खेलकुद

एन्फा महिला लिग : कोशी प्रदेशको तेश्राे जित

By खबरहब

September 08, 2024

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेश्रो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्दै कोशी लगातार जित दर्ता गर्न सफल भएको हो । जितसँगै ९ अंकका साथ कोशी तालिकाको शीर्ष स्थानमा कायमै छ ।

कोशीलाई जित दिलाउन पुर्णिमा राइले खेलको ३४ र ७१ औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै समिक्षा मगरले खेलको ६६ औं मिनेट र प्रतिक्षा राईले ७४ मिनेटमा कोशीका लागि १–१ गोल गरेकी थिइन् ।

कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४–० र बागमती युथ क्लबलाई २–१ ले पराजित गरेको थियो ।

कर्णालीले भने पहिलो खेलमा चन्द्रपुर नगरपालिकासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा वालिङ नगरपालिकासँग ४–० को फराकिलो हार व्यहोरेको थियो । लिगमा कणालीको १ अंक रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।