अर्थसंक्षेप : प्राधिकरणको महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक, नेप्से २२ अंकले बढ्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : प्राधिकरणको महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक, नेप्से २२ अंकले बढ्यो


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । यता भारतीय एयरलाइन्स कम्पनी ‘भिस्तारा’ले सोमबार आफ्नो उडान भर्दैछ । यस्तै, छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । यस्तै,रक्षामन्त्री मानवीर राईले दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभरको आज स्थलगत निरीक्षण गरेका छन् भने सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले बढेको छ ।

प्रमुख आर्थिक समाचारहरु :

प्राधिकरणको महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक

नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकले आयोगकै त्यही प्रतिवेदनका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरिसकेको छ ।

प्राधिकरणलाई सरकारको चेतावनी– मन्त्रिपरिषद्को निर्णय मान्दिनँ भन्न पाइँदैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय मान्दिनँ भन्ने कुरा क्षम्य हुन नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा मन्त्रिरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले डेडिकेटेट फिडर र ट्रंकलाइन महसुल विवादमा सरकारको निर्देशन कार्यान्वयन गर्नुको विकल्प नेपाल विद्युत् प्राधिकरणलाई नरहेको बताएका हुन् ।

प्राधिकरणमा आवद्ध कर्मचारी संगठनहरु राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै बक्यौता रकम नउठाई उद्योगको लाइन जोडिए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

प्राधिकरणमा आवद्ध कर्मचारी संगठनहरुको चेतावनीलक्षित टिप्पणी गर्दै मन्त्री गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताए ।

‘सरकारको निर्णय ऊर्जा, जलस्रोत सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने तदारूकता देखाउनुपर्छ । सरकारले गरेका निर्णयबारे कर्मचारीले आफ्नो धारणा राख्न पाउँछ । तर, सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भनेर कसैले भन्छ भने क्षम्य हुँदैन,’ सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा जवाफ दिँदै मन्त्री गुरुङले भने ।

सरकारले डेडिकेटेट फिडर तथा ट्रंकलाइन महशुल विवादमा नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगहरूको लाइन २४ घण्टाभित्र जोड्ने व्यवस्था मिलाउन उद्योग, जलस्रोत तथा सिञ्चाइँ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सोमबार अन्तिम उडान गरेर एयर इन्डियामा विलय हुँदै ‘भिस्तारा’

भारतीय एयरलाइन्स कम्पनी ‘भिस्तारा’ले सोमबार आफ्नो उडान भर्दैछ । यो कम्पनीले पछिल्ला ९ वर्षदेखि भारतीय उड्ययन क्षेत्रमा आफ्नो सेवा दिइरहेको थियो ।

‘भिस्तारा’ सिंगापुर एयरलाइन्स र टाटा सन्सको एक संयुक्त कम्पनी थियो । तर अब यसको विलय टाटा ग्रुपको स्वामित्व रहेको एयरलाइन्स कम्पनी एयर इन्डियामा हुँदैछ ।

यस विलयपछि ‘भिस्तारा’ एयरलाइन्सको परिचालन एयर इन्डियामार्फत गरिनेछ । यसरी विलय हुनेमा यसका हेल्पडेस्कदेखि लिएर टिकट अफिस पनि सामेल छन्।

पछिल्ला केही महिनादेखि भिस्ताराकव बुकिङ र नियमित कार्यक्रमअन्तर्गतका ग्राहकको सेवा एयर इन्डियामा सार्ने क्रम चलेको थियो ।

एयर इन्डियाका प्रवक्ताले यसबारेमा आफ्नव प्रतिक्रिया दिएका छन् । ‘विलय प्रक्रियाको एउटा अंशका रुपमा खाना, सेवा र अन्य सबै सुविधालाई एयर इन्डियामा अपग्रेड गरिँदैछ । यसमा भिस्तारा र एयर इन्डिया दुवैको पहिचानलाई मिलाइँदैछ ।’

यो विलयबाट यात्रीलाई दिइने सेवामा असर पर्ने चिन्ताबीच टाटाले भिस्तारामा मिल्ने उडान सुविधा एयर इन्डियामा पनि यथावत रहने विश्वास दिएको छ ।

यात्रुसँग दोब्बर भाडा असुल्दै वीरगञ्जका सार्वजनिक यातायात

छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ ।

वीरगञ्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ ।

हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगञ्ज–हेटौँडा हुदैँ काठमाडौ जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गरे।

“मेरो छोरालाई वीरगञ्जबाट काठमाडौँ पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरु बेला वीरगञ्जबाट काठमाडौँ जाँदा रु आठ सय ५० सम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभावी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन”, उनले भने । ठाकुरले वीरगञ्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोष्ट गरेका छन्।

व्यवसायीले अरु बेला टिकट दिने गरे पनि हाल टिकट छैन भनेर बढी मूल्य दिनेलाई मात्रै उपलब्ध गराउने गरेको आरोप लगाए। वीरगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राखेको भए पनि प्रहरी प्रशासनले यात्रुलाई राहत र विचौलियालाई कानुनी दायरामा ल्याउन नसकेको ठाकुरको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट भने बढी भाडा लिएको भन्दै गुनासो आएपछि अनुगमनमा जाँदा गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाही गर्न समस्या भइरहेको दाबी गर्छन् ।

श्रम स्वीकृति भएका नेपालीलाई भारतबाट अर्को देश जाँदा एनओसी नचाहिने

श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जादा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई एनओसी आवश्यक नरहेको जनाएको हो ।
त्यसैगरी, नेपाली कूटनीतिक÷आधिकारिक÷सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज–पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्षमुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ ।

त्यसैगरी अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जानकारी दिएको छ ।

त्यस्तै रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ’

रक्षामन्त्री मानवीर राईले दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री राईले नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन आफूले सेनासँग समन्वय समेत गरिरहेको बताएका हुन् ।

आर्थिक वर्ष ०७७–७८ बाट निर्माण सुरु गरिएको तथा राष्ट्रिय प्राथमिकतामा परेको उक्त सडक परियोजनाको निर्माण सुस्त भएको भएको गुनासो आउने गरेको छ ।

मन्त्री राईले महाकाली करिडोरलाई तराई–मधेश फास्ट ट्र्याकपछिको प्राथमिकतामा राख्नुपर्नेमा सबैको चासो रहेको जिकिर गरे । त्यस्तै उनले तराई–मधेश फास्ट ट्रयाक समेत कार्तिक अन्तिम साता संसदीय समितिसंग निरीक्षण अनुगमनमा जाने जानकारी दिए ।

अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष बन्दै सन् २०२४
बढ्दो विनाशकारी मानवीय कृयाकलापका कारण पृथ्वी तात्ने क्रम बढेको छ । पृथ्वी तातो हुँदै जाँदा विश्वभरको तापक्रम पनि उकालो चढिरहेको छ।

संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा गर्मी (तातो) वर्ष बन्नेतर्फ अघि बढेको छ।

डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बरबीचको विश्वभरको औसत तापक्रम १९ औँ शताब्दीको अन्तिमको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस धेरै रहेको छ ।

सन् २०१५ मा पेरिसमा लगभग २०० देशले जलवायु परिवर्तनको असरलाई कम गर्ने दिशामा काम गर्ने गरी वाचा गरेका थिए । त्यसबेला तापक्रम बढ्ने दरलाई सीमित गर्ने गरी सबै देशले गरेको वाचा प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

तर संयुक्र राष्ट्रसंघले १.५ डिग्री सेल्सियसको लक्ष्य अहिलेसम्म टुटेको छैन । यसले लामो समयको औसत तापक्रम देखाउने भएकाले १.५ डिग्री आसपास नै वृद्धिदर रहेको जनाइएको हो ।

भरतपुरमा खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो

भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरको मध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।
महानगरको गौरवको आयोजनाका रूपमा रहेको पुङ्गी खोलाको सौन्दर्यकरण कार्य गर्दै आइरहेको छ । भरतपुरको वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाइ छ दशमलव ६५ किलोमिटर रहेको छ । खोलाको दायाँबायाँ वृक्षरोपणलगायत बिहानी र साँझको हिँडाइ गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ ।

आज अतिक्रमित संरचना हटाउने क्रममा वडा नं ३ र ४ को सीमाका घरटहरा भत्काउन सुरु गरिएको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरणका लागि १० करोड ८० लाखको ठेक्का लगाइसकेको महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए। यसअन्तर्गत एक दशमलव पाँच किमीमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नं ४ मा पर्ने पुङ्गी खोलाको दोभानबाट करिब पाँच सय मिटरको काम सम्पन्न भइसकेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको बताइन्। पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट समेत रु छ करोड ६५ लाख बजेट छुट्याइएको छ ।

फ्लाइ ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभरको आज स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका हुन् ।

निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाइ ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए। त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए ।

काठमाडौँको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाइ ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहालले निर्देशन दिए। निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहेका थिए ।

विसं २०७८ फागुन १२ गतेदेखि निर्माण सुरु भएको उक्त फ्लाइ ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । तीस मिटर स्पानको चार लेनको सो पुलसहितको फ्लाइ ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले गरिरहेको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खराब कर्जाले नाडेप लघुवित्त पाँच करोड घाटामा

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । गत वर्ष भने लघुवित्तले ५ लाख नाफा कमाएका थियो ।
यस वर्ष खराब कर्जा अत्याधिक बढेका कारण पनि कम्पनीले ठूलो घाटा व्यहोर्नु परेको हो । यस अवधिमा ६.५६ प्रतिशत रहेको खराब कर्जा बढेर १०.५१ प्रतिशतमा पुगेको छ । यस्तै, कम्पनीको संचालन घाटा र खराब कर्जाले गर्दा लघुवित्तको नाफा प्रभावित भएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने ५ करोड १९ लाखबाट वृद्धि भएर ५ करोड ८३ लाख पुगेको छ । तर कम्पनीको इम्पेरिमेन्ट चार्ज बढ्नाले पनि कम्पनी घाटामा देखिएको हो । पहिले ७९ लाख ७५ हजार रहेको इम्पेरिमेन्ट चार्ज अहिले बढेर २ करोड ९० लाख पुगेको छ ।

आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण

बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः लाइन नजोडिने भएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगहरूमा आज १२ बजेसम्म लाइन जोड्न गरेको निर्णय कार्यान्वयन नहुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले अहिलेसम्म प्राधिकरणलाई कुनै औपचारिक जानकारी नआएको र बोर्डको बैठक बसेर के गर्ने भन्ने सन्दर्भमा निर्णय गर्नसक्ने बताए ।
‘भर्खरै कार्यालय समय सुरु भएको छ, बोर्डको बैठक बस्ला र कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ला’, प्रवक्ता घोषले खबरहबसँग भने । उनले बोर्डको बैठक बसेर निर्णय नगरीकन उद्योगमा लाइन जोडिने काम अगाडि नबढ्ने समेत बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल नबुझाएका उद्योगहरूमा काटिएको लाइन आज मध्याह्न १२ बजेसम्म जोड्ने र ती उद्योगहरूबाट १५ दिनभित्र टिओडी मिटरका आधारमा बक्यौता उठाउने निर्णय गरेको थियो ।
तर, सोमबार बिहानसम्म पनि सरकार वा मन्त्रालयले भने प्राधिकरणलाई सो सम्बन्धी कुनै औपचारिक निर्देशन भने दिइसकेको छैन ।

नेप्से २२ अंकले बढ्यो, ११ अर्ब बढीको कारोबार

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले बढेको छ । आज नेप्से ०.८० अंकले बढेर २७६०.२१ विन्दुमा आएको छ । ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच भएको छ ।

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा करिब ५० अंकसम्मको उतारचढाव देखिएको छ । आज नेप्से परिसूचक उच्चतम् २७८२ विन्दु र न्यूनतम २७३४ बिन्दुसम्म पुगेको थियो ।

यस्तै ३०२ कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार ९६४ पटक शेयर किनबेच भएको थियो । १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : २५ बजे

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली

काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको

कूटनीतिमा झूटनीतिको छाया

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि के हुन्छ ? त्यसको स्पष्ट

माओवादीको अन्तरमहादेशीय समितिबाट बाढी पीडितलाई सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तर महादेशीय सङ्गठन