अन्तर्राष्ट्रिय

हङकङका माध्यमिक विद्यालयमा सी जिन्पिङ विचारधाराको पढाइ शुरु

By खबरहब

September 11, 2024

काठमाडौं – हङकङका विद्यालयहरुमा सी जिन्पिङ विचारधारा अध्यापन थालिएकोे छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले अर्धस्वायत्त शहरमा राष्ट्रिय सुरक्षा, कम्युनिष्ट पार्टीको समर्थन गर्ने पाठ्यक्रम र सी जिन्पिङ विचारधारा अध्यापन गराउन थालेको हो ।

यसका लागि माध्यमिक तहका विद्यालयमा नयाँ विषय नै थपिएको बेलायती अखबार द गार्जियनले जनाएको छ । सन् २०२२ मा घोषणा गरेबमोजिम हङकङका माध्यमिक तहका विद्यालयमा नागरिकता, अर्थतन्त्र र समाज नामक विषय थप गरिएको जनाइएको छ ।

नयाँ पाठ्यक्रमले ‘राष्ट्रप्रेमी शिक्षा’ प्रदान गर्ने सरकारको अपेक्षा छ । सन् २०२३ मा यो पाठ्यक्रम परीक्षणका लागि केही विद्यालयमा अध्यापन भएपनि यस शैक्षिक सत्रबाट शहरका सबै ५ सय १२ माध्यमिक विद्यालयमा अनिवार्य गरिएको छ ।