खानेपानी महसुल विवाद- आन्दोलित दलहरूलाई धरानका मेयरले वार्तामा बोलाए | Khabarhub Khabarhub

खानेपानी महसुल विवाद- आन्दोलित दलहरूलाई धरानका मेयरले वार्तामा बोलाए



सुनसरी– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पहिलो पटक राजनीतिक दलको आन्दोलनलाई सम्बोधन गरेका छन् ।

सशस्त्र, जनपद र नगरप्रहरीको सुरक्षा घेराभित्र उभिएर हातेमाइकबाट बोल्दै आन्दोलनरत पक्षलाई सम्बोधन गरे ।

तर दलहरूले भने उनको यो करिब ३० सेकेन्डको सम्बोधन चित्त बुझ्दो नभएको भन्दै खानेपानीको महसुल र शुल्क वृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने बताए ।

धरानको समग्र विकास निर्माण, धरानको समस्या समाधान र दीर्घकालीन योजनाबारे दलहरूसँग खासै सहकार्य, समन्वय र सम्बन्ध बनाउन हिचकिचाउँदै आएका मेयर साम्पाङले बिहीबार दिउँसो १ बजे सम्बोधन गरेका थिए । 

उनले आन्दोलनरत पक्षलाई सम्बधोन गर्दै भने, ‘यी विषयहरूमा छलफल गरौँ । त्यसका लागि चाहिँ आँउदो आइतबार ११ बजे १० दलका एक-एकजना प्रतिनिधि वार्तामा आउनेगरी तपाईंहरू नगरपालिका आइदिनु होला । र, सम्पूर्णलाई हामीलाई सचेत र सजग गराउनु भएकोमा धन्यवाद दिन चाहान्छु । यहाँहरू सबैको जय होस, नमस्कार जय धरान ।’

सामाजिक सञ्जालमा दलहरूप्रति खरो टिप्पणी लेखेर विवादित हुँदै आए पनि प्रत्यक्ष सम्बोधनमा भने उनले सकारात्मक भनाई राखे । उनले आफ्नो छोटो भनाइमा कसैलाई पनि कटाक्ष नगरी वार्तामा आउन आव्हान गर्नु नै ठूलो कुरा भएको केही बुद्धिजीवीहरूले बताए । 

गत साउन १ गतेदेखि लागू हुने गरी धरान खानेपानी व्यवस्थापन बोर्डले महसुल र शुल्क वृद्धि गरेपछि दलहरूले संयुक्त संघर्ष समिति गठन गरेका थिए । उनीहरूले महसुल यथावत कायम राख्न र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको निर्देशन अनुसार गर्न भन्दै आन्दोलन चर्काएका थिए । 

तीन काउण्टर र बोर्डको उनको कार्यकक्षमा तालाबन्दी गरेपछि तत्काल उच्च अदालत विराटनगरले तालाबन्दी खुलाउन अन्तरिम आदेश जारी गरेपछि दलहरु धरान उपमहानगपालिकामा केन्द्रित भएका थिए ।

आन्दोलनरत पक्षले बिहीबार बिहान १० बजेदेखि उपममहानगरपालिका कार्यालय प्रवेश गर्ने मुख्य गेटमै धर्ना दिएर नाराबाजी गरेका थिए । मेयर साम्पाङविरुद्ध तथानाम उग्र नाराबाजी गर्दै विद्यार्थी समूहले पटक पटक प्रवेशद्धार भत्काउन खोजेपछि सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच सामान्य झडप भएको थियो ।

सुरक्षाकर्मी र आन्दोलनरत पक्षले संयम अपनाउँदा अपनाउँदै पनि एकजना विद्यार्थी घाइते भएका थिए । स्थिति हिंसात्मक र असामान्य हुनसक्ने भएपछि सशस्त्र र जनपद प्रहरीका डिएसपीद्वययले समन्वय गरेर मेयर साम्पाङलाई सम्बोधन गर्न आग्रह गरेका थिए ।

आन्दोलनरत पक्षले बिहान १० बजे नै नगरपालिका कार्यालय घेराउ गरेकाले कुनै पनि कर्मचारीहरू छिर्न पाएनन् । तर मेयर साम्पाङ भने एक घण्टाअघि नै कार्यकक्षमा पुगिसकेका थिए । 

बाहिर उनीविरुद्ध नाराबाजी गर्दै आन्दोलनरतपक्षले राजीनामा मागिरहेका बेला उनले आफ्नो फेसबुकमा लेखेका थिए, ‘१० हजार लिटर पानीको महसुल मासिक १३० देखि  १५० सम्म पुर्‍याउँदा महिनाको २० वृद्धि भयो ! त्यो २० को विरुद्ध अहिले आन्दोलन गर्दै नगरपालिका घेरिएको छ । नारा छ, नालायक मेयर चाहिँदैन ।’

यसैबीच अदालतको आदेशले खोलिएको खानेपानीको काउण्टरहरूमा विद्यार्थी समूहले विहीबार फेरि तालाबन्दी गरेका छन् । उता उच्च अदालतले साउन २८ गते दुवैपक्षलाई छलफलका लागि पनि बोलाएको छ । साउन २७ गते दलहरूसँग खानेपानी महसुलबारे मेयर साम्पाङले बोलाएको वार्ताको निष्कर्ष के हुन्छ हेर्न बाँकी छ ।  

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : २९ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन