अन्तर्राष्ट्रिय

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

By खबरहब

October 08, 2024

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको नेतृत्वकर्ता भारतीय जनता पार्टी (भाजपा) पराजित भएको छ । जम्मू कश्मीर नेशनल कन्फ्रेन्स र कांग्रेस सम्मिलित गठबन्धनलाई बहुमत मिलेको हो ।

कूल ९० सिटका लागि भएको चुनावमा नेशनल कन्फ्रेन्सले ४२ र कांग्रेसले ६ सिटमा जीत निकालेको हो । सरकार गठनका लागि ४६ मत आवश्यक पर्नेमा गठबन्धनले ४८ सिट जितेको हो । भाजपाले भने २९ सिटमा जित हासिल गरेको छ ।

जम्मू कश्मीरमा १० वर्षपछि विधानसभा चुनाव भएको हो । यसअघि त्यहाँ भाजपा र पीडीपी मिलेर सरकार बनाएका थिए । सो सरकारमा महबूबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन्‌ ।

तर सो गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएको थिएन । सन् २०१९ अगष्ट ५ मा भाजपा नेतृत्वको सरकारले भारतीय संविधानको अनुच्छेद हटाउँदै जम्मू कश्मीरको विशेष राज्यको दर्जा हटाएको थियो । लगत्तै त्यहाँ केन्द्रीय शासन लागू गरिएको थियो ।