समाचार

ठगी आरोपमा पक्राउ परे कलाकार ‘इकु’

By खबरहब

September 11, 2024

काठमाडौं- कलाकार बनाएर युरोपेली देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंखर ‘इकु’ पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

युरोपेलीसहितका देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा कलाकार भिषामा पठाइदिने भन्दै उनले पैसा उठाएको खुलेको छ।

उनले युरोपेली देशसहित क्यानाडा र अष्ट्रेलियामा लैजाने भनेर पहाडी र विकट जिल्लाका युवाहरूलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ।

गतिलो काममा आम्दानी पनि राम्रो हुने लोभ देखाएर उनले लाखौँ रुपैयाँ ठगी गरेको सीआईबीका एक अधिकारीले बताए ।

इकु कम्पनी एसएमएस फिल्मस प्रालिका नाममा ग्लोबल आईएमई बैंकमा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको खुलेको छ ।

कलाकार भिषामा विदेश पठाइदिने बहानामा उनले नक्कली भिसादेखि नक्कली बैंक स्टेटमेन्टसहितका कागजात बनाउने गरेको पनि भेटिएको छ ।