बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती « Khabarhub

बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ । गत वैशाख ६ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले कामको जिम्मा लिएको थियो ।

विसं २०७८ कात्तिक ७ गते सम्झौता गरिएको उक्त प्रशासनिक भवनको काम हालसम्म ५५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित पाँच करोड ६९ लाख ७० हजार तीन सय ९२ लागतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का लिएको हो ।

ठेकेदार कम्पनीले प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती गरेपछि पटक–पटक पत्राचार गरेर तोकिएको समयमा सम्पन्न गर्न ताकेता गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

‘सम्झौता गरिएको मितिमा भवन निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले प्रथमपटक थप गरिएको नौ महिनाको म्याद गुजारिसकेको छ । प्रथमपटक थप भएको म्याद गत माघ ६ गते सकिएको हो’, उनले भने, ‘प्रथमपटक थप भएको म्याद गुज्रेपछि पुनः आगामी वैशाख ५ गतेसम्मका लागि तीन महिनाको दोस्रो म्याद थप गरिएको छ । निर्माणको काममा ढिलासुस्सती गर्ने ठेकेदार कम्पनीलाई पटक–पटक पत्राचार गरेर तोकिएको मितिमा काम सम्पन्न गर्न गुणस्तर निर्धारण गर्न ताकेता गरेका छौँ ।’

गाउँपालिकाको प्रशासनिक भवन वडा नं ४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा निर्माण सुस्तगतिमा भइरहेको छ । निर्माणको काममा खटिएका कामदारको सङ्ख्या तथा गति हेर्दा दोस्रोपटक थपिएको म्यादभित्र पनि निर्माणाधीन प्रशासनिक भवन निर्माण सम्पन्न हुने सम्भावना छैन ।

निर्माणाधीन प्रशासनिक भवनको तीनतला ढलान गरेर पर्खाल हाल्ने, प्लाष्टर गर्नेलगायतका काम भइरहेको देखिन्छ । निर्माणको काममा ढिलासुस्ती गरेपछि ४५ प्रतिशतमात्रै भुक्तानी दिइएको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिए ।

स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि ९८ लाख खर्च गरेर गाउँपालिकाले प्रि–फ्याव भवन निर्माण गरेको थियो । प्रि–फ्याव भवनमा कार्यालय सञ्चालन गर्दै आएको बराहपोखरी गाउँपालिकाले सोही भवनको पछाडिपट्टि खाली रहेको आफ्नै जग्गामा पक्की भवन निर्माण सुरु गरेको हो ।

बाघखोर भञ्ज्याङमा निर्माणाधीन तीनतले पक्की प्रशासनिक भवनमा ३५ कोठा हुने जनाइएको छ । लिफ्टसहितको प्रशासनिक भवनको प्रत्येक तलामा महिला–पुरुष छुट्टाछुट्टै शौचालय हुने गाउँपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहका प्रशासनिक भवन निर्माणको कममा समेत ठेकेदार कम्पनीको लापरवाही देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा रावाबेँसी गाउँपालिकाले भने यही माघ २२ गते औपचारिकरूपमा शिलान्यास गरेर निर्माणको काम सुरु गरिएको छ ।

ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई एक वर्षका लागि कुनै पनि काम गर्न नपाउनेगरी कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेपछि उक्त गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ ।

विसं २०७६ जेठ १४ गते सम्झौता गरिएको प्रशासनिक भवनको काम करिब ३० प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । दुई वर्षअघि अर्थात विसं २०७८ चैत ३० गते सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्ने प्रशासनिक भवन ठेकेदार कम्पनीले दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ मा भवन निर्माण गर्ने ठेक्का पारेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपलिकाले भने यसअघि नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाका अन्य स्थानीय तहमा सुविधासम्पन्न प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको पाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ४८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर