शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : डिआइजी खापुङ | Khabarhub Khabarhub

शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : डिआइजी खापुङ


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय खोटाङले आज आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि’ नामक अन्तरक्रियामा डिआइजी खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले सम्भव नहुने भन्दै सबैको हातेमालो आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय खोटाङको सभाहलमा आयोजित अन्तरक्रियामा डिआइजी खापुङले जनताले उठाएका जायज माग तथा विषयलाई सम्बोधन गर्न हातहतका प्रहरीलाई निर्देशनसमेत दिए ।

“हामी प्रहरी जनताका सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धतासहित भर्ना भएका हौँ । जनताले उठाएका जायज माग तथा विषयलाई प्रहरीले सम्बोधन गर्न सक्नुपर्छ”, उनले भने, “प्रहरीले जनताको अपेक्षा पूरा गर्न सकेमात्र उनीहरूले हामीबाट शान्ति सुरक्षाको महसुस गर्छन् । समाजमा शान्ति सुरक्षा कायम गर्न हरेक विषयमा प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नुपर्छ ।”

समाजमा हुने आपराधिक घटना जनचेतना अभावका कारण भएको जिकिर गर्नुहुँदै डिआइजी खापुङले जिल्लामा क्रियाशील राजनीतिक दलहरुले समाजमा जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।

“जनचेतना अभावले समाजमा अहिंसा, आपराधिक क्रियाकलापलगायत कानुनले बर्जित गरेको घटना हुने गर्दछ । प्रहरीले अहिलेसम्म निःशुल्क रूपमा सचेतनामूलक कार्यक्रम गरिरहेको छ । जनचेतना फैलाउने काम प्रहरीको मात्र ठेक्का होइन । यो सबैको दायित्वभित्र पर्छ”, उनले भने, “सबै राजनीतिकको गाउँगाउँमा सङ्गठन छन् । उनीहरुलाई परिचालन गर्न सके नागरिकहरु सचेत हुन्छन् । यसले राजनीतिक दलका कार्यकर्ताहरू क्रियाशील हुने अवसर पनि मिल्छ । नागरिकहरुसमेत सचेत हुन्छन् ।”

डिआइजी खापुङले प्रहरीको भूमिकाप्रति प्रशंसा नभइ रचनात्मक आलोचना गर्न कार्यक्रममा सहभागीलाई आग्रहसमेत गरेका छन् ।

“प्रहरीको भूमिकाप्रति सञ्चारमाध्यमले आलोचना गर्नुपर्यो । सचेत नागरिकले आलोचना गर्नुपर्यो । अनिमात्र प्रहरीले सच्चिने अवसर पाउँछ । प्रशंसाले प्रहरीको उद्देश्य पूरा हुँदैन”, उनले भने, “आलोचना भन्दैमा प्रहरीमाथि आक्षेप लगाउनु भनेको होइन । रचनात्मक आलोचना गर्नुपर्यो भनेको हो । रचनात्मक आलोचनाले प्रहरीहरू सचेत भएर जनताको सेवामा समर्पित हुन्छन् ।”

डिआइजी खापुङले पछिल्लो समय देशमा साइबर क्राइम ९विद्युतीय अपराध०सम्बन्धी घटना वृद्धि भइरहेको भन्नुहुँदै सचेत रहन आग्रह गरेका छन् ।

“विद्युतीय अपराधका घटनाहरू दिनानुदिन वृद्धि भइरहेका छन् । यसले धेरैको घरबार बिग्रिएको छ । धेरैको सम्पत्ति सकिएको छ । धेरैका छोरीचेली पीडित भएका छन्”, उनले भने, “विद्युतीय अपराधका घटनाबाट जोगिन आफैँ सचेत हुनुपर्छ । यो विषयमा प्रहरीले पनि भर्खरैमात्र मुद्दा हेर्न थालेको छ । घटना भएर प्र्रहरीमा पुग्नुभन्दा आफैँ सचेत हुनु उत्तम उपाय हो ।”

जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकाय, पत्रकार, नागरिक समाज, महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको अन्तक्र्रियाका वक्ताहरूले जिल्लामा प्रहरीले पछिल्लो समय खेलेको भूमिकाप्रति खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, ज्येष्ठ नागरिक सङ्घ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, महिला मानवअधिकार रक्षक सञ्जाल खोटाङका अध्यक्ष पूर्णमाया तामाङलगायतले प्रहरीले जिल्लामा खेलेको भूमिकामाथि टिप्पणी गरेका थिए ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्लाका कतिपय ठाउँमा शान्ति सुरक्षाको अवस्था अझै नाजुक रहेको भन्दै तत्काल प्रहरी चौकी स्थापना गर्न पहल गरिदिन डिआइजी खापुङलाई आग्रह गरेका छन् । उनीहरूले लामो समयसम्म अस्थायीरूपमा सञ्चालित प्रहरी चौकीलाई स्थायी बनाउँदै त्यसलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागिसमेत पहल गरिदिन अनुरोध गरेका छन् ।

यसैबीच प्रहरीले आगलागीपीडित हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका पूर्वप्रहरी सहायक निरीक्षक गोपालबहादुर थापामगरलाई रु एक लाख ५० हजार पाँच सय सहयोग रकम उपलब्ध गराएको छ ।

कोशी प्रदेश प्रहरी कल्याण कोषले उपलब्ध गराएको रु १० हजार, डिआइजी खापुङले रु पाँच हजार तथा जिल्ला प्रहरी कार्यालय खोटाङ मातहतका प्रहरीबाट सङ्कलन भएको रु एक लाख ३५ हजार पाँच सय सहयोग रकम पीडित थापामगरलाई उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

सुक्खाग्रस्त क्षेत्र सल्लेमा यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँ पस्दा गोपालबहादुरसहित सातजना स्थानीय बासिन्दाको घर जलेको थियो । सल्लेमा भएको आगलागीमा रु एक करोड ३३ लाख बराबरको धनमाल जलेरको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ०७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार