भोजपुरको सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो « Khabarhub

भोजपुरको सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भोजपुर–  अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे ६ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो ।

यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । यहाँ पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ ।

पहिलो इस्पानको ढलानको तयारीका साथ आवश्यक काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो इस्पानको रड बिछ्याउने तथा फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको ‘साइट इन्चार्ज’ नारायण चौधरीले जानकारी दिए ।

निर्माणस्थलमा प्रायः सम्पूर्ण सामग्री आइपुगेको उनको भनाइ छ । व्यारिङ, केवल पाइपलगायत सामान भारतबाट ल्याउनुपर्ने भएकाले त्यो सामग्रीमात्र आउन बाँकी रहेको छ । ‘हामीले यहाँ पुनः मङ्सिरबाट काम थालनी गरेका छौँ’, उनले भने, ‘अहिले धनकुटातर्फको पहिलो इस्पानको ढलानको तयारी गरेका छौँ । विगतमा कोभिडलगायत कारणले काममा बाधा पुगेको थियो । यो ढलानको काम चाँडै सक्ने लक्ष्य छ ।’

फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाइ एक सय ८० मिटर रहेको छ । यहाँ भ्याटसहित २२ करोड ७५ लाख २८ हजार सात सय लागतमा पुल निर्माण थालिएको हो ।

पुलको पहिलो इस्पानको लम्बाइ ३७ दशमलव ५५, दोस्रो इस्पानको लम्बाइ ८० मिटर र तेस्रो इस्पानको लम्बाइ ५८ दशमलव ३८ मिटर रहेको छ ।  हालसम्म १० करोड २९ लाख ११ हजार ६ सय ४२ भुक्तानी भएको छ ।

सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या रहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । विगतमा सोचेअनुसार प्रगति नदेखिए पनि हाल भने कामले निरन्तरता पाएको उनको भनाइ छ ।

बीचमा धेरैपटक काम रोकिएर अलपत्र अवस्थामा रहेको पुल निर्माण पुनः सुरु भएपछि उत्साह थपिएको स्थानीयवासी समाजसेवी धनहर्क राईले बताए । निर्माणको कामलाई चाँडो सम्पन्न गराउन सरकार पनि गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

यो पुलले भोजपुरको हतुवागढी–६ होम्ताङ र धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगालाई जोड्ने छ । यो पुल सुरुमा २६ महिनामा सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सो समयमा सम्पन्न नभएपछि चारपटक म्याद थपिएको थियो । यसको पछिल्लो थप भएको म्याद २०८० असार २२ गतेसम्म रहेको थियो । यो थपिएको म्याद पनि सकिएको छ ।

हाल कामलाई निरन्तरता दिएर म्याद थपको प्रक्रिया भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुमित ठाकुरले जानकारी दिए । हालसम्म यो पुल निर्माणको भौतिक प्रगति ७० प्रतिशत रहेको उनको भनाइ छ । भौगोलिक विगटताका कारण काम गर्न समस्या रहेको उनले बताए । उनले यो पुल पूर्णरूपमा सम्पन्न हुनका लागि अझै साढे दुई वर्ष समय लाग्ने बताए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : ०६ बजे

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५