काठमाडौं – अहिले काठमाडौंको भृकुटीमण्डपमा ‘अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ चलिरहेको छ । जहाँ राखिएकामध्ये एउटा स्टल हो – आभा बस्नेतको रहाइड लेदर ।
लामो समय टिकाउ हुने, रङ नजाने र हेर्दा आकर्षक हुने भएकाले छाला (लेदर)का सामग्री धेरै ग्राहकहरूको रोजाइमा पर्छ । आभाको स्टलमा लेदरका सामग्री बोक्न रुची दर्शकहरू नजर लगाएर रोकिएका देखिन्छन् ।
बोलीमा फरासिली आभा दर्शक आउने बित्तिकै आफ्ना सबै सामग्रीबारे फेहरिस्त बताउन शुरू गरिहाल्छिन् । स्टलमा लेदरको सामग्रीबारे केही थाहा नभएका व्यक्ति पुगेर एकै छिन उभिए भने उनले सबै आधारभूत कुरा भन्न भ्याइहाल्छिन् । त्यहाँ पुग्ने व्यक्तिले त्यो नजानेर सुखै छैन ।
आभाको बुझाउने शैलीकै कारण मेलामा उनको स्टल ग्राहकले भरिभराउ भइरहेको छ । महोत्सवका स्टल लगभग घुमिसकेपछि बाहिर निस्कने बेलामा आभाको स्टल आइपुग्छ ।
रहाइड लेदरको ब्यानर झुण्डिएको स्टलमा उनको आफ्नै उद्योगमा उत्पादित लेदरको ल्यापटप, ह्यान्ड र पकेट ब्याग झुण्डिएका छन् । आभाले अगाडि टेबल राखेर रहाइड ब्रान्डका पर्स र साना ब्यागहरूपनि प्रदर्शन गरेकी छन् ।
आभाले आफ्नो स्टलमा आइपुग्ने ग्राहकलाई सबै सामग्रीमा हात पुर्याउँदै अभिनयका साथ बताउँछिन् । उनको बयानपछि हेर्न मात्रै पुगेको दर्शकपनि किन्ने मनस्थितिमा पुग्छन् । ‘अहिले मात्र यतिमा दिएको हो, पछि त फेरि दाम बढ्छ । अहिले लिने भए लिनुस्, फेरि म त दाम बढाउँछु नि !’ ग्राहकहरूलाई आभा भनिरहेकी हुन्छिन् ।
स्टल नियाल्दै केहीबेर बस्दा यस्तो लाग्छ कि आभा व्यापारमा पोख्त छिन् । तर, आभाले यसरी व्यापार गरेको भने यो पहिलो पटक हो, त्यो पनि यही मेलामा आएर । मेला शुरू भएको दोस्रो दिनबाट उनले स्थलगत व्यापार गर्ने पहिलो खुड्किलो चालेकी हुन् ।
औद्योगिक मेलामा आउनुअघि लेदरको व्यापार अनलाइनमा मात्रै सीमित थियो । मेलासँगै अब उनको व्यापार अफलाइनमा पनि शुरू भएको छ । उनले मेलाबाट राम्रो प्रतिक्रिया पाएमा आउटलेट पनि खोल्ने बताइन् ।
‘अब यो मेलामा कस्तो रेस्पोन्स आउँछ – त्यो हिसाबले एउटा फिजिकल आउलेट पनि खोल्ने सोच छ’, ग्राहकको प्रतिक्रियाबाट खुसी हुँदै उनले भनिन्, ‘आज एकै दिनमा नै धेरै राम्रो प्रतिक्रिया आएको छ ।’
उनले लेदरको सामान बनाउन थालेको ४ वर्ष भयो । तर व्यापार भने २ महिनादेखि मात्रै गर्दैछिन् । सानैदेखि आफ्नै हातले चित्र बनाउने रूचि थियो । सानैदेखि आफ्नो कापीमा केही न केही बनाउने गरेको र आफूले बनाएको वस्तु अरूले मन पराउने गरेको उनी बताउँछिन् ।
‘मलाई सानैदेखि हातले बनाएको कुरा धेरै मनपर्थ्यो, त्यसैले म हातले पेन्टिङ गर्ने र डल (गुडिया)को कपडा सिलाउने गर्थें’, आभाले भनिन्, ‘पछि के गर्दा हुन्छ भनी सोच्दै जाँदा हातले बनाउने सामग्री उत्पादन गर्दा होला जस्तो लाग्यो, त्यसैमा केही गरिएला भन्ने पनि लाग्यो र मैले लेदरको काम शुरू गरेँ ।’
यो पेसा रोज्नुमा छालाको काम महिलाले पनि गर्न सक्छन् भन्ने उनको निर्णयसँग जोडिएको छ । आभा जब केही व्यवसाय गर्ने सोचका साथ हिँडिरहेकी थिइन् – त्यसबेला आफ्ना साथीहरूलाई नै छालाका कपडा धेरै मनपर्ने गरेको देखिन् । त्यसपछि उनलाई त्यसैमा आफ्नो भविष्य बनाउन सकिन्छ भन्ने लाग्यो ।
उनी छालाको सामग्री बनाउने ज्ञान जान्न इन्टरनेटदेखि काठमाडौंका कतिपय उद्योगसम्म चहारिन् । तर, अध्ययन गर्दा सबै ठाउँमा पुरुषले मात्रै काम गरेका हुन्थे । आभालाई यस्तो लाग्थ्यो कि यो काम महिलाले पनि गर्न सक्छन् । त्यही आँटले अन्ततः ‘रहाइड लेदर’ स्थापना गरिन्।
आभाको यो ब्रान्ड बनाउन उनको मात्र होइन, बुवाआमाको पनि ठूलो भूमिका छ । उनले उद्योगको योजना बनाएपछि त्यो कुरा बुवाआमालाई सुनाइन् । त्यसपछि बुवाआमाले पनि उनको सोचमा सहयोग गर्ने निर्णय गरेको आभा बताउँछिन् ।
छोरीको नाममा बुवाआमाले सानै छँदा नै केही कम्पनीका शेयर किनेर राखेका थिए । सेयरको भाउ बढ्दै गएको थियो । त्यही शेयर बेचेर बुवाआमाले आभालाई ७ लाख रुपैयाँ दिए । आभाले उद्योग खोल्न के–के सामग्री कहाँ पाइन्छ, कति पर्छ र उद्योग कहाँ राख्न सकिन्छ भन्ने बारेमा पनि बुझिसकेकी थिइन् ।
आफ्नै घरको भुँइतलामा आभाले उद्योग चलाएकी छन् । शुरूमा बनाएका सामग्री साथीहरूलाई उपहार दिएर सुझाव माग्दै व्यवसायिकतातर्फ अगाडि बढेको अनुभव आभाले सुनाइन् ।
उनले उद्योग चलाउन थालेको ४ वर्ष भएपनि बेच्न थालेको भने डेढ महिनामात्र भयो । तर, डेढ महिना अवधिमै करिब ३ लाख रुपैयाँ बराबर व्यापार गरिसकेको उनले बताइन् ।
‘नेपालमा लेदर अलिक नचिन्ने रहेछन्, चिनियाँ प्लाष्टिकको हो कि भन्ने शंका हुँदो रहेछ’, उनले भनिन्, ‘शुरूमा लेदरबारे बुझाएपछि मात्र खरिद गर्न सहमत हुनुहुन्छ, जसले चिन्नुहुन्छ – उहाँहरूले मन पराएर लिनुहुन्छ ।’
आभाले उत्पादन, विक्री र बजारीकरणदेखि सामान पुर्याउने कामसम्म आफैँ गरिरहेकी छन् । उद्योगमा अन्य दुई जनालाई पनि काम दिएकी छिन् । काठमाडौंभन्दा बाहिरका ग्राहकलाई लक्षित गरी सामग्री उत्पादनतर्फ ध्यान दिएको उनले बताइन् ।
‘अहिले मैले काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई प्राथमिकतामा राखेर व्यापार गरिरहेकी छु । हातले बनाएको भन्दा पनि मेसिनले बनाएको सामान बढी उत्पादन गर्छु’, आभाले भनिन्, ‘फिनिसिङ भएको सामान मन पराउँछन्, मैले पनि त्यस्तै बनाउँदैछु ।’
बिक्री गर्न लागेको डेढ महिनाको अवधिमै ठूला व्यापारीले पनि आभाले उत्पादन गरेका छालाजन्य सामग्री मगाउन थालेका छन् । थोरै नाफा राखेर थोक (होलसेल) पनि बेच्न थालेको समेत उनले बताइन् । अब यही उद्योगलाई जीवनभर अगाडि बढाउने र विदेशसम्म व्यापार गर्ने उनले लक्ष्य तय गरेकी छन् उनले ।
‘मैले यसलाई केही दिन गर्ने, अनि अर्कोतिर लाग्ने भन्ने सोचेर शुरू गरेको होइन्, यसलाई जीवनभर चलाउने योजना छ । यो व्यवसाय ११० प्रतिशत राम्रोसँग चल्नेमा म विश्वस्त छु,’ आभाले भनिन् ।
प्रतिक्रिया