अद्भूत प्रदर्शन र फेरिएको संरचनाले क्रिकेटमा जागेको आशा | Khabarhub Khabarhub

अद्भूत प्रदर्शन र फेरिएको संरचनाले क्रिकेटमा जागेको आशा



काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले सन् २०२३ मा ठूलो सफलता हासिल गर्‍यो । एक दिवसीय मान्यता जोगाउन मुस्किल देखिएको परिस्थिति बदल्दै नेपालले सीधै विश्वकप छनोट प्रतियोगिता खेल्यो । यो उपलब्धि अगाडि नेपाली क्रिकेटमा धेरै घटनाक्रम विकास भएका थिए ।

तर, गतवर्ष माघ २३ गते भारतीय मूलका मोन्टी देशाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा आएसँगै क्रिकेट टिमको प्रदर्शन अविश्वसनीय मात्र भएन, लगभग सकिएको विश्वकप छनोटसम्मको यात्रा निश्चित गर्‍यो । त्यो मात्र होइन् नेपाल पहिलो पटक एशिया कपका लागि छनौट भयो । अनि यी प्रतियोगितामा नेपाली टिमको प्रदर्शन सम्झन लायक रह्यो ।

नेपालले आइसीसी टी-२० विश्वकप छनोटमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम गर्दा १० वर्षपछि विश्वकप यात्रामा आफ्नो उपस्थिति पक्का गर्‍यो । सन् २०२३ भरि आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेको नेपाली क्रिकेटले सन् २०२४ को सुरुवात पनि दमदार गरेको छ ।

पहिलो पटक एकदिवसीय मान्यता पाएको क्यानडासँग घरेलु मैदानमा द्विपक्षीय सिरिज खेलिरहेको नेपालले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दा एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । भर्खरै सम्पन्न प्रधानमन्त्री कप र १९ वर्ष मुनिको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अवसर दिइएको यो प्रतियोगितामा उनीहरुको प्रदर्शन पनि गज्जबको देखिएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटमा देखिएको आत्मविश्वासले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने बताउँछन्, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ । यो प्रदर्शनले नेपालको टेष्ट सपना छिट्टै पूरा हुनसक्ने आशा जगाएको उनको भनाई छ ।

घरेलु प्रतियोगिताले जगाएको आशा

भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ शैली अबलम्बन गर्‍यो । पहिलो पटक विकेन्द्रीकरण गर्दै तीन स्थानमा आयोजना गरिएको प्रतियोगिता राउण्ड रोबिनको आधारमा खेलाइएको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदान, मूलपानी मैदान र भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा भएको प्रतियोगितामा १० टिमले नौ नौ खेल खेल्न पाए । २० दिन चलेको प्रतिस्पर्धामा ४६ खेल भएका थिए ।

जसमा ११ खेल भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुँदा बाँकी खेल काठमाडौंका दुई मैदानमा भए । नयाँ संरचनामा आयोजना गरिएको यो प्रतियोगिताले क्रिकेट विकासमा ठूलो टेवा पुग्ने गुरुङको दावी छ ।

रुपन्देहीमा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने अवसर पाएको भन्दै लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य प्रताप पराजुली यसले क्रिकेट विकास र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउँछन् । उनी भन्छन, ‘पहिलो पटक राजधानी बाहिर आयोजना भएको प्रतियोगिताले खेलाडीलाई नयाँ मौसममा एडजस्ट हुन सहयोग मात्र गरेन, स्थानीय स्तरमा क्रिकेटको विकासमा पनि टेवा पुग्यो ।’

नेपाली क्रिकेटको विकासका लागि देशैभरि यही ढंगले प्रतियोगिताको आयोजना गर्नुपर्ने अध्यक्ष गुरुङ बताउँछन् । लामो समयदेखि क्रिकेट संरचनाको बहस उठेपनि यसपालि यसले मूर्तरुप पाएको र यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।

नयाँ संरचनामा खेलाइएको प्रतियोगिताले खेलाडीको विकासमा पनि टेवा पुगेको बताउँछन सदस्य पराजुली । प्रधानमन्त्री कपको यो शैलीले खेलाडीले निखारिने मौका पाएको उनको बुझाई छ ।

पुरुष क्रिकेटमा एकपछि अर्को सफलता हासिल गर्दै जाँदा महिला क्रिकेट टिम उपेक्षामा परेको गुनासोका बिच नेपाल क्रिकेट संघले यो वर्ष प्रधानमन्त्री कप सिंगल राउन्ड रोविनको आधारमा सम्पन्न गर्‍यो । क्यानले तालिका बनाएर महिला क्रिकेटको विकासमा पनि काम गर्ने बताएको छ ।

व्यस्त तालिका

क्यानडासँग एकदिवसीय सिरिज खेलिरहेको नेपालले फागुन पहिलो साता नेपाली क्रिकेट टिमले नामिबिया र नेदरल्यान्ड्सबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसीसी विश्वकप लिग–२ को खेल खेल्नेछ । सोही समयमा नेपालको ‘ए’ टिमले मुलपानी मैदानमा क्यानडाको ‘ए’ टिमसँग खेल्ने तालिका तय भएको छ ।

लगत्तै नेपालले टी–२० विश्वकप तयारीका लागि नामिबिया र नेदरल्यान्ड्ससँग अर्को सिरिज खेल्नेछ । त्यसपछि नेपालले क्यानडामा गएर सिरिज खेल्ने पनि तय भएको छ । लगत्तै नेपालले विश्वकप क्रिकेट खेल्नेछ ।

क्यानको सक्रियता र उपलब्धि

गत असोज ६ गते नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्काको प्रवेश भयो । उनले प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै क्यानको सचिवमा विजयी भएर आफ्नो क्यान व्यवस्थापनमा जाने सपना पूरा गरे । २०७८ को साउनमा राष्ट्रिय क्रिकेट टिमबाट सन्यासको घोषणा गरेका खड्काले छोटो समयमा नै आफ्नो उद्देश्य पूरा गरे ।

जसलाई साकार पार्न खड्काले दुई वर्ष क्रिकेट राजनीति बुझ्न व्यतित गरेका थिए । आफ्नो दुई वर्षे विश्रामपछि खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष र क्यानको सचिव हुन सफल भए । त्यो सफलता हात पार्न आलोचना गर्दै आएका क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई समर्थन मात्र गरेनन, उनको प्यानलमार्फत सचिवमा निर्वाचित भए ।

क्यान व्यवस्थापनमा आउने सपना पूरा भएसँगै पारस नेपाली क्रिकेट विकासका लागि गरेका आफ्ना बाचा पूरा गर्न लागिपरेका छन् । खड्काले नेपाली क्रिकेट विकासका लागि कति काम गरिरहेका छन् भन्ने नतिजाले देखाएको छ ।

यो मात्र होइन् क्यानले यो वर्षको बजेट भाषणमार्फत् क्रिकेटका लागि बजेट छुट्याउन सरकारलाई पत्राचार गरेको छ । क्यानले पहिलो पटक सिधा बजेटमार्फत् क्रिकेटका लागि रकम छुट्याउन माग गरेको यो पहिलो पटक हो ।

क्यानले नेपालमा क्रिकेट विकासका लागि भारतसँग पनि आग्रह गरिरहेको छ । गत पुसमा नेपाल भ्रमण आएका भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाली क्रिकेट बारे चासो राख्दै क्यानका पदाधिकारीसँग भेटेका थिए । उनले नेपालको क्रिकेट विकासमा भारतले सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले नेपाललाई सहयोगका क्षेत्रको विषयमा चासो राखेको थियो ।

बीसीसीआईले नेपाल क्रिकेट संघ (क्यान) का सचिव खड्कासँग कुराकानी नै गरेको थियो । लगत्तै क्यानले सहयोगका विषयमा मस्यौदा पठाएको छ । जसमा भारतको क्रिकेट एकेडेमीमा नेपालका खेलाडीलाई पनि सिक्ने, उपचार गर्ने र रिह्याव गर्ने व्यवस्था मिलाउन, भारतका आइपिएल देखि राज्यस्तरका टिमसँग अभ्यास, नेपालसँग भारतको ‘ए’ टिम, भारतका स्थानीय टिमबाट नेपाली क्रिकेटरलाई खेल्ने अवसरको व्यवस्थाका लागि आग्रह गरिएको छ ।

यो विषयमा गत साता एसियन क्रिकेट काउन्सिल (एसीसी) को वार्षिक बैठकमा पनि बीसीसीआईका पदाधिकारीहरुसंग वार्ता भएको बताइएको छ । यो कुराकानीबाट उत्साहित भएको सचिव खड्का बताउँछन् ।

पारस नेपाल क्रिकेट संघ (क्यान)मा आएको चार महिना पूरा भएको छ । यो चार महिनामा उनले गरेका कामबाट क्रिकेटमा आशाको सञ्चार जागेको छ । नेपालमा आयोजना हुने सिरिज क्यानले आफैं व्यवस्थापन गर्दै आएको छ भने पहिलो पटक क्रिकेट क्यालेन्डर सार्वजनिक गरिएको छ । क्यालेन्डरमार्फत् पहिलो पटक मल्टी डे क्रिकेट आयोजना गर्ने घोषणा गरेको क्यानले यसअघि विवादित बनेको नेपाल टी–२० लिग पनि आफैं आयोजना गर्ने निर्णय गरेको छ ।

विभिन्न उमेर समूहका प्रतियोगिताका साथै प्रशिक्षक, स्कोरर, अम्पायर लगायतका प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यक्रम पनि नेपाल क्रिकेट संघको क्यालेन्डरमा समेटिएका छन् । यो मात्र होइन् क्यानले पहिलो पटक ‘ए’ टिम बनाउने घोषणा गरेको छ । जसबाट राष्ट्रिय टिममा प्रवेशका लागि संघर्ष गरेका खेलाडीले मौका पाउनेछन् भने सिनियर टिमको ब्याकअप पनि खडा भएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : ४५ बजे

पञ्चेबाजा संरक्षणमा कला केन्द्र सक्रिय 

दाङ– नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै

मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द

पर्वत– उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । यसअघि

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय

गिजर किन्दा यी पाँच कुरामा ध्यान दिनुहोस् 

काठमाडौं– अहिले जाडो मौसम सुरु भएको छ । यस्तो अवस्थामा