‘चाउचेस्कु’को बाटोमा प्रचण्ड, माओवादी ‘कोल्याप्स’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘चाउचेस्कु’को बाटोमा प्रचण्ड, माओवादी ‘कोल्याप्स’

माओवाद र पहिचान छाडेका प्रचण्डका २ विकल्प : सन्यास या एमालेमा प्रवेश


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 19 मिनेट


18k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भनिन्छ, सर्पले सर्पको खुट्टा देख्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग झण्डै डेढ दशक सहकार्य गरेका पूर्वमन्त्री गोपाल किरातीलाई हामीले ‘अबका दिनमा नेकपा (माओवादी केन्द्र) र अध्यक्ष प्रचण्डको भविष्य के देख्नुहुन्छ ?’ भनेर सोध्यौं । किरात वर्कर्स पार्टीबाट लिखित सम्झौता गरेर २०६० सालमा माओवादी प्रवेश गरेका किरातीले ०७४ सालमा एमाले–माओवादी एकताप्रति आपत्ति जनाउँदै माओवादी पार्टी छाडिसकेका छन्, तर उनलाई माओवादीको रौं-चिरा थाहा छ ।

पूर्वी नेपालमा पहिचानको मुद्दा अहिलेसम्म सघन बहसको विषय छ । विगतमा गोपाल गुरुङले अघि सारेका ‘सेतामगुराली’को सलह होस् या गोरेबहादुर खपाङ्गीले अघि सारेको जनमुक्ति पार्टीको राजनीति होस्- गोपाल किराती ती सबै अभियानका साक्षी हुन् ।

गोरेबहादुर खपाङ्गीसँग कुरो नमिलेपछि किरातीले आफैं खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) खोले । त्यसबेला उनको नाम गोपाल खम्बु थियो । भूमिगत रूपमै माओवादीसँग एकताको प्रयास भयो, तर तीन वर्ष एकता हुन सकेन । पछि ०६० सालमा माओवादीले किरातीसँग लिखित सम्झौता गर्‍यो ।

माओवादीले त्यसबेला पहिचानका आधारमा किरात प्रदेश र लिम्बुवान प्रदेश दिन्छु भनेर पूर्वका जनजातिलाई जनयुद्धमा होमेको थियो । यसमा अहिले प्रचण्डले धोका दिएको गोपाल किरातीको गुनासो छ ।

सोलुखुम्बुमा जन्मेका गोपाल किराती विपन्न परिवारमा जन्मेर मन्त्री बन्न सफल राजनीतिज्ञ हुन् । गरीबीकै कारण माध्यमिक तहको अध्ययन पूरा गर्न नपाएका उनले किशोरावस्थामा भरियाको कामसमेत गरे । अहिले पूर्वमन्त्री किरातीको बसोबास झापाको सामान्य घरमा छ । उनको जीवन सादगी रूपमा बित्ने गरेको छ । मन्त्री हुँदा पनि आफूले तलब बाहेक अर्थोक नखाएको सुनाउँछन् ।

औपचारिक शिक्षा कमै भए पनि उनी लेखपढ गर्न र राजनीतिक विश्लेषणमा सिपालु मानिन्छन् । विगतमा ७५३ स्थानीय तह नबन्दै उनले ल्याएको ८०० जिल्लाको अवधारणाले उनको राजनीतिक चिन्तनको खुबी देखाउँछ ।

आखिर, प्रचण्डसँगको अढाई दशक लामो सहकार्य त्यागेर माओवादीबाट बाहिरिएका पूर्वमाओवादी नेता  किराती अहिले के गर्दैछन् त ? उनको विचारमा अब माओवादी पार्टी र अध्यक्ष प्रचण्डको राजनीतिक भविष्य कतातिर जाला ? यिनै विषयमा खबरहबले किरातीसँग लामो कुराकानी गरेको छ ।

जनयुद्धकालमा माओवादीसँग पार्टी एकता गर्ने बेलामा तपाईं किरात वर्कर्स पार्टीको महासचिव हुनुहुन्थ्यो । त्यो भन्दा अगाडि तपाईले खम्बुवान राष्ट्रिय मोर्चा बनाउनुभएको थियो । त्यो भन्दा पनि पहिले तपाई राष्ट्रिय जनमुक्ति पार्टीमा लाग्नुभएको थियो भन्ने सुनिन्छ नि !

त्यसबेला एमएस थापा मगर र गोरेबहादुर खपाङ्गीहरूसँग मिलेर २०४७ साल बैशाख २३ गते नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा गठन गरियो । एक वर्षपछि मैले छाडेर हिँडें । थापा र खपाङ्गी राजावादी लाइनको देखिनुभयो । त्यहाँबाट पिण्ड छुटाउनका लागि छोडेर हिँडियो । त्यसपछि खम्बुवान राष्ट्रिय मोर्चा गठन गरिएको हो ।

खम्बुवान राष्ट्रिय मोर्चा किन बनाएको ?

संघीय गणतन्त्र नेपाल अन्तरगतको स्वायत्त राज्य स्थापना गर्ने मुख्य राजनीतिक लक्ष थियो । सेना, विदेश नीति र मुद्रासम्बन्धी अधिकार केन्द्र सरकारमा रहने, बाँकी सबै अधिकार स्वायत्त र स्वशासनको अभ्यास गर्ने भन्ने थियो । र, त्यो प्राप्तिको बाटो सशस्त्र आन्दोलन हुने भनेर त्यसको अपीलमा लेखिएको थियो । २०४९ साल भदौ ५ गते धरानमा हामीले मोर्चा गठन गर्‍यौं । र, त्यसको अपील भनेर पहिलो पर्चा प्रकाशित गर्‍यौं।

त्यो पर्चामा मलाई अझै सम्झना छ । के लेखिएको थियो भने– २००७ र २००८ सालमा माझ किरात भोजपुरबाट विजय हासिल गर्दै सिंहदरबार कब्जासम्म पुगेको जननायक रामप्रसाद राईको सशस्त्र आन्दोलन अधुरो छ । त्यो अधुरो क्रान्ति पूरा गर्नका लागि यो संगठन निर्माण गरिएको छ भनेर हामीले लेखेका थियौं । र, त्यही तयारी गर्दै हामी सशस्त्र आन्दोलनमा प्रवेश गर्‍यौं ।

रामप्रसाद राईले सिंहदरबार कब्जा गर्नुको खास उद्देश्य के थियो र त्यसलाई तपाईंहरूले पूरा गर्ने भन्नुपर्‍यो ? त्यो त त्यसबेलाको सामान्य असन्तुष्टिमात्र होइन र ? त्यसलाई खुम्वुवान मोर्चासँग जोड्न मिल्थ्यो र ?

एकदम मिल्थ्यो । अझै पनि मिल्छ । घोषित रूपमा त रामप्रसाद राईले किरात राज्य भनेको पाइँदैन । तर, स्वराज्य भनेको पाइन्छ । अर्को चाहिँ २००८ साल पुस २८ गते भूगोलपार्कमा जनमुक्ति सेनाको सभामा रामप्रसाद राईले मन्तव्य गर्दा ‘क्रान्तिका बेला हामी माझ किरातेहरूले’ भन्ने सम्बोधन छ ।

भोगिराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राई माझ किरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ भन्ने किताब २०७३ सालमा प्रकाशित भयो । त्यहाँ बढी व्यवस्थित र पूर्वाग्रहरहित ढंगले लेखिएको छ । त्यस अनुसार रामप्रसाद राईले सिंहदरबार विद्रोह गर्नुका तीनवटा उद्देश्यहरू देखिन्छन् : पहिलो– दिल्ली सम्झौताको विरोध । दोस्रो– उहाँहरू र नेपाली कांग्रेसको नेतृत्वमा रहेको दुबै जनमुक्ति सेनाको भरणपोषण । र, तेस्रो– जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा बदल्ने । तर, यी मागहरूका लागि जब उहाँहरू सिंहदरबार कब्जामा पुग्नुभयो, त्यसपछि केआई सिंहले त्यहाँ गडबडी गरे भन्ने पाइन्छ ।

रामप्रसाद राई, नारदमुनि थुलुङले २००७ सालमा जुन विद्रोह गर्नुभयो, त्यो विद्रोह नगरिदिएको भए जसले अहिले आफूलाई राई किराती भन्छन्, इतिहासमा उनीहरू रित्तो देखिने थिए । त्यसले गर्दाखेरि ठूलो टेक्ने ठाउँ बनेको छ । र, म आन्तरिक सामूदायिक रूपमा त्यसबाट असाध्यै प्रेरित कार्यकर्ता हुँ । तर, रामप्रसाद राईले जस्तै गर्नुपर्छ भनेको, सकिएन । सिंहदरबार त पुगियो, तर बन्दुक छोडेर पुगियो ।

अनि खम्बुवान मोर्चा बनाउनुअघि तपाईं राष्ट्रिय जनमुक्ति पार्टीमा चाहिँ केका लागि लाग्नुभएको थियो ?

म २०४० सालमा दिदीको सुझाव अनुसार ब्रिटिश आर्मी जाने तयारीमा लागिपरेको थिएँ । २०३९ सालमा सोलुखुम्बुबाट म काठमाडौं आएँ । दिदी भिनाजुको संरक्षणमा बसें । भिनाजुले सिम्मा गीती नाटक पढ्न दिनुभयो । त्यसमा ब्रिटिश आर्मीको दर्दनाक कथा थियो । मलाई ब्रिटिश आर्मीको धेरै कुरा थाहा थिएन । भिनाजुको घर खोटाङ । उहाँको माध्यमले भोजपुर–खोटाङ धेरै आउने, जाने गर्थें । दिदीको चाहिँ यो टुहुरो भएको भाइलाई कसरी गरीखाने बनाउने भन्ने चिन्ता थियो । तर, भिनाजुले सिम्मा गीती नाटक पढ्न दिएपछि म त्यसबाट प्रभावित भएँ र लाहुर जान हुँदैन भन्ने निष्कर्षमा पुगें ।

त्यसपछि के गर्ने त भनिसकेपछि २०४० साल मंसिरमा भिनाजुले देश र जनताका लागि क्रान्ति गर्नुपर्छ भन्नुभयो । म सोलुखुम्बु दुर्गमको मान्छे, क्रान्ति भन्ने शब्द मैले पहिलोचोटि सुनें । त्यो क्रान्तिले के गर्छ भन्दाखेरि भिनाजुले भन्नुभो– शोषकलाई मास्छ, गरिबको राज्य बनाउँछ । मैले सोधें– अनि त्यो कसरी फेला पारिन्छ ? भिनाजुले भन्नुभो– लाग्दै जानुपर्छ, फेला पर्छ । पछि बुझ्दा भिनाजु निर्मला लामा समूहको कार्यकर्ता हुनुहुँदोरहेछ । तर, उहाँले मलाई संगठित चाहिँ गर्दिनुभएन ।

कारण के भयो भने मलाई कन्भिन्स गरेलगत्तै खोटाङमा उहाँको गाउँका मानिसहरू काठमाडौं आए । उहाँको गाउँको निमाविलाई मावि बनाउने तयारी भएछ । भिनाजु त्यो गाउँको पहिलो स्नातक हुनुहुन्थ्यो । गाउँलेले उहाँलाई तपाई आएर हेडमास्टर हुनुपर्‍यो भने । त्यसपछि भिनाजु खोटाङ जानुभो । भिनाजु उता गएपछि काठमाडौंमा म स्वतन्त्र रहँदै आएँ । त्यही सिलसिलामा म २०४५ सालमा १० महिनासम्म राजविराज जेलमा पनि परें ।

२०४० साल मंसिरदेखि ममा वर्गीय चेतना आयो । ०४४ सालमा कोङ्पी मासिक भन्ने भोजपुरको घल राई सम्पादक रहेको पत्रिकामा प्रकाशित ‘नेपालमा आदिवासीहरूको अँध्यारो यात्रा’ शीर्षकको घल राईको लेख र राममणि आचार्य दीक्षितको कविता ‘जंगली स्वाँखे’ मैले पढें । जंगली स्वाँखे पाखेहरूलाई मन्त्रिमण्डलमा नहुल्नू इत्यादि लेखिएको थियो । त्यो भैसकेपछि हामीलाई यसरी हेर्दारहेछन् भनेर नहेपिनका लागि जातीय चेतना पैदा भयो । सिम्मा गीती नाटक, भिनाजु हुँदै वर्गीय चेतना र घल राईको लेखबाट जातीय चेतना आयो । हेपाइलाई स्वीकार्न हुँदैन भनेर उसको उपाय खोज्दै जाँदा ०४५/०४६ सालमा म जेल परें ।

कसरी जेल पर्नुभयो ? के कारणले ?

पञ्चायती व्यवस्था विरोधी गतिविधिमा लागेको भनेर राजकाज मुद्दा के–के भनेका थिए । ०४५ साल कात्तिकमा म काठमाडौंबाट गाउँ गएँ । म गाउँ पुगेको भोलिपल्ट गाउँ पञ्चायतको भेला रहेछ । युवाहरूले ल त्यहाँ जाऔं भने । हामी गएर त्यहाँ बस्यौं । म त मान्छेहरूको कुरा सुन्नमात्रै गएको । तर, प्रधानपञ्च, उपप्रधानपञ्चहरूले काठमाडौंबाट आएको युवा भन्दै मन्तव्य गर्न जोड दिए । त्यहाँ ९ जना प्रहरी पनि थिए । यो पञ्चायतविरोधी हो भन्ने थाहा थियो, तैपनि यसलाई बोल्न दिउँ भनेर बोल्न दिए । मेरो पद केही छैन, बोल्ने कुरो पनि छैन बोल्दिनँ भनें ।

काठमाडौंबाट आएका छौ भाइ, त्यही काठमाडौंको कुरा बोले भैगो भन्दै बोल्न लगाए । लौ त काठमाडौंको कुरा भनेर भण्डाफोर गरें मैले । ममा ०४० सालबाटै वर्गीय चेतना आए पनि अझै प्रष्ट भइसकेको थिएन । त्योबेला पाकिस्तानमा बेनजिर भुट्टो प्रधानमन्त्री थिइन् । महिला प्रधानमन्त्री मैले पहिला दुनियाँमा सुनेको । मैले बेनजिर भुट्टोको प्रशंसा गरें ।

मन्तव्यमा प्रधानपञ्च, उपप्रधानपञ्च र वडाध्यक्षहरू बाझेका थिए । मैले भनें– तपाईंहरू नबाझ्नोस् । यो सबै काम माथिबाट हुन्छ, तपाईंहरू बाझेर के गर्नुहुन्छ ? यसो भन्दै पञ्चायती व्यवस्था र राजतन्त्रको मैले विरोध गरें । उनीहरूले सहन सकेनन्, त्यही कारण मलाई मुद्दा हालेछन् । मेरो घर सोलुखुम्बुको पूर्व, दूधकोशीपूर्व सोताङमा पर्छ मलाई ओखलढुंगाको छेऊ नेचाबाट पक्राउ गरे । सल्लेरीमा ८३ दिन हिरासतमा राखे अनि राजविराज लगे । अनि ०४६ साल भदौमा अञ्चलाधीश कार्यालयको तारेखमा छाडे ।

जेलबाट निस्केपछि के गर्नुभयो ?

जेलमा बस्दाखेरि जातीय वर्गीय विषयमा सल्लाह गर्ने मान्छे त कोही पनि थिएनन् । त्यहाँ मनन गरियो । सोच्दा सोच्दा वर्गीय पनि मैले छोड्न मिल्दैन, जातीय पनि छोड्न मिल्दैन भनेर जेल बाहिर आइयो । अहिले ३५ वर्ष नाघिसक्यो, यो वर्गीय र जातीय दुईवटै मुद्दा छाड्नु हुँदैन भन्नेमा म प्रतिवद्ध छु ।

अघि भनिसकें, त्यसमा फेरि पनि प्रष्ट पार्न चाहन्छु– जेलबाट निस्केपछि जातीय मुक्तिको सवाल उठाउने कम्युनिस्ट पार्टी बनाउनुपर्छ भनेर म लागिहिँडें । एकजना पनि साथी पाइएन । हुँदै जाँदा जातीय सवाल उठाउने पार्टी भन्नेमा पुगियो । त्यहाँनेर एमएस थापा र गोरेबहादुर खपाङ्गीसँग हाम्रो भेट भयो ।

उहाँहरूसँग नीति बनाउँदाखेरि दुईवटा कुरामा मेरो असहमति थियोः एउटा– गणतन्त्रको नीति लिनुपर्छ भन्ने मेरो भनाइ थियो, अर्को– सशस्त्र आन्दोलनको नीति लिनुपर्छ भन्ने थियो । उहाँहरूले दुबै कुरा मान्नुभएन । हुँदाहुँदै उहाँहरू राजतन्त्रको पक्षमा उभिनुभयो । संघीयता, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता जस्ता ३/४ वटा कुरामा चाहिँ उहाँहरूसँग कुरा मिल्थ्यो । राजा वीरेन्द्रले बोलाएछन्, उहाँहरू जानु भो ।

उहाँहरू हामीभन्दा जेठोबाटो, पढे लेखेको, नाम चलेको त हुनुहुन्थ्यो तर राजनीतिक सोचमा सहमति हुन सकेन । उहाँहरूको तर्क के थियो भने बाहुन र राजा मिलेर जनजातिलाई शासन गरे, अब राजा र जनजाति मिल्नुपर्छ र दरबारबाट बाहुनलाई निकाल्नुपर्छ । त्यसमा मेरो सहमति थिएन । किनभने बाहुन वर्ण व्यवस्थाले गर्दा दरबार कब्जा गर्न पुगेको हो । जनजातिको त्यहाँ के स्थान हुन्छ ? सिपाही ? सिपाही त पहिल्यैदेखि छन् ।

उहाँहरूबारे धेरै टिप्पणी नगरौं । खपाङ्गी बितिसक्नुभयो, एमएस थापा जीवनको उत्तरार्धमा हुनुहुन्छ । उहाँहरूले चेतना र जागरणको योगदान गर्नुभयो । उहाँहरूसँग सँगै रहन सकिएन । उहाँहरूले पहिलेको जनमुक्ति मोर्चालाई जनमुक्ति पार्टी नामाकरण गर्नुभयो । परिणामस्वप गोरेबहादुर खपाङ्गी ज्ञानेन्द्र शाहको मन्त्री बन्नुभयो । हामी उता (खम्बुवान मोर्चा) तिर लाग्यौं ।

त्यसबेला ‘सेतामगुराली’का प्रणेता मानिने मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) का प्रमुख गोपाल गुरुङसँग पनि तपाईको उठबस थियो रे नि ?

म जेलबाट निस्किसकेपछि भोजपुर खोटाङका केही साथीहरूसँग नजिक भइयो । भोजपुरका जगन बहादुर राई भन्ने साथीले गोपाल गुरुङका सम्बन्धमा केही पहल गर्नुपर्छ भन्नुभयो । के पहल लिने भन्दा उहाँको प्रतिबन्धित किताब (नेपाली राजनीतिका अनदेखा सच्चाइ) बेच्ने । हामीले सय प्रतिजति बेच्यौं । जगनजीले भाउजू (गोपालकी श्रीमती) सँग किताब लिने अनि बेचेर पैसा पुर्‍याउने काम गर्नुहुन्थ्यो ।

गोपाल गुरुङ जेलमा हुँदा म दुईपटा भेट्न पनि गएँ । पछि बहुदल आइसकेपछि बागबजारमा अधिवक्ता सुरेश चाम्लिङकोमा हामी बस्यौं । हामी ६/७ जना युवा थियौं । म इच्छुक थिइँ, तर जगनजीहरूले जाऔं भनेर गएको । त्यहाँ गोपाल गुरुङले के भन्नुभयो भने यो मंगोल नेशनल अर्गनाइजेसन नाम फेरिँदैन । जेलमा बसेर मैले जन्माएको हो । म राजनीतिका लागि त्यो नामसँग त्यति सहमत थिइनँ ।

त्यहाँ भएको छलफलमा गोपालले आफू आजीवन अध्यक्ष हुनुपर्ने बताउनुभयो । मैले भनें, यो त राजतन्त्रजस्तो भयो नि ? आवश्यकताले बाँचुञ्जेल अध्यक्ष तपाई नै हुनुहोला तर सिद्धान्तमा त हामी पनि हुन पाउनुपर्‍यो नि भनेपछि हामी छुट्यौं ।

त्यतिबेलै राजावादी धारमा गएको राष्ट्रिय जनमुक्ति पार्टी अहिले पनि छँदैछ । रुपन्देहीमा र पूर्वी नेपालमा यो पार्टीको छिटफुट प्रभाव देखिन्छ । अहिले देशमा राजतन्त्र पनि छैन । अहिलेको जनमुक्ति पार्टीलाई तपाई कसरी हेर्नुहुन्छ ?

उहाँहरूले भर्खरै अधिवेशन गर्नुभयो भन्ने सुनियो । त्यसबाट के नीति लिनुभयो, त्यो बुझिएको छैन । प्रदेश १ को नाम पुनरावलोकन संघर्ष समितिमा हामी सँगै छौं । उहाँहरूको अधिवेशनभन्दा पहिलाको हेर्दाखेरि अब गणतन्त्र मान्नुभएको छ । पहिले पहिचानका आधारमा संघीयता जनमुक्ति पार्टीको नीति थिएन, अहिले त्यो स्वीकार गर्नुभएको छ । अरु धेरै कुराचाहिँ पछिल्लो समयमा थाहा छैन ।

गोपाल गुरुङको निधन भइसके पनि ‘एमएनओ’ भन्ने पार्टी पनि अझै अस्तित्वमा छ । उसको प्रभाव पनि इलाममै देखिन्छ । उहाँहरूसँग तपाईको अहिले सम्पर्क छ कि छैन ?

एमएनओको एउटा समूह जसले चुनाव बहिस्कार गर्‍यो, त्यो समूहका साथीहरूसँग हाम्रो धेरै चरणमा छलफल भएको छ । ती साथीहरू चाहिँ हामी अलि नयाँ ढंगले सोच्नेहरू हौं भन्नुहुन्थ्यो ।

एमएनओका संस्थापक गोपाल गुरुङको राजनीतिक लाइन संघीय गणतन्त्रचाहिँ हुनैपर्छ तर प्रदेशहरूको नाम जातीय पहिचानका आधारमा नभएर खोलानालाका आधारमा राख्नुपर्छ भन्ने थियो हैन ? कोशी, बागमती भनेजस्तै ?

अँ त्यो रहेछ । चुनावमा भाग लिनेवाला समूहले कोशीका नाममा अधिवेशन गरेको पनि सुनियो । त्यो चाहिँ श्राद्ध गर्दा बिरालो बाँधेजस्तो देखिन्छ । यसमा उहाँहरूले पुनर्विचार गर्नुपर्छ भन्ने लाग्छ ।

अबको प्रश्न तपाईतिरै फर्कौं, खम्बुवान राष्ट्रिय मोर्चालाई पछि किरात वर्कर्स पार्टी किन बनाउनुभयो ?

यसमा पहिलो वीर नेम्वाङजी जिम्मेवार हुनुहुन्छ । दोस्रो– भौतिक परिस्थितिले हामीलाई त्यहाँ पु¥यायो । त्योबेलाका पत्रिकामा लिम्बुवान मुक्ति मोर्चाका वीर नेम्वाङका अन्तरवार्ताहरू चर्चित थिए । खपाङ्गी र एमएस थापाहरूसँग छुटिसकेपछि हामी उहाँलाई भेट्न गयौं । उता लिम्बुवान स्मृत थियो भने यता राईहरूको भूगोलमा खम्बुवान विस्मृत थियो । किरात मोर्चा बनाऔं, तपाईले नेतृत्व गर्नुहोस् भन्दा वीर नेम्वाङले के भन्नुभयो भने खम्बुवान मोर्चा बनाउने भए सघाउँछु, नभए सघाउँदिनँ ।

वीर नेम्वाङको सहयोगविना हुँदैन भन्ने निष्कर्षमा म पुगें । अनि खम्बुवान राष्ट्रिय मोर्चा बनाइयो । पछि बुझ्दा वीर नेम्वाङजीको संगठनात्मक स्थिति बलियो रहेनछ । दार्जीलिङको भाषामा कविता र विज्ञप्तिहरू त बडो स्तरीय लेख्ने । मचाहिँ गाउँमा जाने, भेटघाट गर्ने । कोहीसँग झगडा पनि हुन्थ्यो । तर, संगठन बनाउँदै आइयो ।

हामीले खम्बुवानको संगठन बनाउँदै गर्दायता माओवादीको जनयुद्ध सुरु भयो । जनयुद्धलाई हामीले समर्थन गर्‍ यौं । त्यसबेला सुरेश आले माओवादीको खुला कार्यकर्ता हुनुहुँदोरहेछ । उहाँले भेटेर माओवादीमा लागौं भन्नुभयो । मैले भनें- अहिले नलागौं ।

किन ?

किनभने, २००७ सालमा प्रजातन्त्र भन्दै आन्दोलन भयो, अर्कैथोक भयो । पछि पूर्वमा नेकपा मालेले जनवाद भन्दै आन्दोलन ग¥यो, अर्कैथोक भयो । जनयुद्धको नीति ठीक छ, तर नेताहरूबारे मलाई थाहा छैन, त्यसकारण अहिले माओवादीमा प्रवेश गरिन्न । बरु हामी आफैं सशस्त्र आन्दोलन थाल्छौं । जातीय मुक्तिको आन्दोलनमा माओवादी इमान्दार रूपमा प्रतिवद्ध हुन्छ भने हामी टाढा छैनौं । यसो भन्दै ०५४ साल साउन ७ गते माझ किरातका तीनवटा सांस्कृतिक शिविरहरूमा हामी (खम्बुवान मोर्चा) ले सेबोटेज गर्‍यौं । त्यो बेला कक्षा १ देखि १० सम्म कांग्रेस–एमालेले अनिवार्य संस्कृत शिक्षा लागू गरेका थिए । त्यो बडो ठूलो बोझ थियो । यसमा हामीले सफलता प्राप्त गर्‍यौं, ०५८ सालमा संस्कृतलाई सरकारले ऐच्छिक बनाइयो । ऐच्छिकमा हाम्रो केही आपत्ति छैन ।

त्यसयता सुरेश आलेमगरसँग छलफल हुँदै गयो । ०५४ सालको अन्त्यतिर डा. बाबुराम भट्टराईसँग भेट भयो । हामीले केही बुँदे संयुक्त विज्ञप्ति जारी गर्‍यौं। जातीय सवालमा सामान्य नीति भएको तर संगठन र फौजी काममा पुग्दाखेरि माओवादीमा त्यो थिएन । हामी नजिक–टाढा, नजिक–टाढा हुँदै जाँदा मिलिएन । तर, आन्दोलन बढ्दै गयो । रेडियो र एफएमहरूमा सुरक्षा फौजले गम्भीर अपरेशन सुरु गर्ने भन्ने समाचार बज्न थाले । त्यत्रो फौजी अनुभव मसँग पनि थिएन । किताब पढेको र सुनेका आधारमा बल गरिँदैथ्यो । गम्भीर अपरेशन गर्‍यो भने हाम्रो राखन–धरन जम्मै सिध्याउन सक्छ । हाम्रा लडाइँ इलाका खोटाङ, भोजपुर र उदयपुरको पूर्वी भाग हो । सेल्टर राखन–धरन झापा, मोरङ र सुनसरीमा पनि थियो । अब शाही सेनाले गम्भीर अपरेशन गर्‍यो भने हाम्रो त केही पनि नराख्ने भो ।

हामीले ०५७ सालसम्म खुम्बुवान भन्दै आएका थियौं, ०५७ देखि किरात भन्न थाल्यौं । ०५८ सालदेखि माओवादीको नेतृत्वको भक्तराज कन्दङवा अध्यक्ष रहेको लिम्वुवान राष्ट्रिय मोर्चा, हाम्रो र माओवादीको किराती संगठनसहित संखुवासभाको आँखीभूइँमा एकता गर्‍यौं र किरात राष्ट्रिय मोर्चा बनायौं ।

फेरि माओवादीभित्रबाट प्रपञ्च चल्यो । त्यो वीचमा गर्ने नै भएपछि यो हुँदैन भनेर ०५९ साल असार १९ गते हामीले किरात वर्कर्स पार्टी गठन गर्‍ यौं ।

किनभने, माओवादीबाट जिम्मेवार सहयोग र समन्वय भएन । प्रचण्ड, बाबुराम, बादलहरूसँग पछि कुरा गरियो । उहाँहरूसँग कुरा गर्दा ठ्याक्कै मिल्ने, तल गएपछि उल्टिने हुन्थ्यो । यसरी मूल नेताहरूले ध्यान नपु¥याएको र तलको नेतृत्व पूर्वाग्रही रहेको स्थिति थियो । त्यो बेला पूर्वको नेतृत्वमा अग्नि सापकोटा हुनुहुँदोरहेछ । उहाँ इमान्दार मान्छे हो तर ज्यादै यान्त्रिक । गतिशीलता नभएको, बाध्यताले पहिचानको मुद्दा स्वीकार गर्ने तर मनभित्रबाट कहिल्यै स्वीकार नगर्नेमध्येमा उहाँ पर्नुहुन्छ ।

पूर्वमा त्यसबेला अरू कोको हुनुहुन्थ्यो थाहा भएन तर तलका कार्यकर्तालाई हाम्रो विरुद्धमा उचाल्ने कामहरू भए । अग्नि सापकोटापछि हितमान शाक्यले पनि त्यो भूमिका अलिकति खेल्नुभयो भन्नेचाहिँ अनुभूति हुन्छ । अरु स्थानीय माओवादीको नाम नलिऔं ।

तपाईहरूमाथि माओवादी पक्षको आरोपचाहिँ के हुन्थ्यो ? वर्गीय मुद्दामा भन्दा जातीय मुद्दामा बढी जोड गर्ने आरोप थियो कि ?

हैन, हामीलाई साम्राज्यवादको दलाल भन्नुहुन्थ्यो । अहिले आइपुग्दाखेरि को रहेछ साम्राज्यवादको दलाल भन्ने थाहा भयो । म सडकमा छु एमसीसीको विरुद्धमा, उहाँहरूले पारित गर्नुभो एमसीसी । वैद्य कमरेडहरूचाहिँ एमसीसीको विरोधमा अडिनुभयो ।

यसो भइसकेपछि हामी त आँखीभूईँबाट माओवादीसँग सहकार्यमात्रै गर्ने नभएर हामी प्रवेशको नीतिमा गइसकेका थियौं । यसवीचका थुप्रै कुराहरू अहिले भनेर साध्य छैन । तर, उहाँहरूले जिम्मेवार समन्वय गर्नुभएन । अनि हाम्रो आन्दोलन सिद्धिन्छ भन्ने चिन्ताले किरात वर्कर्स पार्टी बनायौं । ०५७ देखि हामी छलफल गर्दै थियौं, ०५९ मा आएर त्यसलाई पुनर्गठन गरियो । अनि पछि ०६० सालमा चाहिँ फेरि माओवादी भइयो ।

त्यसबेला हामीलाई एकजना केन्द्रीय सदस्य दिइएको थियो, त्यहीँबाट म माओवादीको केन्द्रीय सदस्य बनें । किरात वर्कर्सबाट माओवादी बनेका उदरपुरका हिमाल राई, खोटाङका रामकुमार राई लगायत धेरै साथीहरू अहिले पनि माओवादीमै हुनुहुन्छ । मैले चाहिँ छाडें ।

तपाई भूमिगतकालमै माओवादीमै होमिनुभयो । ०६३ पछि सांसद र पर्यटनमन्त्रीसमेत हुनुभयो । अनि माओवादी छाडेको चाहिँ किन ?

हामी ०६० साल असारदेखि माओवादी भयौं । माओवादी कसरी भइयो भने एउटा त वस्तुगत आवश्यकता भयो । किरात राज्यको पक्षमा आफू दृढ रहेको कुरा प्रचण्ड, बाबुराम र बादलहरूले भन्नुभएको थियो । हामीले झापाको सुरुङ्गामा बसेर ६ बुँदे सहमति गरेका थियौं । उहाँहरूलाई हामीजत्तिको वैचारिक राजनीतिक स्तरको मानिस पूर्वमा चाहिएको थियो । हामीलाई शक्ति चाहिएको थियो । हाम्रो स्वार्थ त्यो थियो ।
पछि अरुले जेसुकै गरे पनि छुट्ने बेला, अर्थात ०७४ सालसम्म १५ वर्ष केन्द्रीय समितिमा प्रचण्डहरूसँग सँगै काम गर्‍यौं।

वैद्यहरू अलि पहिला छुट्नुभयो । केही पहिला बाबुराम छुट्नुभो । प्रचण्डहरूबाट पूर्वाग्रहको काम चाहिँ भएन भन्ने मैले स्पष्ट पार्नुपर्छ । मानिसहरू भन्छन्, बाहुनसँगै काम गरेपछि बिताइहाल्छ । मलाई पनि पहिला त्यस्तो लाग्थ्यो । तर, पछिबाट म व्यवहार गर्न सक्छु भन्ने भयो । मैले के भन्ने गर्छु भने आम रूपमा यो ब्राह्मणवादी सत्ताबाट उत्पीडित म पनि हो । माओवादी पनि आम रूपमा त्यो (उत्पीडक) भयो । तर, व्यक्ति विशेष रूपमा म बाहुनवादको फन्दामा नपरेको मान्छे भन्छु । सचेत हुनुपर्‍यो नि । सचेत भइसकेपछि त्यो हुने कुरो भएन ।

त्यसरी किरात स्वायत्त राज्यको नीतिमा हामीले माओवादीसँग सहमति गरेका थियौं र हामी माओवादी भएका थियौं । ०७० सालको दोस्रो संविधानसभा चुनावमा अपेक्षित मत प्राप्त भएन । यसको समीक्षा गर्ने क्रममा प्रचण्डले त्यही चुनावदेखि यो पहिचानको मुद्दालाई छाडेको हो । बैठक र व्यक्तिगत कुराकानीमा पनि भन्नुहुन्थ्यो, ‘फलानाले यसो भन्यो, फलानाले यसो भन्यो ।’ के भन्यो त भन्दाखेरि तपाई महान मान्छे हो तर जनजातिले कुरा बुझेन भन्यो भन्नुहुन्थ्यो ।

मैले के बुझ्थें भने यी बूढाले पहिचान छोड्न आँटे । अब के गर्ने त भन्दाखेरि प्रयास गर्ने, बैठकमा यो कुरा नबोल्ने । बोल्यो भने त झन् स्थापित हुने भो ।

त्यसअघि हेटौंडामा माओवादीको आठौं महाधिवेशन भएको थियो । त्यहाँ मैले फरक मत राखेको थिएँ । त्यसको सार के थियो भने पार्टीको सामान्य जातीय नीति ठिकै छ, अब विशेष नीति बनाउनुपर्छ । होइन भने यो जातीय मुक्तिको नीति लागू हुँदैन । त्यो महाधिवेशन साह्रै पेचिलो भयो । साह्रै नराम्रो र नमिठो ढंगले अन्त्यमा नेतृत्वबाट स्वीकार्ने काम भयो, तर लागू गर्ने काम कहिल्यै भएन ।

त्यसबेला विधान निर्माण गर्ने उपसमितिको टोलीमा मलाई पनि राखिएको थियो । मलाई सम्झना छ, त्यसमा ‘अनुशासन र कारवाहीको व्यवस्था’ र ‘विशेष व्यवस्थाबारे’ खण्ड मैले लेखेको थिएँ । त्यो खासगरी लेनिनको पुस्तक राष्ट्रिय नीति र सर्वहारा अन्तरष्ट्रियतावादको प्रश्न’ लाई लिएर त्यो तयार पारिएको थियो । लेनिनले त्यो किताब नलेखिदिनुभएको वा मैले पठ्न नपाएको भए हेटौंडादेखि नै छाडिदिने थिएँ पार्टी ।
०७४ साल असोजमा आइपुग्दा नेकपा ओली नेतृत्वको नेकपा एमालेसँग एकता गर्ने भनेर प्रचण्डले पेरिसडाँडामा बैठक बोलाउनुभयो । त्यसमा मैले मतभेद गरें । तालमेल गरौं, गठबन्धन गरौं तर पार्टी नबुझाऔं भनिसकेपछि उहाँहरू एमालेमा जानुभो । त्यसपछि मैले भनें, यो माओवादको सिद्धान्त र पहिचानको मुद्दा छाडेको हुनाले म जाँदिनँ भनेर प्रचण्डहरूसँग गइनँ । वैद्यसँग पहिल्यै छुटियो ।

प्रचण्डलाई मैले ०७४ सम्म किन समर्थन गरें भने ०५७ साल, ०६२ साल हुँदै आउँदा संविधानसभाबाट संविधान बनाउने नीति पार्टीले लिएको थियो । त्यो नीति वैद्य–विप्लवहरूले छोड्नुभो । प्रचण्ड–बाबुरामले चाहिँ त्यसलाई समातिराखेको हुँदाखेरि संविधानसभाबाट संविधान बनाउन मैले सहयोग गरें । पछिल्लो समयमा माओवादको सिद्धान्त छाडे पनि भैगो, त्यसमा आपत्ति भएन, अरुलाई चाहिँदैन भने मैले मात्रै किन समातिरहने भन्ने पनि लागिरहेको छ । तर, मुख्यतः पहिचानको मुद्दा हो ।

पहिचानको मुद्दालाई तपाईले यति सारो जोड दिनुपर्ने कारणचाहिँ के हो ?

संविधानमा लेखिएको छ– समाजवाद उन्मुख राज्य नेपाल । अब हामीलाई समाजवाद चाहियो । सबैले समाजवाद भनिरहेका छन् । त्यसोभए समाजवाद कसले लडेर ल्याइदिन्छ त नेपालमा ? हामीलाई समाजवाद चाहियो, लडेर ल्याइदिने को ? लेनिनको समयमा जस्तो संगठित मजदुरको अवस्था अहिले छैन । माओ वा पुष्पलालको पालामा जस्तो लडाकू चरित्रको किसान पनि नेपालमा छैन । तर, वर्गीय अन्तरविरोध गम्भीर प्रकारको छ । यसो भएको हुनाले ल सर्वहारा नभनौं, मजदूर किसानको हक अधिकारका लागि यो पहिचानवादीले लड्नुपर्छ कि पर्दैन ? मेरो भनाइ छ- पर्छ । अनि ती मजदुर किसानले उत्पीडित समुदायको पहिचान र अधिकारलाई स्वीकार गर्नुपर्छ । यस्तो प्रकारले मात्र हामी नेपालमा समाजवाद हासिल गर्न सक्छौं भन्नेमा हामी छौं ।

प्रचण्डले पहिचानको मुद्दा छाड्नुभयो । त्यो त कोशी, गण्डकी, सबैतिर हस्ताक्षर गर्नुभो । यसमा आपत्ति उहाँहरूको रहेन । हुँदाहुँदा सचेतनामा बिग्रेका हुन् भन्ने लाग्ने, अर्धचेतनामा प्रचण्ड भनिसकेपछि नजिकको लाग्ने । इलामको उपचुनावमा पहिचान पक्षधरको साझा उम्मेद्वार डकेन्द्र सिंहलाई हामीले उभ्यायौं । सहयोग गरियो । तर, माओवादीले एमालेको उम्मेदवारलाई जिताऔं भनेर केन्द्र, जिल्ला र गाउँबाट विज्ञप्ति निकाल्यो । अचम्म ! अनौठो लागेर आउने !

यसरी उहाँहरूले पहिचानको मुद्दा छोड्नुभो । जब मैले ०७४ सालमा माओवादी छाडें । जनतासँग बोलिएको कुरामा बेइमानी गर्नु हुन्छ, प्रतिवद्ध रहनुपर्छ भनेर म एक्लै छुटें । धेरै साथीहरू त्यतै हुनुहुन्छ ।

एकातिरबाट माओवादीले पहिचानको मुद्दा छाडेको आरोप लागिरहेको छ । यसमा सिक्काको अर्को पाटो पनि छ, जातीय कुरो गरेकै हुनाले माओवादी पार्टी पहिलोबाट तेस्रोमा खुम्चिँदै गएको हो भनेर विश्लेषण गर्नेहरू पनि छन् नि ? तपाईसँग यसको जवाफ के छ ? खासमा माओवादी सकिँदै जानुको कारण के हो ?

माओवादी सकिनुको पहिलो कारणचाहिँ प्रचण्ड निश्चित सैद्धान्तिक प्रतिवद्धता भएको मान्छे होइनन् । पछि थाहा भो, उहाँ संयोजनकारी खुबीको हुनुहुँदोरहेछ । सैद्धान्तिक प्रतिवद्धताको नेता अरु हुनुहन्थ्यो । तर, प्रचण्डचाहिँ व्यक्तिवादी, महत्वाकांक्षी ख्वाब राख्ने । प्रचण्ड कस्तो भने जनजाति, दलित, मधेसी, महिला लगायतको मुक्तिदाता प्रचण्ड हुन पाए कस्तो मजा हुन्थ्यो भनेर सोच्ने तर सैद्धान्तिक–वैचारिक रूपले

त्यसलाई बाँध नहाल्ने ।

परिणामस्वरुप ०६३ सालमा जब शान्ति सम्झौता गरियो, पटक–पटक भनियो कि पार्टीभित्र मार्क्सवादी स्कुलिङ चलाऔं । कहिल्यै भएन । ०६४ साल दशैंका बेला हामीले उदयपुरमा किरात राज्य समितिले स्कुलिङ गर्‍यौं । जिल्ला सचिवालय सदस्यसम्म ५५–५६ जना थियौं । कतिलाई त्यस्तो गरेको मन परेन । तर, त्यसले राम्रो काम गर्‍ यो । ०६४ को चुनावमा किरात राज्य समिति अन्तरगतका १२ सिटमध्ये १० सिट हामीले जित्यौं । त्यसमा त्यो स्कुलिङले काम गरेको थियो । त्यस्तो स्कुलिङ फेरि गर्‍यौं भनियो, कहिल्यै वास्ता–बेस्ता भएन । मार्क्सवादी स्कुलिङ नगरिसकेपछि मार्कसवाद भनेको के हो भनेर थाहा नपाउने कार्यकर्ताहरू हावी हुँदै गए । नसिकाएपछि त उनीहरूले थाहै नपाउने भए । र, पार्टीमा वैचारिक स्कुलिङ भएन ।

दोस्रो– युद्धबाट आइसकेपछि शान्ति प्रक्रियामा काम कसरी गर्ने भन्ने योजना भएन । ‘लथालिंगे राजाको भताभुंगे दरबार’ जस्तो भयो । अहिलेसम्म १७ वर्ष त्यतिकै बितेर गयो, शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन सकेन ।

तेस्रो– ठूलाहरूले ठूलो जहाँ–जहाँ अवसर देखिन्छ, त्यो कब्जा गर्ने चरित्र व्यक्त भयो । अनि तलकोले के देख्यो भने जसरी पनि माथि पुग्नुपर्छ । सबै माथि पुग्दा ४ हजार जनाको केन्द्रीय समिति । यस्तो त कम्युनिस्टको मात्र होइन, कुनै पनि पार्टीको संसारमै हुँदैन ।

यस्तो नौटंकी व्यहोर्दै आउँदा सबभन्दा पहिले वैद्य–विप्लवहरूले जो पार्टी विभाजन गर्नुभयो, त्यहाँबाट अधोगति सुरु भयो । प्रचण्डका सीमा र कमजोरीहरू हुँदाहुँदै पनि वैद्यहरूले त्यसो नगर्दिनुभएको भए अधिकतम प्रगतिशील संविधान बन्दैथियो । पहिलो संविधानसभाको अन्त्यतिर प्रचण्ड र बाबुरामले कांग्रेस र एमालेलाई घिसारेर ठीक ठाउँमा ल्याउनुभएको थियो ।

पहिचान र संघीयताको सवालमा १० वटा प्रदेश (लिम्बुवान–मेची, किरात–कोशी, ताम्सालिङ–इन्द्रवती, नेवा–बागमती, तमुवान–गण्डकी र मगरात–राप्ती लगायत) का नाममा माओवादीबाट प्रचण्ड, कांग्रेसबाट सुशील कोइराला र एमालेबाट झलनाथ खनालले संविधानको अन्तर्वस्तु भनेर ०६९ बैशाख २२ मा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि बैशाख २३ गते दिउँसो एमालेबाट ईश्वर पोखरेल, कांग्रेसबाट कृष्ण सिटौला उपप्रधानमन्त्री भएर बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय एकताको सरकार बनाइएको थियो ।

तर, यता पार्टीभित्र वैद्य र विप्लवहरूले नयाँ जनवादी संविधान चाहियो भनिराख्नुभएको थियो । नयाँ जनवादी संविधान सम्भव थिएन । कि त केन्द्रीय सत्ता कब्जा गर्नुपर्‍यो  । नयाँ जनवादी संविधानका लागि त कांग्रेस एमालेलाई जेल हाल्न सक्नुपर्थ्यो । त्यो परिस्थिति हामीसँग थिएन । त्यसैले सहमतिको संविधान चाहिन्थ्यो । त्यसो गर्दा अधिकतम प्रगतिशील संविधान बन्थ्यो । अहिलेको जस्तो कोशीको नाममा लाजेहाङहरूले बलिदान गर्नुपर्ने स्थिति आउँदैनथ्यो । यहाँनेर सैद्धान्तिक रूपमा वैद्य–विप्लवले वाम विसर्जनवादी कदम उठाउनुभयो । परिणामस्वरुप उहाँहरू पनि सफल हुनुभएन । यो गणतन्त्रको संविधान जारी गरुञ्जेलचाहिँ प्रचण्ड र बाबुरामको सकारात्मक योगदान रह्यो ।

यो संविधान जारी हुनेवित्तिकै बाबुरामले ‘आधा गिलास भरिएको र आधा रित्तो’ भनेर गरिएको टिप्पणी सही हो । तर, बाबुरामले पनि छाडेर जानुभयो । ०७४ मा आएर प्रचण्डले पनि माओवादी छाड्नुभयो । त्यसो भएको हुनाले प्रचण्ड र बाबुरामको कदम चाहिँ दक्षिणपन्थी बिसर्जनको कदम हो । वाम विसर्जनबाट शुरु भयो, दक्षिणपन्थी विसर्जनमा कोल्याप्स भयो । र, अहिले जो जो साथीहरू माओवादी बनेर हिँड्दै हुनुुहन्छ, त्यो इतिहास भयो । इतिहासमा त म पनि माओवादी हुँ । अब वर्तमान र भविष्य हुने छाँट देखिँदैन । असाध्यै बदनाम र असाध्यै पतन गरिएको हुनाले त्यो नामबाट अगाडि बढ्दाखेरि जनताले साथ दिने छाँट देखिँदैन । र, प्रचण्डले पनि चाँडै छोड्नुहुन्छ ।

प्रचण्डले माओवादी छाड्नुहुन्छ भन्नुको अर्थ अब उहाँ एमालेसँग फेरि मिल्नुहुन्छ ?

पहिला छोडेरै जानुभएको हो, कता–कताबाट अदालतले बोकाइदिएर उहाँले बोकेर हिँड्नुभएको छ । त्यसो हुनाले हामी उहाँलाई अदालती माओवादी पनि भन्छौं । कम्युनिस्ट पार्टीको पथ प्रदर्शक सिद्धान्त निर्माणमा सर्वहारा वर्गको आफ्नो स्वतन्त्र निर्णयले आफ्नो नाम, नीति, कार्यदिशा निर्माण गर्नुपर्छ । तर, पथप्रर्दशक सिद्धान्त सर्वोच्च अदालतले बोकाइदिएको छ । त्यस्तो पनि कम्युनिस्ट हुन्छ ?

अब प्रचण्डको विकल्प कि त राजनीतिबाट सन्यास लिने देखिन्छ । तिमीहरू गर, मैले बिदा लिएँ भन्ने हुन सक्छ । बढी सम्भावना चाहिँ एमालेसँग मिल्ने तर, नेकपा एमालेकै नाममा । पहिला नाम फेरिएको एमालेसँग एकता भएको थियो, अब नाम नफेरिएको एमालेसँग एकता अथवा विलय । किनभने, अब एमाले पंक्ति एमाले नाम परिवर्तन तयार छैन र उसलाई त्यसो गर्नुपर्ने आवश्यकता पनि देखिँदैन । आवश्यकता प्रचण्डको चाहिँ देखिन्छ ।

जब ०७९ सालमा चुनाव भयो, त्यसपछि मैले चाहिँ सुझाव दिएको थिएँ, तपाईंहरू प्रतिपक्षमा बस्नुहोस्, सत्तातिर नजानोस् । त्यसो गर्दा सडकमा हामी छौं भनेको थिएँ । तर, हाम्फालेर घरि एमालेतिर, घरि कांग्रेसतिर गर्नुभयो । उहाँहरू यसलाई चमत्कार भन्नुहुन्थ्यो, यो कुनै चमत्कार होइन । यो धुत्र्याइँ हो । प्रचण्ड प्रधानमन्त्री बन्नुभएको डेढ वर्षभन्दा बढी भयो होला, तर देशले सम्झनुपर्ने काम उहाँले के गर्नुभयो भन्ने प्रश्नको वस्तुगत जवाफ पाइँदैन ।

उहाँले दुईवटा बजेट त पेश गर्नुभयो । ल पहिलोचोटि प्रकाशशरण महतले कपटी गरे भनेर मानौं, अहिले त प्रचण्डका नजिकै वर्षमान पुन थिए । वर्षमानजीले पेश गरेको बजेटबारे जनार्दन शर्माजीको यो संघीयताविरोधी बजेट हो भन्ने समाचार पढ्न पाइयो । मैले त बजेटमा के छ, पढेको छैन । प्रचण्ड अरुलाई मैले घुमाइराखेको छु भन्ठान्नुहुन्छ, समग्रमा हेर्दाखेरि उहाँ खेलौना बन्नुभयो भन्ने लाग्छ ।

प्रचण्डलाई भर्खरै ओलीले सत्ता समीकरणमा धोका दिएका छन्‌, उनीहरू कसरी मिल्लान्‌ ? 

अन्ततः प्रचण्ड एमालेमै जान्छन्‌, अर्को विकल्प छैन ।

प्रचण्डलाई त तपाईले यसो भन्नुभयो, अब सिंगै माओवादी पार्टीको भविष्य चाहिँ तपाईं कस्तो देख्नुहुन्छ ?

धेरैले छोडिसक्नुभयो । वैद्य, विप्लव, बादल, बाबुराम सबैले छोड्नुभयो । अदालतको काकतालीले गर्दा प्रचण्डले बोकिराख्नुभएको छ । प्रचण्डपछि यो माओवादी नाम अब एकाध दुईले बोकेर लाने कुरा भो । तर, अब राष्ट्रिय राजनीतिक प्रतिस्पर्धामा माओवादी हुँदैन ।

तर, प्रचण्डको आरोप त के छ भने पार्टीका जति नेताहरूले मलाई छाडेर गए, तिनीहरू सबै असफल भए…। तपाईं, बाबुरामजी, वैद्यजी…!

अरुको बारेमा भन्न सकिएन । मेरो हकमा चाहिँ संविधान आफ्नो ठाउँमा धेरै ठूलो होला, दर्शन र सिद्धान्त यी सबै आफ्नो ठाउँमा ठुल्ठुला होलान् तर यी सबैभन्दा ठूलो चाहिँ ‘इथिक्स’ हो, अंग्रेजीमा भन्दा । नेताहरूले इथिक्स (नैतिकता) गुमाएपछि केही बाँकी रहँदैन । त्यसले महाअराजकता पैदा गर्छ ।

भर्खरै मुकुम्लुङ (पाथीभरा) को यात्रा गर्दै फर्कंदाखेरि मैले केही मानिससँग कुरा गरें । मैले पञ्चायतकालमा केही प्रधानपञ्चहरू देखेको थिएँ । राष्ट्रिय रूपमा, राजनीतिक रूपमा तिनीहरू प्रतिगामी थिए । तर, गाउँमा ती प्रधानपञ्चहरूको गरिमा थियो । अहिले प्रधानमन्त्री, के–के मन्त्रीहरूको केही पनि गरिमा छैन । किनभने, उहाँहरूले जसको निम्ति लड्नुभो, जे बोल्नुभो, त्यसमा इथिक्स गुमाउनुभयो ।

हाम्रो रवि लामिछानेजीकै कुरा गरौं, नैतिक अडानमा नरहिसकेपछि शक्ति हुनुको र नहुनको अर्थ छैन । राणा शासन दमनकारी थियो, तर त्यत्रो बलियो पनि उखेलियो ।

पञ्चायती व्यवस्था पनि तपाई हामीले देख्यौं । त्यो बेला म लाजिम्पाटमा दिदी भिनाजुकोमा बस्थें । वीर अस्पतालमा बिरामीको उपचार गर्न आउँदा कुर्नुपथ्र्यो । राति २, ३ बजेतिर फर्कँदा बाटोमा प्रहरीहरू हुन्थे । को हो, के हो भनेर ठूलो स्वरले हप्काउँथे । यस्तो–यस्तो हो भनेपछि लु जाउ भनेर पठाइदिन्थे । ०४६ साल उप्रान्त राति त्यसरी हिँड्न सकिँदैन । सडकमा प्रहरी मात्रै हुँदैन, प्रहरी भन्दा अरु बदमासहरू बढी देखिन्छन् । यसो हुनाले गरिमा आफैं निर्माण गर्ने हो ।

छेउमा भेटेका बेला काम गर्दिएको मान्छेले प्रचण्डलाई नमस्कार गर्लान् । जेठो, पाको हुनाले भेटेका बेला मैले पनि नमस्कार गर्नैपर्छ । तर, हिजोको क्रान्तिकालीन प्रचण्ड र अहिलेकोमा त फरक भयो । र, उहाँहरूको भविष्य माओवादीका नाममा पटक्कै देखिँदैन । यो उहाँहरूकै कारणले बिग्रियो । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको हुन्छ । हिँड्नप¥यो, खानुप¥यो, बाँच्नुप¥यो, औषधि उपचार गर्नुप¥यो, त्यसको व्यवस्थापनको पाटो छुट्टै भयो, तर उहाँहरू अभिजातमा पतन हुनुभयो ।

राजनीतिक पहल कदमी र शक्ति निर्माणको हिसाबले पार्टी छाड्नेहरूमाथि उहाँहरूको दोषारोपण सही ठहर्छ । भनेजस्तो, चाहेजस्तो हामीले पार्टी निर्माण गर्न सकेका छैनौं, यो सत्य हो । तर, विचार र इथिक्समा हामी प्रतिवद्ध छौं, उहाँहरूचाहिँ पहिरोमा पर्नुभयो ।

पछिल्लो समय मानिसहरूले प्रचण्डमा परिवारवाद हावी भएको आरोप पनि लगाउने गर्छन्, लामो संगत गर्नुभएको नाताले तपाईंलाई कस्तो लाग्छ ?

पहिला अलिअलि हुँदैथ्यो, पछि छोरीलाई महारानी बनाउन थालेको दुनियाँले टिप्पणी गर्छन् । उहाँकै घरको त हैन, बडाऊ हो कि काकाको छोरो नारायण दाहाल राष्ट्रिय सभाका अध्यक्ष भएका छन् । उर्मिला अर्याल राष्ट्रियसभा अध्यक्ष बन्ने समाचारहरू पढिन्थ्यो । उहाँ राष्ट्रियसभा अध्यक्षका लागि सबल उम्मेदवार हुनुहुन्थ्यो । म उहाँलाई नजिकबाट चिन्छु । राम्रैै हुनेरहेछ भन्ने लागिराखेका बेलामा नारायण दाहाललाई बनाउनुभयो । हाहाहा…. यो त मैले भनिराख्नुपरेन, दुनियाँलाई अवगत छ ।

मैले ०७१ सालतिरको पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा मैले प्रश्न गरेको थिएँ, उहाँले जवाफ दिनुभएन । समाजवादी क्रान्तिका लागि कम्युनिस्ष्ट आन्दोलनको विरासतका हिसाबले तपाई लेनिन बन्ने क्षमता राख्नुहुन्छ र हामी सघाउँदैछौं तर तपाई लेनिन बन्ने कि रुमानियाको निकोलाई चाउचेस्कु बन्ने भनेर मैले प्रश्न गरेको थिएँ । चाउचेस्कु अन्त्यन्त बदनाम भए, अन्त्यमा उनको परिवारै विनास भयो । जनताले चाउचेस्कुलाई जुन कारवाही गरे, त्यो एकदमै स्वाभाविक थियो । प्रचण्ड अहिले चाउचेस्कुको प्रवृत्तिमा देखा पर्नुभएको छ । यसले उहाँकै व्यक्तिगत सवाललाई पनि हित गर्दैन । साम्यवादसम्म हिँडेको हो नि त । तर, दलाल पुँजीवादमै उहाँहरू फस्नुभयो ।

एमाले कांग्रेस बेठीक भए भनेर नै हामी माओवादी भएका हौं । तर, प्रचण्डको रवैया हेर्दाखेरि अब हामीलाई एउटा चुनौती छ, नेतृत्व भरोसालाग्दो के गरेर होला ? अब कसलाई, कसरी विश्वास गर्ने ? यो ठूलो चुनौती उहाँहरूले खडा गरिदिनुभएको छ । तर, त्यसको सामना गर्ने विचार निर्माणमा हामी सफलता प्राप्त गर्दैछौं ।

तपाई अहिले के गर्दै हुनुहुन्छ ? माओवादी छाडेपछि तेस्रो जनआन्दोलन संयोजन समिति बनाएर त्यसको संयोजक हुनुहुन्छ । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा हुनुहुन्छ । इलामको उपचुनावमा पहिचानवादीलाई भोट माग्नुभयो । भर्खरै पहिचानवादीहरूसँग मिलेर पाथीभरा (मुकुम्लुङ) पनि चढेर आउनुभयो । खासमा अब तपाई के गर्दै हुनुहुन्छ ?

माओवादी छोडिसकेपछि कतै स्तम्भकार बनेर विचार प्रवाह मात्रै गर्ने कि भन्ने सोचें । तर, केही युवा साथीहरू जुट्नुभो । त्यसपछि संगठन चाहियो, नेकपा माओवादी केन्द्र पुनर्गठन गरियो । निर्वाचन आयोगमा नाम, चुनाव चिन्ह सबै गर्दै ल्याइयो । म त हामीकहाँ माओवादी साथीहरू आए भन्ने लाग्थ्यो, तर धेरै मान्छे खाओवादी भइसकेका रहेछन् । ती आएर दुःख दिए । अर्कोतिर ओली र प्रचण्ड बाझेपछि सर्वोच्च अदालतले प्रचण्डको माओवादी केन्द्र ब्युँताइदियो । त्यसपछि हामीले नाम परिवर्तन गर्नुपर्ने भयो । नाम परिवर्तन गरेर ‘माओवादी कम्युनिस्ट पार्टी नेपाल’ बनाइयो । ०७८ सालदेखि त्यो पार्टीको जिम्मा रामरायण पालजीलाई गरिएको छ । म चाहिँ विचारको काम मात्रै गर्ने गरी संरक्षक मात्रै रहेँ ।

मलाई लागेको के हो भने त्यो पार्टी अब चल्दैन, तर समूहमा त त्यसो भन्न भएन । तर, मैले ०८० साल कात्तिकमा त्यो संरक्षक पदबाट पनि राजीनामा दिएँ । राजीनामा गरिसकेपछि म पूर्वको पहिचान आन्दोलनमा व्यस्त छु ।

प्रदेश १ को पुनःनामांकन संघर्ष समितिको ०८० साल पुसको धरानको बैठकमा राजनीतिक पहल गर्नुप¥यो भनिसकेपछि पहिलो र दोस्रो जनआन्दोलनका उपलब्धीहरूको रक्षामा दृढ रहँदै तेस्रो जनआन्दोलनको तयारी गरौं भनेर ०८० साल माघमा काठमाडौंमा भेला गरियो । म त्यसको संयोजक छु । अहिले मेरो संस्थागत परिचय यही तेस्रो जनआन्दोलन संयोजन समिति हो ।

यता जसपा विभाजन भइसकेपछि डा. महेन्द्र लावतीजीहरूले पहिचानवादी मोर्चा निर्माण गर्नुभएको छ । हाम्रोवीचमा सहकार्य गर्दै राजनीतिक शक्ति निर्माणको पहल गरौं भनेर ०८१ साल जेठ २२ गते एएटा संक्षिप्त अपील जारी गरेका छौं । धेरै कुराचाहिँ छलफल गर्न बाँकी छ । यसबाट नयाँ पहल शुरु गरौं भनेर लागेका छौं ।

तपाईं माओवादी सरकारमा हुँदा पर्यटन मन्त्री बन्नुभयो । मन्त्री हुँदाको अनुभव चाहिँ के छ ?

मन्त्री भइयो । मन्त्री हुँदा कस्तो देखियो भने भ्रष्टाचार गर्ने प्रक्रिया अथवा वातावरण दुईवटा रहेछन् । एउटा नियतवश मन्त्रीहरूले आफ्नो योजनामा भ्रष्टाचार गर्ने, अर्को भ्रष्टाचार नगर्ने मन्त्रीलाई साथीभाइ इष्टमित्र पार्टी कार्यकर्ताले जबरजस्ती भ्रष्टाचार गर्न लगाउँछन् । मन्त्री भएपछि थुप्रैसँग सम्बन्ध विच्छेद गर्नुपर्छ । तलबमात्रै खाएपछि परबाट हेर्दा मन्त्री भएको हो, भइएको हो तर तलबमात्रै खाइयो ।

बेलाबखतको व्यवहारिक कठिनाई बाहेक मलाई गौरब छ । साँचो अर्थमा छानविन गर्ने हो भने माओवादीका अधिकांश सांसदहरू र सबैजस्तो मन्त्रीहरू भ्रषटाचारमा जेल पर्नुहुन्छ । त्यसमा म स्वतन्त्र र ढुक्क छु । तर, आग्रह पूर्वाग्रह र षड्यन्त्रमा मुद्दा मलाई पनि लगाउन सक्छन् ।

माओवादी छाडेर एमालेमा पुगेका बादल, टोपबहादुर जस्ता पात्रहरूका बारेमा तपाइको टिप्पणी के छ ?

यसमा म केही भन्दिनँ । उहाँहरूलाई एमालेमा पुर्‍याउने काम प्रचण्डले नै गर्नुभएको हो । टोपबहादुरजी जेल पर्नुभएको छ । कहिलेकाहीँ छक्क लाग्छ । बादल प्रचण्डहरू जहाँ हुनुहुन्छ, यो भन्दा राजनीतिक काम छाडिदिँदाखेरि सान्दर्भिक हुन्थ्यो भन्ने लाग्छ, तर मैले भनेर हुने कुरा भएन ।

अब हिजोका नेताहरूलाई बढी टिप्पणी गर्नुभन्दा पनि हाम्रो पुस्ताले कसरी यो चक्रब्युह तोड्ने ? यो जञ्जाल कसरी छिचोल्ने भनेर सोच्नुपर्छ भन्ने लाग्छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ३४ बजे

एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दिउँसो पहिलो

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ

कर्णालीमा धान उत्पादन बढ्यो

सुर्खेत– कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

काठमाडौं– आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस। संयुक्त राष्ट्र