सर्लाही– नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस) सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो ।
निजी अस्पतालमा महँगो पर्ने सिएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामविश्वास रायले जानकारी दिए ।
असुरक्षित रूपमा सुत्केरी गराउने सङ्ख्या घटेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा. रायले बताए ।
नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन् भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् ।
आफ्नै गाउँठाउँमा शल्यक्रियासहितको सुविधा पाउँदा खुसी लागेको ईश्वरपुर नगरपालिका–९ निवासी अञ्जुकुमारी चौधरीले बताइन् ।
नागरिकको सुविधालाई ध्यान दिँदै प्राथमिक स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरिएको वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले बताए । सुरुमा नर्मल डेलिभरी सेवामात्र रहेको स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नतिपछि सेवा विस्तार गरिएको उनको भनाइ छ ।
उपचारका लागि अन्यत्र जानुपर्ने बिरामीले ल्याब परीक्षण गराएर जाने गरेका छन् । ल्याबबाट प्रदान भएको सेवामा सेवाग्राहीको विश्वास बढेको अस्पतालको भनाइ छ ।
जिल्लामा सदरमुकाम मलङ्गवास्थित प्रदेश अस्पताल र लालबन्दी नगर अस्पतालमा मात्र शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा छ ।
प्रतिक्रिया