भविष्य खोज्दै समाजवादी मोर्चा, प्रचण्डले फ्याँके साझा चुनाव चिह्नको कार्ड | Khabarhub Khabarhub

भविष्य खोज्दै समाजवादी मोर्चा, प्रचण्डले फ्याँके साझा चुनाव चिह्नको कार्ड

चार सदस्यीय कार्यदलले लेख्दै छ प्रतिवेदन



काठमाडौं– गत वर्ष असार ५ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए ।

सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा उठाउँदै कार्यान्वयन गर्ने रणनीतिसहित सदनका र बाहिरका दलहरू मिलेर समाजवादी मोर्चा बनाएका थिए । मोर्चा बनेको एक वर्ष बित्दा पनि यसले आफ्नो उपस्थिति देखाउन सकेको छैन । बरु मोर्चामा रहेको दोस्रो ठूलो दल जसपा फुटेर उपेन्द्र यादवले साथ छाड्दा मोर्चालाई घाटा लागेको छ ।

मोर्चाले वाम–समाजवादी ध्रुवीकरण प्रयास गर्ने अनुमान थियो । तर चार दल चारतिर फर्किएपछि मोर्चाको औचित्य पुष्टि हुन नसकेको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

यता ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले यो मोर्चाले गरिनखानेमा ढुक्क छ । एक वर्ष पूरा हुँदा पनि गति लिन नसक्नु र फुट आउनुले समाजवादी मोर्चाको कुनै तुक नै नभएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बताउँछन् ।

समाजवादी मोर्चाको दोस्रो ठूलो दल जसपा फुटेर उपेन्द्र यादव र अशोक राई दुवैजना मोर्चाबाट बिदा भएको सन्दर्भमा पोखरेलले कटाक्ष गरेका हुन् ।

मोर्चाका घटक भने एमालेको कुरा स्वीकार्न तयार छैनन् । भविष्यमा यसले ठूलो प्रभाव पार्ने सम्भावना देखिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बताउँछन् ।

करिब एक वर्षसम्म निष्क्रिय मोर्चा असार २८ गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट बिदा भएपछि एकाएक सक्रिय भएको छ । मोर्चालाई प्रचण्डले शक्ति सञ्चयको योजनासहित सक्रिय गराए नियमित बैठकसमेत राखिरहेका छन् ।

प्रचण्डले समाजवादी र पूर्वमाओवादी घटकलाई मिलाउन प्रयास थालेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता गंगालाल श्रेष्ठ बताउँछन् । श्रेष्ठ र यादव दुवैजना डा.बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट अलग भएर प्रचण्डसँग मिलेर मोर्चामा जोडिएका छन् ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा मोर्चाको बैठक बसेको थियो । बैठकमा जसपा आएन । अशोक राईको जसपा पनि उपस्थित भएन ।

अशोक राई अहिले सरकारमा छन् । उनले भने, ‘काम कुरो एकातिर कुम्लो बोकी….कतातिर भनेजस्तो यो मोर्चाको औचित्य छैन । हामी एमाले नेतृत्वको सरकारमा छौँ । विचार नमिल्ने दलहरूको एकता सम्भव छैन ।’

मोर्चामा बाबुराम भट्टराईको समूह, महन्थ ठाकुरको लोसपा पनि सहभागी भएको छैन । मोर्चाको प्रतिवेदनमा भने अन्य दलहरूलाई पनि फकाउने योजना छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ बाहिर रहेका दलहरूसँग छलफलका लागि रणनीति बनाएर अगाडि बढ्ने योजना रहेको बताउँछन् ।

तर जसपा अध्यक्ष यादव भने तत्काल आफ्नो पार्टी मोर्चामा सहभागी नहुने बताउँछन् । ‘विश्वासको वातावरण हुनुपर्छ । नीति सिद्धान्त र प्राथमिकतामा छलफल भएर कार्यादेश बनेपछि मात्रै अगाडि बढ्ने हो । सत्ता हिँडेपछि अरुलाई अल्मल्याउने बाटो बनाउनु हुँदैन’, उनले भने ।

यस्तै, बाबुराम भट्टराई पनि समाजवादी मोर्चामा सहभागी हुने छैनन् । उनको सचिवालयले खबरहबलाई बताएअनुसार प्रचण्डले महिन्द्र राय यादव समूहलाई आफ्नो टिममा तानेपछि अब सहकार्य सम्भव नभएको बताएको छ ।

मोर्चाले वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने गरी छलफल गरेको छ । तर गौतम ओलीसँग नजिक भएकाले मोर्चामा नजाने निकट स्रोतको दाबी छ । गौतम हाल राष्ट्रियसभा सदस्य पनि छन्।

प्रतिवेदन बनाउँदै

समाजवादी मोर्चालाई व्यवस्थित बनाउँदै सैद्धान्तिक रुपमा अगाडि बढाउन छलफल भएको माओवादी महासचिव गुरुङ बताउँछन् । उनले भने, ‘समाजवादी मोर्चाका घटकहरू के हुने कसो हुने भन्ने अ अलमल भएर बैठकमा ग्याप भयो । बीचमा माधवजीहरूको महाधिवेशन थियो । अरू केही थिएन ।’

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल मोर्चाले एक वर्षमा गरेको कामको समीक्षा र कार्ययोजनाको प्रतिवेदन बनाइरहेको बताउँछन् । भुसालका अनुसार प्रतिवेदन बनाउन नेकपा नेता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रवेश हमाल र नेसपाबाट गंगालाल श्रेष्ठको कार्यदल बनाइएको छ ।

अब चार नेताले लेखेको कुरालाई प्रतिवेदनका रुपमा एकीकृत गरिँदैछ । साउन अन्तिमसम्म प्रतिवेदन मोर्चाका नेतालाई बुझाउने तयारी छ । उनले भने, ‘हामी कार्यदल सदस्यहरू दुईचार चोटि बसेर प्रतिवेदन फाइनल गर्छौं । साउन अन्तिम या भदौ पहिलो साता बुझाउँछौँ ।’

कार्यदलका अर्का सदस्यका अनुसार मोर्चा बन्नु ठिक थियो, थिएन ? यसले वाम आन्दोलनलाई कति घाटा या फाइदा ग¥यो ? मोर्चाका सदस्यले १ वर्षसम्म यसलाई गति दिन गरेको योगदानको पनि प्रतिवेदनमा ब्याख्या गरिने बताए ।

हाल मोर्चाको संयोजकमा नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव छन् । अब बस्ने बैठकमा प्रतिवेदन बुझाउने तयारी भएको माओवादी महासचिव तथा कार्यदल सदस्य गुरुङ बताउँछन् ।

यस अगाडि मोर्चाले साउन १५ सम्म प्रतिवेदन बनाउने भनेको थियो । तर बाढी पहिरोमा नेताहरू खटिनु परेकाले समय नपुगेको श्रेष्ठले बताए ।

‘प्रतिवेदन र प्रस्तावनाका आधारमा अब मोर्चा अगाडि बढछ’, एकीकृतका महासचिव भुसालले भने, ‘मूलभूत रूपमा ठिक ढंगले मोर्चा बढेको छ । विस्तारै यसको प्रभाव पर्छ । एक वर्षको समीक्षा र प्रगतिको प्रतिवेदन तयार पार्ने जिम्मा दिएका छौँ ।’

समाजवादी मोर्चा गठनका बेला सबै समाजवादी र कम्युनिस्ट घटक मिलाएर जाने योजना थियो । अहिले परिस्थिति फेरिएकाले पुरानो दस्तावेज परिमार्जन गरेर नयाँ नीति र कार्यक्रम बढाइने उनले बताए ।

अहिले समाजवादी मोर्चाका दलहरूसँग संसद्मा ४२ सिट मात्रै छ । यो माओवादी र एकीकृत समाजवादीको सिट हो । गठन हुँदा जसपाको १२ जोडेर ५४ सिट थियो । यस्तै, लोसपाको ४ सिट पनि आउने आशा थियो । तर त्यो भएन ।

मोर्चा गठनका बेला नीतिगत सवाल समेटेर १५ बुँदामा सङ्गठनात्मक ढाँचाबारे समझदारी गरिएको थियो । तर परिमार्जन आवश्यक भएको समाजवादीका सम्मानित नेता खनालले बताए । ‘मोर्चाले वाम एकताको परिकल्पना गरेको थियो । परिस्थिति केही गडबड भयो । तर बिस्तारै मिल्छ । आखिर वामहरू एक दिन मिल्नै पर्छ ।’

प्रचण्डले भने, ‘एउटै चुनाव चिह्न गर्नुपर्ला कि ?’

साउन १ को बैठकमा नेकपा महासचिव विप्लवले प्रचण्डलाई सरकार छाडेपछि त पूराका पूरा समय मोर्चामा दिनुहुन्छ होला भनेर व्यंग्य कसेका थिए । बैठकमा सहभागी एक नेताले खबरहबलाई बताएअनुसार जवाफमा प्रचण्डले ओली र एमालेले आफ्नो सरकार ढालेर गम्भीर घात गरेको बताएका थिए । उनले समाजवादी मोर्चालाई पनि तितरबितर गर्ने खेल भएकाले सजग रहन भनेका थिए ।

बैठकमा सहभागी अर्का नेताकाअनुसार एमालेसँग मोर्चालाई जोड्ने कुरा अब सम्भव नभएको विप्लवले बताएका थिए । ‘एमालेको च्याप्टर क्लोज गरेर अन्य दलहरू मिलाउँदै जाने छलफल भएको छ’, ती नेताले भने ।

बैठकमा प्रचण्डले समाजवादी मोर्चाको एउटै चुनाव चिह्न बनाउने कि ? भनेर सोधेका थिए । उनले त्यो कुरालाई प्रतिवेदनमा लेख्न पनि कार्यदलका सदस्यहरूलाई सुझाए । त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिवेदनले अहिलेसम्मका सबै कमीकमजोरी गहन रुपमा ल्याउनुपर्ने बताए ।

नेपाल र विप्लवले अप्ठ्यारो पर्दा मात्रै प्रचण्डले मोर्चाको सहारा लिन खोजेकोबारे पनि प्रश्न गरेको स्रोतले बताएको छ । विप्लवले पनि साँच्चिकै मोर्चा बनाएपछि खेलाँची गरेर समय बर्बाद नगर्न प्रचण्डलाई भनेका थिए ।

दुई नेताले घेरेपछि प्रचण्डले सरकारको नेत्त्वमा रहनुपरेका बेला मोर्चालाई समय दिन नसकेकोमा माफी मागेको स्रोतको दाबी छ ।

यता वाम विश्लेषक श्याम श्रेष्ठ तत्काल नेपाली राजनीतिमा समाजवादी मोर्चाको प्रभाव देखिने कुनै सम्भावना नभएको बताउँछन् । नीति, सीमा र सिद्धान्त मिल्दै गए भविष्यमा प्रभाव पार्न सक्ने आँकलन श्रेष्ठले गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ३४ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन