काठमाडौं – ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १/२ दिनमा नै टुङ्गिने बताए ।
राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको रिजालले बताए । उनका अनुसार सरकारले आउँदो साउन १ देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै छापिने छैन ।
‘हामीले अहिले ३/४ हजार लाइसेन्स प्रिन्ट गर्छौं, अर्को पाटो खोजिरहेका छौं, अब हामी सवारी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्छौं, राष्ट्रिय परिचयपत्र या नम्बर साथमा राखेका नागरिकहरूले लाइसेन्सको मान्यता पाउँछन्’, महानिर्देशक रिजालले भने । उनले लाइसेन्स छापिरहन खर्च गर्नुभन्दा राष्ट्रिय परिचयपत्रलाई नै उचित विकल्पको रूपमा प्रयोग गर्ने तयारी भएको बताए ।
‘हामीसँग राष्ट्रिय परिचयपत्र छँदैछ, त्यसमा क्यूआर कोड छँदैछ, त्यसमा भएको फोटोपनि उस्तै हो, जन्म मिति सबै मिलिहाल्छ’, रिजालले भने, ‘नमिल्ने भनेको ड्राइभिङ लाइसेन्स कहिले लिएको हो र त्यसको म्याद कहिलेसम्म हो, त्यो विषय क्यूआर कोडमार्फत् ट्राफिक प्रहरीले हेर्न सक्ने प्रणाली विकास गरिएको छ ।’
महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको बताए ।
राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रको विवरण जोडेपछि स्मार्ट लाइसेन्स प्रिन्ट गर्नुनपर्ने मान्यताका साथ काम भइरहेको महानिर्देशक रिजालले खबरहबलाई बताए ।
‘अहिले हामीले ५५ लाख व्यक्तिहरुलाई स्मार्ट लाइसेन्स दिनुपर्नेमा नयाँ र नवीकरण समेत गरी २० लाख जतिलाई दिन सकेका छैनौं, यो विषय सहज हुनुपर्छ भनेर राष्ट्रिय परिचयपत्रमा जोडिएको हो’, रिजालले भने ।
प्रतिक्रिया