तेहरान– इरानले मंगलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशंकाबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ ।
‘इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ’, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ ।
इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिएका हुन् । इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो ।
सोमबार एउटा आधिकारिक बयानमा अराघचीलाई उद्धृत गर्दै इरानले क्षेत्रमा युद्ध नचाहेको बताएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानका तेल प्रतिष्ठानहरूमा आक्रमण नगर्न सावधान गराएका थिए । इरान विश्वका शीर्ष १० कच्चा तेल उत्पादनमध्ये एक हो ।
इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सका जनरल रसुल सनाइरदले आइतबार इजरायललाई आणविक वा ऊर्जा केन्द्रहरूमाथि हुने कुनै पनि आक्रमणले ‘चेतावनी स्तर’ पार गर्ने चेतावनी दिएका थिए ।
सन् २०२२ मा एक अधिकारीले इरानसँग आणविक हतियार उत्पादन गर्ने प्राविधिक क्षमता रहेको बताएपछि इरानले आफ्नो आणविक महत्त्वाकांक्षामा कुनै परिवर्तन नभएको कुरामा जोड दिएको थियो ।
गत वर्ष इरानले युरेनियम संवर्धनको गति कम गरे पनि त्यसपछि सन् २०२३ को अन्त्यतिर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनलाई तीव्र बनाएको थियो ।
सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक पर्दछ । इरानले आणविक हतियार क्षमता विकास गर्ने कुनै महत्त्कांक्षा राखेको कुरालाई सधैँ अस्वीकार गर्दै आएको छ र आफ्ना गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण रहेको कुरामा जोड दिँदै आएको छ ।
इरानी आणविक केन्द्रहरूमा हुने कुनै पनि आक्रमणले ‘इरानको प्रतिक्रियाको प्रकारमा प्रभाव पार्ने’ जनरल सनाइरदले बताए ।
तेहरानले इजरायलमाथि गरेको आक्रमणमा करिब दुई सय क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । बेरुतमा भएको हवाई आक्रमणमा इरान समर्थित लेबनानी आन्दोलन हिजबुल्लाहका नेता हसन नसरल्लाह र तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको मृत्युको जवाफमा उक्त आक्रमण गरेको इरानले बताएको थियो ।
प्रतिक्रिया