राजनीति

समाजवादीमा प्रवेश गर्ने चर्चा हल्ला मात्रै हो : भीम रावल

By खबरहब

September 08, 2024

काठमाडौं । बाम नेता भीम रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको कुरा हल्ला मात्रै भएको दाबी गरेका छन्।

पछिल्लो समय बामनेता बामदेव गौतम र भीम रावल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्ला चलेको थियो।

तर यस विषयमा रावलले भने कुनै पनि रूपमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बारे छलफलमा नभएको दाबी गरेका छन्।

उनले आइतबार खबरहबसँग भने, ‘शुभेच्छुक र साथीहरूले हल्लाखल्ला मात्रै गरेका हुन् मेरो कुनै त्यस्तो पार्टी प्रवेश गर्ने योजना छैन। यहाँहरुलाई थाहा नै छ म नेकपा एमालेमा छु। केही समय सक्रिय राजनीति मात्र नगरेको हुँ।’

उनले अगाडि थपे,’म अहिले धनगढीमा छु। हल्ला सुनेर म आफैं छ्क्क परे ।’

उनले नेकपा एकीकृत समाजवादीमा आफू प्रवेश गर्ने हल्ला विगतदेखि नै चलेको तर आफूलाई यस विषयमा जानकारी नै नभएको दाबी गरे।

उनले समाजवादीमा गइदिए हुन्थ्यो आइदिए हुन्थ्यो भन्ने मानसिकताका मान्छेहरुले यस्तो आरोप लगाएको दाबी गरे।