के हो फिजियो थेरापी, कस्तो छ उपचार पद्धति ? | Khabarhub Khabarhub

के हो फिजियो थेरापी, कस्तो छ उपचार पद्धति ?

बढ्दै आकर्षण, सिट संख्याको मारमा विद्यार्थी


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय फिजियोथेरापीप्रति बिरामीको आर्कषण बढ्दै गएको छ। फिजियो थेरापीले बिरामीको दुखाई कम गर्नुको साथसाथै कार्यात्मक क्षमताको विकास र सन्तुलनमा मद्दत गर्ने भएकाले बिरामीको आर्कषण बढ्न थालेको हो। बिरामीको आकर्षण बढेसँगै यसप्रति विद्यार्थीको आकर्षण बढ्दो छ। अहिले नेपालकै केही कलेजमा यसको अध्ययन अध्यापन भइरहेको छ। फिजियो थेरापी कस्तो पद्धति हो ? फिजियो थेरापीबारे नेपालमा अध्ययन अध्यापनको अवस्था के छ ? फिजियो थेरापीप्रति विद्यार्थीको आकर्षण कस्तो छ ? भन्ने विषयमा विर अस्पतालको फिजियो थेरापी युनिटका प्रमुख विनय कँडेलसँग खबरहबका लागि गरेको कुराकानीको सम्पादित अंश :

फिजियो थेरापी कस्तो उपचार पद्धति हो ?
फिजियो थेरापी भनेको भौतिक यन्त्रहरु जस्तै ताप, करेन्ट र शारीरिक क्रियाकलापको पद्धतिबाट रोगलाई निको पार्ने उपचार विधि हो।

फिजियो थेरापी नेपालमा नयाँ हो ?
यसको प्रयोग धेरै पहिलेदेखि हुँदै आएको छ। योगा, शारीरिक व्यायम जस्तै यो पद्धति पनि पहिलेदेखि नै हुँदै आएको थियो। तर पछिल्लो समय एलोपेथिकतर्फ अकर्षण बढ्यो। शल्यक्रियासँगै जोडिने गरिएको आधुनिक फिजियो थेरापी चाहिँ नयाँ प्रयोग हो।

फिजियो थेरापी भनेको भौतिक यन्त्रहरु जस्तै ताप, करेन्ट र शारीरिक क्रियाकलापको पद्धतिबाट रोगलाई निको पार्ने उपचार विधि हो।

फिजियो थेरापीबारे नेपालमा अध्ययन अध्यापनको अवस्था के छ ?
फिजियो थेरापीबारे अहिले नेपालमा अध्ययन भइरहेको छ। फिजियो थेरापीमा विशेष गरी तीन तहसम्म पढाइ हुन्छ। एसईईपछि प्लस टु सरहको तीन वर्षे पाठ्यक्रम हुन्छ। त्यस्तै स्नातक तहमा चार वर्षे र स्नातकोत्तर तहमा दुई वर्षको पाठ्यक्रम हुन्छ। नेपालमा अहिलेसम्म काठमाडौं विश्वविद्यालयका पाँच वटा आङ्गिक क्याम्पस र पोखरा विश्वविद्यालय गरेर ६ वटा कलेजमा प्लस टु र स्नातक तहसम्मको पढाइ भइरहेको छ। यो पढ्नका लागि वर्षमा एक सय ५० वटा सिट तोकिएको छ। जसको लागि चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिन्छ। त्यो परीक्षामा उत्कृष्ट ठहर भएका विद्यार्थीले पढ्न पाउने हो। स्नातकोत्तरको कुरा गर्दा काठमाडौैं विश्वविद्यालयमा मात्रै पढाई हुन्छ। त्यसमा जम्मा ५ वटा सिट छ। त्यो पनि अर्थोपेडिकसँग सम्बन्धि मात्रै पढाइ हुने गरेको छ।

फिजियो थेरापीप्रति विद्यार्थीको आकर्षण कस्तो छ ?
पछिल्लो समय यसप्रति विद्यार्थीको आकर्षण बढ्दो छ। फिजियो थेरापी विज्ञ र सहायक गरेर करिब तीन हजार फिजियो थेरापिष्टले अहिले सेवा दिरहेका छन्। अहिले माग पनि बढ्दो भएकाले धेरै अवसर छन्। हरेक वर्ष एक हजार जना विद्यार्थीले पढ्नका लागि आवेदन दिन्छन्। तर सिट सङ्ख्या सीमित भएकाले एक सय ५० जनाले मात्रै पढ्न पाउने अवस्था छ। त्यस्तै स्नातकोत्तर तहको पढाइका लागि हरेक वर्ष एक सय जनाले आवेदन दिन्छन् भने सिट सङ्ख्या पाँच मात्रै छ।

नेपालमा अहिलेसम्म काठमाडौं विश्वविद्यालयका पाँच वटा आङ्गिक क्याम्पस र पोखरा विश्वविद्यालय गरेर ६ वटा कलेजमा प्लस टु र स्नातक तहसम्मको पढाइ भइरहेको छ। यो पढ्नका लागि वर्षमा एक सय ५० वटा सिट तोकिएको छ।

सिट सङ्ख्या बढाउनका लागि सरकारले के गर्नुपर्ला ?
सरकारी माहतका क्याम्पसमा फिजियो थेरापीबारे अध्ययन अध्यापन सुरु गर्नुपर्छ। चिकित्सा शिक्षा विज्ञान राष्ट्रिय प्रतिष्ठान एउटा सरकारी विश्वविद्यालय हो। त्यस्तै क्याम्पसमा यसबारे अध्ययन अध्यापनका लागि सिटहरु खुला गर्नुपर्छ। विद्यार्थीको माग अनुसार अहिले भएको सिट संख्यामा १० गुणा बढी सिट छुट्याउनुपर्ने आवश्यकता देखिन्छ। यदि यसो गरिएन भने अहिले विद्यार्थी पढाइकै लागि बाहिरिनुपर्ने र बाहिर गएको विद्यार्थी फर्किने सम्भावना एकदमै कम हुन्छ।

यसबारे सरकारको प्रतिक्रिया के छ ?
म आफै चिकित्सा शिक्षा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा फिजियो थेरापी युनिट प्रमुख भएको नाताले हामीले यसको पाठ्यक्रम तयार गरेर मन्त्रालयमा बुझाएका छौं। सरकार पनि फिजियो थेरापी अध्ययनका लागि सिट सङ्ख्या बढाउने विषयमा सकारात्मक देखिएको छ।

फिजियो थेरापीप्रति आकर्षण बढ्दो छ। उपचार पद्धति चाहिँ कत्तिको प्रभावकारी छ ?
उपचार मात्रै नभएर स्वास्थ जीवन जिउनका लागि फिजियो थेरापीको महत्त्वपूर्ण भूमिका रहन्छ। यो बालबालिकादेखि लिएर वृद्धावस्थासम्म चाहिने उपचार हो। न्युरोलोजिकल डिसअर्डर, अटिजमलगायत समस्या भएका बच्चामा पनि यो निकै उपयोगी हुन्छ। त्यस्तै युवा, महिला र बृद्धावस्थामा हुने ढाड कम्मर दुख्ने लगायत समस्या भएमा फिजियो थेरापी उपयोगी हुने भएकाले निकै नै प्रभावकारी भइरहेको छ।

हामीले यसको पाठ्यक्रम तयार गरेर मन्त्रालयमा बुझाएका छौं। सरकार पनि फिजियो थेरापी अध्ययनका लागि सिट सङ्ख्या बढाउने विषयमा सकारात्मक देखिएको छ।

सबैलाई यसको उपचारको पहुँचमा पुर्याउन के पहल भएको छ ?
यसको लागि सरकारी नीतिमा नै फिजियो थेरापीलाई समावेश गर्नु आवश्यक छ। २०७६ सालको राष्ट्रिय नीतिमा फिजियो थेरापीलाई स्वस्थ्यकै एउटा अङ्ग भनेर औंल्याइएको छ। त्यसकै आधारमा विभिन्न संघीय, प्रादेशिक र स्थानीय तहमा फिजियो थेरापिष्टको दरबन्दी सिर्जना गर्ने कार्यक्रम सरकारले ल्याएको छ। त्यस्तै नेपाल फिजियो थेरापी संघले पनि विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको छ।

फिजियो थेरापी कत्तिको खर्चिलो छ ?
यसको उपचार अवधि लामो हुने भएकाले खर्चिलो छ। जस्तै प्यारालाइसिस लगायत दीर्घ रोगमा यो पद्धतिबाट उपचार गरिन्छ। तर यसलाई प्रर्वद्धनात्मक रुपमा हेर्ने हो। सामान्य अवस्थामै उपचारका लागि आयो भने धेरै खर्चिलो छैन।

अन्य व्यायाम र फिजियो थेरापीमा के फरक छ ?
अन्य शारीरिक व्यायाम हामी स्वस्थ रहनका लागि गर्छौं। योग र फिजियोथेरापी दुई विशेष प्रकारका चिकित्सा पद्धति हुन्। यसको उपयोगले व्यक्ति लाभान्वित हुन्छन्। योगले आत्मा र शरीरमा समन्वय बढाउँछ। तर फिजियो थेरापीले विशेषज्ञतामा आधारित रोग वा लक्षणमा सुधार गर्दछ। यी दुवै पद्धतिले स्वास्थ्य र शारीरिक समस्यामा सुधार गर्दा विभिन्न लाभ प्रदान गर्दछन्। यसले व्यक्तिको जीवन शैलीमा सकारात्मक परिवर्तन आउँछ।

सबै खालका बिरामीले एकपटक फिजियो थेरापिष्टसँग परामर्श लिँदा राम्रो हुन्छ। उपचारका लागि मात्रै नभएर स्वास्थ्य जीवनको प्रवर्द्धनका लागि पनि फिजियो थेरापीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

याहाँको सुझाव के छ ?
सबै खालका बिरामीले एकपटक फिजियो थेरापिष्टसँग परामर्श लिँदा राम्रो हुन्छ। उपचारका लागि मात्रै नभएर स्वास्थ्य जीवनको प्रवर्द्धनका लागि पनि फिजियो थेरापीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यस्तै फिजियो थेरापीका विद्यार्थीको लागि नेपालमै अध्ययन अध्यापनको राम्रो अवसर छ। नेपाल सरकारसँग सम्बन्धित सरकोकारवालाले पनि नेपालमा एकदमै प्रभावकारी फिजियो थेरापी गर्नसक्ने वातावरण सिर्जना गर्नु आवश्यक छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : २४ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार