होचा मान्छे, अग्ला दुःख ! | Khabarhub Khabarhub

होचा मान्छे, अग्ला दुःख !

‘तीन फिटमा अड्किएको राज्यले हाम्रो पीडा देखेन’



काठमाडौं – सडकमा हिँडिरहेको मान्छे तपाईंलाई मजाक बनाएर हाँस्न थाल्यो भने कस्तो लाग्ला ? अझ फर्किफर्की हेर्दै खित्का छाड्यो भने कस्तो प्रतिक्रिया दिनुहोला ? शौचालयको चुकुल लगाउन नसकेर शौच गर्न नपाएको क्षण यसो सम्झिनुस्‌ त; कति पीडादायी हुन्छ !

सिंढी उक्लन नसकेकै कारण गन्तव्यसम्म पुग्न नसक्दा कस्तो होला ! ढोकाको चुकुल लगाउन नसकेर असुरक्षाको डरले रातभर निदाउन नसक्दा अवस्था कस्तो हुन्छ ?

शारीरिक हिसाबमा औषत उचाइ भएका मानिसले सायद यी कुरामा खासै सोच्नु पर्दैन । तर जसको शारीरिक उचाइ खासै बढेन, उनीहरूले भने यस्ता हैरानी र समस्या दिनहुँ भोग्नुपर्छ ।

नेपाल होचा पुड्का संघका पूर्वअध्यक्ष निर्मल मक्राती पनि यस्तै भोगिरहेछन्‌ ।

निर्मलको जन्म लखन थापाको गाउँ भनेर चिनिने गोरखा बुङकोटमा वि.सं. २०४० सालमा भएको थियो । चार दाजुभाइ मध्येका उनी साइँला हुन् ।

किसान परिवारमा जन्मिएका निर्मलको बाल्यकाल अभाव र कष्टमा बित्यो । त्यसमाथि उनी शारीरिक रूपले विकास हुन नसकेपछि सामान्य मान्छेले कल्पनै गर्न नसक्ने दुःखकष्टबाट गुज्रनुपर्‍यो ।

निर्मलले औपचारिक अध्ययन कक्षा ३ सम्म मात्रै गरेका छन् । अध्ययन गर्न नसक्नुमा आर्थिक अभाव मुख्य कारण थियो । अर्को चाहिँ शारीरिक अवस्था ! अरू बच्चाहरू २० मिनेट हिँडेर स्कूल पुग्ने, उनलाई ४५ मिनेटदेखि एक घण्टा लाग्ने !

उनीसँग साथै हिँड्ने साथी भएनन्‌ । सानो मान्छेलाई हिँड्न गाह्रो भयो । १२ वर्षको उमेरमा विद्यालय भर्ना भए पनि पढ्न जान समस्या पर्‍यो । अरूको एक पाइला बराबर उनी तीनदेखि चार पाइला हिँड्नुपर्छ ।

५/६ वर्षका साना साथीसँग उनको दोस्ती भएन । साथीहरूले जिस्काउने, मजाक बनाउने गर्न थाले । ‘पुड्के*’ र ‘बाङ्गे*’ जस्ता शब्दले आफूलाई होच्याउँदै सम्बोधन गर्ने हुँदा स्कूल जानै मन लागेन । तर स्कूलका हेडमास्टर उनकै घर छेउको बाटो भएर हिँड्थे ।

‘उहाँ आएर होमवर्क दिने गर्नुहुन्थ्यो, सिकाइदिनुहुन्थ्यो । स्वतःस्फूर्त रूपमा उहाँले पढाइदिनुभएको थियो । केही अक्षर चिनाइदिनुभयो । उहाँको नाम श्यामबाबु कट्टेल हो । अहिले पनि उहाँसँग भेटघाट हुन्छ । अहिले सेवानिवृत्त हुनुभयो,’ निर्मलले भने ।

उनको खुट्टा शरीरमै जोडिएकाले हिँड्न सक्ने अवस्था थिएन । वि.सं. २०४५ सालमा जापानको एक संस्थाले उतै लगेर उपचार गरेपछि हिँड्न सक्ने भए ।

उपचार गरी फर्केपछि खगेन्द्र नवजिवनमा चार वर्ष बसे । त्यो होस्टल जस्तो थियो । पकाएर खान दिएको खायो, बस्यो र सुत्यो । अरूले दिएको खाएपछि आफ्नो स्वतन्त्रता हुँदैनथ्यो । त्यस्तो दैनन्दित उनलाई ठीक लागेन । आफैँले गरेर खानुपर्ने सोचेर बाहिर कोठा लिई बसे ।

धेरै जन्मिँदै केही सानो कदका हुन्छन्‌ त कोही सामान्य ! होचापुड्का*का हकमा अरू बच्चाहरू जस्तै जन्मिए पनि पछि विकास रोकिन्छ । तर उनी जन्मिँदै साना थिए । तीन महिनाको हुँदा आमाबाबुले होचो हुन्छ भन्ने थाहा पाइसकेका थिए । उमेर बढ्दै गयो, तर शरीर बढेन ।

त्यो हेलाहोचो
जन्मजात या पछि अपाङ्गता भएकाहरूमाथि विभेद घरबाटै शुरू हुन्छ । अरू सग्ला छोराछोरीलाई गर्ने माया र उनलाई गर्ने माया फरक थियो । अपाङ्गता भएको बच्चालाई जन्म दिएपछि समाज र आफन्तले आमाबाबुलाई नै घृणा गर्ने रहेछन् ।

त्यही असन्तुष्ट आमाबाबुले निर्मलमाथि पोख्थे । यस्ता कुरा उनले ठूलो भएपछि मात्रै थाहा पाए । आफूहरूलाई देखेर बुद्धिजीवि मान्छेहरू पनि हाँस्दा झन्‌ नकिको लाग्ने निर्मल बताउँछन्‌ ।

‘यस्तो देखेर पनि साथी बन्ने , सहयोग गर्ने मान्छेहरू देखेर खुसी लाग्छ । अहिले अलि अझै होचो भएको भए हुन्थ्यो जस्तो लाग्छ,’ निर्मलले थपे, ‘अहिले अधिकांश छोराछोरीले बाबुआमालाई हेर्दैनन् । पुत्रधर्म मैले निभाएको छु । आमाबुवा सँगै हुनुहुन्छ भन्ने कुराले निकै खुशी दिन्छ ।’

मनोरञ्जन क्षेत्रमा ‘शो-पिस’ बनाए
उचाइ कम भएका व्यक्तिहरू कला क्षेत्रमा पनि आवद्ध छन्‌ । तर निर्मलका अनुसार मनोरञ्जन क्षेत्रमा उनीहरूलाई शो पिस (देखावटी वस्तु) मात्रै बनाइएको छ ।

सञ्‍चालकहरूले दोहोरी साँझहरूमा नाच्ने-गाउने काम त दिने गरेका छन्‌, तर जतिसुकै प्रतिभा भए पनि सहायकका रूपमा मात्रै !

सो क्षेत्रमा महिला त झनै पीडामा छन्‌ । दोहारी साँझमा रात्रिकालीन काम गर्नुपर्छ, त्यस्तै मान्छेहरूसँग भेट हुन्छ । रक्सी पिएका हुन्छन् । होचा अर्थात् पुड्की केटी र सग्लो केटीमा के फरक हुन्छ ? भनेर जिज्ञासा राख्ने गरेको निर्मल सुनाउँछन्‌ । पढे लेखेका र समाजमा सम्मानित पेशा भएकाहरूले नै यौनिक कोणबाट यस्ता प्रश्न राख्दा उनलाई झनै ननिको लाग्छ ।

दोहोरी साँझहरूमा अहिले १० देखि १२ हजार रुपैयाँसम्म तलब छ । कारोना महामारी फैलनुअघि टिप्स राम्रो थियो । अहिले दोहोरी साँझमा ग्राहक पनि कम आउँछन् । टिप्स खासै दिँदैनन् । सबै आर्थिक संकटमा परेका छन् । तर, महङ्गीले आकाश छोएको छ । नेपाल सरकारले पनि रोजगारी व्यवस्था गरेको छैन ।

‘हामीलाई रात्रिकालीन व्यवसायमा मनोरञ्जनको लागि मात्रै काममा राख्ने गरेका छन् । हाम्रो बौद्धिक क्षमताको कदर राज्यले गर्न सकेन । हामी जस्ता नागरिकलाई दैनिकी चलाउनै मुस्किल भएको छ । बैंक, अस्पताल र सार्वजनिक बस लगायत जताततै समस्या छ । जताततै पीडा सहँदै बाँच्नुपर्ने अवस्था छ,’ निर्मल दुःखेसो पोख्छन्‌ ।

देशभर होचा पुड्का नागरिकको संख्या करिब १५ हजार छ । तर, संघमा भने एक हजार मात्रै आवद्ध छन् । ती मध्ये करिब ३०० जनाले राम्रै पढेका छन् । ७ जनाले स्कुल पढाउँछन् । लोक सेवामा भने परीक्षा दिए पनि पास हुन सकेका छैनन् ।

वैवाहिक जीवन असफल
निर्मलले जीवनमा चारपटक बिहे गरे । उनले यसअघि औषत उचाइ भएका ३ जना केटीसँग बिहे गरे, तर स्वष्तिमा रोका भने आफूजस्तै होची छन्, जो उनकी जीवनसङ्गिनी हुन्‌ । उनीसँग बिहे गरेको पाँच वर्ष भयो । उनीहरूबीच उमेर अन्तर करिब १५ वर्ष छ ।

औषत उचाइ भएका श्रीमतीलाई अरूले भड्काइदिए । ‘त्यस्तो पुड्कोसँग पनि के बसेकी भनेर होच्याउने रहेछन् । मेरो उचाइलाई लिएर गलत बुझाउँदै उनीहरूको लाभ लिए । त्यस्तै मान्छेहरूका कुरा सुनेर उनीहरूले छाडे । कोही चार वर्ष, कोही पाँच वर्ष र एक जना ६ वर्ष बसेर हिँडे । कसैले मैले कमाएको पैसा गुटुमुटु पारेर समेत हिँडे,’ निर्मलले सुनाए ।

श्रीमान् र श्रीमती दुवै जना पुड्को भए पनि केही जोडीको बच्चा सग्ला नै जन्मिएका छन्‌ । तर आफू जस्तैसँग बिहे नगर्ने प्रवृत्तिले होचापुड्काको बिहेबारी नटिकेको निर्मल सुनाउँछन्‌ ।

निर्मलकी श्रीमती स्वष्तिमाको मुटुमा प्वाल परेको छ । डाक्टरले बच्चा जन्माउन मिल्दैन भन्यो । भारी उठाउन पनि मिल्दैन । कोठामा बसेर खाना भने पकाउँछिन् । घर नजिकै चोकसम्म पनि पुग्न सक्दिनन् ।  हरेक तीन महिनामा रगत चढाउनुपर्छ । श्रीमतीकाे उपचारका लागि निर्मलले सहयोग खोजिरहेका छन्‌ ।

‘सञ्चारमाध्यमले पनि हाम्रो समस्यालाई वास्ता गरेनन् । हाम्रो बारेमा कसैले लेख्दैन, आवाज उठाइ दिँदैनन् । मिडियाले लेख्दिने हो भने नेताहरूकहाँ कुरा पुग्छ,’ निर्मल थप्छन्‌, ‘सडकमा गएर आन्दोलन गर्ने हो भनेपनि पुलिसले भाटा हान्छ, हामी त अरू जस्तो भाग्न र दर्गुन पनि सक्दैनौँ ।’

आफू जस्तैका लागि जीवन समर्पण

निर्मल भन्छन्‌ः

हामी पनि मानिस हौं । उचाइ बढेन, सृष्टिले यस्तै सिर्जना गर्‍यो । तर, चेतनशील मान्छेहरू पनि हामीलाई देखेर बीच बाटोमै खित्का छोड्छन् ।

सबैभन्दा पहिले आफू बसेकै घरबाट विद्रोह सुरु गरेँ । घरको ढोका र शौचालयमा सबैमा तल अथवा मुनिपट्टी चुकुल बनाउन आग्रह गरेँ । कसैले माने र कसैले मानेनन् पनि !

धार्केमा एक होटलमा चार-पाँच पटक ‘धारा तल राख्नू’ भनी आग्रह गरेँ । तर उनीहरूले मानेनन्, धारै फुटाइदिएँ । सग्ला मानिसहरूले हामी होचाको समस्या बुझेनन्‌ । उनीहरूले अवहेलना गरेपछि धारा फुटाएर विरोध गरेको हुँ ।

व्यक्तिगत विरोधले मात्रै पुग्दैन भनेर संस्थामा आबद्ध भएँ । नेपाल होचा पुड्का संघ २०६० सालमा दर्ता भएको हो । यसका संस्थापक अध्यक्ष लोकनाथ ढकाल अध्यक्ष हुन् । उनी दुई कार्यकाल अध्यक्ष भए पनि धेरै समस्या जस्ताको तस्तै छ ।

हाम्रै साथीहरूले ‘संस्थामा लागेर के पाइन्छ ?’ भनेर सोध्छन् । संगठन हुनुको महत्व बुझाउन सकिएको छैन । पैसा दिए कार्यक्रममा आउँछन्, नत्र आउँदैनन् । आफू जस्तैका लागि काम गर्छु भनेर हिँड्दा आर्थिक समस्यामा परेँ ।

विभिन्न संघसंस्थालाई आग्रह गरेर गाउँमा एक घर एक धारा पुर्‍याएँ । त्यही गाउँ जहाँ मैले आफ्नो बाल्यकालमा निकै घृणा, हेला र अपहेलना सहनुपरेको थियो । सामाजिक काम गर्दा धेरै आनन्द आउँछ । हिजो ‘तँ’ भन्नेहरूले आज ‘तपाईं र हजुर’ भन्न थालेका छन् ।

होचा पुड्काको आयु
होचा पुड्काहरूको आयु धेरै लामो हुँदैन । अधिकांशको मृत्यु औषत उचाइ भएकाको भन्दा धेरै छिटो भएको छ । गिनिज बुकमा सबैभन्दा कम उचाइ भएका व्यक्तिको नाम लेखाएका खगेन्द्र थापा कम उमेर मात्रै बाँचे ।

त्यसो भनिरहदाँ पाल्पाको हरि डाँगी ८३ वर्ष बाँचेका हुन् । कोही ६० देखि ६५ वर्षसम्म बाँचेका छन् ।

होचा पुड्का अपाङ्गता ‘घ वर्गमा पर्छ । सरकारले वर्षको एक लाख रुपैयाँ भत्ता दिन्छ । त्यो बाहेक अन्य स्रोत छैन । त्यो भत्ता पनि सरकारले दुई वर्षअघि ३ फिटसम्म उचाई भएकालाई मात्र दिन थाल्यो । त्यसअघि चार फुटसम्म उचाई भएकाले भत्ता पाउँथे ।

भत्तामा राखिएको तोकिएको यो मापदण्ड खारेज गर्न र अन्य विशेषाधिकार प्राप्त गर्न कम उचाइ भएका नागरिकले मानव अधिकार आयोग र सडकमा धर्ना तथा विरोध गर्ने गरेका छन्‌ ।

‘हाम्रो जीवन औषत उचाइ भएका मानिसहरूको जस्तो सरल छैन । हामीले सरकारसँग घर मागेका होइनौं, आत्मनिर्भर हुन र जीवन धान्न सक्ने बनाइदिन भनेका हौं । काम गर्न देऊ, ठाउँ देऊ , रोजगारी देऊ भन्ने माग हो । अभिभावक नभएको अवस्था जस्तो छ । हामीले बाँच्न पाउने अधिकारसम्म सरकारले सुरक्षित गर्न सकेको छैन,’ निर्मलले भने ।

‘भत्तामै अन्याय भयो’ : दुलाल
होचा पुड्का महिला संघकी अध्यक्ष विन्दा दुलाल सरकारले ३ फुटसम्म उचाई भएकालाई मात्र परिचयपत्र दिने निर्णय गरेसँगै अन्य होचाहरूले अन्याय सहनुपरेको गुनासो गर्छिन्‌ ।

‘परिवार र समाजको अपहेलना सहने बानी त लागिसक्यो, तर सरकारले पनि आफूहरूलाई बेवास्ता गर्‍यो,’ दुलाल भन्छिन्‌, ‘४ फुट सम्मकालाई समस्या एकै हो, तर सरकारले परिचयपत्र नदिएपछि सार्वजनिक ठाउँहरूमा प्राप्त हुने सुविधाबाट वञ्जित हुनु परेको छ ।’

‘शरीरको बनावटकै कारणले ४ फिटसम्म उचाइ भएकाहरूले पनि हेलाहोचोका कारण उच्च शिक्षा हासिल गर्न सकेका छैनन् । सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सरकारले कार्यक्रमहरू ल्याओस्‌,’ उनले भनिन्, ‘हाम्रो हितको लागि के काम गर्न उचित हुन्छ, त्यसका लागि सरकारले पहल गरिदेओस्‌ ।’

(*शारीरिक अवस्था या उचाइलाई लिएर प्रयोग हुने गरेका विभेदजनित केही शब्दहरू यो सामग्रीमा प्रयोग भएका छन्‌ । फरक क्षमता भएका नागरिकहरूसँग कुराकानी गर्ने सन्दर्भमा उनीहरूले आफ्ना अनुभव सुनाउँदा प्रयोग गरेका शब्द नै सन्दर्भअनुसार उल्लेख गरिएको हो । विभेदजनित यस्ता शब्द प्रयोगप्रति हामी संवेदनशील छौं । सं.)

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  २ : ५९ बजे

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं– मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरुवा बन्दुक १

भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो

काठमाडौं-  प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका निर्वाचित भएसँगै भारतमा उल्लेखनीय

रास्वपाको कार्यालयमा गाँजाबाट बनेका सामानको स्टल (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा

११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब