जीवन भट्टराई : छायामा परेका अब्बल प्रतिभा ! | Khabarhub Khabarhub

कला

जीवन भट्टराई : छायामा परेका अब्बल प्रतिभा !


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जीवन भट्टराई पछिल्लो समय फिल्ममा रुचाइएका कलाकार हुन् । सानो भूमिकामा पनि आफ्नो अब्बल अभिनय क्षमता पर्दामा देखाउन सक्ने कमै कलाकार मध्येमा उनी पर्छन् ।

जीवन म्युजिक भिडियोमा सफलताको स्वाद चाख्न सफल नायक हुन् । १५ भन्दा बढी फिल्ममा काम गरे पनि उनी ठूलो पर्दामा भने जम्न सकेका छैनन् । यद्यपि सहायक भूमिकाका लागि उनी रुचाइएका कलाकार हुन् ।

उनको अभिनय क्षमता बुझेका मेकरहरू भन्छन्, ‘जीवनको पूरा क्षमता पर्दामा पोखिन बाँकी छ । त्यो समय धेरै टाढा छैन ।’

जीवन हेटौँडामा स्नातक गरेर काठमाडौं छिरेका हुन् । त्यस बेलासम्म उनलाई कलाकार बन्ने सोच थिएन । तर, संयोगले उनी रङ्गमञ्चमा उक्लिए, त्यसपछि भने उनी अभियनबाट टाढा बस्न सकेनन् ।

मण्डला थिएटर हुँदै उनी ठूलो पर्दामा प्रवेश गरे । एक दशकको दौरान उनले चार दर्जन म्युजिक भिडियो र डेढ दर्जन फिल्ममा अभिनय गरेका छन् । सानै भूमिकामा उनले एक बलिउड फिल्ममा समेत काम गरेका छन् ।

हेटौँडामा बाल्यकाल

पितासँग जीवन ।

बुवा सेनाको जागिर दौरान काठमाडौंमै भएकाले जीवन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जन्मिए । तर हुर्काइ भने यता हुन पाएन । बुवाको सरुवासँगै तीन वर्षदेखि उनको लालनपालन हेटौँडस्थित आफ्नै घरमा भयो ।

भट्टराई दम्पतीका दुई छोरामध्ये जीवन कान्छा हुन् । बुवाको नोकरी भएकाले सहज बाल्यकाल बिताएको उनलाई अनुभूति हुन्छ । भन्छन्, ‘दुई छाक खान र पढ्न समस्या भएन । बुवाआमाले पूरा गर्न नसक्ने आकाङ्क्षा थिएनन् ।’

विद्यार्थी जीवनमा धेरै उतारचढाव भोग्नुपरेको उनलाई थाहा छैन । स्कूल रहँदासम्म आफ्नो जीवन सापेक्ष रहेको उनी स्मरण गर्छन् ।

‘स्कूल जाने, घर फर्केने, ५ बजेपछि घर नजिककै ग्राउन्डमा फूटबल खेल्ने गरिन्थ्यो । दैनिकी नै त्यही थियो,’ उनी भन्छन्, ‘मेरो साथीहरू पनि धेरै थिएनन् । अहिले महसुस हुन्छ– मेरो बाल्यका रोचक रहेनछ ।’

यद्यपि आफ्नो बाल मस्तिष्क टेलिभिजन र कविता लेखनमा अलि बढी रमाएको उनलाई टड्कारो याद छ । भन्छन्, ‘म पाँच कथा पढ्दादेखि नै कविता लेख्थेँ ।’

कविता प्रतियोगितामा उनी थुप्रै पटक प्रथम भएका छन् । ‘स्कूलभित्र कि पहिलो, कि त दोस्रो हुन्थेँ । नौ कक्षामा पढ्दा स्कूललाई प्रतिनिधित्व गरेर जिल्लास्तरीय प्रतियोगितामा जाँदा पहिलो भएको थिएँ,’ उनी भन्छन्, ‘१० मा पढ्दा पहिलो–दोस्रो नछुट्याइ उत्कृष्ट पाँचमा चयन भएको थिएँ ।’

टेलिभिजनको कुरा गर्दा उनलाई स्कूल पढ्दा शनिबार फिल्म र ‘चन्द्रकान्त’ सिरियल हरेको स्मरण हुन्छ । आठमा पढ्दा घरमा सादा टेलिभिजन भित्रनुभन्दा पहिला छिमेकमा गएर चन्द्रकान्त हरेको स्मरणलाई उनी रोचक मान्छन् ।

‘आइतबार चन्द्रकान्त रिपिट दिन्थ्यो, म साढे बिहान साढे ९ बजेसम्म हेरेर स्कूल जान्थेँ । कलाकार बन्न रहेछ क्यारे ! अलि बढी नै टीभीमा रमाउँथेँ,’ उनी भन्छन्, ‘फिल्म चाहिँ शनिबार टीभीमा हेर्ने हो । साथीहरू सीडी किनेर पनि हेर्थे । कम साथी भएकाले म त्यो जोनमै परिनँ ।’

स्कूलदेखि नै नाटकमा

आठ कक्षा पढ्दा घरमा टेलिभिजन आएपछि छिमेकमा धाउनुपर्ने बाध्यता हट्यो । यससँगै आफूमा नजानिँदो तवरले कलाकारिताको मोह पसेको जीवनलाई अहिले भान हुन्छ ।

उनी भन्छन्, ‘कलाकार नै बन्छु भन्ने इच्छा त थिएन, तर क्यारिकेचर गर्थेँ । दशैँतिहार र स्कूलका कार्यक्रममा क्यारिकेचर पनि गर्थेँ ।’

यद्यपि तत्कालीन समयमा क्यारिकेचर, टीभी हेर्ने र कविता लेख्ने उनका रुचि र मनोरञ्जनका माध्यममात्रै थिए । यी सँग सम्बन्धित क्षेत्रमा पेसागत रूपले जोडिने विषय टाढाको कुरा थियो ।

०६० सालमा जीवनले पहिलोपटक फरक विषयको अनुभव गर्न पाए । त्यो थियो– सडक नाटक !

जीवनका दाइ चिरञ्जीवी भट्टराई त्यसबेला रङ्गकर्ममा थिए । उनैले सडक नाटक लिएर जाँदा जीवनले नाटकमा पहिलोपटक अभिनय गरेका हुन् ।

‘कक्षा नौमा पढ्थेँ । दाइले चेलिबेटी बेचबिखनविरुद्ध सचेतना फैलाउने नाटक गर्नुभएको थियो,’ उनी भन्छन्, ‘मैले पनि सानो भूमिका गरेको थिएँ । धेरै सम्झना त छैन, जे होस् मेरो पहिलो नाटक त्यही हो ।’

दाइ चिरञ्जीवीसँग जीवन ।

दाइले बनाएको माहोल

०६१ सालमा एसएलसी दिँदासम्म जीवनसँग भविष्यको ठोस लक्ष्य थिएन । उनले व्यवस्थापन लिएर प्लस टू उतै पढे । प्लस टूका लागि हेटौँडा हब बनिसकेकाले उनी काठमाडौं छिर्न चाहेनन् ।

यही दौरान उनलाई कलाकारितामा मोह बढ्न शुरू भएको हो । कारण थियो– दाइले बनाएको माहोल ।

‘दाइका साथीहरू सबै रङ्गमञ्चका हुनुहुन्थ्यो । उहाँहरू घरमा पनि आउनुहुन्थ्यो । दाइले फिल्मतिर पनि काम गर्नुभएको थियो, तर बढी कुरा नाटककै हुन्थ्यो,’ उनी भन्छन्, ‘दाइहरूको कुरा सुन्दा सुन्दा मलाई पनि अब फिल्म क्षेत्रमै जानुपर्छ कि जस्तो लाग्न लाग्यो ।’

दाइका कारण जीवनले रङ्गमञ्चका कालकार र त्यहाँका किस्सा सुन्न मात्रै होइन, सर्ट मुभीमा अभिनय पनि गर्न पाए ।

‘दाइहरू सर्ट फिल्म खिच्न हेटौँडा जानुभएको थियो । एउटा सानो भूमिका मैले पनि गर्न पाएँ,’ उनी भन्छन्, ‘दाइहरूले राम्रो गर्दो रहेछस् भन्नुभयो । १२ पढ्दै गरेको मलाई अभिनयबारे के थाहा !’

बिडम्बना भनौं वा संयोग त्यो सर्ट मुभी अहिलेसम्म सार्वजनिक भएको छैन । विडम्बना नभनौं– भिडियो सार्वजनिक भएन । संयोग नभनौं– उनले त्यही प्रोजेक्टबाट रङ्गकर्मी गोपाल अर्याललाई चिने । अर्याल जीवनकै दाइका साथी हुन् ।

अझ भनौं– जीवनको जीवनमा अभिनय पेसा बनाउने प्रमुख पात्र उनै हुन् ।

जागिर गर्न काठमाडौं

दाइका कारण घरमा कलाकारिताको छुट्टै माहोल थियो । तिनै कुराले जीवनलाई फिल्म क्षेत्रमा आकर्षण गरेको थियो, तर उनलाई अभिनय भन्दा पनि क्यामेरा चलाउने शोख थियो ।

प्लस टू पछि क्यामेरासम्बन्धी कोर्स गर्न उनले काठमाडौं आउने योजना पनि बताए । तर, आर्थिक कारण बाधा बन्यो ।

भन्छन्, ‘ओस्कर कलेजमा पढाइ हुन्छ भन्ने सुनेको थिएँ । त्यसबेला पैसा नै बाधक बन्यो । आउने वातावरण बनेन । अनि उतै ब्याच्लर गरेँ ।’
व्यवस्थापनमा स्नातक गरेपछि जीवन ०७० सालमा काठमाडौं आए । ‘क’ वर्गको ठेकेदार कम्पनीमा जागिर गर्न उनी आएका थिए ।

भन्छन्, ‘त्यसबेला काठमाडौं आउँदा मैले केही सोचेको थिइनँ । कि जागिर खाने हो, कि त विदेश जाने हो भन्ने थियो ।’

जीवनका दाइ फिल्म क्षेत्रको आम्दानीबाट असन्तुष्ट भएर विदेश गइसकेका थिए । यता आएपछि जीवनको बसाइ काकाको घर जोरपाटीमा भयो । जोरपाटी र कालिकास्थानको अफिस केही महिना ओहोरदोहर गरेपछि उनको मन अडिएन । पूरानो इच्छा क्यामेरा सिक्न निधो गरे । इन्स्टिच्यूट चहार्न थाले । तर, खोजेजस्तो इन्स्टिच्यूट पाएनन् ।

भन्छन्, ‘दुई–तीन ठाउँ बुझ्न गएँ । तिमीले सोचेजस्तो फिल्म मेकिङ लेभलको त यहाँ सिकाइँदैन भन्यो । अनि फेरि चुपचाप जागिर गर्न थालेँ ।’
फेरि गोपाल अर्यालसँग भेट !

यो ०७० को अन्तिम तिरको कुरा हो । जीवनलाई रङ्गकर्मी गोपाल अर्यालको फोन आयो । सो फोनकलमा जीवनलाई गोपालले भनेका थिए रे, ‘पहिला तिमीमा अभिनय इच्छा थियो जस्तो लागेको थियो । एकपटक आएर नाटक कसरी बन्छ हेर, मन भए गर ।’

जीवन हेर्नकै लागि नाटकको रिहर्सल स्थान स्वयम्भूको ताण्डव थिएटर पुगे । नाटकको वर्कसप हेरे । केही दिन लगातार धाउन थालेपछि उनमा पनि नाटक गर्ने सोच पलायो ।

‘त्यता जान थालेको साताभन्दा बढी भएको थियो । उहाँहरूले रिहर्सल गरेको हेर्दा म पनि गर्छु जस्तो लाग्यो,’ उनी भन्छन्, ‘गर्नुपर्ने काम त यो पो रहेछ भन्ने भयो । त्यसपछि म पनि टिममा जोडिएँ ।’

सो नाटकको नाम शिशिर वसन्त थियो । यसैले जीवनलाई रङ्गमञ्चमा पहिलोपटक उभ्याएको हो ।

नाटक खेल्ने उनको निर्णय सामान्य थिएन । त्यस समयमा काठमाडौंमा टिकाउने जागिर छोड्नु उनका लागि कठोर निर्णय नै थियो ।
‘अब जागिर छोडेपछि काकाको घरमा बस्ने कुरा भएन । गोपाल दाइसँगै बस्न थालेँ,’ उनी भन्छन् ।

केही महिनाको तयारीपछि नाटक ‘थिएटर भिलेज’ मा मञ्चन भयो । पसलेको सानो भूमिका गरे पनि आफूले राम्रो प्रतिक्रिया पाएको उनी सम्झन्छन् ।

‘पहिलोपटक नै राम्रो भयो । मलाई त्यसले अभिनयमा झन् ऊर्जा थप्यो,’ उनी स्मरण गर्छन् ।

शिशिर वसन्तले जीवनलाई नाटकको एउटा सर्कलसँग परिचित गरायो । गोपाल अर्यालको सङ्गतले केही सिनियरसँग जमघट भइरह्यो । सोहीकारण उनले फाट्टफुट्ट रेडियो र सडक नाटकमा काम पाइरहे ।

‘दाइहरूसँगै हिँड्ने म ! उहाँहरूले रेडियो नाटक गर्ने ! मलाई पनि सानो रोल दिनुहुन्थ्यो । चिया खर्च भइहाल्थ्यो,’ उनी भन्छन्, ‘सडक नाटकबाट त राम्रै आम्दानी हुन्थ्यो । ५–७ हजार रुपैयाँ पाइन्थ्यो । त्यसबेला राम्रो कमाइ थियो ।’

दाइको सल्लाहले ‘मण्डला’

जीवनले एक नाटक र केही रेडियो नाटकमा काम त गरे, तर कलाकारिता यात्रा कसरी अघि बढाउने भेउ पाएका थिएनन् । उनले म्युजिक भिडियोमा सानो भूमिकामा अभिनय गर्ने मौका पाए ।

सो म्युजिक भिडियो थियो– नाइट ब्यान्डको सुनको जुत्ता । जसमा उनको एकमात्र सम्वाद थियो । जे होस्– त्यो अवसर उनलाई आफ्नै दाइ (चिरञ्जीवी)ले मिलाएका थिए ।

‘दाइले विदेशबाट फर्किएर भिडियो गर्ने योजना बनाउनुभएछ । दाइको साथी विभूषण बस्नेत र पूजा गुरुङ भिडियोको निर्देशक हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘भाइ यतै संघर्ष गर्दैछ, केही सहयोग होस् न भनेर मलाई अवसर मिलाइदिनुभएको हो ।’

उनलाई दाइले अवसर मात्रै मिलाएनन्, अभिनय नै गर्ने भए मण्डला थिएटरमा जान सल्लाह दिए ।

‘अभिनय नै गर्ने भए पढ्नुपर्छ । थिएटर गयो भने सर्कलसँग चिनजान हुन्छ । काम पाउन पनि सजिलो हुन्छ । काम पनि सिकिन्छ भनेर दाइले सल्लाह दिनुभयो,’ उनी भन्छन्, ‘मण्डलामा भर्ना हुन पैसा पनि दिनुभयो । चौथो ब्याचमा भर्ना भएँ ।’

रङ्गमञ्च यात्रा

मण्डलामा जीवनको ब्याचलाई रङ्गकर्मी राजन खतिवडा, नायक दयाहाङ राई र बुद्धि तामाङले दीक्षित गरेका हुन् । त्यससँगै जीवनको अभिनयको यात्राले गति लिएको हो ।

पहिलाको चिनजानले मण्डलामा भर्ना भएपछि पनि बाहिरी नाटकमा जीवनले अभिनय गर्न पाइरेहका थिए । यो कमै कलाकारले पाउने सौभाग्य हो ।

‘पहिलो नाटक शिशिर वसन्त गर्दा दिलीप रानाभाटसँग परिचय भएको थियो । उहाँले मेरो काम मन पराएपछि नाटक सिंहदरबारको टेन्डरमा जोडिएँ,’ उनी भन्छन्, ‘०७२ वैशाख ११ गते मञ्चन भयो । १२ गते भूकम्प गयो ।’

भूकम्पका कारण शिशिर वसन्तको पुनः मञ्चन रोकिए पनि थप अर्को अवसर मिलेको जीवन बताउँछन् । ती अवसर थियो– भूकम्पसम्बन्धी सडक नाटक ।

‘भूकम्पले मण्डलाको कक्षा पनि रोकियो । यता मञ्चन भएको नाटकको पनि नियमित शो भएन । तर, एक संस्थाले गोरखामा सडक नाटक लिएर जाने भयो,’ उनी भन्छन्, ‘त्यो टिममा म पनि जोडिएँ । १५ दिन रिहर्सल गरेर गोरखा गइयो, करिब एक महिना नाटक गरियो ।’

उनले नाटकबाट कमाएको सबैभन्दा मोटो रकम नै त्यहीबाट हो । भन्छन्, ‘४५ हजार रुपैयाँ आएको थियो ।’

फिल्ममा फड्को

गोर्खाबाट फर्किएपछि मण्डलको ‘स्टुडेन्ड प्रोडक्सन’को नाटक सिरुमा रानी मञ्चन भयो । त्यसमा उनी प्रमुखमध्ये एक भूमिकामा थिए ।
भन्छन्, ‘मैले निर्वाह गरेको भूमिका सहानुभूति पाउने खालको थियो । राम्रो पनि भयो । राम्रै प्रतिक्रिया पाएँ ।’

त्यसपछि भने जीवन खाली बस्नुपरेन । उनलाई कामको प्रस्ताव आइरह्यो । मण्डलाको पढाइ सकिएपछि उनलाई प्रस्ताव आएको पहिलो काम थियो– नाटक च्यातिएको पर्दा

सो नाटकका निर्देशक थिए– सुदाम सिके । जुन नाटकमा संलग्नताबारे उनी भन्छन्, ‘पहिला पनि उहाँले मेरो नाटक हेर्नुभएको रहेछ । मण्डलापछि त रङ्गकर्मीमाझ राम्रै अभिनय गर्छ भन्ने छवि बनिसकेको थियो । त्यही भएर उहाँले मलाई अवसर दिएजस्तो लाग्छ ।’

सो नाटक लगत्तै जीवनले रङ्गमञ्चबाट ठूलो पर्दामा फड्को मार्न बाटो भेटे । जुन बाटो देखाइदिने व्यक्ति हुन्– अभिषेक सुवेदी । जोसँग नाइट ब्यान्डको गीतमा काम गर्दा उनको दोस्ती बनेको थियो ।

‘अभिषेकले फिल्म बिजुली मेसिनमा अडिसन खुलेको छ, म पनि छु, इच्छा हो भने आवेदन दिनू भन्यो,’ उनी भन्छन्, ‘मनमा त फिल्म नै गर्ने हो भन्ने थियो । गएँ, सेलेक्ट भएँ ।’

बिजुली मेसिनमा जीवन सहायक निर्देशन र कलाकारका रूपमा अनुबन्धित भएका थिए ।

जीवनको ठूलो पर्दामा डेब्यू रहेको सो फिल्म ०७३ साउनमा प्रदर्शनमा आएको थियो ।

फिल्ममै व्यस्त

थिएटर पृष्ठभूमिबाट आएर ठूलो पर्दामा देखिएपछि जीवनलाई अन्य फिल्ममा काम गर्न सहज भयो ।

उनले अभिनय गरेको दोस्रो फिल्म साम्तेन भुटियाको निर्देशन रहेको सुस्केरा हो । जसमा उनी सहायक निर्देशकका रूपमा अनुबन्ध भएका थिए, त्यसमा पनि अभिनय अवसर पाए ।

उनी भन्छन् ‘इच्छा त पर्दामा देखिनै नै थियो । छायाङ्कनकै क्रममा एउटा क्यारेक्टर चाहियो, त्यसमा पनि गरेँ ।’

उनको कलाकारिता यात्रामा तात्विक परिवर्तन ल्याउने फिल्म झ्यानाकुटी हो । जसमा उनी नायक सौगात मल्लको ‘अपोटिज’मा देखिए । तर, यस फिल्मका लागि उनले दुईपटक अडिसन दिएका थिए ।

बिजुली मेसिनमा काम गर्दा एउटा साथीसँग चिनजान भएको थियो । अशेष लुइटेलल झ्यानाकुटी फिल्ममा मुख्य सहायक निर्देशन गर्नेभएछ । उसैले सौगात दाइको अपोजिटमा राम्रो भूमिका छ भनेपछि अडिशन दिन गएको थिएँ,’ उनी भन्छन्, ‘त्यसबेला नाटक एक बोली एक दामको मा बूढो मान्छेको भूमिका गरेको थिएँ । अडिसनमा त्यही भूमिका हावी भएछ । निर्देशक शिमोस सुनुवारले हामीले खोजेजस्तो भेटेनौँ भन्नुभयो ।’

अडिसनबाट अस्वीकार नै नभए पनि जीवनलाई त्यस फिल्ममा काम पाउने इच्छा मरेको थियो । तर, निर्देशक सुनुवारले उनको सो नाटक हेरेपछि पुनः अडिसनका लागि बोलाए ।

‘शिमोस दाइ नाटक हेर्न आउनुभएछ । मेरो काम राम्रो लागेछ । उहाँलाई मैले अडिसन दिँदा त्यही नाटकका पात्र हावी भएको जस्तो महसुस भएछ । फेरि अडिसनमा बोलाउनुभयो,’ उनी भन्छन्, ‘दोस्रो पटकको अडिसन दिएपछि चाहिँ बेलुकी नै सम्झौताका लागि बोलाउनुभयो ।’

सो फिल्ममा जीवनको भूमिका सशक्त र स्क्रिन टाइम पनि धेरै छ । सोही फिल्मले आफूलाई कलाकारका रूपमा स्थापित गरेको जीवनको बुझाइ छ ।

भन्छन्, ‘यो फिल्मसम्म मैले अडिसन नै दिनुपर्थ्यो । यसबाट चाहिँ त्यो बाध्यता हट्यो । एक खालको भूमिकाका लागि अडिसन दिनु नपर्ने भयो ।’

म्युजिक भिडियो

फिल्मको आम्दानी जीवन एकलका लागि पुग्ने थियो । विवाह भएसँगै लकडाउनले फिल्मको काम पातालिँदै गयो । उनलाई काम आवश्यक थियो ।

उनकी श्रीमती लक्ष्मी बर्देबाको म्युजिक भिडियो निर्देशन र अभिनयमा व्यस्तता बढिसकेको थियो । लक्ष्मीका केही प्रोजेक्ट सफल भइसकेका थिए ।

लक्ष्मीलाई आएको कम बजेटको एउटा प्रोजेक्ट नै जीवनका लागि म्युजिक भिडियोमा प्रवेश गर्ने बाटो बन्यो ।

‘फिल्मको काम ठप्पजस्तै थियो । लक्ष्मीलाई थोरै बजेटमा काम सक्न प्रस्ताव आएछ,’ उनी भन्छन्, ‘त्यो काम सक्नुपर्ने भएकाले मैले म्युजिक भिडियो गरेँ ।’

सो म्युजिक भिडियो खासै नचलेपनि जीवन–लक्ष्मीको जोडी दर्शकले मन पराए । उनीहरूलाई म्युजिक भिडियोको काम आउन थाल्यो । चौथो म्युजिक भिडियो जेल पनि सहुँला हिट भएपछि यो जोडीको व्यस्तता थप बढ्यो ।

‘त्यसपछि यति काम गरियो कि छोटो समयमै ४० भन्दा बढी म्युजिक भिडियो गरेँ । प्रायःमा हामी लक्ष्मी र म नै जोडी छौं,’ उनी भन्छन्, ‘लकडाउनले फिल्म नपाएको बेला त्यसैले टिकायो । टिकायो मात्रै होइन, राम्रो पैसा कमाउने अवसर दियो ।’

बलिउडसम्म !

जीवनले अहिलेसम्म १५ भन्दा बढी फिल्म र ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरेका छन् ।

बलिउड नायक अर्जुन कपुर स्टारर फिल्म इन्डियाज मोस्ट वान्टेडमा पनि अभिनय गरेका छन् ।

‘नेपालमै अडिसन दिएर त्यो फिल्म गरेको हो । पाँच दिन पोखरा र दुई दिन भारतमा सुटिङ भएको थियो,’ सो फिल्मबारे उनी भन्छन्, ‘एडिटिङमा मेरो अंश चाहिँ अलि काटिएछ, तर पनि बलिउड फिल्मको अनुभव भयो ।’

जीवनको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म मोदीबेनी हो । अहिले उनी एक ऐतिहासिक सन्दर्भको फिल्म तयारीमा छन् ।

भन्छन्, ‘नाम घोषणा भएको छैन । तर मैले ज्यान घटाउनुपर्ने छ । त्यसको तयारीमा छु ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : १२ बजे

रवि लामिछानेको बयान आज पनि

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनः स्थापना केन्द्र स्थापना

कटारी – कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा