नेताकै चालढाल ठीक छैन, संविधानलाई दोष ? | Khabarhub Khabarhub

संविधान संशोधन बहस

नेताकै चालढाल ठीक छैन, संविधानलाई दोष ?



आजको २१ औँ शताब्दीमा कुनै पनि देशको संविधान न कुरान हो, न बाइबल हो, न वेद हो । यो गतिशील, समकालीन परिस्थितिमा प्रकट भइरहने राजनीतिलाई परिचालन गर्ने राज्यको दस्तावेज हो । राजनीतिक रुपले भइरहने उथलपुथल, घटना, परिघटनाले संविधानलाई बेलाबखत परिवर्तन गरिरहन्छ ।

सिद्धान्ततः संविधान संशोधनको प्रसंग चल्नुलाई अस्वाभाविक मान्न सकिँदैन । तर, संविधान संशोधनको प्रसंगमा दुई दलका केही साथीहरु बसेर राति १२ बजे संविधान संशोधन गर्ने भनेर एउटा बुँदामा सहमति गर्नुभयो । त्यसलाई झण्डै एक महिनापछि सार्वजनिक गर्दा हामीले सुन्यौँ ।

तर, के विषयमा संशोधन गर्ने भन्ने अहिले पनि सार्वजनिक भएको छैन । संविधानले के विषयमा कार्यसम्पादन गर्न छेक्यो ? के विषयमा व्यवधान भयो ? कुन बुँदा, के विषय हामीले परिवर्तन गर्नुपर्ने ? यो स्पष्ट छैन ।

त्यसकारण, यो संविधान संशोधनको कुरो प्रधानमन्त्री हटाउने तुरुप हो कि ? प्रधानमन्त्री हटाउने तुरुप हो भने यो गर्नैपर्ने थिएन । दुई दल मिल्दा त यसै पनि प्रधानमन्त्री प्राप्त हुन्थ्यो । अथवा, सहमतिकै आधारमा पनि जुन दलसँग मिल्दा पनि प्रधानमन्त्री प्राप्ति हुन्थ्यो ।

के साँच्चै संविधान संशोधन गर्न खोजिएको हो ? साँच्चै संशोधन गर्न खोजिएको हो भने यसले सार्वजनिक बहसको माग गर्छ ।

संविधान जनताले ल्याएको हो । यो संविधान ७० वर्षसम्म जनताले बोलेको आवाजको लिखित दस्तावेज हो । यसमा रगत पनि छ, यसमा आन्दोलन पनि छ । जनताका छोराछोरी जेलमा बसेको बिम्ब पनि यसमा प्रकट भएको छ । हिजोको राज्य प्रणालीभन्दा अलि फरक प्रकृतिको राज्य प्रणालीमा प्रवेश गरौँ भनेर आम नागरिकको स्वीकृतिमा कयौं विमतिका बाबजुद पनि सहमतिद्वारा बनेको संविधान हो । यो कसैले त्यत्तिकै लेख्दिऊँ न भनेर कार्यपत्र पेस गरेर बनाएको संविधान होइन ।

यो संविधानका चारवटा खम्बा छन् । पहिलो खम्बा गणतन्त्र हो । दोस्रो खम्बा संघीयता, तेस्रो खम्बा धर्म निरपेक्षता । र, चौथो खम्बा समावेशी, समानुपातिक हो । आज यी विषयमध्ये कुन कुराले हामीलाई कार्यसम्पादन गर्न अवरोध गर्‍यो ?
हामीले संविधानमा मौलिक हकको कुरा गरेका छौँ । नागरिक जन्मिसकेपछि गास, बास, कपास, खाद्यान्न, आवास राज्यले प्रत्याभूति दिलाउनुपर्छ भनेर त्यसमा बहस भएको थियो । अब जाने भनेको ती मौलिक हक कार्यान्वयन गर्ने कुरामा हो ।

संविधानले के भन्छ भने कानुन बनाइने छ । यो हुने छ र त्यसपछि यो–यो कुरा कानुन बनाएर गरिने छ भन्छ । कानुनले के भन्छ भने तोके अनुसार हुन्छ । तोकेअनुसार हामी नियमावलीमा जान्छौँ । नियमावलीबाट फेरि कार्यविधि बनाउँछौँ ।
यी कतिपय कुरामा हामी अभ्यासमै गइसकेका छैनौँ । बल्ल स्थानीय तहको चुनाव दुईपल्ट भयो, १९ वर्षपछि दुईपल्ट चुनाव भएर कार्यसम्पादनमा छ । त्यो सक्रिय नै छ । अलिअलि प्रदेश सरकारको बारेमा अस्पष्टता छ । प्रदेशलाई हामीले अधिकार दिएकै छैनौँ । जबकि हामीले चारखम्बे नीति भनेर संविधानको परिकल्पना गर्‍यौँ ।

सीडीओ (प्रमुख जिल्ला अधिकारी) हामीले अहिले पनि संघ मातहत नै राखेका छौँ, हामीले प्रदेशलाई दिन सकेनौँ । एसपी–डीएसपी हामीले नै राखेका छौँ । कसैलाई दोष दिन खोजेको होइन, हामीले कानुन नै बनाएका छैनौँ । प्रदेशलाई हामीले दिनुपर्ने अधिकार दिएनौँ ।

संविधान संशोधन गर्ने नै हो भने बहस खुल्ला गर्नुस् । संविधानका चार खम्बामध्ये कुन विषयमा संशोधन गर्ने ? कहाँ समस्या पर्‍यो ? कानुन बनाउने कुरामा समस्या पर्‍यो कि ? कार्यान्वयन गर्ने कुरामा समस्या पर्‍यो कि ? यी विषयमा  छलफलमा जाऔँ    

मेरो भनाइ के हो भने पहिला हामी त्यो अभ्यासमा जाऔँ । जहिले पनि नेपाल प्रयोग गर्ने भूमि हो र ? हामीले ल्याएको व्यवस्था प्रयोगमात्रै गरिरहने अनि फेरि अर्को प्रयोग गर्नेतिर हामी जाने हो भने दुईतिहाई ल्याएर पनि बङ्गलादेश स्थायितव भएन नि । आर्थिक विकास त भएकै थियो, त्यहाँ अर्कै घटना भयो ।

मैले यो किन जोड्न खोजेको हो भने परिस्थितिले जनता आन्दोलनमा आए भने एउटा स्थिति सिर्जना गर्छ । त्यसैले अहिलेको आवश्यकता भनेको संविधानले निर्दिष्ट गरेका कानुन बनाएर तोकिएका तीन तहका सरकारहरुलाई व्यवस्थित गर्दै

जाने र अध्यास गर्ने हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको क्षेत्राधिकार सुनिश्चित गर्दै जाने हो ।

हाम्रो प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा पनि अदालतले गलत थियो भनेर घोषणा गरिसकेपछि पनि फेरि कार्यकारी प्रमुखले यो त सही थियो भनेर बोलिराख्नुभएको छ । यो आक्षेपको रूपमा भनेको होइन, कानुनसम्मत रुपमा छ कि छैन भनेर न्याय निरुपण गर्ने त अदालतले हो नि त । अदालतले दिइसकेपछि फेरि कार्यकारीको हैसियत भएका हामीले त्यसो भन्दै हिँड्छौँ भने हामी नै बेथितिमा छौँ ।

संविधानका विषयभन्दा पनि हाम्रो चालढाल, ढंग ठीक छैन । त्यसकारण बेथितिमा भएका कुरा हामीले समीक्षा गरेर अगाडि बढ्दा आवश्यक हुन्छ जस्तो लाग्छ ।

हामीले संविधानको प्रस्तावनामा अब अगाडि बढ्ने भनेको समाजवाद उन्मुख भनेका छौं । संविधान संशोधन गर्ने हो भने भित्र बसेर होइन, स्थायित्व कसरी हुन्छ, यी विषयमा सार्वजनिक बहस चलाऔँ ।

कहिलेकाँही दलका नेताहरुले अब दुई दलीय प्रणाली भनेर पनि बोल्नुभएको छ । हो होइन, थाहा छैन । मैले मिडियामा पढेको हो । त्यो सम्भव छैन ।

आजको २१ औँ शताब्दिको लोकतान्त्रिक प्रणालीमा कुनै दल आयो, अलिअलि असन्तुष्टि असन्तुष्टि भयो भने सामना गर्नुपर्‍यो नि । आफू सच्चिनुपर्‍यो नि । हामी सच्चिनुपर्‍यो । असन्तुष्टि सबैप्रति छ । अनि यसको अर्थ अरू आए भने हाम्रो कतै केही हुन्छ कि भनेर थ्रेसहोल्डको प्रतिशत बढाउने ? दुई दलीय प्रणाली लागु गर्ने ? दुई–तीनसय वर्षको अभ्यासबाट विकास भएका बेलायत, अमेरिकाको कुरा खोजेर यहाँ टक्रक्क ल्याउँ भनेर अहिले कसैले दल खोलेर प्रतिष्पर्धा गर्ने अधिकारबाट वञ्चित गर्न मिल्छ ? यसले जुन लोकतन्त्र हामीले स्थापित गर्न खोजेका छौँ, त्यसको विपरीत हुन्छ ।

कुनै पनि स्वच्छ नागरिकले दल खोलेर जनताको मत लिएर विश्वास लिएर प्रतिष्पर्धा गर्ने अधिकारलाई कुण्ठित गर्नु हुँदैन । बालिग मताधिकारका आधारमा जनताबाट प्रकट हुने अभिमतलाई जनतालाई सार्वभौम मान्ने हो भने हामीले छोडिदिनुपर्छ । जनताको अभिमतले कसैलाई इन्कार गर्‍यो भने ग्रहण गरेर बस्नुको विकल्प पनि छैन ।

थ्रेसहोल्डको कुरामा पनि अहिले भएका दलहरुसँगको बढीभन्दा बढी सहमतिमा जानु नै राज्यको मूल कानुनका निम्ति आवश्यक हुन्छ ।

संविधान संशोधन गर्ने नै हो भने बहस खुल्ला गर्नुस् । संविधानका चार खम्बा मध्ये कुन विषयमा संशोधन गर्ने, कहाँ समस्या पर्‍यो, कानुन बनाउने कुरामा समस्या पर्‍यो कि, कार्यान्वयन गर्ने कुरामा समस्या पर्‍यो कि, यी विषयहरुमा हामी छलफलमा जाऔँ ।

संघको सरकार गणितमा तलमाथि हुने वित्तिकै प्रदेशको सरकार पनि त्यही रूपमा भइरहने र अस्थिरता पैदा हुने कुरा संविधानमा क्लज नराख्नु त्रुटि भयो भन्ने मलाई लाग्छ । त्यसमा हामी छलफल गर्न सकिन्छ । स्थानीय सरकार त कसैले परिर्वतन गर्न सक्दैन । संविधानमा लेखेको कुरा उल्लंघन गर्‍यो भने, राजीनामा दियो भने, गम्भीर फौजदारी अभियोग गर्‍यो भने बाहेक त अरू कुनै तरिकाले वडाका अध्यक्षहरुले बहुमत सिद्ध हुने बुँदा त हामीले संविधानमा राखेनौँ ।
स्थानीय सरकार यी गल्ती गरेबाहेक एक चुनावदेखि अर्को चुनावसम्म स्थायित्वको रुपमा हामीले लियौँ । प्रदेशलाई हामीले त्यही रूपमा व्यवस्था गर्न सकेनौँ ।

कार्यकारी प्रमुख प्रत्यक्षरूपमा आउने कुरामा हामी तर्सिनुपर्ने कुनै कारण छैन । प्रयोग र अभ्यास सबैभन्दा लोकतान्त्रिक हिसाबले सबैभन्दा राम्रो व्यवस्था भनेर नेपाली कांग्रेसले मान्छ । अमेरिकाले गरेकै छ अभ्यास । त्यहाँको विधायिका सबैभन्दा पावरफुल छ । मिनिस्टरभन्दा विधायिका पावरफुल छ । मिनिस्टर नियुक्ति गर्ने हो । कार्यकारी चैं निर्वाचित भएर आउँछ । दुई कार्यकाल भनेर तोकेका छन् । त्यही रूपमा नगरौँ, तर प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदै हुन्न भनेर हामीले पहिले नै प्रतिबन्ध किन लगाउने ? स्थायित्वमा जाने हो भने हामीले त्यो रूपमा पनि बहस चालउन सक्छौँ ।

हामीले साँच्चिकै अधिकार प्राप्तिको निम्ति संविधानमा केही कुरा लेख्यौँ । कानुन बनाएर कार्यान्वयनमा जाऔँ । अब सुशासन र समृद्धिको चरणमा जाने हो । त्यसलाई कुन कानुनले छेक्यो ? अहिलेको संविधानले ? डिस्टर्भ गर्‍यो ?

हाम्रो तरिका रातिराति समीकरण बदल्ने, एउटासँग चुनावमा गठबन्धन गर्‍यो, अर्कासँग गएर तोड्ने कुरा संविधानको गल्ती होइन । हाम्रो शैलीको गल्ती हो, हाम्रो इमानको गल्ती हो । दलहरुको इमान जे कुरा जनताको बीचमा व्यक्त गरेका छौँ, त्यो प्रकट नभएका कारणले यस्तो भएको हो ।

अदालतले एउटा फैसला गर्छ, हामी मान्दैनौँ । जनतासित गएर एउटा प्रतिवद्धता व्यक्त गर्छौं हामी त्यो अबलम्बन गर्दैनौँ । यी कुरा संविधानले डिस्टर्भ गरेको होइन, हाम्रो तरिका, हाम्रो संस्कृति र हाम्रो शैलीले बिगारेको हो । अब पहिला यी कुराहरुलाई सपारौँ । कि संविधानको प्रस्तावनामा लेखको कुरालाई गलत हो भन्नुपर्‍यो हामीले ।

अब जाने भनेको समाजवाद उन्मुख । उन्मुख पनि हटाइदिउँ । कहिलेसम्म राख्ने त्यो ? त्यो शब्द हटाउन पनि दुईटै दल चाहिन्छ । समाजवादतिर जाने हो भने जनतालाई अझ अधिकार सम्पन्न बनाउने गरी हामीले यी विषयहरुमा बहस गरियो भने बहसले एउटा नयाँ ठाउँ लिन्छ । बहसले सकारात्मक बाटो लिन्छ ।

बहस खुल्ला गरौँ । परादर्शी गरौँ । यो जनताको सरोकारको विषय हो, सरकार फेरबदल गर्ने तुरुप होइन । सरकार फेरबदल गर्ने हो भने गणितमा गए हुन्छ । जनताले पसिना अर्पित गरेर ल्याएको संविधानलाई हामीले त्यत्तिकै चित्त बुझेन भनेर जाने कुरा हुँदैन ।

(संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा बिहीबार सम्पन्न ‘संयुक्त सरकारको अभ्यास ः शासकीय प्रभाव’ विषयक संवाद कार्यक्रममा माओवादी सांसद पौडेलद्वारा व्यक्त विचारको सम्पादित अंश )

यो पनि-

संविधान संशोधन दुई मुखियाले सनद जारी गरेजस्तो होइन

एमाले उपमहासचिवको प्रस्ताव : समानुपातिकको ‘रिभ्यु’ गरौं

संयुक्त सरकार र संवैधानिक अभ्यास

संविधानमाथि निगरानी : संशोधन किन ?

 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : ३१ बजे

स्थानीय तहलाई कानुन बनाउने अधिकार दिनु अनुचित

संविधानसभाबाट जारी भएको संविधानमा नै जनताले प्रश्न उठाउने ठाउँ सिर्जना

रास्वपा केन्द्रीय परिषदको राष्ट्रिय भेला आजदेखि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषदको राष्ट्रिय भेला

इन्द्रजात्रा : स्वर्गका राजालाई ‘चोर’ भन्दै बाँध्ने नेवारको शक्ति

काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार जाति संस्कृतिका लागि अत्यन्तै

यसकारण गरिन्छ विश्वकर्माको पूजा

काठमाडौं– आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक

बागमती प्रदेशसभा बैठक आइतबार बस्ने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते आइतबार बस्ने