देश लोभतन्त्रमा फसेको छ । अरु देशमा लोकतन्त्र हुन्छ, यहाँ ६ इञ्चको बाटोमा ८ इञ्चको गाडी कुदाउने गरी मित्रहरुले लोकतन्त्र स्थापना गरिदिएका छन् । वर्षैपिच्छे वैशाख ११ मा लोकतन्त्र दिवस पनि भव्यरुपमै मनाइन्छ ।
यो पंक्तिकार यसैसाता चितवन, परासी, बुटवल हुँदै अर्घाखाँचीसम्म पुग्दा साँचो अर्थमा त्यहाँ कुनै स्थानमा संघीयता देखिएन । लोकतन्त्र पनि देखिएन । हिलाम्मे र धुलाम्मे सडकभित्र पछारिएको लोकतन्त्र देशैभरिका गतिविधि हेर्दा मूच्र्छित छ भन्दा फरक पर्दैन । विकासको आधार नै सडक, यातायात हो, जुन यहाँ नाजुक छ ।
लगत्तै नुवाकोट, रसुवातिर त लोकतन्त्र पाइएला कि भनी खोज्दा त्यता पनि भेटिएन । भेटियो बरु सडकको दुर्दशा । जताततै डोजरले कोपरेको दृश्य ।
ललितपुरको लगनखेल, टीकाभैरव हुँदै लेले, नल्लु र भारदेउ हुँदै गोटीखेल र महाभारतको उकाली चढ्न मन लागेर उतातिर हानिएको, सातोपुत्लो नै उड्यो । कुइरीमण्डल धूलो अनि बाटाभरि डोजरले वन, पाखा, पखेरी खन्दै रहेछन् । गाडीको ढोका पूरै बन्द गर्दा पनि उकुसमुकुस, छारो र धूलो । बाहिर दिउसै बत्ती बाल्नुपर्ने अवस्था । सबैतिर अँधेरी मात्र । धन्न, यस्तो विषम परिवेशमा स्थानीयबासीले कसरी दिन बिताउलान् ? जति पर गयाmे हालत उस्तै । कतै सफा छैन ।
लालिगुराँसको राजधानी भनिएको देश नेपालमा पर्यटनको सम्भावना धेरै छ । तर, आन्तरिक पर्यटनको हालत यस्तो विषम छ । वाह्य पर्यटकहरुलाई के देखाउने ? हाम्रो अर्थतन्त्र राम्रो कसरी गर्ने ? पहाडका भित्ता–भित्तामा प्लटिङ भइरहेको अर्को दृश्यले कृषि प्रधान देशलाई नेताहरुले लोकतन्त्रका नाममा कुर्सी प्रधान बनाएको स्पष्ट तस्बिर त्यहीँ देखिन्थ्यो ।
केही दशकअघि त्यता जाँदा ऋतु अनुसारका कृषि बालीहरु झुलेका देखिन्थे, दूधका गाडीहरु दौडन्थे, तरकारी लगायतका सामान ढुवानी भइरहेको देखिन्थ्यो । अब त दिनहरु धेरै ढलेछन् । नयाँ पुस्तावय कोही देखिएनन् । देखिए निरस डोजरले भत्काइएका पहाड मात्र । युवापुस्ताको उठिबास लगाइसकेछ लोभतन्त्रले ।
दुई दशकअघिसम्म देखिएको ललितपुरको दुर्गम र हरियाली क्षेत्र गोटीखेल अब खण्डहर भइसकेछ । महाभारत पर्वत श्रृंखलाको लेक कालेश्वरको उचाइ चुम्ने पंक्तिकारको ध्येय अनुसार गोटीखेलको वैतरणी नदी स्नानपछि उकाली लाग्दा घुम्ती मोड्दै हैँ–हैँ गरी देउरालीसम्म हाम्रो सवारी त पुग्यो, तर धेरैको यात्रा असहज देखियो । अरु धेरै सवारी त्यहाँ पुग्न सकेनन् । यात्रुहरु बाटैमा बिचल्ली भए । माथि त बस्ने–खाने सुविधा नै छैन पनि ।
कति असहज हुँदाहुँदै हाम्रो समूह देउराली भन्ज्याङ त पुग्यो, तर वनैवन उकाली लाग्नुपर्ने । साहसी पर्यटकका रुपमा लाठीको सहाराले उकाली लाग्दाको क्षण भने अर्कै रह्यो । वसन्तको आगमन झल्काउने लालिगुराँसको जंगल ।
पहिले उखान थियो– जहाँ जंगल त्यहाँ मंगल । अब त कंक्रिटका निरस वन हेरेर दिन बिताउनु परेको छ, सहरतिर पानीको अभावमा । लोभतन्त्रले देशको पूर्वाधारलाई सलक्क निलिसकेको छ ।
ललितपुर मात्र होइन, प्युठान, रोल्पा, बाँके, राप्ती, लुम्बिनी लगायतका क्षेत्रमा देश दौडाहा गर्ने अभियान नै राखियो । तर, स्थानीय सबैको मुखबाट सुनियो, खोई हजूर, यता लोकतन्त्र, संघीयता र गणतन्त्र गुडेर आएको देखेकै छैन । उडेर आउनेले देश कहाँ देख्ला र ? यहाँ केवल पाँचतारे होटलमा पढाउन मात्रै कागजका योजनाहरु विदेशीले दिन्छन् । देशमा योजनाहरु कति बने, पन्ध्रौँ याजनामै सबै ठीक हुन्छ भनियो, सबै सूचकांक निराशाजनक छन् ।
महानगरमा पनि गरिवीको परिचयपत्र दिने गरी तथ्यांक लिन लागियो रे । तर, अरु क्षेत्रको तयार परिचयपत्रको नवीकरण भएको छैन । देश त पूरै गरीव छ, सबैलाई पचियपत्र दिए भइहाल्यो नि । जता जहाँ जसलाई भेट्दा पनि यस्तै–यस्तै आम धारणा राखे पंक्तिकारसँग ।
मधेस प्रदेशका गृहमन्त्रीले ०७५ सालमा ३२६ पल्ट र ०७६ सालमा ३३० पल्ट गरी १६ लाख ४० हजार त भत्ता मात्रै बुझेछन्, राजनीतिकर्मीहरुलाई यति उर्बर भएको लोभतन्त्र विश्लेषकहरुको नजरमा भने फाट्टफुट्ट मात्रै राम्रो भएको छ, अधिकांश जनमानसमा पीडा भरेको छ, यसले प्रसुती गृहदेखि घाटसम्म कर तिर्नु परेको छ र नजन्मदै ८० हजारको ऋणभार पनि हाम्रो लोभतन्त्रले बोकाइसकेको छ ।
देश धनी थियो कृषिमा, धर्ममा, संस्कृतिमा संस्कारमा पनि । पर्यटन क्षेत्रमा अब्बल नै थियो । वन, जंगल, वन्यजन्तु, जडिबुटी, हराभरा तराई अनि सिंगो हिमाल सेतो सुनको राशी कति थिए राम्रा दृश्यहरु । विश्वमै दूर्लभ लुण्डेसी र क्वानियम प्रजातिको रैथाने गुराँस यहीँ पाइन्छ । मुस्ताग, मनाङ, डोल्पादेखि रसुवा लाङटाङसम्म भरिभराउ नै छन् यी । देशका ४३ जिल्लामा थरिथरिका लालिगुराँस पाइन्छन्, जसबाट मनमोहक प्रकृति देखाएर यहाँ पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ । जैविक विविधताले चिनिएको देशमा पाटेबाघहरु छन् । गैँडा, अर्ना, हात्ती, डाँफे, मुनाल कति छन् ।
यहाँ ६ हजार बढी पहिचान भएका वनस्पति छन् । सुनपाती, कालो गुराँस, सेतो, रातो थरिथरिका गुराँस पाइन्छन् वसन्त ऋतुमा । पूर्वको तेह्रथुम वा संखुवासभामा घुमौँ वा, ताप्लेजुङ नै पुगौँ, ढपक्कै देखिन्छ वन लालीगुराँसले ।
इलामको श्रीअन्तु वा फिक्कल, आइतबारे पुगौँ वा झापाको बुधबारे, शनिश्चरे पुगौँ या महेशपुरको किच्चक्बध । यी क्षेत्रमा देशको इतिहास, पाइन्छ । मौलिकता र महाभारतकालीन अवशेषहरु । कति सुन्दर छ हाम्रो ग्रमीण पर्यटन । कति रमाइलो छ होम स्टे । बस् ६ लाख ९२ हजार हेक्टर जमिनको वनले ढाकेको हाम्रो नेपालमा १० प्रतिशत त लालिगुराँस नै पाइन्छ ।
विश्वको चर्चा गर्नु पर्दा गुराँस नै १ हजार १५७ प्रजातिका रहेका छन्, एसिया, उत्तर अमेरिका, युरोप, अष्ट्रेलियामा पनि छन् गुराँस । ९० प्रतिशत नेपाल चीन, भारत, भूटान, थाइल्याण्ड, म्यान्मार, भियतनाम, इन्डोनेसिया, फिलिपिन्समा भेटिन्छन् ।
समुद्र सतहबाट १ हजार देखि ६ हजार मिटरसम्मको उचाइमा गुराँसको सम्भावना रहने वैज्ञानिकहरुको तर्क छ । करिव ३ हजार मिटरको उचाइमा उक्लँदै गर्दा पंक्तिकार महाभारतको वन जंगलबाट मोहित भएको हो ।
कालेश्वरको डाँडाभरि लालिगुराँसमा भुल्नेहरु धेरै देखिन्थे । पर्वत शिखरबाट उत्तर हिमाली दृश्य र दक्षिण मकवानपुर तराईक्षेत्र बडो मजाले दृश्यावलोकन गर्दागर्दै कुहिरोले ढाकेकाले दृश्यावलोकन अधुरै रह्यो हाम्रो । गर्मी महसूस गरिरहेका हामीले क्षणभरमै जाडो महसुस गर्नु परेको थियो । यति सहज मौसम छ हाम्रो । अरु देशको जस्तो निरस बालुवा ५५ डिग्री सेल्सियसको तापक्रम, त्यसमै हाम्रा संगीसाथीहरु भेडा चराउँदैछन् खाडीमा । कम से कम यो देशमा यति कठोरता कतै छैन ।
बुझ्ने यो देश श्रीखण्ड नै हो तर लोभतन्त्रले देशलाई हरिबिजोक गराएको छ, अझै सपना बाँड्न छोडिएको छैन । पहाड आफैं संसारको अग्लो भ्यूटावरभन्दा कम छैन, कमिसनको लोभमा कंक्रिटका भ्यूटावरहरुले देशलाई हरिबिजोक गराएको छ, व्यापार घाटा र आन्तरिक अनि वाह्य ऋणमा डुबाएको छ ।
गुराँसको फूलबाट जुस बन्न सक्छ, निर्यात हुन सक्छ । तर, हाम्रो बेहोसीपना छ । दाउराको प्रयोग, काठ नै चोरी निकासी, चरिचरनले उजाड अनि वन कोतर्ने वडाअध्यक्षहरुको डोजर ल्याइदिएको छ लोभतन्त्रले । वनलाई सहर बनाउने कल्पना गरेको छ, जसबाट भूक्षय, बाढीपहिरोको दर्दनाक घटना बढेका छन् । कृषि बाली उजाड छ । पानीको मुहान सुकेको छ । त्यति पर पुग्दा पनि नक्कली सहरबाट लगिएको बोतलको पानी पिउनु पर्दा धेरै दुःख लाग्यो । यात्राभरि नै, दही मोही त कतै भेटिएन । कोक र फ्यान्टाका बोतलहरु जताततै सजाइएका देखिन्थे मल्टिनेशनल कम्पनीका । खेतबारीमा काम गरिने अवस्था देखिएन । भएका मान्छेहरु धुलाम्मे कच्ची बाटाको साइडमा बसेर क्यारिमबोर्ड खेल्दै गरेको दृश्य टीठलाग्दो थियो ।
जनतामा चरम निराशा, आर्थिक मन्दी, बेरोजगारीका पीडा छन् । ठालुहरुको अर्ती उपदेश, दलीय हानाथाप, कुशासन र भ्रष्टाचार अनि आफ्नो देवत्वकरण र गहुँत पानी छर्कने प्रवृत्ति छ । सनातन धर्ममाथिको व्यापक आक्रमण छ । सांसदहरुको राहदानी दुरुपयोग भइरहेको छ । पुरुष सांसदहरु सुत्केरी भत्ता लिन्छन् । नातागोता नपुगेर गर्लफ्रेण्डलाई समेत कुर्सी दिलाउँछन् ।
भागबण्डाका लागि दलको सिद्धान्तलाई बिर्सने र स्वार्थका लागि कानुनलाई संशोधन गरिदिने चरित्र बोकेको लोकतन्त्रभित्र निसास्सिएको छ हाम्रो देश । चैत्र महिना त्यो पनि २४ गते अनि वैशाख ११ गते सम्मका अतीतका दिनहरुलाई सम्झेर रुनु बाहेक नेपालीहरुको अरु बल के नै छ र ? श्रीहरुका लागि मात्र आएको लोकतन्त्र दिवस श्रीहरुले मनाउँदा राम्रो नै हुन्छ, बाँकीहरु त आम निर्वाचनकै दिन पनि झोला बोक्दै ऋण गरेर एयरपोर्ट पुगेकै हुन् ।
प्रतिक्रिया