विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

आज पुस २६ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ११, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

खाद्यान्न सम्झौता पुनः लागू हुने सम्भावना छैन : रूसी उपप्रधानमन्त्री
रूसका उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोले रूसले ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’को नवीकरण गर्ने कुनै सम्भावना नदेखेको बताएका छन् ।

अब्रामचेन्कोले स्थानीय मिडियासँग एक साक्षात्कारमा भने, ‘समुद्री रसद, फ्रेट, बीमा, र रूसी कृषि बैंकलाई स्विफ्ट भुक्तानी प्रणालीमा जोड्ने खाद्यान्न सम्झौता कार्यक्रमको दोस्रो भाग कार्यान्वयनमा आउने कुनै सकारात्मक परिवर्तनहरू देखिँदैन ।’

उनले रूसी कुटनीतिक विभागले खाद्यान्न सम्झौतामा काम जारी राखेको तर यसलाई पुनः सुरु गर्ने सम्भावना निकै कम रहेको बताए।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताको मुख्य लक्ष्य अफ्रिकीलगायत खाँचोमा परेका देशहरूलाई खाद्यान्न आपूर्ति गर्ने रहेको तर रूससँगको सम्झौताका शर्तहरू पूरा नभएको बताएका छन् ।

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह
वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन-अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि ताइवानमा ‘अनौपचारिक’ प्रतिनिधिमण्डल पठाउने घोषणा गरेपछि उनले भने, ‘चीनले अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक आदानप्रदानको कडा विरोध गर्दछ ।’

‘ताइवान चीनको अविभाज्य अङ्ग हो,’ उनले भने। माओले बेइजिङसँग चुनावलाई लिएर तनाव नबढाउन अमेरिकाले दिएको चेतावनीको पनि विरोध गरेका छन् ।

पपुवा न्यू गिनीमा भएको हिंसामा १५ जनाको मृत्यु
हिंसामा १५ जनाको मृत्यु भएपछि पपुवा न्यू गिनीका प्रधानमन्त्रीले बिहीबार ‘अराजकता’ विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले सरकारविरुद्ध प्रदर्शन सुरु गरेपछि हिंसा भड्किएको थियो । राजधानीबाट उत्तरतर्फ करिब ३०० किलोमिटर टाढा रहेको लाए सहरमा दङ्गा भड्किएको हो ।

प्रधानमन्त्री जेम्स मारापेले बिहीबार देशसँग माफी माग्दै ‘अराजकता’ को उत्पत्ति ‘सह्य नहुने’ बताए । प्रहरी आयुक्त डेभिड म्यानिङले नागरिक अशान्तिका कारण कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरेको एएफपीलाई उपलब्ध गराइएको विवरणमा उल्लेख छ । एएफपी टिभीको फुटेजमा राजधानीका पसलहरूमा लुटेराहरू पसेको, सामान किन्दा प्रयोग गरिने ट्रली र प्लाष्टिकका बाल्टिनहरूमा लुटेका सामानहरू कार्डबोर्ड बक्समा भरी लिएर गएका देख्न सकिन्छ ।

एएफपी टिभीको फुटेजअनुसार भवन र कारहरूमा आगजनी गरिएको छ, जसले शहरका सबैभन्दा बढी प्रभावित भागहरूमा कालो धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ । पोर्ट मोरेस्बीस्थित अमेरिकी दूतावासले लुटेरा समूहलाई तितरबितर पार्न प्रहरीले प्रयास गर्दा आफ्नो कम्पाउण्ड नजिकै गोली चलेको जनाएको छ ।

यसअघि पोर्ट मोरेस्बीस्थित प्रधानमन्त्रीको कार्यालय बाहिर सानो भीड जम्मा भएको र पार्किङ गरिएको प्रहरीको गाडीमा आगजनी गरेको थियो । बेइजिङले पपुवा न्यू गिनीको सरकारसमक्ष दङ्गामा सहभागीहरूले चिनियाँ स्वामित्वका व्यवसायिक केन्द्रलाई निशाना बनाएको रिपोर्टपछि उजुरी दर्ता गरेको छ ।

पोर्ट मोरेस्बी निवासी तथा पपुवा न्यु गिनी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक माहो लाभेलले बिहीबार साँझसम्ममा शान्ति बहाली भएको बताए ।

शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त
बंगलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

उनको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।

आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद् पदको सपथ लिएका थिए ।

निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ ।

जापान भूकम्प स् मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता
सन् २०२४ जनवरी १ मा जापानमा गएको ७।६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् ।

बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ ।

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक(एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिमबाट बाँचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ ।

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेस्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गरेका हुन् ।

नेतन्याहूले भने, ‘इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

उनले गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकूहरुलाई लक्षित गरी गरिएको र हामीले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै यस्तो गरिरहेको बताएका छन् ।

नेतन्याहूले भने, ‘इजरायली सेनाले नागरिक हताहत कम गर्न सक्दो प्रयास गरिरहेको छ भने हमासले प्यालेस्टिनी नागरिकलाई मानव ढालको रूपमा प्रयोग गरेर उनीहरूलाई अधिकतम बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ ।’

‘हाम्रो लक्ष्य गाजालाई हमासका ‘आतंककारी’ लडाकूहरूबाट मुक्त गर्नु र हाम्रा बन्धकहरूलाई मुक्त गर्नु हो,’ उनले भने।

अक्टोबर ७ मा हमासले अचानक आक्रमण सुरु गरेयता सयौँ हमास लडाकू र गाजावासीले दक्षिणी समुदायमा आक्रमण गर्दा प्रारम्भिक आक्रमणमा ७९० सर्वसाधारणसहित इजरायलमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो । हमासले २५३ जनालाई बन्धक बनाएको थियो भने गाजामा १३२ जना अझै पनि रहेका छन् ।

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको सङ्ख्या २३ हजार ३५७ पुगेको र गाजाको २३ लाख जनसङ्ख्यामध्ये करिब १९ लाख विस्थापित भएको जनाएको छ ।

भारतीय रक्षामन्त्री र बेलायती प्रधानमन्त्रीबीच छलफल
भारतीय रक्षामन्त्री राजनाथ सिंह र बेलायतका प्रधानमन्त्री ऋषि सुनकबीच बुधबार भेटवार्ता भएको छ ।

दुई नेताहरूले रक्षा, आर्थिक सहयोगलगायत विश्व शान्तिका विषयमा स्थिर विश्वव्यापी नियममा आधारित व्यवस्थालाई सुदृढ पार्न भारत र बेलायतले मिलेर कसरी काम गर्न सक्छन् भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

भारतीय रक्षामन्त्री सिंहले बेलायतका प्रधानमन्त्री सुनकसँग लन्डनमा धेरै सान्दर्भिक भेट भएको बताउँदै विभिन्न मुद्दाहरूमा छलफल भएको उल्लेख गरे ।

यसअघि, रक्षा मन्त्री सिंहले बेलायतका विदेश सचिव डेभिड क्यामरूनसँग दुई राष्ट्रबीचको सम्बन्धलाई बढावा दिने विषयमा गहन छलफल गरेका थिए ।

सिंहले उनका बेलायती समकक्षी ग्रान्ट शाप्सले लन्डनको ट्रिनिटी हाउसमा भारत–लण्डन रक्षा उद्योगका उच्च अधिकारीसँग गोलमेच सम्मेलनमा भाग लिएका थिए ।

बेलायतका रक्षा सचिव शप्सले भने, ‘विश्वमा विवाद बढ्दै गएको अवस्थामा भारतजस्ता प्रमुख साझेदारसँग रणनीतिक सम्बन्धलाई निरन्तरता दिनु अत्यावश्यक छ । यसैगरी समान सुरक्षा चुनौतीहरूमा सहकार्य गर्दै स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक कायम राख्ने प्रतिबद्धतासमेत गरिएको छ ।’

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : ०१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार