पुरुषलाई लाग्ने हाइड्रोसिल कस्तो रोग हो ? | Khabarhub Khabarhub

पुरुषलाई लाग्ने हाइड्रोसिल कस्तो रोग हो ?


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

सामान्यतया पुरुषको अण्डकोष सुन्निने रोग हाइड्रोसिल हो। तर हाइड्रोसिलको कारण हात्तीपाइले रोगको सङ्क्रमणसमेत मानिन्छ। हात्तीपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुनसक्ने चिकित्सक बताउँछन्।

नेपालमा सरकारले चाहेको समयमा हात्तीपाइले निवारण हुन सकेको छैन। त्यसैले हाइड्रोसिलका बिरामी फाट्टफुट्ट रुपमा देखिने गरेको चिकित्सकको भनाइ छ। अण्डकोषमा पानी भरिने समस्यालाई मेडिकल भाषामा हाइड्रोसिल भनिन्छ। कसैकसैलाई यसले लामो समय दुःख दिने गरेको हुन्छ। लाजका कारण संवेदनशील र गोप्य अंगमा लागेको रोग लुकाएर राख्दा वा उपचार पद्धतिबारे थाहा नहुँदा हाइड्रोसिलको समस्या बढ्ने गरेको पाइएको छ।

हात्तीपाइले औषधी सेवनबाट रोकथाम गर्न सकिए पनि रोग लागिसकेपछि हुने अपांगताको व्यवस्थापन मात्रै गर्न सकिन्छ, पूरै निको पार्न सकिँदैन। तर हाइड्रोसिलको शल्यक्रिया गरेर समस्या घटाउन सकिन्छ। हाइड्रोसिल कस्तो रोग हो ? यो के कारणले लाग्ने गर्दछ ? यसको उपचार विधि के छ ? यिनै विषयमा केन्द्रित भएर ओमशाई पाथीभारा अस्पतालका सर्जन डा. शशी सिंहसँग गरिएको कुराकानी :

जन्मजात देखिने समस्यामा पेट अण्डकोष जोडिएको एउटा बाटो हुन्छ त्यही बाटो हुँदै पेटभित्रको पानी अण्डकोषमा आएर हाइड्रोसिल हुनसक्छ।

हाइड्रोसिल कस्तो रोग हो ?
यो पुरुषमा लाग्ने रोग हो। अण्डकोषमा पानी जमेर सुन्निने समस्यालाई हाइड्रोसिल भनिन्छ।

यो के कारणले हुने हो ?
यसका धेरै कारण छन्। कहिलेकाहीँ जन्मजातै हुने सम्भावना हुन्छ भने कसैलाई उमेर बढ्दै गएपछि पनि हुनसक्छ। त्यसैले उमेर अनुसार यसका फरक फरक कारण छन्। जस्तै जन्मजात देखिने समस्यामा पेट अण्डकोष जोडिएको एउटा बाटो हुन्छ त्यही बाटो हुँदै पेटभित्रको पानी अण्डकोषमा आएर हाइड्रोसिल हुनसक्छ। त्यस्तै ठुलो मान्छेमा कुनै इन्फेक्सन वा ट्युमरको कारणले हुनसक्छ। अर्को भनेको हात्तिपाइले पनि यसको कमन कारण मानिन्छ।

यसका लक्षण कस्ता देखिन्छन् ?
यसको मुख्य लक्षण भनेको अण्डकोष सुन्निनु नै हो। त्यसबाहेक कहिलेकाहीँ दुखेको मात्रै समस्या लिएर पनि आउने गर्दछन्। तर अण्डकोष सुन्निने सबैमा हाइड्रोसिल नै भएको हुँदैन। हर्नियाका कारणले पनि अण्डकोष सुन्निने गर्दछ।

यो रोग गुप्त अङ्गमा हुने भएकाले पहिले पहिले कतिपयले अप्ठेरो मान्ने गर्थे। अहिले खुलेरै बिरामी आउने गरेका छन्।

धेरैले यो रोग लुकाएर राखेको भन्ने पनि छ, कत्तिको खुलेर आउँछन् बिरामी ?
यो रोग गुप्त अङ्गमा हुने भएकाले पहिले पहिले कतिपयले अप्ठेरो मान्ने गर्थे। अहिले खुलेरै बिरामी आउने गरेका छन्। साथै हाइड्रोसिल हुँदा अण्डकोष सुन्निनुका साथै दुखाई पनि हुने भएकाले बिरामी सुरुवाती अवस्थामै उपचारका लागि आउने गरेका छन्।

समयमै उपचार नहुँदा यसले स्वास्थ्यमा के कस्ता समस्या निम्त्याउँछ ?
यो धेरै ठुलो समस्या होइन। तर कहिलेकाहीँ ट्युमरका कारणले पनि भएको हुनसक्छ। त्यसैले समयमै उपचार गरेमा पूर्णरुपमा निको पार्न सकिन्छ। उपचारमा ढिला गर्नु हुँदैन।

हाइड्रोसिल प्रजनन अंगमा लाग्ने रोग भएकाले प्रजनन क्षमतामा असर गर्छ कि गर्दैन ?
यो अण्डकोषको विर्य उत्पादन गर्ने ठाउँमा नभएर बाहिरी भागमा लाग्ने भएकाले पुरुषको प्रजनन क्षमतामा कुनै असर गर्दैन।

यसको उपचार विधि भनेको शल्यक्रिया नै हो। कसैले पानी तानेर अथवा औषधी राखेर पनि उपचार गर्ने गर्दछन्। त्यो राम्रो होइन।

यसको उपचार विधि के छ ?
यसको उपचार विधि भनेको शल्यक्रिया नै हो। कसैले पानी तानेर अथवा औषधी राखेर पनि उपचार गर्ने गर्दछन्। त्यो राम्रो होइन। त्यसले स्वास्थ्यमा प्रतिकुल असर पनि गर्न सक्छ। त्यसैले यसको उपचारको लागि सम्बन्धित सर्जन कहाँ नै जानु राम्रो हुन्छ। यसको उत्तम विधि भनेकै शल्यक्रिया हो।

हाइड्रोसिल र हात्तिपाइले कसरी सम्बन्धित छन् ?
हात्तिपाइले र हाइड्रोसिल हुन त एकदमै फरक रोग हुन्। हात्तिपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। तर हात्तिपाइलेको संक्रमण भएपछि कसैको खुट्टा सुनिन्छ भने कसैको अण्डकोष सुनिन्छ। त्यस्तो अवस्थामा हात्तिपाइलेको उपचार गर्दा पनि अण्डकोष सुन्निएको निको भएन भने हाइड्रोसिल भएको हुनसक्छ। यसरी हाइड्रोसिलसँग हात्तिपाइले जोडिएको मात्रै हो।

सरकारी अस्पतालमा यसको निःशुल्क उपचार हुन्छ। निजी अस्पतालमा पनि त्यस्तो धेरै महँगो छैन।

यसको उपचार कत्तिको खर्चिलो छ ?
सरकारी अस्पतालमा यसको निःशुल्क उपचार हुन्छ। निजी अस्पतालमा पनि त्यस्तो धेरै महँगो छैन। न्युन शुल्कमा नै उपचार हुने गरेको छ।

यसबाट बच्न के गर्ने ?
जन्मजातै हुने कुरामा बच्ने कुनै उपाय नै छैन। ठुलो मान्छेमा कुनै चोटपटक, इन्फेक्सन तथा हात्तिपाइलेका कारणले लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ। चोटपटक लाग्नबाट बच्ने र केही गरी समस्या देखिहाल्यो भने समयमै चिकित्सकलाई भेटेर सुझाव लिनु राम्रो हुन्छ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : २० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक