एक्लिएका उपेन्द्र यादव : महाधिवेशनपछि फर्काउन सक्लान् गुमेको शक्ति ? | Khabarhub Khabarhub

एक्लिएका उपेन्द्र यादव : महाधिवेशनपछि फर्काउन सक्लान् गुमेको शक्ति ?

विश्लेषकहरूको टिप्पणी - सत्ता र संसद्का खेलाडी तर जनतामा आस जगाउन चुके



काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरमा सुरु हुने भएको छ । महाधिवेशनको सबै तयारी पुरा भएको जसपाले जनाएको छ ।

गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेपछि अध्यक्ष उपेन्द्र यादव कमजोर भएका बेला महाधिवेशन हुन लागेको हो । पार्टी विभाजनको चोट निको हुन नपाउँदै महाधिवेशन गरेर यादवले आफूलाई शक्तिमा फर्काउने कोशिश गरेका छन् ।

प्रतिनिधि सभामा जसपाका १२ सांसदमध्ये अशोक राई नेतृत्वको नवगठित जसापको पक्षमा ७ सांसद खुलिसकेका छन् । यस्तोमा अब यादवलाई साथ दिने सांसद ५ जना मात्रै छन् । पार्टी विभाजनले यादवलाई सत्ताबाट सडकमा पुर्याइसकेको छ ।

अहिले मधेस प्रदेश सरकारमा जसपाका १९ सांसद छन् । ती सबै राई नेतृत्वको जसपामा खुलिसकेका छैनन् । तर महाधिवेशनपछि केही सांसदहरु राई नेतृत्वको जसपामा खुल्ने तयारीमा छन् ।

महाधिवेशन हुँदै गर्दा उपेन्द्रले मधेसका कोही पनि सांसद तलमाथि नहुने बताइरहेका छन् । यदि यस्तो भएमा मधेसमा उपेन्द्र सोचेजति कमजोर हुने छैनन् ।

यदि मधेसमा विभाजनको असर नदेखिए २०८४ को निर्वाचनपछि आफूहरु पहिलो शक्ति भएर निस्कने दाबी यादवले गरेका छन् । तर निरन्तर विभाजन र दोहोरो निर्वाचन प्रणालीले यादवको सपना पूरा हुन मुस्किल छ ।

जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने

केही समयअघि खबरहबसँगको कुराकानीमा उनले महाधिवेशनपछि जसपा अझै सशक्त भएर आउने दाबी गरेका थिए ।

‘महाधिवेशनपछि हामी अझै बलियो भएर आउँछौँ । दुईचार चराले गुड छोडेर जाँदा फरक पर्दैन । हाम्रो पार्टी मधेसी जनताको समस्या समाधान गर्न आएको हो । जनताको पक्षमा निरन्तर अग्रसर छ’, उनले खबरहबसँग भनेका थिए ।

यादवले महाधिवेशनपछि विभाजनको असर कम गर्न संगठन निर्माणलाई तीव्रता दिने योजना बताएका छन् ।

‘महाधिवेशनपछि हामी हाम्रा साथीहरू विभिन्न स्थानमा परिचालन गरेर हाम्रा कमिटीहरूलाई थप परिमार्जन गर्छौँ । साथीहरूलाई एकीकृत गर्छौँ’, उनले भने ।

राजनीतिक यात्रा

यादवले २०३२ सालबाट राजनीति थाले । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ समूहको अनेरास्ववियु हुँदै २०३५ सालमा कम्युनिस्ट पार्टीको सदस्य भए । उनी २०३६ सालबाट राजनीतिमा सक्रिय भएको बताउँछन् । त्यसपछि उनी तत्कालीन एमाले महासचिव मदन भण्डारीबाट दीक्षित भए ।

पुष्पलाल समूहका अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीसमेत आवद्ध नेकपा मार्क्सवादीमा रहेका बेला २०४६ सालको जनआन्दोलनमा यादव विराटनगरबाट पक्राउ परे प्रजातन्त्र फर्किएपछि रिहा भए । ०४८ सालमा माले र मार्क्सवादी मिलेर एमाले बनेपछि सुनसरी–४ बाट विजय गच्छदारविरुद्ध निर्वाचन लडे, तर पराजित भए ।

०५० सालमा मदन भण्डारीको निधनपछि उनको राजनीतिले अर्को मोड लियो । उनले खबरहबसँगको कुराकानीमा मदनको निधन नभएको भए आफूले एमाले नछाड्ने बताए ।

त्यसपछि उपेन्द्रले २०५४ सालमा गैरसरकारी संस्था मधेसी जनअधिकार फोरम नेपाल गठन गरे । त्यही फोरमबाट २०६३–०६४ मा मधेस आन्दोलन सुरु भयो । २०६४ माघ २ गते माइतीघरमण्डलमा उनले अन्तरिम संविधान जलाए । त्यसपछि उनी माओवादीमा आवद्ध भए ।

मातृका यादव र सुरेश आले दिल्लीमा गिरफ्तार परेका थिए । उनलाई तत्कालै रिहा गरेपछि माओवादीले नजिकबाट नियालिरहेको थियो । तर उनले माओवादी छाडेर मधेसी जनाधिकार फोरम नेपालबाटै राजनीति अगाडि बढाए ।

कसरी एक्लिए ?

मधेस आन्दोलनको बलमा उचाइमा पुगेका उपेन्द्रलाई साथ दिँदै जेपी गुप्ता, विजयकुमार गच्छदार, शरदसिंह भण्डारी पनि जोडिए । तर संविधानसभाको दोस्रो चुनावसम्म उनीहरुले यादवलाई छाडिसकेका थिए ।

सुरुमा एमाले, त्यसपछि माओवादीमाको राजनीतिबाट उदाएका उपेन्द्र यादव २०६४ सालको मधेस आन्दोलनमा मधेसी जनअधिकार फोरम मार्फत अग्र पङ्क्तिमा देखिए । त्यसबेला मधेसी जनअधिकार फोरम एनजिओ मात्र थियो, तर मधेस आन्दोलनको नेतृत्व गरेर राष्ट्रिय राजनीतिमा उदायो ।

२२ जेठ २०७२ मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भयो । त्यसपछि संघीय समाजवादी फोरम नेपाल बन्यो । २०७६ साल वैशाखमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भयो ।

जसपा महाधिवेशनमा को को हुँदैछन् सहभागी ?

तर माओवादीबाट आएका भट्टराई र यादवबीच राजनीतिक विचार र मुद्दा नमिल्दा एक अर्कोसँग खुसी भएनन् । त्यसपछि भट्टराई र यादवको विवाद उत्कर्षमा पुग्यो । ३१ असार २०७९ मा यादवलाई पनि भट्टराईले छाडे । त्यसपछि यादव र राईले जसपा नेपाललाई निरन्तरता दिए ।

संसद्का खेलाडी

यादवले २०४८ मा एमालेबाट सुनसरी ४ मा प्रतिनिधिसभा चुनाव हारे । २०६४ को पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ दुवैबाट जिते । तर संविधानसभाको दोस्रो चुनावमा मोरङमा हारे, उता सुनसरीबाट झिनो मतले जिते ।

०७४ मा सप्तरी २ बाट निर्वाचन जितेका थिए । तर ०७९ सालमा भने सप्तरी २ बाटै उनी जनमतका डा. सीके राउतसँग हारे । राउतले उनलाई १८ हजारभन्दा बढी मतान्तरले हराए । राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा यादव १६ हजार ९६९ मतमा रोकिएका थिए ।

त्यसपछि उनीहरू एक अर्कोलाई सहन नसक्ने स्थितिमा छन् । राउतले जितेपछि यादवलाई संसदीय राजनीतिमा बलियो झट्का लाग्यो ।

तर यादव चुप बसेनन् । बारा क्षेत्र नम्बर २ बाट विजयी जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर ०८० वैशाखमा भएको उपनिर्वाचनमा उपेन्द्र संसदमा फर्किए । उनलाई तत्कालीन सत्ता साझेदार कांग्रेस, माओवादी र एकीकृत समाजवादीले साथ दिएर जिताए ।

त्यसपछि उनले प्रचण्डको साथ छोडेका थिएनन् । तर प्रचण्ड नेतृत्वको सरकार कांग्रेससँग मिलेर ढाल्न खोजेको थाहा पाएपछि अशोक राईले पार्टी विभाजन गरेर सत्ताबाट बिदा गरिदिए ।

पुराना र नयाँको मिलेन साथ

उपेन्द्र सरकारबाट बिदा हुनुपर्ने थाहा पाएपछि मधेस प्रदेश सरकार जोगाउने खेलमा लागे तर उनी सफल पाएनन् ।

उनले बूढानीलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोसपाका अध्यक्ष महन्त ठाकुरलाई भेटेर सहयोग गर्न भनेका थिए ।

तर उनलाई कसैले साथ दिएनन् । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले पद गुमाए । अहिले मधेसमा जनमतका सतिश सिंह मुख्यमन्त्री बनेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेर आफूलाई सहयोग गर्न भनेका थिए । तर ठाकुरले पुराना कुरा सम्झाएर यादवलाई सहयोग गर्न तयार भएनन् ।

लोसपाका एक नेताले भने, ‘हामीलाई त्यसबेला धोका दिएको भुलेका छौनौँ । उहाँसँग जान सक्दैनौँ ।’

२०७७ मा महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी तथा उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता भएको थियो । त्यसबेला पार्टीको नाम जनता समाजवादी राखेर अगाडि बढेका थिए तर २०७८ भदौमा ठाकुर र महतो लगायतले पार्टीबाट बाहिरिनु पर्ने अवस्था आयो । उपेन्द्रले एकलौटी पेलेर अघि बढेपछि उनीहरु बाहिरिन बाध्य भए ।

यता गौर हत्याकाण्डकै समयदेखि साथमा रहेका विजय गच्छदार पनि उपेन्द्रबाट छुटिएका नेता हुन् । उनी अहिले कांग्रेसमा छन् ।

लोसपा छाडिसकेका राजेन्द्र महतो पनि उनलाई साथ नदिने पक्षमा छन् । ‘म उहाँहरूबाट दिक्क भएर एउटा अभियानमा लागिसकेको छु । उहाँहरूले केही चेत्नुुभयो कि भन्ने लागेको छ,’ महतोले भने ।

वैशाखमा नयाँ पार्टीमा जोडिएका उपेन्द्रका पुराना विश्वास पात्र नवलकिशोर शाह सुडी पनि अब उनलाई कसैले काँध नहाल्ने बताउँछन् ।

‘उहाँलाई हामीले जस्तोसुकै परिस्थितमा साथ दियौँ । अब कसैले काँध हाल्न सक्दैन’, उनले भने ।

मधेसमा नयाँ शक्तिका रूपमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उपेन्द्रको राजनीतिक करिअर धरापमा पारेको विश्लेषकहरु बताउँछन् ।

जनमत अध्यक्ष सिके राउत उपेन्दले अब पहिले जस्तो मधेसको राजनीतिमा प्रभाव नपार्ने बताउँछन् । उपेन्द्रको कामबाट मधेसका जनता दिक्क भइसकेको जनमतको दाबी छ ।

जनमत अध्यक्ष राउत कुनै पनि हालतमा उपेन्द्रको साथ नलिने बताउँछन् । उनले खबरहबलाई भने, ‘हामी त मधेस बनाउन आएका हौँ । हामी जनताको सेवक हौँ । कहाँ मधेस सक्ने नेताहरूलाई कुर्छौं र ?’

एमाले छाडेर आमजनता पार्टी खोलेका प्रभु साह पनि उपेन्द्रको पक्षमा नरहने बताइरहेका छन् । मधेसी दलका नेताहरू उपेन्द्रसँग सहकार्य नगरेर उनलाई गलाउने पक्षमा छन् ।

उपेन्द्रको पार्टीको भविष्य

उपेन्द्रको शक्ति विस्तारै कमजोर भएको निष्कर्ष धेरैको छ । उनी अवसरवादमा फसेका कारण पार्टी र जनताको विश्वास कमजोर भएको राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । उनी नेपाली राजनीतिका खेलााडी यादवलाई पछिल्लो पार्टी विभाजनले उपेन्द्रलाई ठूलो धक्का लगेको बताउँछन् ।

सुवेदी भन्छन्, ‘उपेन्द्रजीको राजनीति सकिएको छैन तर उहाँलाई केही घाटा भएको छ । मधेसको शक्ति ओरालो लाग्ने आँकलन भने गर्न सकिन्छ ।’

उनले अगाडि थपे, ‘यसका लागि उपेन्द्रजीले पनि आफूकेही सुधार गर्नु जरुरी छ । जनतामा आशा जगाउन सक्नुपर्छ । पहिलेको जस्तो उहाँको क्रेज महाधिवेशनपछि पनि हुँदैन ।’

०८४ को विश्लेषण अहिले नै गर्न उचित नभएको भन्दै उनले बताए । उपेन्द्रले पार्टीलाई समूहिकताको भावनामा डोर्याउन यो फुटले पाठ सिकाएको सुवेदी बताउँछन् ।

यस्तै अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले मधेस राजनीतिमा रहेका कुनै पनि पार्टी एक हुन नसकेको बताए ।

उनले भने, ‘सीमान्तकृत आन्दोलनमा रहेका पार्टी एक हुन सकेको देखिँदैन । भर्खरै महन्थ ठाकुर र राजेन्द्र महतोको पनि लडाइँ देखियो । सीमान्तकृत आन्दोलनको धारमा पार्टी बन्नै सकेका छैनन् ।’

उनले नागरिक उन्मुक्ति पार्टीको पनि विवाद सम्झिँदै भने, ‘उपेन्द्रजी को पार्टी फुट्यो, तर उपेन्द्रलाई छाडेर पार्टी बनाएकाहरूले पनि त फुटाएका फुटायै छन् ।’

महेन्द्र यादव, राजकिशोर यादव, विजय गच्छदार लगायतको उदाहरण दिँदै साहले उनीहरूले अवसर पाउँदा पनि केही गर्न नसकेको बताए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ११ : २९ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल