ताप्लेजुङस्थित असली पाथीभरा देवी (बायाँ) र तेह्रथुममा बनाइएको नक्कली पाथीभरा (दायाँ)
काठमाडौं- पाठकवृन्द ! ‘पाथीभरा माता’ भन्नेबित्तिकै तपाई के सम्झनुहुन्छ ? पक्कै पनि तपाईलाई ताप्लेजुङको शीरमा अवस्थित चर्चित धार्मिकस्थलको याद आउँछ । इन्टरनेटमा सर्च गर्दा पनि त्यहीँको पाथीभरा माताको तस्बिर आउँछ । कसैले भाकल गर्दा ताप्लेजुङकै पाथीभरा मातालाई नै सम्झन्छन् ।
ताप्लेजुङमा रहेको पाथीभराको आफ्नै मौलिक किंवदन्ती र पहिचान छ । त्यसको महत्व पनि आफ्नै प्रकारको रहेको छ । पाथीभराको त्यही मौलिकताका कारण नेपाल र भारत दुबै देशका धर्मावलम्बीहरु पाथीभराको डाँडो चढ्ने गर्दछन् ।
तर, पाथीभराको मौलिकतालाई अल्मल्याउने गरी पूर्वी नेपालका विभिन्न डाँडालाई ‘पाथीभरा’ घोषणा गर्ने होडबाजी नै चलेको छ । हरेक डाँडामा ताप्लेजुङकै नक्कल गरेर पाथीभरा देवीको मन्दिर स्थापना गर्ने र त्यसमा राज्यले समेत लगानी गर्ने प्रचलन पनि उत्तिकै बढेको छ ।
पाथीभरा देवी ताप्लेजुङको पहिचान हो । सो मन्दिरमा आउने भक्तजनले चढाउने भेटीका कारण मासिक लाखौं आम्दानी हुने गरेको छ । तर, असली पाथीभराको उक्त ‘पेटेन्ट राइट’ अब सुरक्षित रहेन ।
ताप्लेजुङस्थित सक्कली पाथीभरा देवी
विभिन्न डाँडामा खुलेका नक्कली पाथीभराले पनि तीर्थालुहरुलाई आकर्षित गर्ने र भेटीघाटी संकलन गर्ने कार्य गरिरहेकै छन् ।
यस्तो कार्यले गर्दा असली पाथीभराको मौलिकतामा असर पारिरहेको ताप्लेजुङका स्थानीयको गुनासो सुन्ने गरिएको छ ।
इलाममा अन्तरी पाथीभरा !
ताप्लेजुङ जाने बाटोमा पर्ने इलाममा नक्कली पाथीभरा बनाइएको छ । त्यहाँ पनि धार्मिक पर्यटक आउने–जाने गरेका छन् । डाँडामा पाथीभराकै जस्तो संरचना बनाइएको र सिँढीमा धागो टाँग्ने लगायतका कर्महरु ताप्लेजुङको जस्तै हुने गरेको पाइन्छ ।
इलामको कोल्कुङमा त्यस्तो पाथीभरा मन्दिर बनाइएको हो । त्यसलाई ‘सानो पाथीभरा’ भन्ने गरिएको छ । झापाबाट नजिकै पर्ने भएकाले सानो पाथीभरामा पनि नेपाल र भारतबाट तीर्थालुहरु जाने गर्दछन् । ताप्लेजुङसम्म जान नसक्नेहरुले यही सानो पाथीभरालाई पूज्ने गरेका छन् ।
इलामको सानो (नक्कली) पाथीभरा
डाँडो, जंगल वा सार्वजनिक स्थलमा कसैले मूर्ति स्थापना गर्दा त्यसको आफ्नो कथा बुन्ने गरिन्छ । त्यस्तो ठाउँमा घुम्न जाने मानिसहरुको कुनै खाँचो हुँदैन, मानिसहरुको भीड लागिहाल्छ । छेउछाउ सानातिना दोकानहरु पनि चलिहाल्छन् ।
ताप्लेजुङकै हुबहु नक्कल गरेर इलाममा सानो पाथीभरा मन्दिर ०५१ सालमा बनाइएको पाइन्छ । कतिपयले ०३४ सालमै मन्दिरको संरचना बनेको दाबी गर्छन् । रोचक त के छ भने यसलाई असली पाथीभराकी ‘अन्तरी बहिनी’ भन्ने गरिएको छ ।
इलामको सानो पाथीभराबारे इन्टरनेटमा सर्च गर्दा यस्तो कथा बुनिएको पाइयो–
‘वि.सं. १९९० सालमा झापा बुधबारे–९ का डिल्लीराम पाठकले पाथीभरा मन्दिर जाने भाकल गरेका थिए । त्यसबेला मन्दिरको पहिचान भइसकेको थिएन । वि.सं. २०३४ सालमा उनलाई सपनामा पाथीभरा देवीकी अन्तरी बहिनीको इच्छा पूरा गर्ने उर्दी आयो ।
पाठक सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको मध्यरातमा चिन्ता बसे । मध्यरात पूरै उज्यालोमा परिणत भयो । के रहेछ भनेर हेर्दा त्यहाँ दुईवटा बाघ आए । पछि ती बाघ दुईवटी केटीमा परिणत भए । तिनै केटीले पाठकलाई पहिलेको थामडाँडा ( (अहिले सानो पाथीभरा देवीको मन्दिर रहेको स्थान) मा पुर् याए र मन्दिरको शिला देखाइदिए । जङ्गलको बीचमा भेटिएको उक्त शिलालाई तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामाकरण गरिदिए ।’
यसरी बुनिएको अपत्यारिलो कथाकै आधारमा इलाममा ‘सानो पाथीभरा’ चलिरहेको छ । यहाँ ताप्लेजुङकै नक्कल गरेर बनाइएको मूर्ति छ । मन्दिर अनि पोखरीहरु छन् । सुन्दर डाँडाबाट तराईको दृश्यावलोकन गर्न सकिन्छ । आन्तरिक पर्यटन चलेको छ ।
तेह्रथुममा अर्को पाथीभरा
तेह्रथुमको लालीगुराँस नगरपालिकालाई ‘गुराँसको राजधानी’ मानिन्छ । किनभने, लालीगुराँस पाइने तीनजुरे मिल्के क्षेत्र यही पालिकामा पर्छ । तपाई बसन्तपुर बजारबाट गुराँस फुल्ने मौसममा तीनजुरेतर्फ उक्लनुभयो भने गुराँस फुलेको मात्रै देख्नुहुन्न, त्यहाँ ताप्लेजुङकै जस्तो नक्कल गरिएको अर्को ‘पाथीभरा’ पनि भेट्नुहुन्छ । सिँढी चढ्दै गएपछि डाँडाको टुप्पामा पाथीभरादेवीको मूर्ति भेटिन्छ ।
तर, ताप्लेजुङको पाथीभरादेवीको मूर्ति र तेह्रथुमको मूर्ति हेर्दा नक्कल गर्न खोजिए पनि सो नक्कल भद्दा देखिन्छ ।
त्यसो त धनकुटाको भेडेटार नजिकैको डाँडोमा पनि स्थानीयले ‘पाथीभरा मन्दिर’ बनाएका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको पाथीभरा मन्दिर
पाथीभराको मौलिकतामाथि प्रश्न
पाथीभरा देवीका नाममा डाँडैपिच्छे यसरी मन्दिर र मूर्तिहरु बनाइनुको अर्थ के हो ? देवीदेवता सबैका साझा हुने भएता पनि निश्चित धार्मिकस्थलको मौलिकतामाथि नै अलमल हुने गरी नक्कल गर्ने प्रचलनले कुनै पनि बस्तुको ‘ब्राण्ड’ सोही रुपमा नरहन सक्छ ।
जस्तो– काठमाडौंको पशुपतिनाथ मन्दिरलाई यहीँ र यथारुपमा रहन नदिएर हरेक जिल्लामा ‘पशुपतिनाथ मन्दिर’ बनाउन मिल्छ ? त्यस्तै– कसैले अर्कै ठाउँमा नक्कली लुम्बिनी बनाउन मिल्छ कि मिल्दैन ? यो बहसको विषय हुनुपर्ने देखिन्छ ।
सप्तरीको बरमझिया पेडाका लागि चर्चित छ । तर, सबैले पेडा पसलको नाम ‘असली बाजेको पेडा पसल’ राख्दै गए । अहिले कुनचाहिँ पसल मौलिक हो भनेर छुट्याउनै सकिँदैन
हिन्दुशास्त्रमा देवीको महिमा सर्वत्र छ । देवीका थानहरु पनि देशैभरि सर्वत्र छन् । तर, शास्त्रमा ‘पाथीभरा देवी’ भन्ने उल्लेख छैन, यो त पाथी भरेको जस्तै आकारको डाँडोमा रहेकी देवीका नामा ‘पाथीभरा देवी’ नाम रहन गएको हो । तर, हरेक डाँडामा माइलीदेखि अन्तरीसम्म पाथीभराहरु खडा गर्दै जाने हो भने त्यसले पाथीभरा देवीको महत्वलाई बढाउँछ या घटाउँछ ? यो पनि अध्यात्मिक क्षेत्रले बहस गर्नुपर्ने विषय हो ।
खासगरी यसमा पाथीभरा क्षेत्र विकास समितिको ध्यान जानुपर्ने देखिन्छ ।
तेह्रथुममा स्थापना गरिएको नक्कली पाथीभराको मूर्ति
सप्तरीको बरमझिया पेडाका लागि चर्चित छ । तर, आफूलाई असली देखाउने नाममा सबैले आफ्नो पेडा पसलको नाम ‘असली बाजेको पेडा पसल’ राख्दै गए । यसले गर्दा अहिले कुनचाहिँ पेडा पसल मौलिक हो भनेर छुट्याउनै सकिँदैन । भोलि त्यस्तो दिन पनि नआओस् कि कसैले ताप्लेजुङको भन्दा सुगम स्थानमा रहेका तेह्रथुम, इलाम वा धनकुटाका नक्कली पाथीभरालाई चाहिँ असली भनेर पुज्न थालुन् ।
‘मुक्कुम्लुङ’ पक्षधरको अर्कै तर्क
त्यसो त ताप्लेजुङको पाथीभरामै रहेको देवीको मूर्ति समेत पछि स्थापना गरिएको हुनाले त्यसले पाथीभराको मौलिकतामाथि असर पारिरहेको तर्क पनि एकथरी मानिसहरुले गर्दै आएका छन् । खासगरी मुक्कुम्लुङ पक्षधरहरुको त्यो तर्क छ ।
हिन्दु परम्परामा पनि खासगरी देवीथानमा मूर्तिहरु राख्ने प्रचलन छैन । त्यहाँ प्रकृति र शिलाको पूजा गर्ने गरिन्छ । तर, पछिल्लो समयमा देवीथानमा कंक्रिटको संरचना र मूर्तिहरु स्थापना गर्ने प्रचलन बढेको छ । ताप्लेजुङको पाथीभरामा पनि सुरुमा शिला मात्र रहेकोमा पछि देवीको सुन्दर मूर्ति राखिएको हो, जुन अहिले पाथीभरादेवी भन्नासाथ मानिसको दिमागमा आउने गरेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले यसअघि खबरहबसँगको अन्तरवार्तामा भनेका छन्, ‘यदि सम्भव भएछ भने मन्दिरभित्र रहेको घेराबाराभित्रका मानव निर्मित संरचना हटाउन धेरैको सुझाव छ । त्यो गर्न सकियो भने हटाउने र कृत्रिम चिजलाई हटाएर पहिलेको जस्तै प्राकृतिक रूपमा निर्माण गर्ने हाम्रो जोडबल छ ।’
हाङबाङ भन्छन्, ‘त्यहाँ डाँडो मात्रै भयो भनेर ०६० सालतिर मूर्ति लगेर राखिएको हो । मौलिकरुपमा चाहिँ शिला, ढुंगासँग जोडिएको छ पाथीभरा ।’
इतिहासका अध्येता अर्जुनबाबु माबुहाङ खबरहबमै लेख्छन्–
‘भेडीगोठेहरूले पाथीभरादेवी भन्दै पुज्दै ल्याए । ढुंगो र त्रिशुलका थान थपना थाप्दै ल्याए । तबसम्म मुक्तिबुङ वा पाथीभरा शान्त थियो । जब बाहुन, क्षेत्री पुजारीहरूले कङ्क्रिटको ढलौट बनाएर मूर्ति राख्न थाले, सत्तेहाङमापन्थी लिम्बूहरूले माहागुरु फाल्गुनन्दको कङ्क्रिटको मूर्ति नै लगेर डाँडोमा राख्न र मुक्कुमलुङ भन्न थाले । केबलकार नै बनाउन लागियो । अहिले यो पहाड अशान्त छ । यो पहाडको आस्था ढलेको छ र यसको मौलिकता मेट्न खोजिँदैछ ।’
यो पनि-
प्रतिक्रिया