६ अर्बमा चार वर्षे ठेक्का, ५ वर्ष बित्दा ६५ प्रतिशत काम | Khabarhub Khabarhub

भेरी-बबईमा चिनियाँ कम्पनीको तमासा

६ अर्बमा चार वर्षे ठेक्का, ५ वर्ष बित्दा ६५ प्रतिशत काम

महालेखाले प्रश्न उठाइरहँदा म्याद थप्ने तयारी



काठमाडौं – भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गत सिभिल संरचना निर्माणमा चिनियाँ ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेको छ ।

सिभिल संरचना अन्तर्गत (हेडवर्क्स, पावरहाउस, पेनस्टक र सर्ज साफ्ट) निर्माणको मूख्य जिम्मेवारी पाएको गुआंग्डोंग युएंटियन इन्जिनियरिङ कम्पनी लिमिटेडले ढिलासुस्ती गरेको हो । चिनियाँ कम्पनी र रमन कन्ट्रक्सनको संयुक्त उपक्रम (जेभी) मार्फत काम गराउन २०७६ साउन १३ मा ठेक्का सम्झौता गरिएको थियो ।

४ वर्षभित्र सम्पन्न गर्ने सिभिल संरचनातर्फको निर्माण गर्न ६ अर्ब १६ करोडको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिअनुसार चिनियाँ निर्माण कम्पनीले २०८० साउन १३ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, ठेक्का सम्झौताअवधि सकिएको झन्डै एक वर्ष बित्दा पनि ठेकेदार कम्पनीले सिभिल संरचनाको काम पूरा गर्न सकेको छैन । आयोजनाका अनुसार हालसम्म ६५ प्रतिशत प्रगति मात्र निर्माण सकिएको हो । विभिन्न वहाना बनाएर चिनियाँ ठेकेदारले सम्झौता सर्तबमोजिम काम नगरेको हो ।

कम्पनीले भेरी नदीमा २ ढोका सहितको करिब १२० मिटर लामो हेडवर्क्स, पेनस्टक पाइप र विद्युतगृह निर्माण जिम्मेवारी पाएको थियो । सम्झौता सर्तको अवधि घर्किंदै गए पनि ठेकेदार कम्पनीले निर्माण पूरा गर्न कति समय लगाउने हो, त्यो यकिन छैन ।

सिभिलतर्फ गर्नुपर्ने ३५ प्रतिशत संरचनागत काम अझै बाँकी छ । विगतमा जस्तै सुस्त निर्माण गति हुने हो भने सिभिल संरचनाको काम सकिन अढाइ वर्षमा पनि नसकिने निश्चितजस्तै रहेको आयोजनाका अधिकारीहरू बताउँछन् । निर्माणमा देखिएको ढिलासुस्तीले आयोजनाको समय र लागत बढ्ने देखिएको छ ।

सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल तर्फ परामर्शदाता इरानी महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीले डिजाइन, सुपरभिजन र ठेक्का व्यवस्थापनको काम गर्दै आएको छ ।

विगतमा कोरोना महामारी, स्थानीयको अवरोध लगायतका कारणले आयोजना निर्माणमा ढिलाई भएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० भित्र आयोजनाका सम्पूर्ण काम सक्नुपर्ने लक्ष्य लिए पनि सिमित स्रोत, साधनको कमी र निर्माण व्यवसायीको कमजोर व्यवस्थापनका कारण आयोजना निर्माणमा ढिलाइ हुँदै गएको आयोजनाको व्यवस्थापकको तर्क छ ।

कोभिडका कारणले सिभिल संरचनाअन्तर्गत एक वर्ष म्याद थप गरेको आयोजनाले जनाएको छ । थपिएको म्याद २०८१ भदौमा सकिँदैछ । सम्झौता गर्ने बेलाको तुलनामा कामको ‘भोल्युम’ बढेकाले एक वर्ष म्याद थप गरिएको आयोजनाका सूचना अधिकारी पवन अधिकारी बताउँछन । ‘अन्तरराष्ट्रिय परामर्शदाताले सुझाएअनुसार कामको भोल्युम पनि बढेको छ,’ उनले भने, ‘त्यसबाहेक कोरोना महामारी, स्थानीयको अवरोध लगायतका कारणले पनि निर्माणमा असर गर्‍यो ।’

उनका अनुसार कामको चाप थपिएको र डिजाइन पनि परिवर्तन भएकाले पुनः म्याद थप गर्ने आयोजनाको तयारी छ ।

भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको काममा ढिलाइ भयो : ओली

भेरी बबई आयोजनाको सिभिल संरचनामा भइरहेको ढिलाइबारे महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । आयोजना र एक निर्माण व्यवसायीबीच ६ अर्ब १६ करोड रुपैयाँको ठेक्का सम्झौता सर्तभित्र सम्पन्न हुन नसकेको महालेखाको निष्कर्ष छ । महालेखाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १११ मा सम्झौता शर्तबमोजिम कार्य सम्पन्न गर्नुपर्ने औंल्याएको छ ।

‘आयोजनाले भेरी नदीमा २ ढोकासहिको करिव १२० मिटर लामो हेडवर्क्स, पेनस्टक पाइप र विद्युतगृह निर्माणका लागि आयोजना र एक निर्माण व्यवसायीबीच ६ अर्ब १६ करोड ५२ लाख १५ हजारमा ४८ महिनाभित्र सम्पन्न गर्ने गरी जुलाइ २९, २०१९ मा सम्झौता भएको छ । सम्झौताअनुसार २०८०/०४/२९ सम्म कार्य सम्पन्न गर्नुपर्नेमा यो वर्षसम्म भौतिक र वित्तीय प्रगति क्रमशः ४२ र ३९.९५ प्रतिशत (२०८० असारमसान्तसम्म) रहेको छ । ठेक्काको अवधि समाप्त हुँदासम्म न्यून प्रगति भएकाले सम्झौताको शर्तबमोजिम कारबाही गरि निर्माण कार्य सम्पन्न गर्नुपर्दछ’, महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा लेखिएको छ ।

भेरी बबई डाइभर्सनतर्फ ३३ अर्ब १९ करोड र भेरी करिडोर विकास आयोजनाअन्र्तगत ३ अर्ब ६१ करोड गरी कुल लागत ३६ अर्ब ८० करोड रुपैयाँ संशोधित लागत अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब लागतमा २०७६ बैशाख ३ मा १२.२ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन(टीबीएम) प्रविधिको प्रयोग गरी टनेल खन्ने काम डेढ वर्षमा सकिएको थियो । चाइना ओभसिज इन्जिनियरिङ ग्रुपले टनेल निर्माण गर्न २०७१ माघ १५ मा सम्झौता भएको थियो । टनेल निर्माणको काम ढिलाइ हुन थालेपछि टीबीएम प्रविधि प्रयोगमा ल्याइएको थियो ।

आयोजनाबाट ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । भेरीगंगा नगरपालिकाको हात्तीखालस्थित बबइ नदीको किनारमा विद्युतगृह निर्माण भइरहेको छ । विद्युत उत्पादनसँगै आयोजनाबाट बाँके र बर्दियालगायतका जिल्लामा ५१ हेक्टर कृषियोग्य जमिन बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७१/०७२ देखि सुरु भएको थियो । सिँचाइ विभागबाट पहिलो बहुउद्धेश्यीय आयोजनाका रूपमा भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाका रूपमा २०६८ भदौ ७ मा सुर्खेतको वीरेन्द्रनगरमा कार्यालय स्थापना गरिएको थियो ।

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : ८ वर्षमा ५९ प्रतिशत

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ११ : ०९ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।