अर्थसंक्षेप : क्षतिग्रस्त हाइड्रोपावर पुनःनिर्माणमा अलमल, लुम्बिनीका २० सहकारीमा समस्या | Khabarhub Khabarhub

अर्थसंक्षेप : क्षतिग्रस्त हाइड्रोपावर पुनःनिर्माणमा अलमल, लुम्बिनीका २० सहकारीमा समस्या


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गएको असोज १० देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोले क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्योलमा परेको छ । लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने दर्जनभन्दा बढी संख्याका सहकारीमा समस्या देखिएको छ । विभिन्न १८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । शुक्रबार सुनचाँदीको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ ।

आजका प्रमुख आर्थिक समाचारहरुः

क्षतिग्रस्त जलविद्युत आयोजना पुनःनिर्माणमा सरकार र निजी क्षेत्रको अलमल

गएको असोज १० देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोले क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्योलमा परेको छ । बाढीपहिरोका कारण नेपालका करिब ११०० मेगावाट क्षमताका करिब तीन दर्जन आयोजना डेढ महिनाअघि पूर्ण रूपमा बन्द भएका थिए । क्षतिग्रस्त जलविद्युत आयोजना मर्मत र पुनःनिर्माण कार्य अहिलेसम्म थालनी हुन नसकेको हो । पुनःनिर्माणप्रति सरकार र ऊर्जा प्रवर्द्धकसमेत उदासीन देखिएका छन ।

बाढीपहिरोले सरकारको पूर्ण स्वामित्व रहेको नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनीबाट प्रवर्द्विवत ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना समेत तहसनहस बनायो । पहिरोले आयोजनाको हेडवर्क्स र बाँध क्षेत्र कटान गरेपछि विद्युत् उत्पादन पूर्ण बन्द गरिएको थियो ।

हालसम्म पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्ण क्षमतामा चल्न सकेको छैन । कारण हो – पुनःनिर्माणमा भइरहेको ढिलाइ । आयोजना पुनःनिर्माणको काम अहिलेसम्म पनि अघि बढ्न नसकेको प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।

लुम्बिनीका २० सहकारीमा समस्या, तीन संस्थाका सञ्चालक ताला ठोकेर फरार !

लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने दर्जनभन्दा बढी संख्याका सहकारीमा समस्या देखिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने २० वटा सहकारी संस्थाहरूमा समस्या देखिएको हो ।

समस्या देखिएकामा अधिकांश सहकारीहरू रूपन्देहीका हुन् । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार हालसम्म समस्याग्रस्तमध्ये १३ वटा सहकारी रूपन्देहीका र अन्य सात वटा सहकारी प्रदेशका अन्य जिल्लाका हुन् ।

प्रदेशको नियमन क्षेत्रभित्र पर्ने ६ वटा सहकारीहरूमा आर्थिक अपचलन भएको र आठ वटामा बचत फिर्ता नभएको विषयलाई लिएर उजुरी परेको छ । त्यस्तै, तीनवटा सहकारीका सञ्चालकहरू बचत फिर्ता नगरी कार्यालय बन्द गरेर फरार छन् ।

प्राप्त सूचनाअनुसार; रूपन्देहीका सप्तदीप बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारी र उपदेश बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरू सदस्यहरूबाट निक्षेप संकलन गरी कार्यालय नै बन्द गरी फरार भएको उजुरी रजिष्ट्रार कार्यालयमा परेको छ । रजिष्ट्रार कार्यालयले ती सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि प्रहरीसँग समन्वय गरी खोज्ने काम भइरहेको जनाएको छ ।

ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा

विभिन्न १८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन समेत कालोसूचीमा परेको हो । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै रामेछापबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेस नेता एवम् राज्यमन्त्री तामाङको कम्पनी २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शुक्रारदेखि लागू हुने गरी कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने बिहीबार निर्णय भएको कार्यालयले जनाएको छ ।

कार्यालयले अरू थप दुई कम्पनीलाई दुई वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । जसमा रमिला लामा मुख्य व्यक्ति रहेको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति रहेको द कञ्चनजङ्घा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति रहेको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

तोलामा २ हजारले बढ्यो सुनको मूल्य

शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी

इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन्। परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन् ।

उनले भने, ‘बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक ५० हजारसम्म बचाउन सकिन्छ ।’

बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उनले भने, ‘बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।’

उनले सजावटका सामान पनि बनाउन थालेका छन् । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताए । हाल उनको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् । बेतबाट बनेका सजावटका सामान रु सात सयदेखि १६ हजार सम्ममा बिक्री हुने गरेका छन् ।

सिलगुडीबाट एक बण्डल बेतलाई तीन हजार पाँच सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट पाँचवटासम्म सामान बनाउन सकिने भएकाले आफूलाई घाटा नभएको उनले बताए । राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गरेका छन् । एघार वर्षदेखि बेतका फर्निचर बनाउँदै आएका उनले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताए । उनले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गरेका छन् ।

धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।

धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण धमाधम भइरहेको छ ।
धारापानी र खुदी सबस्टेसनमा क्रमश : २२०–१३२ केभी,१०० एमभिए तथा १३२–३३ केभी, ३० एमभिए र २२०–१३२ केभी, १६० एमभिए तथा १३२–३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ ।

निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् ।

ट्रम्पले चुनाव जितेपछि सुनचाँदीको भाउमै उतारचढाव

अमेरिकाका ४७औं राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका कारण विश्वभर सुनचाँदीको भाउमै असर परेको छ । राष्ट्रपति निर्वाचन भएको यो साताभर विश्वमा सुन र चाँदीको भाउमा उतारचढाव देखिएको हो ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च रेकर्ड र फेडरल रिजर्भले ब्याजदर घटाउँदाको प्रभाव सुनको मूल्यमा परेको हो । नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा उतारचढाव आयो । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार तिहार पर्वका कारण सुनको दरभाउ प्रकाशन भएको थिएन ।
साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम एक लाख ४४ हजार २०५ रुपैयाँ पुग्यो । साताको चौथो दिन बुधबार प्रति १० ग्राम सुनको मूल्य एक लाख ४४ हजार ४६० रुपैयाँ पुग्यो ।

रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद

रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले बिहीबार चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।

सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम

निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन् ।

अझै पनि बागलुङभित्रको ६१ किमीमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रूपमा खुलेको खण्डमा त परिवर्तन नै भएको छैन । जिल्लाभित्रको ६१ किमी सडकमध्ये बुर्तिबाङदेखि ढोरपाटन पुग्ने सडकभित्रको पनि २२ किमी खण्डको ठेक्का अलपत्र छ ।

बुर्तिबाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३० प्रतिशत मात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगति नभएको सालभण्डडी ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए ।

त्यस बाहेकको खण्डमा त झनै काम भएको छैन । खुलेको ट्र्याकसमेत समयमा मर्मत नहुँदा वर्षातमा खसेका पहिरो त्यतिकै छ । निसीखोला तर्फको खण्डमा सडकको कामै नहुँदा गाउँपालिकाका जनप्रतिनिधिसमेत आक्रोसित छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : २३ बजे

रावलबारे सबै नेता तैँ चुप मै चुप, बिन्दा र उषाबारे अरूको कुरै सुनेनन् ओ‌लीले

काठमाडौं–नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन

सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले

आजका समाचार : रावललाई कारबाहीपछि एमालेमा खैलाबैला, रविसँग तीन घण्टा बयान र जापान एयरलाइन्समा साइबर आक्रमण

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं – सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस

कांग्रेसको एक सय दिने विशेष अभियानको समयावधि थप

काठमाडौं – नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयावधि