फाइल फोटो

अन्तर्राष्ट्रिय

बंगलादेशमा भएको डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

By खबरहब

August 08, 2024

बंगलादेश– युद्धग्रस्त म्यान्माबाट भागेर बंगलादेश जाने क्रममा भएको डुंगा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको अधिकारीले बताएका छन् । 

बंगलादेशको नदीमा मंगलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ । 

उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

बंगलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुंगामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेको बताएका छन् । 

‘विगत केही हप्तामा म्यान्माको रखाइन राज्यमा भएको युद्धबाट कम्तीमा एक हजार रोहिङ्ग्याहरू बंगलादेशतर्फ भागेका छन्,’ चौधरीले भने । 

अराकान आर्मी ९एए० ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बंगालादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए । 

रखाइनको सहर माउंगादाबाट भागेर बुधबार फरक डुंगाबाट बंगलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताए ।  

हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बङ्गलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाई भएको चौधरीले बताए।