अघिल्लो वर्षको ‘फोटोकपी’का रूपमा नयाँ बजेट आउने परिपाटी अन्त्य गर्छौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

अघिल्लो वर्षको ‘फोटोकपी’का रूपमा नयाँ बजेट आउने परिपाटी अन्त्य गर्छौँ : प्रधानमन्त्री


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

सिंहदरबारमा शुकरबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास तथा योजनासँग सम्बन्धित विज्ञसहितको छलफलमा उनले परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको बताए ।

हरेक वर्ष पुरानै वर्षको ‘फोटोकपी’का रूपमा नयाँ बजेट आउने परिपाटी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस पटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरूपका रूपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरिएको बताए ।

 सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गरिने उनको भनाइ थियो ।

 विषयगत विज्ञले उठाएका सवाल महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको ढाँचा र समय तालिकामा परिमार्जन गर्ने प्रक्रियाअन्तर्गत नै छलफल आयोजना गरेको स्पष्ट पारे।

‘सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठिक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नपर्छ’, उनले भने, ‘यस पटक नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव केन्द्रित गर्छौँ । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसद्मा पढ्नुहुन्छ ।’

देशमा आर्थिक सङ्कट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्कटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताए ।

‘म सङ्कटका बेला प्रधानमन्त्री भएँ । देशलाई सङ्कटबाट मुक्त गर्न मैले लगातार कोसिस गरिरहेको छु’, उनले भने, ‘तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।’

राष्ट्रिय योजना आयोगको समन्वयमा भएको सो छलफलमा विभिन्न क्षेत्रका विज्ञले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाबारे सुझाव दिएका थिए ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले उत्पादन र रोजगारी वृद्धिसँगै अर्थतन्त्रका धेरै समस्या सम्बोधन हुने भएकाले यस विषयलाई केन्द्रमा राखेर सोह्रौँ योजनाको मस्यौदा तयार भइरहेको जानकारी गराएका थिए ।

छलफलमा विज्ञले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने, व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र उत्पादनका साधनमा बहुसङ्ख्यक जनताको पहुँच पुर्‍याउनेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : ५४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार