माइक्रो बसमा ‘माननीयज्यू’ को अनुभव ! | Khabarhub Khabarhub

माइक्रो बसमा ‘माननीयज्यू’ को अनुभव !



काठमाडौं– जुन देशमा नेताहरु सुरक्षा गार्ड नलिइकन आम जनतासँगै हिँड्न सक्छन्, त्यो देशमा नेताप्रति जनताको राम्रो भावना र विश्वास छ भन्ने बुझिन्छ । तर, पछिल्लो समय नेताहरुले सार्वजनिक यातायात छाडेर निजी गाडीमा अगुवा-पछुवासहित हिँड्ने क्रम बढेको छ, जसले नेतालाई जनताबाट कटाउँदै लगेको छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेता र सांसदहरुले पाँच दिनका लागि मात्र भए पनि सार्वजनिक यातायात चढ्ने निर्णय गरे । उनीहरुले सार्वजनिक यातायातको अवस्था बुझ्न भन्दै निजी गाडीहरु पार्टी कार्यालयमा थन्क्याएर सार्वजनिक यातायात चढ्ने अभियान चलाए । जबकि यो अभियानलाई कसैले ‘स्टन्ट’ को संज्ञा दिए त कतिपयले स्वागतयोग्य ठाने ।

युवा सांसद गणेश पराजुली काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष चुनाव जितेका रास्वपा नेता हुन् । काठमाडौंको सानो भर्‍याङबाट रत्नपार्क हुँदै संसद् भवन रहेको नयाँ बानेश्वरसम्म सार्वजनिक गाडीमा यात्रा गरेका सांसद पराजुलीलाई खबरहबले बुधबार सानो भर्‍याङबाट जमलसम्म पछ्यायो ।

सांसद पराजुली सानो भर्‍याङबाट १० बजेतिर माइक्रो बस चढे । आफू सार्वजनिक यातायातमा चढेको प्रचार गर्न अनिच्छुक देखिएका उनले खबरहबकर्मीसँग भने, ‘यात्रु, चालक र सहचालकलाई मेरो परिचय दिन पाइँदैन ।’

सानो भर्‍याङबाट गाडी चढ्दा उनले पार्टी वा सांसदको लोगो लगाएका थिएनन् । उनलाई सहचालकले अरू यात्रुहरूलाई जस्तै गाडीमा चढाए । बाटोमा पराजुलीले सहचालकसँग यात्रुको व्यवस्थापन, भाडा दर र सिट क्षमता आदि विषयमा प्रश्न गरे ।

‘भाइ एक दिनमा कति ट्रिप गर्नुहुन्छ ?’ पराजुलीको प्रश्नमा सहचालकले भने, ‘एकदिनमा खरिबोटको रुट परे २० ट्रिप, सानो भर्‍याङसम्मको रुट परे ९ ट्रिपसम्म भ्याइन्छ ।’

सामान्यतः माइक्रोबसको १५ देखि १६ सिट मात्र क्षमता हो । तर पराजुली चढेको माइक्रो बसमा ३१ साना यात्रु थिए । वीचमा थपिएर ३५ पुगे । जमल आइपुग्दा जम्मा यात्रु २८ जना थिए । यसबारे पराजुलीले प्रश्न गर्दा सहचालकले भने, ‘मिलाएर हालियो भने त ४१ जना पनि बोकिन्छ ।’

यात्रामा रहेकी एक महिलाले सार्वजनिक यातायातमा अफिस समयमा अत्यन्त धेरै भिडभाड हुने र सामान हराउने लगायतका समस्या रहेको सुनाइन् ।

बीचैमा पराजुलीको आफ्नो निर्वाचन क्षेत्रबाट बाढी पहिरोले दिएको समस्याबारे फोन आयो । उनले केही कल रिसिभ गरे तर आफू सांसद भएको खुलाउन चाहेनन् । ‘बाटोमा छु पछि कुरा गरौं ।’

पराजुलीले सहचालक र यात्रामा रहेका यात्रुसँग सरल भाषामा कुरा गरे तर यात्रुहरुले उनी सांसद हुन् भनेर चिनेनन् । जमलमा आइपुग्दा पराजुली २५ रुपैयाँ भाडा तिरे र ओर्लिए ।

संसद भवन र सिंहदरबारतर्फ हिँडेका सांसद पराजुलीसँगै हामी जमलबाट दरबारमार्गस्थित खबरहब डटकमको कार्यालयमा आयौं । प्रस्तुत छ– सार्वजनिक यातायात चढ्ने रास्वपाको अभियानबारे सांसद पराजुलीसँग गरिएको छोटो कुराकानी–

यहाँहरूले केही दिन सार्वजनिक यातायात चढ्ने निर्णय गर्नुभयो, यो किन आवश्यक पर्‍यो ?

हामीले सार्वजनिक यातायात नचढेको पनि दुई वर्षभन्दा बढी भइसकेको रहेछ । कहिलेकहीँ चढे पनि दिनहुँ चढ्न छाडिएछ । सार्वजनिक यातायातमा यात्रा गर्ने कति जनता सास्तीमा छन् र जनताको अवस्था कस्तो छ ? भन्ने विषयमा हामीले जानकारी नलिएको पनि केही वर्ष भएछ । सार्वजनिक यातायातमा भएका पकेटमारी, चोरी, त्यसमा देखिएका जटिलता आदि हामीले पहिल्याउन र समाधानको उपायसहित प्रतिवेदन बनाएर नियामक निकायलाई खबरदारी गर्न हामीले यो अभियान चलाएका हौँ ।

हाम्रो पार्टीले यही शुक्रबार र शनिवार बन्द कार्यशाला चलाएको थियो । त्यहाँ सार्वजनिक सेवामा निक्कै ठूलो विकृति छ । त्यसमा हामीले नीतिगत सुधार गर्नका लागि अध्ययन गर्नुपर्छ भन्ने कुरा भयो । हामीलाई जनताले, सञ्चार जगतले पनि यसबारे जानकारी गराइराखेको थियो । मैजुदा कानुन सार्वजनिक सवारी यातायात ऐनमा के–के कुरा समेटिएका छन्, ती कति कार्यान्वयन भएका छन्, सार्वजनिक सेवामा ती कानून कति लागू भएका छन् र कति कुरा नयाँ छन् । अब कानूनमा संशोधन र सुधार गर्नुपर्छ भने कति गर्नुपर्छ र सरकारले कति गरिरहेको छ । जनताले के भोगेका छन् ? जनताले यसमा काम गर्नुपर्छ है भनेपछि हामीले जनताको कुरा अनदेखा गर्नु भएन ।

त्यसो भए पार्लियामेन्ट र अन्यत्र काममा जाँदा सार्वजनिक यातायात चढौँ र हेरौँ न भन्ने कुरा भयो । त्यसपछि प्रत्यक्ष अनुभूति गरौँ भनेर सबैले सल्लाह गरौँ । आजबाट नै सुरु गरौँ भनेर शनिबार नै सबै साथीहरू तयार हुनुभयो । त्यसपछि हामीले आफू सवार गाडी पार्टी अफिसमै छोडेर ५ दिन यात्रा गर्‍यौं । कतिपय साथीहरू त सार्वजनिक यातायात चढ्नु भएकै हुन्छ । म पनि चढिरहेकै हुन्छु । यसलाई जसरी पनि व्याख्या गर्न सकिन्छ । उद्देश्य प्रष्ट छ ।

हामी यसलाई आवश्यकता अनुसार नियमित गराएर पनि जान्छौँ र व्यवस्थित गर्छौं । यसैका लागि हामीले यो अभियानको थालनी गरेका छौँ । हामी यहीँबाट आएका हौं। हाम्रो घर हामीले नै सफा गर्नका लागि अनुशासनको पालना गर्नुपर्छ ।

हामीलाई स्टन्ट गरे भनेर पटक–पटक भनिएको छ । राजनीतिक दल दर्ता गर्दा, चुनावमा जाँदा र चुनावबाट निर्वाचित भएर आउँदा पनि हामीले यस्ता आरोप सहेका हौं । म यसलाई केही पनि भन्दिनँ । हामी यस्ता कुराबाट कति पनि विचलित छैनौं । किनकि सबैको भावनाको उतिकै सम्मान गर्नुपर्छ । हाम्रो राजनीतिक दल पनि विचलित छैन ।

केही समय अगाडि हाम्रो पार्टीले गृह मन्त्रालय सम्हाल्दै गर्दाखेरि २४ सै घण्टा ठूला सहर खोल्ने भन्यौं । ठूला सहरहरूमा काम गर्ने नागरिक आफ्ना घर फर्कँदै गर्दा जुनसुकै समयमा सार्वजनिक यातायात चढेर घर पुग्ने निर्णय सरकारले गरेको थियो तर सबै कुरा कार्यान्वयन भएको अवस्था पनि छैन । किन भएन भन्दा हाम्रो सार्वजनिक यातायातको अवस्था कस्तो छ भन्ने प्रष्ट थाहा छ । यसलाई सुधार गर्नका लागि के गर्नुपर्छ भनेर बुझ्ने, हेर्ने हाम्रो प्रयासलाई जसरी व्याख्या गरिए पनि यो अभ्यास सुधारको लागि गरिएको हो ।

राजनीतिक दलले आफ्नो विचार, राजनीतिक कार्यक्रम, संगठन र अभियान सँगैसँगै अगाडि बढाउनुपर्छ । हामी सडकमा टायर बालेर आएको राजनीतिक दल होइन र जनयुद्ध लडेर आएको पनि होइन । प्रत्यक्ष चुनाव लडेर, जनताको मत परिवर्तन गरेर आएको राजनीतिक दल हो । हामीले जनताको प्रत्यक्ष जीवनसँग जोडिएका त्यस्ता पाटोहरूमा नीतिगत र पद्दतिगत रूपमा नै सुधार गरेर जनतालाई अनुभूति दिनुपर्छ । यो मात्र होइन, यस्ता अभियान यस अगाडि पनि हामीले गरेका थियौँ । जस्तो पैदल यात्रा, २१ राष्ट्रिय गौरवका योजनोहरुमा दबाब यात्रा हामीले यो अवधिमा विभिन्न आरोपहरू पनि सहेका छौँ ।

यो अभियानमा सार्वजनिक यातायात चढेर तपाई कहाँ–कहाँ यात्रा गर्नुभयो ?

मैले मेरो निर्वाचन क्षेत्रमा पर्ने सानो भर्‍याङदेखि संसद भवन रहेको नयाँ बानेश्वरसम्मको यात्रा सार्वजनिक बसबाट गरेको छु ।

यात्रुहरूको कस्तो प्रतिक्रिया पाउनुभयो ?

क्षमताभन्दा बढी यात्रु हालेको, कोचाकोच भएको, महिलाले सिट नपाएको, अफिस टाइममा भिडभाड देखिन्छ । यात्रुहरू पनि आफूलाई सुरक्षित भएर सार्वजनिक यातायात चढ्न सकेका छैनन् । मेरो निर्वाचन क्षेत्र सानो भर्‍याङदेखि चढ्दा मलाई यात्रुहरुले नचिन्ने कुरा भएन । कतिले स्टन्टबाजी किन गरेको भनेर प्रश्न गर्नुभएको छ । कतिले यसलाई सकरात्मक रूपमा पनि लिनुभएको छ । उहाँहरूले नीतिगत सुधार गर्नुपर्‍यो, यहाँहरूबाट आशा गरेका छौँ भन्नुहुन्छ । यहाँहरूले बेला बेलामा यसरी निगरानी गर्नुभयो भने सार्वजनिक यातायातको अवस्था सुधार भएर जान्छ, हामी ढुक्कसँग हिँड्न पाउँछौँ भन्नुहुन्छ । यात्रु कोचाकोच हुँदा त भयावह स्थिति पनि हुने रहेछ ।

गाडीमा सिट पाउनुभयो कि उभिनुपर्‍यो ?

कतिपय ठाउँमा सिट पाएको छु, कतिपय ठाउँमा उभिएँ । अफिस टाइममा सिट पाइँदैन । अफिस आउने–जाने समयमा त कोचाकोच हुने देखिन्छ । टाइम अनुसार छ ।

हामीले सार्वजनिक यातायातलाई व्यवस्थित गरेको छैन । कानून अनुसार सञ्चालन गरेको नै छैन । सुधार र नियमन नगरेका कारण कहिलेकाहीँ उभिएर खचाखच भएका बेला यात्रा गर्न नपाएको पनि अवस्था छ । हामी प्रत्येक नागरिकले एक ठाउँबाट अर्को ठाउँमा सहजरूपमा यात्रा गर्ने वातावरण बनाउनु राज्यको दायित्व हो । कमजोरी के छन् र सुधार के गर्नुपर्छ भनेर हामीले यो कार्यक्रम ल्याएको हुनाले प्रश्नहरू जतिसुकै उठे पनि उद्देश्य सुधारका लागि भएको हुँदा हामी अगाडि बढ्छौँ ।

पकेटमारको पनि बिगबिगी रहेछ भन्ने थाहा पाउनुभयो ?

चर्चा सुनेको हो, प्रत्यक्ष अनुभव लिएको छैन । हरेक दिन चोरी हुन्छ भनेको थाहा पाएँ । यस्ता बेथिति र समस्या प्रत्येक दिन नेपाली नागरिकले सार्वजनिक यात्रा गर्दा भोगिराखेको समस्या हो । तर, हामीलाई त यो सबै कुरा नोटिस हुँदैनथ्यो ।

सांसद हुनुअघि तपाईसँग सार्वजनिक यातायातमा चढेको अनुभव थियो ?

म जीवनको यस्तो अनुभवबाट यहाँ आएको छु, काठमाडौँ आएर सङ्घर्ष गर्दा कोटेश्वरबाट बालाजु जान मेरो कोटको खल्तीमा खर्च हुँदैनथ्यो । म गाडी टुलुटुलु हेर्दै हिँडेर पुग्थेँ । बाटोमा भोक लाग्दा खाजा खान नपाएको मान्छे पनि हो । सार्वजनिक यातायातको प्रयोग गरेर जीवनको यात्रा अगाडि बढाउँदा पछि मजस्ता अरू थुप्रै मान्छेलाई पाठ पनि भएको छ । आज म सार्वजनिक यातायातमा किन नचढ्ने ? जनताले पाएको दुःखलाई किन समाधान नगर्ने भनेर पनि यो अभियान चलेको हो ।

आज म फरक–फरक किसिममा सवारी साधनमा म यात्रा गर्छु । तर, आज मलाई सबै कुरा थाहा हुँदैन । किनकि म नीति निर्माण तहमा पुगेपछि अलमल पो भएँ कि ? मैले कतै बिर्सिएको छु कि ? त्यो यात्रा थाहा पाउनका लागि पनि म त्यहाँ जानुपर्छ, मैले हेर्नुपर्छ ।

तपाईहरुको यो अभियानबारे सामाजिक सञ्जालमा आएका प्रतिक्रियाबारे के भन्नुहुन्छ ?

सामाजिक सञ्जालमा हामी फरक–फरक समूह छांै । फेसबुक, एक्स, इन्स्टा छन् । म के अनुरोध गर्छु भने सामाजिक सञ्जालबाट कमेन्ट लेख्ने अग्रजहरू हुनुहुन्छ, देशको विषयमा चिन्ता–चासो गर्ने र अन्य सबै नेपालीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यहाँहरूले साँच्चिकै अनुभूत गरेका कुरा र सुधार गर्नुपर्ने कुरामा थोरै भए पनि सुझाव उपलब्ध गराइदिनुहोला । गाली गर्नुको सट्टामा, अथवा हामीले प्रचारबाजी गरेको भनेर हामीलाईआलोचना गर्नुको साटो सार्वजनिक यातायात सुधारका लागि एक लाइन सुझाव राखिदिनुहोस् । सामाजिक सञ्जाल चलाउने अग्रज र सोसल मिडिया चलाउने साथीहरूलाई म त्यति अनुरोध गर्न चाहन्छु । गाली गर्नुहोस्, हामीलाई समस्या छैन । यहाँहरूले लेखेको आलोचना पनि सहुँला । तर, कम्तिमा सार्वजनिक यातायात सेवा सुधार गर्न यसो गरे हुन्थ्यो भनेर एक लाइन राखिदिनुहोस् ।

मैले अनुभव गरेको कुरा, हरेक मान्छेले सार्वजनिक यातायात चढेर यहाँको बेथिति के भनेर सेयर गरिदिनु भयो भने मात्र पनि यहाँभित्र सुधार हुन्छ । त्यसपछि मान्छेहरू सजग हुन्छन् । नियामक निकाय पनि यहाँहरूको पछि–पछि आउँछ । मैले सबै नोपलीदाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्छु कि सुझाव दिनू । कम्तिमा पनि नियामक निकाय चनाखो हुन्छ । गलत गर्न खोज्ने मान्छे पनि सजग हुन्छन् । अनि सुरक्षित हुन सकिन्छ । यो कुरा एउटा गाडी र मान्छेलाई कारबाही गरेर सुधार हुने होइन । समग्र नीतिमा सुधार गर्न के गर्न सकिन्छ भनेर हामीले काम गर्ने हो ।

मैले केहीले पोस्ट गरेको देखेको थिएँ, केही नेताहरू जीवनभरि बस र ट्याम्पोमा यात्रा गरेको देखेको छैन ? देखेको छु मैले पनि । तर, उहाँहरुले साँच्चिकै परिवर्तनमा कतिको महत्त्वपूर्ण भूमिका खेल्नुभयो त ? त्यो सार्वजनिक यातायातमा चढेर त्यहाँ भएको बेथिति र सुधारको पाटोमा कति कुरा गर्नुभयो उहाँले ? र, नागरिकलाई आम रूपमा समृद्धि गर्नका लागि कत्तिको उत्प्रेरणा भर्नुभयो त ? जीवनमा केही परिवर्तन गर्नु छ भने त त्यसको गहिराइमा पुग्नुपर्थ्यो नि । के गर्नुभयो त उहाँहरूले ?

नेताहरुले सार्वजनिक गाडी त चढ्नुभयो, अब के गर्नुहुन्छ ?

हामी गम्भीर अध्ययन गर्छाैं र प्रतिवेदन बनाउँछौं । सार्वजनिक सेवा सुधार गर्न नीतिगत सुधार गर्नुपर्ने विषयमा यहाँहरूका सुझाव पनि समेट्छौं ।

हामीलाई माया गर्ने र आलोचना गर्ने वर्गलाई म के भन्छु भने हाम्रो एक्लो प्रयासले मात्र देशलाई अगाडि बढाउन सकिँदैन । ज्ञान र अनुभवले खारिएका यहाँहरू जस्ता साथीहरू चाहिन्छ । यो अवसरको सदुपयोग गरौँ । सबैलाई म आग्रह गर्छु । सुझाव सल्लाह दिनुहोस् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ५ : ०९ बजे

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित