काठमाडौं– ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
शुक्रबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै चर्च ब्वाइजले साउन २९ गते दशरथ रंगशालामा हुने उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
उक्त खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको जनाएको छ । टोलीको कप्तानी अनन्त तामाङ र उपकप्ताको जिम्मेवारी एरिक विष्टले पाएको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।
उनले टिमप्रति सन्तुष्ट रहेको र राम्रो नजिता आउने बताए । छोटो समयमा पनि टीमले तयारी गरेको र यसबीचमा भएको आन्तरिक मैत्रीपूर्ण खेल राम्रो देखिएको उनको भनाइ छ ।
महर्जनले भुटानी टोली पारो एफसीको टिममा विदेशी खेलाडी धेरै भए पनि चर्च ब्वाइजले होम ग्राउन्डका फाइदा उठाउने विश्वास व्यक्त गरे ।
उक्त खेलका लागि साधारण प्याराफिट तर्फको टिकट रु दुई सय र भिआइपी प्याराफिटको टिकट ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस खेलसंगै दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता पनि फर्किएको छ । प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ ।
प्रतिक्रिया