राजनीति

परराष्ट्रमन्त्रीले राजदूत सिफारिस समावेशी हुन नसकेको स्वीकारिन्

By खबरहब

September 09, 2024

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत नियुक्ति गर्दा समावेशी पाटोमा ध्यान दिन नसकेको स्वीकार गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर जाने बताइन् ।

संविधानमा समानुपातिक समावेशिता विषय उल्लेख भए पनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताइन् । राणाले महिला राजदूत तोक्न पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरिन् ।

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिलाई पनि गहन रुपमा सुनुवाइ गरेर मात्रै अनुमोदन गर्न समितिसमक्ष आग्रह गरिन् ।

बैठकमा समिति सदस्यहरूले एकैपटक १७ जना राजदूतको सिफारिस हुँदा पनि समावेशी समानुपातिकमा सरकारले ध्यान दिन नसकेको बताएका थिए ।

सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको समितिले सुनुवाइसमेत गरेको छ ।