‘प्रेसिडेन्ट लिसन टु मी, माई नेम इज खान आइएम नट टेरोरिस्ट’ यो वाक्य हो कुनै समय अत्यधिक चर्चामा रहेको साहरुख खान अभिनीत ‘माई नेम इज खान’ को हो। समाजमा अतिवादी धार्मिक सम्प्रदायका कारण फैलने हिंसा र घृणाको कारण उत्पन्न हुने वियोगका घटनाले इतिहासका थुप्रै पाना भरिएका छन्। अपराधी केबल अपराधी हुन्छ, उसको अन्य पहिचान आवश्यक नै छैन। जब अपराध गर्ने व्यक्तिको धार्मिक र साम्प्रदायिक पहिचानको खोजी गरेर धारणा बनाइन्छ, त्यसले मच्चाउने हिंसा साँच्चै बिभत्स हुन्छ। त्यसमाथि पनि गलत र झुट सूचनालाई सामाजिक सञ्जाल मार्फत समुदायमा फैलाइन्छ, त्यसले ठूलो दुर्घटना जुन सुकै समयमा निम्त्याउन सक्छ। त्यस्तै भयो बेलायतमा पनि। त्यहाँका बासिन्दाले धेरैले क्षति बेहोरेका छन्।
२९ जुलाइका दिन टेलर स्विफ्ट डान्स तथा योगा सेन्टरमा ६ वर्षीय बेबे किङ, सात वर्षीय एलाइस डट स्टनकोम्बे र नौ वर्षीय एलाइस डा. सिल्भाको चक्कु प्रहार गरेर हत्या भएको थियो। त्यसको एक दिनपछि प्रहरीले नजिकैको गाउँबाट १७ वर्षीयलाई शङ्काको आधारमा गिरफ्तार गरेको थियो।
जब अपराध गर्ने व्यक्तिको धार्मिक र साम्प्रदायिक पहिचानको खोजी गरेर धारणा बनाइन्छ, त्यसले मच्चाउने हिंसा साँच्चै बिभत्स हुन्छ। त्यसमाथि गलत र झुट सूचनालाई सामाजिक सञ्जाल मार्फत समुदायमा फैलाइन्छ, त्यसले ठूलो दुर्घटना जुनसुकै समयमा निम्त्याउन सक्छ।
सामाजिक सञ्जालमा २०२३ मा त्यहाँ पुगेका एक आप्रवासी भएको तथा उनी इस्लाम भएको अफवाह रातारात भाइरल भयो। यथार्थमा उ रुवान्डाका अभिभावकबाट जन्मिएका वेल्सबाट पुगेका एक व्यक्ति थिए। प्रहरीले बारम्बार पुष्टि नभएको कुरालाई बाहिर नल्याउन आग्रह गरे पनि समाजमा इस्लाम विरोधी भड्काउ मात्र भएन आप्रवासी विरोधी भड्काउसमेत मच्चाइएको थियो।
एक दिन पछिको साँझमा मृतकको सम्झनामा हजारौँ जना साउथ पोर्टमा उपस्थित भए। त्यसै दिन मस्जिदमा मात्र होइन सुरक्षाकर्मी माथि आक्रमण भयो। २७ अधिकारी अस्पताल लगिए। स्थानीय विधायक प्याट्रिक हर्लीले ठगको सहरमा आगमन भएका कारण तीन बालबालिकाले ज्यान गुमाएको भन्ने प्रतिक्रिया दिए। प्रधानमन्त्री केइर स्टेइकरले साउथपोर्टको सहरमा लुटपाट मच्चिएको प्रतिक्रिया दिए।
त्यसपछि एकाएक टेलिग्रामको म्यासेजिङ एपमार्फत आप्रवासी विरुद्ध अभियान नै चलेको थियो। प्रहरीकै अनुसार अतिवादी दक्षिण पन्थी समूह इङ्लिस डिफेन्स (इडिएल)का कारण हिंसा भड्किएको थियो।
७ अगस्टसम्म त हिंसाले विकराल रूप नै लिएको थियो। यो प्रदर्शन र अशान्तिले म्यानचेस्टर, लन्डन र हर्टलपोलमा असर गरेको छ। साउथ पोर्टमा भने अशान्तिले सीमा नाघी सकेको छ। मस्जिद र आप्रवासीका घरहरू निसानामा परे। हत्यामा संलग्न भनेर गलत व्यक्तिको बारे फैलाइएको अफवाहले अति दक्षिण पन्थी समूहलाई आक्रोशित बनाएको थियो। इडिएलमा संस्थापक तथा अपराधको आरोप लागेका टोमी रोबिनसनको वास्तविक नाम स्टेफन एक्सल लेनोन हो। उनको प्रोफाइलमा लाखौँ फलोअर छन्। उनको प्रोफाइलमा उल्लेख भए अनुसार कै कुराले बेलायतमा अशान्ति मच्चिएको थियो।
साउथ पोर्टपछि उत्तरी आयरल्यान्डको बेलफास्टमा अशान्ति छ। उत्तर पूर्वी सहर सन्डरल्यान्डमा पनि त्यस्तै छ। आगजनी भएको छ। पसलमा लुटपाट छ। मस्जिदमा आक्रमण भएको छ। आप्रवासीका घर असुरक्षित बन्दै गएका छन्। दक्षिणी बेलफास्टमा रंभेद विरोधी समूह तथा आप्रवासी विरोधी समूह बिचको हिंसाले ठुलो रूप लिएको छ।
रोथरहामको होलीडे इनमा काम गर्ने आप्रवासीले घरमा भएको तोडफोडका बारे गुनासो गरेका छन्। ८ अगस्टका दिन प्रहरी प्रमुख टिफानी लन्चले १०० प्रहरी अधिकारी घाइते भएका जनाए। मेरीसाइडका प्रहरी प्रमुखले हिंसाका कारण अधिकारीको घर नै क्षतविक्षत भएको बताएका छन्।
प्रहरी अधिकारीका अनुसार स्थानीय तहमा रहेका समूहको कारण हिंसा भड्किरहेको छ। शुक्रबार राती अतिवादी दक्षिणपन्थीले प्रहरी कार्यालय तोडफोड गरेका थिए। उनीहरूले सोधपुछ केन्द्रमा पहिला आक्रमण गरेका थिए। यसको लगत्तै उनीहरू मस्जिदमा आक्रमण गर्न पुगेका थिए। सेन्ट जर्जको झन्डा लिएर उनीहरूलाई उत्साहित गराउनेको पनि कमी थिएन।
अहिले बेलायतमा रहेका सम्पूर्ण आप्रवासी अशान्त छन्। अहिले आप्रवासी गतिविधि विरुद्धमा रङ्गभेद विरोधी समूह पनि प्रत्याक्रमणमा उत्रन थालेको छ। यसले बेलायतको जीवन अझ खराब बनाएको छ। बर्मीङघममा एसियाली मुलुकका धेरै जना उभिएर सङ्गीत रूपमै दक्षिणपन्थीको प्रत्याक्रमणमा उत्रिएका छन्।
६ अगस्टमा दिन मात्र प्रहरीले ४०० जनालाई गिरफ्तार गरेको छ। प्रधानमन्त्री स्टेइकरले दक्षिण पन्थी समूहलाई ठगको संज्ञा दिएको बताइसकेका छन्। राज्यको तर्फबाट सेनाको प्रयोगसम्म आवश्यक परेमा गर्न सकिने जनाइएको छ।
सामाजिक सञ्जालको सवालमा समेत कठोर हुने सरकारले जानकारी दिएको छ। सरकारले यत्ति मात्र भनेको छैन। पाँच सय जेल महल तयार गरिएको भन्दै थर्काएको छ।
अहिले धेरै स्थानमा आप्रवासीका कानुन व्यवसायी पनि निसानामा छन्। कतिपय स्थानमा रङ्गभेद विरोधी गतिविधि ठप्प भएका छन्। कतिपय स्थानमा रङ्गभेद विरोधी अभियन्ताले सडकमा उत्रेर प्रदर्शन पनि गरेका छन्। पीडितको सहयोगार्थ सहयोग रकम सङ्कलनको काम पनि त्यत्तिकै भएको छ। समाजलाई विभाजित हुन नदिनका लागि अहिले सक्रिय छन्।
संसारका धेरै देशका सरकार अहिले बेलायतमा रहेका आफ्ना नागरिकप्रति चिन्तित छन्। नेपाली दूतावासले सूचना जारी गर्दै जो जहाँ रहे पनि अनावश्यक बाहिर ननिस्कन तथा सुरक्षित रहन सूचित गराइसकेको छ।
संसारमा स्थापित सञ्चार माध्यमले पनि बेलायतमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षित रहन आह्वान गरेको छ। इङ्गल्यान्ड र वेल्समा मात्र त्यहाँ जन्मिएका बाहेक १० करोड ४ लाख भन्दा बढी व्यक्तिको बसोबास छ। यो आँकडा सन् २०२२ को अन्त्यमा हो।
सन् २००४ मा ५ करोड २५ लाख आप्रवासी बेलायतमा थिए। यो कुल जनसङ्ख्याको ८.९ प्रतिशत हो। त्यसको २ दशकमा यो सङ्ख्या बढेर दोहोरो भएको हो। विभिन्न तथ्याङ्कको अनुसार सन् २०१७ र२०१८ मा बेलायतमा आकर्षण बढ्दो थियो। यो आकर्षण कोभिड महामारीपछि केही घटेको हो। त्यस समयमा आप्रवासीको उपस्थिति १४ प्रतिशत नाघेको थियो।
बेलायतमा सबै भन्दा धेरै आप्रवासी अफगानिस्तान, इरान, पाकिस्तान, भारत र बङ्गलादेशमा छन्। बेलायतमा ३४ प्रतिशत आप्रवासी युरोपका छन्। यसरी धेरै आप्रवासी नाइजेरियाका पनि छन्। धेरै जसो राजनीतिक अस्थिरता भएका देशमा व्यक्ति बेलायतमा पुगेका छन्। गरिबी बेलायत पुग्नुको पहिलो कारण हो भने आफ्नो देशमा ज्यानको सुरक्षा हुनु दोस्रो कारण हो। यसरी धेरै जान बेलायत पुग्नेमा अफगानिस्तानी छन्। यसरी पुगेका आप्रवासी माथिको रिस अहिले कानुन व्यवसायीमाथि थपिएको छ।
आइतबार अधिवक्ता हरजप सिंह बङ्गाललाई प्रहरीले फोन गरेर दक्षिण पन्थीको निसाना बनाएका कारण सावधान रहन भनेको थियो। आप्रवासीको मुद्दा हेरिरहेका उनी सहित ६० जनाको नाम नै दक्षिण पन्थीहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। यस कारण उनीहरूको जीवन सबै भन्दा धेरै जोखिममा छन्।
बेलायतमा सबै भन्दा धेरै आप्रवासी अफगानिस्तान, इरान, पाकिस्तान, भारत र बङ्गलादेशमा छन्। धेरै जसो राजनीतिक अस्थिरता भएका देशमा व्यक्ति बेलायतमा पुगेका छन्।
रमफोर्डका ४९ वर्षी उनी अहिले ढोका ढकढक्याएर बसेका छन्। उनी अहिले आफू सहित क्लाइन्टको चिन्ता लिएर बसेका छन्।
बेलायतमा आप्रवासी विरोधी आक्रोश सडकमै अहिले आए पनि धेरै पहिलेदेखि यो मुद्दा उठ्ने गरेको थियो। सन् २०२२ मा ४५ हजार इङ्गलीस च्यानल पार गरेपछि यो मुद्दा अझ पेचिलो बनेको थियो। त्यसपछि कन्जेभेटिभ पार्टीका नेता पूर्वप्रधानमन्त्री ऋषि सौनुकले त आप्रवासीलाई रुवान्डामा विस्थापित गर्ने विधेयक नै संसद्बाट पास गराउने प्रयास गरेका थिए।
कानुन व्यावसायीको विभिन्न सङ्गठन र मानव अधिकारवादी सङ्गठनले उनीहरूको सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्।
आधुनिक विश्वमा लोकतन्त्र र सुशासनको पयार्य मानिएको बेलायतको यो घटनाले धेरै देशमा आप्रवासीलाई चिन्तामा पारेको छ। बेलायतको यो झडपमा केही दिनमा शान्त नहोला। तर, त्यसले रोपेको समाज विभाजनको बिउले धेरै लामो समय असर गर्न सक्ने छ।
स्रोतः बिबिसी, टाइम्स म्यागेजिन, बेलायत इमिग्रेसन, पियू रिसर्च
प्रतिक्रिया