६ अर्बमा चार वर्षे ठेक्का, ५ वर्ष बित्दा ६५ प्रतिशत काम | Khabarhub Khabarhub

भेरी-बबईमा चिनियाँ कम्पनीको तमासा

६ अर्बमा चार वर्षे ठेक्का, ५ वर्ष बित्दा ६५ प्रतिशत काम

महालेखाले प्रश्न उठाइरहँदा म्याद थप्ने तयारी



काठमाडौं – भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गत सिभिल संरचना निर्माणमा चिनियाँ ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेको छ ।

सिभिल संरचना अन्तर्गत (हेडवर्क्स, पावरहाउस, पेनस्टक र सर्ज साफ्ट) निर्माणको मूख्य जिम्मेवारी पाएको गुआंग्डोंग युएंटियन इन्जिनियरिङ कम्पनी लिमिटेडले ढिलासुस्ती गरेको हो । चिनियाँ कम्पनी र रमन कन्ट्रक्सनको संयुक्त उपक्रम (जेभी) मार्फत काम गराउन २०७६ साउन १३ मा ठेक्का सम्झौता गरिएको थियो ।

४ वर्षभित्र सम्पन्न गर्ने सिभिल संरचनातर्फको निर्माण गर्न ६ अर्ब १६ करोडको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिअनुसार चिनियाँ निर्माण कम्पनीले २०८० साउन १३ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, ठेक्का सम्झौताअवधि सकिएको झन्डै एक वर्ष बित्दा पनि ठेकेदार कम्पनीले सिभिल संरचनाको काम पूरा गर्न सकेको छैन । आयोजनाका अनुसार हालसम्म ६५ प्रतिशत प्रगति मात्र निर्माण सकिएको हो । विभिन्न वहाना बनाएर चिनियाँ ठेकेदारले सम्झौता सर्तबमोजिम काम नगरेको हो ।

कम्पनीले भेरी नदीमा २ ढोका सहितको करिब १२० मिटर लामो हेडवर्क्स, पेनस्टक पाइप र विद्युतगृह निर्माण जिम्मेवारी पाएको थियो । सम्झौता सर्तको अवधि घर्किंदै गए पनि ठेकेदार कम्पनीले निर्माण पूरा गर्न कति समय लगाउने हो, त्यो यकिन छैन ।

सिभिलतर्फ गर्नुपर्ने ३५ प्रतिशत संरचनागत काम अझै बाँकी छ । विगतमा जस्तै सुस्त निर्माण गति हुने हो भने सिभिल संरचनाको काम सकिन अढाइ वर्षमा पनि नसकिने निश्चितजस्तै रहेको आयोजनाका अधिकारीहरू बताउँछन् । निर्माणमा देखिएको ढिलासुस्तीले आयोजनाको समय र लागत बढ्ने देखिएको छ ।

सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल तर्फ परामर्शदाता इरानी महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीले डिजाइन, सुपरभिजन र ठेक्का व्यवस्थापनको काम गर्दै आएको छ ।

विगतमा कोरोना महामारी, स्थानीयको अवरोध लगायतका कारणले आयोजना निर्माणमा ढिलाई भएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० भित्र आयोजनाका सम्पूर्ण काम सक्नुपर्ने लक्ष्य लिए पनि सिमित स्रोत, साधनको कमी र निर्माण व्यवसायीको कमजोर व्यवस्थापनका कारण आयोजना निर्माणमा ढिलाइ हुँदै गएको आयोजनाको व्यवस्थापकको तर्क छ ।

कोभिडका कारणले सिभिल संरचनाअन्तर्गत एक वर्ष म्याद थप गरेको आयोजनाले जनाएको छ । थपिएको म्याद २०८१ भदौमा सकिँदैछ । सम्झौता गर्ने बेलाको तुलनामा कामको ‘भोल्युम’ बढेकाले एक वर्ष म्याद थप गरिएको आयोजनाका सूचना अधिकारी पवन अधिकारी बताउँछन । ‘अन्तरराष्ट्रिय परामर्शदाताले सुझाएअनुसार कामको भोल्युम पनि बढेको छ,’ उनले भने, ‘त्यसबाहेक कोरोना महामारी, स्थानीयको अवरोध लगायतका कारणले पनि निर्माणमा असर गर्‍यो ।’

उनका अनुसार कामको चाप थपिएको र डिजाइन पनि परिवर्तन भएकाले पुनः म्याद थप गर्ने आयोजनाको तयारी छ ।

भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको काममा ढिलाइ भयो : ओली

भेरी बबई आयोजनाको सिभिल संरचनामा भइरहेको ढिलाइबारे महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । आयोजना र एक निर्माण व्यवसायीबीच ६ अर्ब १६ करोड रुपैयाँको ठेक्का सम्झौता सर्तभित्र सम्पन्न हुन नसकेको महालेखाको निष्कर्ष छ । महालेखाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १११ मा सम्झौता शर्तबमोजिम कार्य सम्पन्न गर्नुपर्ने औंल्याएको छ ।

‘आयोजनाले भेरी नदीमा २ ढोकासहिको करिव १२० मिटर लामो हेडवर्क्स, पेनस्टक पाइप र विद्युतगृह निर्माणका लागि आयोजना र एक निर्माण व्यवसायीबीच ६ अर्ब १६ करोड ५२ लाख १५ हजारमा ४८ महिनाभित्र सम्पन्न गर्ने गरी जुलाइ २९, २०१९ मा सम्झौता भएको छ । सम्झौताअनुसार २०८०/०४/२९ सम्म कार्य सम्पन्न गर्नुपर्नेमा यो वर्षसम्म भौतिक र वित्तीय प्रगति क्रमशः ४२ र ३९.९५ प्रतिशत (२०८० असारमसान्तसम्म) रहेको छ । ठेक्काको अवधि समाप्त हुँदासम्म न्यून प्रगति भएकाले सम्झौताको शर्तबमोजिम कारबाही गरि निर्माण कार्य सम्पन्न गर्नुपर्दछ’, महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा लेखिएको छ ।

भेरी बबई डाइभर्सनतर्फ ३३ अर्ब १९ करोड र भेरी करिडोर विकास आयोजनाअन्र्तगत ३ अर्ब ६१ करोड गरी कुल लागत ३६ अर्ब ८० करोड रुपैयाँ संशोधित लागत अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब लागतमा २०७६ बैशाख ३ मा १२.२ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन(टीबीएम) प्रविधिको प्रयोग गरी टनेल खन्ने काम डेढ वर्षमा सकिएको थियो । चाइना ओभसिज इन्जिनियरिङ ग्रुपले टनेल निर्माण गर्न २०७१ माघ १५ मा सम्झौता भएको थियो । टनेल निर्माणको काम ढिलाइ हुन थालेपछि टीबीएम प्रविधि प्रयोगमा ल्याइएको थियो ।

आयोजनाबाट ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । भेरीगंगा नगरपालिकाको हात्तीखालस्थित बबइ नदीको किनारमा विद्युतगृह निर्माण भइरहेको छ । विद्युत उत्पादनसँगै आयोजनाबाट बाँके र बर्दियालगायतका जिल्लामा ५१ हेक्टर कृषियोग्य जमिन बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७१/०७२ देखि सुरु भएको थियो । सिँचाइ विभागबाट पहिलो बहुउद्धेश्यीय आयोजनाका रूपमा भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाका रूपमा २०६८ भदौ ७ मा सुर्खेतको वीरेन्द्रनगरमा कार्यालय स्थापना गरिएको थियो ।

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : ८ वर्षमा ५९ प्रतिशत

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ११ : ०९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको