समाचार

प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा बिपीको योगदानको चर्चा

By खबरहब

September 09, 2024

काठमाडौं– नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्म जयन्तीका अवसरमा देशमा प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा उनको योगदानको स्मरण गरियो ।

बिपी कांग्रेस, केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोबाट नेपालको समुन्नति र समृद्धिका लागि उनले कोरेको बाटो अहिले पनि त्यतिकै सान्दर्भिक रहेको धारणा राखे ।

पार्टी अध्यक्ष सुशीलमान शेरचन, पूर्वमन्त्री केशवबहादुर विष्ट, प्रा डा सुरेन्द्र केसी, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वसांसद अर्जुन बराललगायतले संविधान संशोधनमार्फत राष्ट्रियता र जनचासोका मुद्दा सम्बोधन गर्न सकिने विचार व्यक्त गरे ।

देशलाई समृद्धितर्फ लैजान कृषिमा जोड दिनुपर्ने भन्दै उनीहरूले राष्ट्रिय उत्पादन र उत्पादकत्व बढाउन तथा स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगधन्दा स्थापना गर्न आवश्यक रहेको बताए।