समाचार

महिलाको अगुवाइमा सामुदायिक भवन निर्माण

By खबरहब

September 08, 2024

म्याग्दी– रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ ।

दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको रकमबाट दुईतले सभाहलसहितको भवन निर्माण गरेका हुन् ।

उक्त समूहकी अध्यक्ष मीनकुमारी गर्बुजाले सामुदायिक भवन निर्माणपछि भेला, बैठक, तालिम, गोष्ठी, छलफलका लागि व्यक्तिको घर, विद्यालयमा पुग्नुपर्ने समस्या हटेको बताइन् । मगर बाहुल्य दग्नामका करिब एक सय ५० परिवार सो भवनबाट लाभान्वित भएका छन् ।

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २० लाख, रघुगङ्गा गाउँपालिकाले ४५ लाख, रघुगङ्गा हाइड्रोपावरले पाँच लाख, सामाजिक विकास कार्यालयले ७५ हजार रुपैयाँ बराबरको फर्निचर सहयोग गरेका छन् ।

आमा समूहले गाउँमा आउने पाहुनालाई स्वागतका लागि गर्ने नाचगान, चन्दा र आन्तरिक कोषको पाँच लाख १५ हजार पनि भवन निर्माणमा परिचालन गरेको भवन निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा गर्बुजाको भनाइ छ ।