‘माओवादीसँग न जनाधार छ, न त देखाउन लायक काम’ | Khabarhub Khabarhub

जनार्दनको प्रतिवेदन

‘माओवादीसँग न जनाधार छ, न त देखाउन लायक काम’

लेखे- हामी शून्यतर्फ उन्मुख छौं !


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले यतिखेर आफूहरूसँग केही सीमित उपलब्धि बाहेक कुनै देखाउन लायक काम नभएको जनाएका छन्‌ ।

जारी पार्टी स्थायी कमिटी बैठकमा पेश प्रतिवेदनमा शर्माले पार्टी क्षयीकरण हुनुका १० कारण उल्लेख गर्दै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिहरू ‘आखिर के का लागि ?’ भन्ने प्रश्न उठेको लेखेका हुन्‌ ।

शर्माले माओवादी पार्टीको पछिल्लो कमजाेर अवस्थाबारे पनि प्रतिवेदनमा खुलेर लेखेका छन्‌ । ‘माओवादी पार्टी योजनाविहिन र सङ्गठनविहिन बन्न पुग्यो, आज हामीसँग संविधानका अलावा न जनाधार छ, न सङ्गठन छ’, शर्माले प्रतिवेदनमा लेखेका छन्‌, ‘केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरू छन्‌, न हाम्रो मौलिक विकासको मोडेल छ ।’

माओवादीको एजेण्डा खोसिँदैए जाँदा आफूहरूलाई माया गर्ने वर्ग, जाति, समुदाय टाढिएको पनि शर्माले उल्लेख गरेका छन्‌ । तर, त्यसो हुनुमा आफूहरूकै व्यवहार र निर्णय कारक रहेको उनले जनाएका छन्‌ ।

वि.सं. २०५२ फागुन १ देखि व्यवस्थाविरुद्ध सशस्त्र संघर्ष (माओवादीको दाबीमा जनयुद्ध) थाल्दा सो पार्टीले गण्डकी र कर्णालीका ग्रामीण पहाडी तथा तराईका देहातलाई आधार बनाएको थियो । १० वर्षसम्म सशस्त्र लडाइँ लडेको माओवादी २०६३/६३ को जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौता हुँदै नेपाली मूलधारको संसदीय राजनीतिमा फर्किएको थियो ।

त्यसयता माओवादी नेतृत्वको सिङ्गो टीम र हजारौं कार्यकर्ता शहरमै केन्द्रित छन्‌ । शान्ति प्रक्रिया यताका १८ वर्षसम्म शहर नछाडेको माओवादी पार्टीका उपमहासचिव शर्माले लेखेका छन्‌, ‘शहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन ।’

यो स्वीकारोक्तिमार्फत शर्माले माओवादीका नेता/कार्यकर्ता शहरी क्षेत्रमा केन्द्रित भए पनि सङ्गठन विस्तार नै गर्न नसकेको, शहरिया मध्यम वर्गको विश्वासयोग्य हुन नसकेको र शहरमा माओवादी धारको मूल पार्टी नरुचाइएको सन्देश दिएका छन्‌ ।

‘हामी शून्यतर्फ उन्मुख छौं’

प्रतिवेदनमा शर्माले २०६४ सालमा भएको संविधान सभाको पहिलो चुनावदेखि २०७९ मा भएको संघीय निर्वाचनसम्मको अवधिमा माओवादीको घट्दो जनमतबारे पनि उल्लेख गरेका छन्‌ ।

त्यसो त माओवादी केन्द्रले जनार्दनकै शैलीमा अहिलेसम्म आधिकारिक ढङ्गले शक्ति क्षयीकरणका कारण र अवस्था स्वीकार्न सकेको थिएन । यसअघि उनी स्वयम्‌ माओवादीको विगत, वर्तमान र आगतबारे सोधिएका प्रश्नमा चिढिने गर्थे ।

तर, पछिल्लो प्रतिवेदनमा शर्माले माओवादीको पार्टीको हालतबारे एक वाक्यमा सटिक ढङ्गले लेखेका छन्‌, ‘हामी शून्यतर्फ उन्मुख छौं ।’

‘२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन्‌ । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ,’ शर्माले प्रतिवेदनमा लेखेका छन्‌, ‘त्यसपछिका चुनावमा कुल मतदाता सङ्ख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौँ ।’

अहिले पार्टीमा रहेका बाँकी मानिसहरू पनि असन्तुष्टि बोकेर बाँचेका शर्माले दाबी गरेका छन्‌ । यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व अर्थात्‌ प्रचण्ड र उनको नेतृत्वको टीममा रहेका आफूहरूले लिन आनाकानी गरिरहेको शर्माले स्वीकारेका छन्‌ ।

‘आश्वासन बाँडेर पूरा नगर्दा नगर्दा साँघुरियौँ’

स्थायी कमिटी बैठकमा पेश गरेका प्रतिवेदनमा शर्माले माओवादी पार्टी साँघुरिनुमा विभिन्न चारित्रिक र व्यवहारगत समस्याहरू रहेको उल्लेख गरेका छन्‌ ।

‘हाम्रो पार्टीको साँघुरिदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर हो,’ उनले लेखेका छन्‌, ‘शान्ति प्रक्रियामा आए यता हाम्रो तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरू सही नभएको, हाम्रो बसाई उठाई, रहनसहन राजामहाराजाको जस्तो भएको जनताले मन पराएनन्‌ ।’

अब आफूहरूलाई अँगालो हाल्न चाहने आफ्नै वर्गले भरथेग गरिदिन नसक्ने र स्वार्थ लिन सुमसुम्याउन चाहनेहरूलाई खोजेजस्तो अवसर दिन नसकिने अवस्थामा आफूहरू पुगेको शर्माले प्रतिवेदनमा लेखेका छन्‌ ।

यसबीच आफूहरू सीमित मान्छेको घेरामा टाढैबाट दर्शनभेट हुने वातावरणमै रमाउन थालेको शर्माले स्वीकारेका छन्‌ । माओवादी नेताहरूमाथि भुइँ तहका कार्यकर्ताहरूले शान्तिप्रक्रिया शुरू भएदेखि नै यो गुनासो गर्ने गरेका थिए ।

उठाए पाँच प्रश्न

आफ्नो प्रतिवेदनमा शर्माले माओवादी पार्टीको भविष्यलाई लिएर विभिन्न पाँच प्रश्न उठाएका छन्‌ । ती प्रश्न यस्ता छन्‌-

१. के हामी यो अवस्थाको अन्त्य गरी पुरै जनतामा जानसक्ने वातावरण बनाउन सकौंला ?

२. हामीले जनताका लागि उठाएका मुद्दा र नाराहरुलाई पुनः जनताको विश्वास जागृत हुनेगरी उठाउन र पूरा गर्न संघर्ष गर्न सकौँला ?

३. कार्यकर्ताहरुले आफ्नो नेतृत्व आफै निर्माण गर्ने विधि र व्यवहार लागू गर्न सकौंला ?

४. आदेशमा मात्र चल्ने पार्टीलाई जनताको सेवामा स्चालित बनाउन सकौंला ?

५. अन्य पार्टी र हाम्रो पार्टीबीचको राजनैतिक र जनताको लागि फरक यस्तो छ भनी छुट्याउने कार्यशैली र व्यवहार बनाउन सकौंला ?

यो पनि-

खुमलटारको हल्लाः जनार्दन एमालेमा जाँदैछ

माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा

तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको स्थायी कमिटी बैठक

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : ११ बजे

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका