आजका समाचार : दुई मन्त्रीकाे सपथदेखि राष्ट्रियसभा उम्मेदवार चयनसम्म | Khabarhub Khabarhub

आजका समाचार : दुई मन्त्रीकाे सपथदेखि राष्ट्रियसभा उम्मेदवार चयनसम्म


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत, नेताको चाकरी नगर्न गृहमन्त्री लामिछानेको प्रहरीलाई निर्देशन, प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ, सात महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स, १२ महिनाको आयात धान्ने, पशुपतिका साधुसन्तलाई स्तरअनुसारकाे दक्षिणा सहित विदाईलगायतका समाचारले प्रमुख स्थान पाए ।

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल


राष्ट्रियसभा अध्यक्षका लागि माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले उनलाई अध्यक्षमा अगाडि सार्ने भएको हो ।

माओवादी एक पदाधिकारीले खबरहबलाई भने, ‘सिनियर नेता दाहाललाई उम्मेदवार बनाएका छौँ ।’फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति भएको थियो ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

आज विस्तार भएको मन्त्रिपरिषदमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र नवलकिशोर साह वन मन्त्री बनेका छन् ।

नेताको चाकरी नगर्न गृहमन्त्री लामिछानेको प्रहरीलाई निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार उनले प्रधान कार्यालयको निरीक्षण गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सङ्गठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहेको र त्यसको आफूले अन्त्य गर्ने बताए ।

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रिय रूपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् ।

नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आज मन्त्रालयमा नियुक्ति पत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मन्त्री तामाङले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढी भन्दा बढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गरे । मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै उनले देश र जनताको पक्षमा काम गर्न आग्रह गरे ।

सुहाङसहित एमालेका छ जनाले दिए निवेदन

इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङ सहित ६ जनाले निवेदन दिएका छन् ।

एमालेले बनाएको उम्मेदवार छनौट समितिले उनीहरु ६ जनालाई साँझसम्मको समयसीमा दिएको छ ।

चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनायो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरू मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् ।

गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भने । उनले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गरे ।

राप्रपा नेता श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै हातपात

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै हातपात भएको छ । पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहदा श्रेष्ठमाथि आक्रमण भएको हो । बैठक कक्ष बाहिरबाट बाहिरिदा एक समूहले श्रेष्ठमाथि एकाएक आक्रमण भएको थियो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन् । श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका थिए ।

न्यूनतम साझा कार्यक्रम तय गर्न दश सदस्यीय राजनीतिक संयन्त्र

न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनले संयन्त्र गठन गरेको छ । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको बताइएको छ ।

संयन्त्रमा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल रहेका छन् ।

मधेस केन्द्रीत दलबीच कार्यगत एकताकाे घोषणा

मधेस केन्द्रीत दलहरु जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबीच कार्यगत एकता भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष अध्यक्ष वृषेन्द्रचन्द लालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आइतबार कार्यगत एकताको घोषणा गरेका हुन् ।

सात महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स, १२ महिनाको आयात धान्ने

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

रिगलको कैद मिनाहामा सर्वोच्च ‘रिहा गर्नु राष्ट्रपतिको अधिकार होइन’ 

बाँकेका रिगल ढकालको कैद मिनाहा मुद्दामा सर्वोच्च अदालतले कानुनबमोजिम दोषी व्यक्तिको कैद कट्टी, माफी मिनाहाजस्ता कुरा राष्ट्रपति, मन्त्रिपरिषद्को विशेषाधिकारभित्र नपर्ने ठहर गरेको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले यस्ता मुद्दामा राष्ट्रपतिले माफी मिनाहा, कैद कट्टी गर्नु कानुनी शासनको मान्यताविरुद्ध भएको उल्लेख गरेको छ ।

अस्पतालको टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु

उपचारका लागि अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो ।

पशुपतिका साधुसन्तलाई स्तरअनुसारकाे दक्षिणा

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधु सन्तलाई आज दक्षिणासहित बिदाइ सुरु गरिएको छ ।

आज बिहान ११ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए ।
उनका अनुसार साधु सन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय…

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उनले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन् ।

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो

इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणबाट ८५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् ।

खेलकुद…

पानी नरोकिएपछि नेपाल र हङकङको खेल रद्द

पानी परेपछि दुई पटक रोकिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ ।

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको