पर्वत– पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ । १० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ ।
जलजला–६ शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार चार सय ७० किलोग्राम बीउ आलु उक्त स्थानीय तहले खरिद गरेको हो । बीउ आलु बिक्री गरेका किसानलाई रु १० लाख ७५ हजार चार सय ७० भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमले जानकारी दिए ।
प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम मूलबीउ प्रतिकिलो रु ३५ का दरले रु ७९ हजार चार सय ७० मा खरिद गरेको छ । नमूना र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार दुई सय किलोग्राम पहिलो पुस्ताको बीउ रु नौ लाख ६ हजारमा खरिद गरेको हो ।
बीउ उत्पादन गर्ने सबै किसानलाई जलजलाले नगद उपलब्ध गराएको छ । किसानबाट खरिद गरेको बीउ पोखरामा रहेको चिस्यानगृहमा भण्डारण गरिएको छ । बीउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले किसानले उत्पादन गरेको आलुको मूल बीउ पनि खरिद गरिदिएको हो ।
गाउँपालिकाले किसानबाट बर्खायाममा खरिद गर्ने बीउ चिस्यानगृहमा भण्डारण गर्ने र हिउँदमा उनीलाई नै बिक्री गर्ने गरेको छ । आलुको बीउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आव २०८०-८१ मा रु २९ लाख ७१ हजार आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बीउ बेचेर भएको हो ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन दुई वर्षयता पिविएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएको थियो ।
गाउँपालिकाले समूहमार्फत खरिद गरेको बीउ आलु पोखराको शीतभण्डारमा भण्डारण गरी सिजनमा गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाइ छ ।
जलजला आलु उत्पादनका लागि उर्वर मानिए पनि विगतमा उन्नत जातको आलुको बीउ समयमै नपाउँदा निराश हुने किसानको समस्या समाधान भएको प्रगतिशील बीउ उत्पादन समूहका तारानाथ भुसालले बताए ।
यसैबीच गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा ६६ हजार ७० किलो उन्नत बीउ बिक्री गरी रु २९ लाख ७१ हजार राजस्व संकलन गरेको छ ।
गाउँपालिकाले किसानबाट खरिद गरेको आलुको बीउ ५० प्रतिशत अनुदानमा किसान र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायत जिल्लाका किसानलाई ३५ हजार नौ सय ७७ किलो बीउ बिक्री गरी रु २१ लाख ९८ हजार आम्दानी गरेको हो ।
प्रतिक्रिया