प्रेम र आकर्षणको शक्ति | Khabarhub Khabarhub

प्रेम र आकर्षणको शक्ति



प्रेम प्रेम्णोत्तीर्यते ।

अर्थात् प्रेमको जवाफ प्रेम नै हो । प्रेमको परिणाम प्रेम नै हो । प्रेमको परिभाषा प्रेम नै हो ।

तर, यति सहजै राजी हुँदैन मानिसको मन । किनकि, उसले प्रेमको अनुभूति प्रेमबाट गरेकै छैन । किन, कसलाई आदि नाफा, नोक्सान र तर्क वितर्कले प्रेमको गरिमालाई साँघुरो बनाएको छ ।

पदार्थको केन्द्रको आकर्षण शक्ति गुरूत्वाकर्षण भएजस्तै चेतन तत्वको केन्द्रको आकर्षण प्रेम हो । जहाँ कुनै दर्द र बोझ छैन, जहाँ स्वतन्त्रता अनि मुक्तिको आभाष हुन्छ, त्यो प्रेम हो।

मानव सभ्यताको शुरूवातीदेखि नै हरेक धर्म र शास्त्रमा समेत उच्च दर्जा दिएर प्रेमको महत्व उल्लेख गरिएको पाइन्छ । तर, प्रेममा जिएको पाइन्न । व्याख्या र परिभाषा भन्दा पनि जुन सफलता या प्राप्तिमा सही र सकारात्मक ऊर्जाको अनुभूति भएको हुन्छ, त्यो सफलता प्रेमको सफलता हुन्छ । प्रेम वायु र आकाशझैं जीवन्त, सक्रिय, अदृश्य र गतिशील छ ।

आफ्नो परिवार र आफ्नाका लागि मात्र गरिने प्रेम साँघुरो घेराको प्रेम हो। प्रेम भावना मात्र होइन, सकारात्मक शक्ति हो । प्रेमको जत्ति ठूलो शक्ति अरू हुँदैन । यदि हुन्छ जस्तो लाग्छ भने त्यो भ्रम हो । त्यही प्रेमको शक्तिले एक अर्कालाई आकर्षित गर्दछ ।

प्रेम न त कमजोर हुन्छ, न त देशकालिक र तह तप्का। प्रेम त त्यो सकारात्मक शक्ति हो, जसले जीवन र जीवनलाई जोड्ने काम गर्दछ । हाम्रा इच्छा, आकांक्षा, सपना र योजनासमेत प्रेमकै शक्तिबाट निर्माण हुन्छन् । खराब चिजलाई सही बनाउन, र्सिजनात्मकता थप्न र जीवनको मर्म सिकाउने माध्यम नै प्रेम हो । उत्कृष्ट जीवन बच्ने इच्छा हुनेले प्रेमलाई जीवनको आधार मान्छ र खराब तत्संग पर रहन्छ । सृष्टिका सबै सृजनाप्रति प्रेममा रहनुको अर्थ हो– सृष्टिको अब्बल शक्ति र स्रोतसँग जोडिनु ।

सही, सत्य र सकारात्मक धारणा प्रेमको उपज हो भने नकारात्मकता, हीनतावोध प्रेमको अभाव हो। अभावको महसुस हुनु नै नकारात्मकता र प्रेमको कमी हो जुन आफूभित्र हुनुपर्छ। सकारात्मक भावना, खुसी, रमाइलो, सुख सबैको स्रोत प्रेम हो कुनै वस्तु या परिस्थिति मात्र होइन। यो सृष्टिको आधार नै प्रेम भएकाले यसलाई दृश्यगतरूपमा व्याख्या गर्न सकिन्न तर यो शक्तिशाली प्राकृतिक शक्ति हो ।
प्रेमविना जीवन सम्भव छैन

सृष्टि, रचना, संरचना र विकास प्रेमको उपज हो । प्रेमविना कुनै चिज, कुनै जीवन सम्भव छैन। केही बन्ने, बनाउने, सिकाउने, गराउने र विकसित भएर देखाउने ऊर्जा प्रेम ऊर्जा हो। धन, स्वास्थ्य, शिक्षा सबै प्रेम शक्तिको सकारात्मक बोधबाट प्राप्त हुन्छ। जो व्यक्तिको प्रेमिल छ, ऊ नै भौतिक र आध्यात्मिक दुबै रूपमा सम्पन्न हुन्छ । यति महान शक्ति आफैंभित्र भएर पनि किन व्यक्ति सम्पन्न र प्रेमपूर्ण छैन त ? किनकि हाम्रो रोजाइ प्रेमको शक्तिसँग होइन पद, धन, सम्मानजस्ता बाहिरी शक्तिमा मात्र केन्द्रित भयो । प्रेमको आन्तरिक रहस्य बुझ्ने र त्यसलाई जीवनमा उतार्ने प्रयास नै भएन ।

प्रतिदिनको कर्म र गतिशीलता प्रेमको केन्द्रमा आधारित हुन्छ । प्रेमको कुनै विकल्प छैन। जीवनमा जे चिज प्राप्त छन् र खुसी मिलेको छ, त्यो प्रेमको कारण हो । प्रेमको शक्ति जसले उपयोग गर्न जान्दैन उसले जीवनमा अपूर्णता र गलत चिज मात्र हासिल गरिरहेको हुन्छ ।

प्रेमको अभाव नै समस्याको कारण हो। भौतिक जगतको संचालन गुरुत्वाकर्षण शक्तिबाट भए जस्तै जीवनको विकास प्रेमको आकर्षणको शक्तिमा हुन्छ। यो शक्तिले अरूलाई आफूतिर आकर्षण गर्ने होइन प्रेमले प्रेमलाई आकर्षित गरेको हुन्छ। विज्ञानको विकास होस् या अध्यात्मको विकास, भौतिक संसारका विभिन्न सिर्जना हुन् या आत्मिक विकास, सबै प्रेमको आकर्षणमा टिकेको हुन्छ । यही शक्तिले जीवनमा बहु विधामा सफल भएर कर्म गर्ने प्रेरणा दिन्छ।
प्रेमको आकर्षण आफ्नाप्रतिको आकर्षण मात्र होइन सृष्टि ऊर्जाको आकर्षण हो। प्रेम शक्ति नै आकर्षण शक्ति हो र आकर्षण शक्ति नै प्रेम। यही महसुस नै अपनत्व, चैतन्य वोध, अनन्तता र विराट शक्तिको वोध हो । आकाशगंगादेखि सृष्टिका स–साना कणमा प्रेमको शक्तिले काम गरेको हुन्छ ।

समानताको नियम

प्रेम कुनै नियम हुँदैन तर एउटै नियम हुन्छ– समानताको नियम । प्रेम दिनु र प्रेम पाउनु। प्रेम किन पाइएन, किन पाइँदैन ? किनकि आफूले दिएकै छैन। जे दिइन्छ, त्यही पाइन्छ । जे पाउन चाहेको हो, त्यही आफूले पनि दिन जान्नुपर्दछ ।
श्रद्धा, सम्मान, प्रशंसा, सुख प्रेमका आयाम हुन् । यी पाउन आफ्नो तर्फबाट दिन पनि जान्नुपर्छ । यही हो आकर्षणको नियम । दिनु र पाउनु भौतिकशास्त्रको नियम हो । सृष्टिको गणित पनि यही हो ।
सकारात्मकताले सकारात्मकता आकर्षण गर्दछ र नकारात्मकताले नकारात्मकता। मेरो आकर्षण के मा छ, जीवनमा त्यही चिज हासिल हुन्छ । राजनीतिक चुनाव होस् या जीवनको चुनाव, जे दिएको छ त्यही मिलेको छ । यो आफ्नै चुनाव हो, दोष कसैलाई नदिए हुन्छ ।

विचार, विवेक, बुद्धि र भावको तलबाट जे दिइन्छ, जे आकर्षित हुन्छ, त्यही मिल्छ । व्यक्ति, सम्बन्ध, सफलता, असफलता, परिस्थिति, घटना सबै हाम्रो आकर्षणका परिणाम हुन्, हाम्रो विचारबाट सृजित परिणाम हुन् । जे सोच्यो, त्यही प्राप्त हुन्छ र जे दियो त्यही प्राप्त हुन्छ भने रोजाई हाम्रो हातमा छ । आजको दिन, यो क्षण कस्तो चाहने र कस्तो बनाउने त्यसमा सतप्रतिशत हाम्रो सोचले निर्धारण गर्दछ। जस्तो चाहेको हो त्यस्तै परिस्थितिको, त्यस्तै संगत र जीवनशैलीको खोज हुन्छ र त्यही परिणाम जीवनमा झल्किन्छ। हाम्रो व्यवहार र विचार वास्तवमै एउटा चुम्बकीय शक्ति हो । जीवनमा आवश्यक र सही के हो, त्यसलाई आकर्षण गर्ने चुम्बकीय शक्ति नै प्रेमको शक्ति हो। त्यसैले आफ्नो भावना, सोच र विचारको सही प्रयोगबाट चाहेको चिज हासिल हुन्छ ।

सकारात्मकता र नकारात्मकताको पहिचान

छ भन्ने भाव, हुन्छ भन्ने भाव, राम्रो हुन्छ, सन्तोषको भाव, धन्यवाद भाव र प्रिय चिजका बारेमा सोच्नु सकारात्मकताको पहिचान हो । सकारात्मक जीवन ऊर्जा हो । छैन, हुँदैन, सक्दिनँ, असन्तोष, खराव र बिग्रेको मात्र देख्नु नकारात्मकताको पहिचान हो ।

जुन चिज या सम्बन्ध आफ्नो जीवनमा होस् भन्ने लाग्छ त्यसप्रति हाम्रो प्रेमपूर्ण आकर्षण हुन्छ । जुन चिज या सम्बन्ध जीवनमा आवश्यक छैन जस्तो लाग्छ त्यसप्रति आकर्षण हुँदैन । तर, अधिकांश व्यक्तिहरू जीवनमा जे आवश्यक छैन र जुन चिज लायक छैन त्यसकै बारेमा धेरै सोच्ने गर्दछन् । अन्जानमै किन नहोस् अनावश्यक र नकारात्मक सोचलाई प्राथमिकता दिने हुँदा जीवनमा नकारात्मकता र दुःख मात्र आएको अनुभूति हुने गर्दछ । दुःख, तनाव, रोग, चिन्ता, अभाव होस् या प्रेम, शान्ति, भक्ति, मुक्ति, सम्पन्नता, स्वास्थ्य, सन्तोष बारबार सोच्नुको परिणाम हो । किनकि जे चिज आकर्षित हुन्छ, त्यही चिज प्राप्त हुन्छ ।

दुःखमा रहने व्यक्तिले सुख र प्रिय कहिले सोच्दैन र उसलाई प्राप्त हुँदैन । किनकि आकर्षणको नियमले आफ्नो काम गर्दछ । त्यसैले प्रिय चिजको बारेमा सोच्ने, सही, सत्य र यथार्थमा रहने कला सकारात्मकताको नजिक हुने कला हो ।
जसको जीवन सकारात्मकताले भरिएको हुन्छ, उसको जीवनमा नकारात्मकता र अप्रिय चिज सजिलै आउँदैन। सकारात्मक कुरा गर्नु, सकारात्मक सोच्नु, घटना परिस्थिति पनि आफूले सकारात्मक परिकल्पना गर्नुको परिणाम जीवनमा सकारात्मकता नै हाँसिल हुन्छ। किनकि सकारात्मकता प्रत्येक मनुष्यको अपार क्षमता र गुणवत्ता हो । यही अदभुत सकारात्मक क्षमता नै प्रेम हो।

कृतज्ञताको कुँजी

प्रेमको अर्को अभिव्यक्ति हो– कृतज्ञता भाव। यो उत्कृष्ट भाव हो, जसलाई विश्वका सन्तजनहरूले आफ्नो जीवनशैली बनाएका थिए। कुनैपनि काम गर्नु अगाडि धन्यवाद भाव, सफल भएपछि धन्यवाद भाव, यो उच्चतम अभिव्यक्तिले जीवनमा सधैं सबैबाट प्रेम प्राप्त हुन्छ ।

धन्यवादको माध्यमबाट प्रेमको प्रस्तुति होस् या प्रेमको माध्यमबाट धन्यवाद अभिव्यक्ति खुसी र सफल जीवनको आधार हो । सानो कुरा नै किन प्राप्त नहोस् त्यसका लागि प्रकट गरिने धन्यवाद भाव उच्चतम गुण हो। धन, पद, व्यक्ति, सम्मान, प्रेम सबैको प्रति कृतज्ञता प्रकट हुनुको अर्थ हो– जीवनमा ती चिज सहजरूपमा आफूलाई प्राप्त हुनेछन् । यही नै आकर्षणको नियम हो ।

(पाण्डे स्वतन्त्र सामाजिक परामर्शदाता हुन्)

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : ०४ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार