विदेशी कम्पनीले हात पारेका ठूला परियोजनामा सधैँ ढिलाइ | Khabarhub Khabarhub

विदेशी कम्पनीले हात पारेका ठूला परियोजनामा सधैँ ढिलाइ

‘प्रक्रियागत झन्झट हुँदा काम गर्न सकेनन्‌’ : सिंह



काठमाडौं – विदेशी निर्माण कम्पनी तथा ठेकेदारले जिम्मा लिएका नेपालका अधिकांश ठूला आयोजना समस्यामा पर्ने गरेका छन् । विदेशी निर्माण कम्पनीलाई सुम्पेका सडक पूर्वाधार, सिँचाइ, पुल, सुरुङमार्गलगायत आयोजनामा यस्तो समस्या देखिएको हो ।

विभिन्न कारण देखाएर विदेशी निर्माण कम्पनीले विकासे परियोजना निर्माणमा ढिलाइ र अलपत्र पार्ने गरेका हुन् । संघीय राजधानी काठमाडौंमै दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ कम्पनीका कारण अड्किएको छ । विगत डेढ वर्षअघि नै आयोजनास्थल (कलंकीदेखि बसुन्धराचौकी) सम्मको पूर्वतयारीका काम सकिए पनि चिनियाँ पक्षकै कारण आयोजना अहिले खण्डहर जस्तै बनेको छ ।

चक्रपथ विस्तार सुरु गर्नु त परको कुरा अहिलेसम्म आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार गर्न सकेको छैन । चक्रपथ विस्तारमा चिनियाँ पक्षको आनाकानीका कारण चक्रपथ विस्तारको काम कति लम्बिने हो, एकिन छैन ।

चक्रपथ विस्तारको दोस्रो चरण अन्योलमा, डीपीआर नै टुङ्गिएन

चिनियाँ कम्पनीले नै ठेक्का पाएको नारायण बुटवल सडकको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियर कर्पोरेसनले साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७५ फागुन ८ ठेक्का लिएको उक्त सडक विस्तार ५ वर्ष बित्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । कुल ११३ किलोमिटर रहेको उक्त सडक विस्तारको काम बल्ल ५५ प्रतिशत सकिएको हो । चिनियाँ निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दै लगे पनि कहिले पूरा हुने टुंगो छैन ।

त्यस्तै, जापान सहयोग नियोग (जाइका) र नेपाल सरकारको ऋण लगानीमा सुरु गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण पनि तोकिएको समयमा सम्पन्न हुन सकेको छैन् । ४२ महिनाभित्र सम्पन्न गर्ने सम्झौता थियो । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माणमा गरेको ढिलाईका कारण आयोजना सम्झौताभन्दा एक वर्ष ढिला गरी गत बैशाख ३ मा आयोजनाको मूख्य सुरुङ छिचोल्ने काम सकिएको छ ।

तर, सुरुङमार्ग निर्माणको बाँकी काम सम्पन्न भएर यातायात सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ । समग्रमा नागढुंगा सुरुङमार्ग आयोजना सम्झौता/सर्त भन्दा झन्डै साढे २ देखि ३ वर्ष ढिला हुने निश्चित जस्तै छ ।

त्यस्तै, कुल ४१ किलोमिटरको मुग्लिन–पोखरा सडकखण्ड विस्तारमा ढिलाई भइरहेको छ । सन् २०२१ अप्रिलदेखि सुरु गरिएको आयोजना आगामी साढे तीन वर्षमा सम्पन्न गर्ने सम्झौता शर्त हो । उक्त समयसीमा गत २०२४ अप्रिलमा सकिइसक्यो । तर, हालसम्म आयोजनाको काम करिब ६० प्रतिशतमात्र सकिएको छ ।

चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको उक्त आयोजनाको दोस्रो खण्डअन्तर्गत जामुने–पोखराखण्डको काम निकै सुस्त छ । पूर्वी खण्ड मुग्लिन–पोखरातर्फको काम भने केही सन्तोषजनक छ । म्याद थप नगरी सडक विस्तारको काम पूरा नहुने आयोजना प्रमुख श्यामकुमार यादव बताउँछन् ।

भारतीय ठेकेदार कम्पनी एआइपिएल र शैलुङ कन्स्ट्रक्सनले जेभीमा अघि बढाइरहेको सो सडक विस्तार आयोजना कहिले पूरा हुने हो अझै यकिन छैन । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी भनिएका शारदाप्रसाद अधिकारी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

भारतीय ठेकेदार कम्पनी एआइपिएल र शैलुङ कन्स्ट्रक्सनको संयुक्त उपक्रम (जेभी)मा निर्माण अघि बढेको कमलविनायक–नगरकोट सडक विस्तार सुरु भएको एक दशकभन्दा बढी भयो । तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठ २९ गते निर्माण सुरु भएको उक्त आयोजना अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन ।

भारतीय कम्पनी आइपीएलले आयोजनाबाट हात झिकेपछि बाँकी कामको जिम्मा शैलुङ कन्ट्रक्सन कम्पनीले गर्दै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो – शैलुङ कन्ट्रक्सन ।

निर्धारित समयसीमाभित्र काम गर्न नसकेपछि आयोजनाका लागि २०औं पटकसम्म म्याद थप गरिएको थियो । १६ किलोमिटरको उक्त सडक विस्तारको काम ९५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

त्यस्तै, चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुपले ठेक्का पाएको कमला–कन्चनपुर सडक विस्तारको कामले पनि गति लिन सकेको छैन । सन् २०२३ अक्टोबरभित्र निर्माण सम्पन्न नभए पछि एक वर्ष म्याद थप गरियो । थपिएको म्याद आगामी २०२४ डिसेम्बरमा सकिँदैछ । तर, ठेकेदारले निर्माणकार्यमा ढिलाइ गर्दा सो समयसीमाभित्र निर्माण पूरा नहुने देखिन्छ ।

हालसम्म आयोजनाको ५० प्रतिशतमात्र निर्माणकार्य सकिएको आयोजना प्रमुख प्रदीपराज शाक्य बताउँछन् । कुल ८७ किलोमिटरको सडक विस्तारको पहिलो खण्ड कन्चनपुरदेखि कुशाहासम्म ३९ किलोमिटर पर्दछ भने दोस्रो प्याकेजअन्तर्गत पश्चिम खण्ड सिरहाको बलानदेखि कमलासम्मको लम्बाइ ४७ किलोमिटर पर्छ ।

उता, उत्तरी सीमानाकासम्म जोड्ने रसुवागढी–स्याफ्रुबेंसी सडक खण्ड विस्तारको काम एक दशक बित्यो, अहिलेसम्म पूरा हुन सकेको छैन । चिनियाँ लगानी र निर्माण कम्पनीमार्फत निर्माण अघि बढाइएको उक्त सडक विस्तारको काम अधुरै छ ।

त्यस्तै, भारतीय निर्माण कम्पनीले जिम्मा पाएका छहरे–बिदुर सडक, बालाजु–ककनी–त्रिशुली सडक विस्तार र भेडेटार–रवि–राँके सडक आयोजनाहरू पनि निर्धारित समयमा सम्पन्न हुन सकेका छैनन् ।

विदेशी निर्माण कम्पनीले नेपालको विकासको वातावरण नबुझ्ने र समन्वयन गर्न नसक्दा पनि ठेक्काका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्ष रवि सिंहले बताए । विदेशी निर्माण कम्पनीले पारदर्शी ढंगले काम गर्न खोज्ने भए पनि त्यस खालको वातावरण नेपालमा नभएको उनको भनाइ छ ।

‘नेपालमा पत्र लेखेर कुनै पनि कामको अनुमति लिन खोज्यो भने प्रक्रिया लामो छ । अनुमति लिन पत्रसँगसँगै निर्माण व्यवसायी पछि लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तर, विदेशीले नेपालको विकासे वातावरण नबुझेको र पारदर्शी ढंगले गर्न खोजे पनि त्यस खालको वातावरण नै छैन ।’

सम्झौता बमोजिम काम नगर्ने र ढिलाई गर्ने विदेशी वा स्वदेशी जुनसुकै कम्पनीको ठेक्का रद्द गर्ने नीति लिइएको सडक विभागका महानिर्देशक शुशीलबाबु ढकाल बताउँछन् । विगतमा कोरोना महामारी, आर्थिक मन्दीलगायतका कारण कतिपय वैदेशिक ठेक्काका आयोजनामा समेत असर परेको उनले बताए ।

समयमै काम नगर्ने ठेकेदारलाई सरकारले संरक्षण नगर्ने उनको भनाइ छ । ‘सम्झौता/शर्त बमोजिम काम नगर्ने र आयोजनामात्र होल्ड गर्ने निर्माण कम्पनी वा ठेकेदारलाई स्पष्टीकरण सोध्ने, कालोसूचीमा राख्ने र ठेक्का रद्द गर्ने काम विभागले गर्दै आएको छ,’ उनले भने, ‘कामचोर ठेकेदार वा निर्माण व्यवसायीको संरक्षण सरकारले गर्दैन ।’

निर्माण कार्य समयमै सम्पन्न गर्न विभागले आफ्नोतर्फबाट निर्माण व्यवसायीलाई सहजीकरण गर्दै आएको उनले बताए ।

भेरी-बबईमा चिनियाँ कम्पनीको तमासा

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  २ : १३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार