अबको ३५ दिनले तय गर्नेछ रास्वपामा मुकुलको भविष्य | Khabarhub Khabarhub

अबको ३५ दिनले तय गर्नेछ रास्वपामा मुकुलको भविष्य

केन्द्रीय समितिमा के-के भयो, कसले के भने ?



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले महामन्त्री मुकुल ढकाललाई महामन्त्री र पार्टीको प्रवक्ताबाट हटाएर साधारण सदस्यमा सीमित गरेको छ ।

१९ असारमा केन्द्रीय समितिबाट निलम्बन परेका ढकाललाई पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरणसमेत मागेको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको ठहर आयोगले गरेको थियो ।

ढकालको अभिव्यक्ति पार्टीको विधान बमोजिम नभएको भन्दै सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई जिम्मेवारीबाट हटाएर साधारण सदस्यमा खुम्च्याएको हो । यससँगै रास्वपा सभापतिपछिको शक्तिशाली पदबाट झरेर ढकाल अब पार्टीबाटै बाहिरिने बिन्दुमा पुगेका छन् ।

अनुशासन आयोगका संयोजक यज्ञमणि न्यौपानेले पार्टीको नियमअनुसार ढकाललाई कारबाही सिफारिस भएको बताए । यसबारे उनले अरू कुरा खुलाउन चाहेनन् ।

न्यौपाने नेतृत्वको अनुशासन आयोगले ढकाललाई साधारण सदस्य पनि नरहने गरी बर्खास्त गर्न भनेको थियो । तर सबै केन्द्रीय सदस्यको राय अनुसार उनलाई ३५ दिनका लागि साधारण सदस्य मात्रै रहने गरी कारबाही गरेको पार्टी प्रवक्ता मनिष झाले बताए ।

अब पार्टीको विधानअनुसार ढकालले आफ्नो कार्यशैली सुधार गरे पुरानै पदमा पुनर्बहाली हुन सक्ने छन् । तर, पार्टीमा पुनर्बहाली भएर महामन्त्री र प्रवक्ताकै जिम्मेवारी पाउने सम्भावना कम रहेको एकजना केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

रास्वपा सचिवालय बैठक असार २३ मा पनि बसेको थियो । त्यहाँ पनि निलम्बित महामन्त्री ढकाललाई कारबाही हुनुपर्ने कुरामा सबैले एक मत बनाएका थिए ।

असार २३ गतेको बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार महामन्त्रीको कार्यशैली राजनीतिक दलका नेताको जस्तो नभएकाले तत्काल जिम्मेवारीबाट हटाएर उपयुक्त मान्छे ल्याउन छलफल भएको थियो ।

ढकाल निलम्बित भएपछि हाल उनको स्थानमा कविन्द्र बुर्लाकोटीले कार्यवहाक महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । प्रवक्ताको जिम्मेवारी अर्का सहमहामन्त्री मनिष झालाई तोकिएको छ ।

मुकुलको अवस्था ढाकाकै जस्तो कि गणेशजस्तै ?

रास्वपाले यसअघि समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यबाटै निष्कासन गरिसकेको छ । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँका लागि डिल गरेको अडिओ बाहिरिएपछि सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।

ढाकामाथि कारबाहीको यो निर्णयको साक्षी र हस्ताक्षरकर्ता ढकाल आफैँ थिए ।

पार्टी बैठकले उनलाई २०७९ चैत २९ गतेदेखि सांसद र साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो । उनी अहिले कहाँ छन् ? रास्वपाका कोही नेता बोल्दैनन् ।

तर, पार्टीको शैलीप्रति पटक–पटक असन्तुष्टि जनाउँदै आएका केन्द्रीय सदस्य गणेश कार्की अझै त्यही पदमा रहनुले अभिव्यक्ति सच्चाए रास्वपाले ढकाललाई जिम्मेवारी दिन सक्ने स्रोतको दाबी छ ।

कार्की रास्वपामा विद्रोही नेताका रुपमा चिनिन्छन् । कारबाहीमा परेपछि ढकालले सोमबार फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

उनले बुधबार पत्रकार सम्मेलन गरेर थप भण्डाफोर गर्ने तयारी गरेका छन् ।

केन्द्रीय समितिमा के-के भयो, कसले के भने ?

रास्वपाको अधिकांश निर्णय सचिवालयले गरिसकेको हुन्छ । ढकाललाई ३५ दिनका लागि बर्खास्त गर्ने छलफल पनि २३ गतेको सचिवालय बैठकले गरिसकेको थियो । मंगलबारको बैठकमा करिब ५६ जना केन्द्रीय समिति सदस्यहरू उपस्थित थिए । अधिकांशले महामन्त्रीलाई ३५ दिनका लागि सबै जिम्मेवारीबाट हटाउनुपर्ने भनेका थिए ।

उनलाई साधारण सदस्यमा राखेर ३५ दिनपछि व्यवहार र कार्यशैलीमा सुधार भए जिम्मेवारीमा फर्काउने राय राखेको एक केन्द्रीय सदस्य बताउँछन् ।

त्यसपछि केन्द्रीय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनलाई आधार मानेर कारबाहीको विकल्प खोजियो । उनलाई बर्खास्त गर्ने कुरामा कसैबीच दुई मत थिएन ।

‘उहाँको आचरणका कारण रास्वपालाई पुर्‍याएको क्षतिको पूर्ति गर्न पदबाट हटाउन सबै एक मत हुनुभयो’, एक नेताले भने, ‘कुन प्रक्रिया र विधानको धारा टेकेर कारबाही गर्नेबारे छलफलपछि कसैले पनि उहाँको पक्षमा बोल्ने कुरा भएन । सबैलाई उहाँको व्यवहार ठिक लागेको थिएन ।’

अर्का केन्द्रीय सदस्यले भने सच्चिएर आएमा पार्टीमा स्थान रहेको बताए । ‘आगामी दिनमा सच्चिएर, कार्यशैली सुधारेर आए पुरानै पदमा फर्काउन सकिने अवस्था छ’, उनले भने, ‘उहाँको विचार हामीलाई मन परे फेरि उहाँलाई सहयोग गर्छौं ।’

मुकुल र सभापति लामिछानेबीच कुरा मिल्दासम्म अन्य सदस्यमाथि निर्मम हुने गरेको आरोप छ । अरूले उठाएका राम्रा कुरा पनि चित्त नबुझे सभापतिलाई सुनाएर उनी बिफल बनाउन लाग्थे ।

करिब ६० प्रतिशत केन्द्रीय सदस्य र सचिवालयका नेताहरूले मुकुलले उठाएका कुरा जायज भएको तर्क गरे ।

उनीहरूले प्रतिवेदनका कतिपय कुरा उपयुक्त रहेका बताएका थिए । पार्टी सच्चिएर जनताको पक्षमा जवाफदेही हुनुपर्ने कुरामा उनलाई साथ छ । तर, अराजक र अस्थिर कार्यशैलीले पार्टी नै दुर्घटनामा पर्ने नेताहरूको निष्कर्ष छ ।

सम्बन्धित समाचार

सरकारबाट किन फिर्ता भएन रास्वपा ?

हे भगवान् ! रास्वपाको रक्षा गर ! 

मुकुल ढकाल अब रास्वपाको साधारण सदस्य मात्रै, सबै जिम्मेवारी खोसियो 

रास्वपाका अर्का सचिवालय सदस्यले ढकालका अभिव्यक्ति तर्कसङ्गत प्रमाण र तथ्यमा आधारित नरहेका बताए ।

उनकाअनुसार सबै केन्द्रीय सदस्यले ढकालको आचरण र व्यवहारमा प्रश्न उठाएका थिए । प्रतिवेदनमा उठाएका कुरामा आफूहरूको आपत्ति नरहेको उनले बताए । पार्टीमा सुधार चाहिन्छ भनेर मुकुलले उठाएको आवाजलाई अरुले जायज भनेका छन् ।

ढकाल स्थापना कालदेखि नै रविसँगै रास्वपामा जोडिएका थिए । ‘महामन्त्रीको सभापतिसँग गहिरो आत्मीयता थियो ।

अहिले पनि उहाँहरूको सम्बन्ध बिग्रिएको छैन । तर राजनीतिक रूपमा दुई नेताको व्यवहार ठिक भएन’, ती नेताले भने, ‘उहाँ सभापतिमाथि मात्रै खनिनु भएको छ । उहाँको व्यवहार किन यस्तो भयो ? मैले पनि बुझेको छैन । त्यहीकारण हामी कारबाही गर्न बाध्य भयौँ । पार्टीको विधान र नियम छाडेर सेन्टिमेन्टल कुरा उचित हुँदैन ।’

मंगलबारको बैठकमा पनि सभापति लामिछानेले मुकुलप्रति सदासयता देखाए । अराजकता उचित नहुने बताउँदै लामिछानेले साधारण सदस्य राखेर सुध्रने मौका दिने निर्णय सर्वसम्मत गराए ।

के भएको थियो असार १९ मा ?

अघिल्लो केन्द्रीय समिति बैठकमा धेरै पटक मुकुललाई आफ्ना कुरा राख्न भनियो । तर उनले मास्कमाथि कालो टेप टालेर मौन बसे । ‘बोल्न दिँदा बैठकमा बोल्नु भएन तर बाहिर आएर अपमान गरियो, बोल्न दिएनन् भन्नुभयो । मलाई बोल्न दिएनन्, लोकतन्त्र हनन भयो भन्नुभयो’, ती नेताले भने, ‘फेरि एकै छिनमा मलाई बोल्न बाध्य बनाउने गरी ह्यारेस्टमेन्ट भयो भन्नुभयो । उहाँका कुरा आफैं बाझिए ।’

त्यसपछि उनले आफूनिकट केही नेतालाई फोन गरेर आफू एउटा धारमा बगेकाले पार्टीलाई थप व्यवस्थित बनाउन जुनसुकै तहको कारबाही भोग्ने भनिसकेको बताएका थिए । स्रोत भन्यो, ‘केही नेतालाई सम्पर्क गरेर पार्टीका लागि जुनसुकै कारबाही भोग्न तयार भएको बताउनुभयो । हामीले संवाद र सहकार्य गरेर जान भन्यौँ । तर महामन्त्रीको आचार र व्यवहारमा समस्या देखिएका कारण पार्टी यो निर्णय लिन बाध्य भयो । एकजनाको आचरण ठिक नभएपछि पार्टी दुर्घटनामा जानु भएन ।’

अबको बाटो

कारबाही चित्त नबुझे पुनरावेदन गर्ने पाउने अधिकार पार्टीको विधानमा भएको प्रवक्ता झाले बताएका छन् ।

‘पार्टी विधानका अन्य धारा आकर्षित भएर उहाँ साधारण सदस्यबाट पनि निष्कासित हुन सक्नु हुन्छ । तर शैली सुधार भए उहाँकै अनुकूल निर्णय पनि हुन सक्छ’, एक नेताले खबरहबलाई भने ।

रास्वपा केन्द्रीय सदस्य गणेश पराजुली पनि विधानमा टेकेर कारबाही गरेकाले ३५ दिनभित्र उजुरी दिएमा उनी प्रकृयामा आउन सक्ने दाबी गर्छन् ।

‘रास्वपा देशको चौथो ठूलो दल पनि हो । सबै प्रकृया राजनीतिक दलसम्बन्धी ऐनबाट निर्देशित हुन्छ । संविधानका धाराहरू पनि आकर्षित हुने भएकाले हामीले पार्टी हितको लागि यो गर्नुपर्ने हुन्छ’, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पुनरावलोकन विधानमा कारबाही गर्ने अधिकार पनि केन्द्रीय समितिलाई छ । यस्तै कारबाही फुकुवा गर्ने अधिकार पनि त्यही समितिलाई छ ।

सहकारीको बचत हिनामिना प्रकरणमा छानबिनको घेरामा रहेका सभापति लामिछानेबारेमै पार्टीमा प्रश्न उठेको छ ।

अदालतमा मुद्दाको सुनुवाइ हुने क्रममा रहेकाले मूल छलफल लामिछानेबारे हुनुपर्ने हो । तर मुकुललाई कारबाही चलाएर सभापति लामिछानेले आफूमाथिको संकट टार्न खोजेको देखिन्छ ।

यसबारे नेता पराजुली भन्छन्, ‘देश बनाउने अभियानमा छलफल गर्नुपर्ने राजनीतिक दल आन्तरिक र अनपेक्षित घटनामा रुमलिनु पर्ने बाध्यता आइपरेको छ ।’

उनले सभापति लामिछानेबारे छलफल हुनुपर्ने कारण नै नभएको बताए । ‘उहाँमाथि छलफल हुनुपर्ने कारण नै छैन । छोटो समयमै देशको चौथो ठूलो दलका रुपमा आएका कारण अरू आत्तिएर विभिन्न अभियोग लगाएका हुन्’, उनले भने ।

यो पनि-

रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ?

एक्लिएपछि मास्कमा टेप टाँसेर बसे मुकुल ढकाल

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ४४ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको