ब्रेकिङ स्टोरी

संसदीय समितिले लिन थाल्यो ठगीमा संलग्न सहकारी सञ्चालकहरूको बयान

By खबरहब

August 09, 2024

काठमाडौं- सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरूसँग बयान लिन सुरु गरिएको छ ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गत जेठ १५ गते नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित संसदीय समितिले शुक्रबारदेखि बयान लिन थालेको हो ।

समिति सदस्य सरिता भुसालका अनुसार शुक्रबार गौतम श्री बहुउद्देश्य सहकारी संस्था लिमिटेड, लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेड र गोरखा बचत सहकारी संस्थासँग जोडिएका विभिन्न व्यक्तिहरूको बयान थालिएको  हो ।

एमाले सांसद थापाको संयोजकत्वमा बनेको ७ सदस्यीय छानबिन समितिले अन्य छानबिन प्रक्रिया सकिसकेपछि सञ्चालहरूलाई बयान लिन थालेको हो ।

बयान लिनुअघि शुक्रबार सहकारी छानबिन विशेष समितिको बैठक सिंहदरबारमा बसेको थियो ।

तीन महिनाको समय पाएको समितिले प्रमाणहरू जुटाउने र अन्य निकायबाट प्रमाण लिने काम सकेको छ । समयसीमा भदौ १५ सम्ममात्र रहेकाले समितिले काम तीव्र गतिमा अघि बढाइरहेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताएका छन्‌ ।

समितिले तेस्रो महिनामा सहकारी रकम अपचलनमा जोडिएका र सहकारीको रकम ठगेका सञ्चालक समितिका पदाधिकारी तथा विभिन्न सहकारीको रकम लिएर भागेका व्यक्तिहरूसँग बयानका लागि प्रश्नहरू तयार पारेको थियो। त्यसपछि शुक्रबारदेखि बयान थालिएको हो ।

समितिको ३१औँ बैठकसम्म आइपुग्दा विभिन्न प्रमाण र तथ्यका आधारमा फेला परेका आरोपितहरूसँग बयान थालिएको हो । समितिले जेलमा भएका व्यक्तिहरूसँग पनि बयान लिँदैछ । काठमाडौं र कास्कीसहितका जेलमा सहकारी ठगीमा संलग्नहरू सजाय काटिरहेका छन् ।

संयोजक थापाले २९ वटा सहकारीमध्ये क्रमैसँग आरोपितहरूको बयान लिन सुरु गरिने बताएका थिए । यस प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि समितिले बयान लिने छ । उनी पोखरा र बुटवलका सहकारीबाट भएको अर्बौँ रुपैयाँ हिनामिना प्रकरणमा जोडिएका छन् ।

छानबिन समितिले यसअघि नै सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको थियो । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक थापाले जानकारी दिए ।

अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी मलेसियामा लुकेर बसेको अनुमान छ । उनीसहित १८ जनालाई पनि नेपाल ल्याउनुपर्ने गरी सरकारी निकायलाई समितिले निर्देशन दिइसकेको छ ।

यी हुन् छानबिनमा तानिएका सहकारी

अनुसूची १ मा राखिएका समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्था :

१ ओरेन्टल को–अपरेटिभ लिमिटेड २ स्ट्याण्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ३ प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ ४ प्रभु बचत तथा ऋण सहकारी संस्था ५ कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ६ कन्जुमर बचत तथा ऋण सहकारी संस्था ७ कुवेर बचत तथा ऋण सहकारी संस्था ८ चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ९ भेगास बचत तथा ऋण सहकारी संस्था १० स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड ११ सोसाइटल बचत तथा ऋण सहकारी संस्था १२ लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था १३ पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड १४ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १५ तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड १६ हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड १७ कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था १८ कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड १९ लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था २० गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अनुसूची २ मा राखिएका राखिएका समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्था :

१. आइडियल यमुना बहुउद्देश्यी संस्था २. इमेज बचत तथा ऋण सहकारी संस्था लि ३. सहारा बचत तथा ऋण सहकारी, ४. समानता वचत तथा ऋण सहकारी ५. सानो पाइला वचत तथा ऋण सहकारी ६. सुप्रिम बचत तथा ऋण सहकारी, ७. सूर्यदर्शन बचत तथा ऋण सहकारी, ८. सुमेरू बचत तथा ऋण सहकारी ९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी