि माधव नेपालकै आवश्यकता छ । देशले त माधव नेपालको विकल्प छैन भनेको छ । पार्टीमा तलमाथि भएको जस्तो मैले बुझेको छैन । झलनाथले पार्टी सुधार भएर जानुपर्छ भन्नु भएको हो । तर उहाँ अध्यक्ष हुने होडमा भएको होइन कि !’

पराजुलीका अनुसार झलनाथले अध्यक्ष लिएर माधवलाई प्रधानमन्त्री बनाउने कुरामा पनि युवा सहमत नभएको बताउँछन् । उनी भन्छन्, ‘जेएन कमरेडले त्यसो गर्नुहुन्छ जस्तो लाग्दैन । उहाँ हाम्रो मार्गनिर्देशक हो । उहाँले पार्टी चलाउन चाहेको होइन जस्तो लाग्छ । हामीलाई केही भन्नुभएको छैन । यदि उहाँ उठ्न चाहनु भएकै भए त निर्वाचन होला । तर अहिले म फेरि भन्छु – पार्टीमा र देशमा माधव नेपालको विकल्प छैन ।’

‘पार्टी सचिवालयमा पनि माधव झलनाथ गुट त छ नि !’ भन्ने प्रश्नमा पराजुलीले भने, ‘यो कुरा मलाई थाहा छैन । नेताहरू मिलेरै अघि बढ्नुभएको छ । झलनाथको मान्छे या माधवको मान्छे भन्ने नै छैन पार्टीमा ।’

तर पार्टी सचिवालयका एक नेताका अनुसार झलनाथको सिद्धान्त र विचारलाई केही नेताले मन पराएका छन्‌, तर खुलिसकेका छैनन्‌ । खनाल पक्षका युवा नेता सञ्जीव राई भन्छन्, ‘महाधिवेशनमा नयाँ नेतृत्व अवश्य आउँछ । तर यसबारे छलफल सल्लाह र विमर्श हुन्छ । बल्ल त महाधिवेशन लाग्दैछ ।’

सचिवालयमा माधव झलनाथको स्थिति एकीकृत समाजवादीमा हाल एक सम्मानित नेता, एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव र छ सचिवहरू छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल हुन्‌ ।

राजेन्द्रप्रसाद पाण्डे, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, धनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई उपाध्यक्ष हुन्‌ ।

महासचिव घनश्याम भुसाल हुन्‌ भने प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा गरी चार जना उपमहासचिव हुन्‌ । नगेन्द्र चौधरी, गरिमा शाह, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, हरि पराजुली सचिव छन् ।

सचिवालयमा रहेका ७० प्रतिशत नेता आफूतिर रहेका नेपाल पक्षको दाबी छ । खनाल पक्ष भने आफूहरूले अहिले नाम नै नतोक्ने, तर सिङ्गो पार्टी कमिटी नै आफ्नो पक्षमा उभिने दाबी गर्छ ।

खनाल पक्षमा पार्टी सचिवालयका करिब ४ जना नेता खुलिसकेका दाबी हुन थालेको छ । खनाल भने आफूले मान्छे गन्दै नबसेको र पार्टी नै आफ्नो पक्षमा रहेको बताउँछन् । उनले भने, ‘कसको पक्षमा को भन्दा पनि पार्टी कता जाने कस्तो कार्यदिशा लिने भन्ने हो । मान्छे गनेर म बसेको छैन ।’

अध्यक्ष नेपाल चाहिँ महाधिवेशनमा को कता भन्दा पनि सके मिलेर जाने, नभए प्रत्यक्ष निर्वाचन गर्ने र निर्वाचन पछि पनि सबैको सम्बन्ध राम्रो हुने बताउँछन्‌ । उनी भन्छन्‌, ‘यसको पक्षको यो भन्ने नै छैन । साथीहरूले विकल्प छैन भन्नुहुन्छ ।’

रामकुमारी झाँक्री भने बाहिरी रूपमा नै खनालको पक्षमा देखेकी छिन्‌ । अन्य तीन नेता भने नाम सार्वजनिक गर्न चाहँदैनन् । यस्तै पार्टी महासचिव घनश्याम भुसालको पछिल्लो अवस्था हेर्दा उनले माधव नेपाललाई सहयोग गरेको देखिन्छ । तर उनी विचारमा भने माधव–झलनाथको बीचमा छन् । यसो हुँदा उनी कतै खुलिसकेका देखिँदैनन् ।